विकासन्युज

इरानसँग गोलरहित बराबरीमा रोकियो बेल्जियम

काठमाडौं । सन् २०२६ फिफा विश्वकपअन्तर्गत समूह ‘जी’को आफ्नो दोस्रो खेलमा इरानले  बेल्जियमसँग गोलरहित बराबरी खेलेको छ । लस एञ्जलस स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल ०–० को बराबरीमा टुंगिएको हो । खेलको ६६औं मिनेटमा बेल्जियमका नेथान नगुईले इरानका मेहदी तारेमीमाथि खराब फल गरेपछि सिधै रातो कार्ड पाएका थिए । नगुई मैदानबाट बाहिरिएपछि बेल्जियम १० खेलाडीमा सीमित बने पनि इरानले संख्यात्मक लाभलाई गोलमा परिणत गर्न सकेन । यसअघि इरानले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग २–२ गोलको बराबरी खेलेको थियो । लगातार दोस्रो बराबरीसँगै इरानले नकआउट चरण पुग्ने सम्भावना भने कायम राखेको छ । अब इरानले जुन २७ मा इजिप्टविरुद्ध समूह चरणको अन्तिम तथा निर्णायक खेल खेल्नेछ । नकआउट चरणमा स्थान सुरक्षित गर्ने सम्भावना जीवित राख्न उक्त खेल इरानका लागि महत्त्वपूर्ण रहनेछ ।

२०० किसानबाट २० हजार संकलन, स्थानीय सरकारले नै दिएन यान्त्रिक हलो

काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाले स्थानीय किसानबाट रकम सङ्कलन गरेको तीन महिना बितिसक्दासम्म (मिनिटिलर) यान्त्रिक हलो वितरण नगरेपछि पर्वतको कुश्मा नगरपालिकाका किसान चिन्तित बनेका छन् । नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराउने गरी गत चैतमा नै ५० प्रतिशत रकम किसानबाट सङ्कलन गरेको थियो । कुश्मा नगरपालिकाका १४ वडाबाट ७०५ किसानले यान्त्रिक हलो उपलब्धताका लागि नगरपालिकामा निवेदन दिए पनि नगरपालिकाले विभिन्न विधामार्फत २०० किसानलाई छनोट गरेको थियो । छनोट पश्चात् ५० प्रतिशत बापतको २० हजार रुपैयाँ प्रति किसान सङ्कलन गरे पनि रकम लिएको तीन महिना बितिसक्दासम्म यान्त्रिक हलो उपलब्ध गराउन सकेको छैन । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलका अनुसार बोलपत्र आह्वान पश्चात् छनोट भएको क्वालिटी रिन्युएबल प्रालि काठमाडौंले समयमा गुणस्तरीय उपकरण उपलब्ध गराउन नसक्दा किसानलाई यान्त्रिक हलो वितरण गर्न ढिलाइ भएको बताए । नगरपालिकाले उक्त कम्पनीसँग ६२ लाख ७९ हजार रुपैयाँ लागतमा यान्त्रिक हलो उपलब्ध गराउनका लागि सम्झौता गरिसकेको छ । गत जेठ २१ गते सम्झौता भए पनि अहिले असारमा मात्रै उक्त कम्पनीले परीक्षणका लागि यान्त्रिक हलो उपलब्ध गराएको र दुई पटकसम्म उपलब्ध भएका उपकरण चेक जाँचमा समस्या भएपछि पुनः ल्याउनका लागि अनुरोध गरिएको कृषि शाखाका निमित्त प्रमुख बलबहादुर जिटीले बताए ।  जिटीका अनुसार नगरपालिकाले माग गरेको हलो कम्तीमा ७ हर्जपावर र ८० किलो तौल हुनुपर्नेमा त्यो नभएपछि परीक्षणका लागि उपलब्ध गराएको हलो फिर्ता पठाएर अर्को माग गरिएको बताए । नगरपालिकामा हलोका लागि निवेदन दिए पनि रकम जम्मा गरेको तीन महिनासम्म हलो उपलब्ध नहुँदा आफूहरूले ठूलो रकम खर्च गरेर बाँझो खेतबारी जोत्नुपर्ने अवस्था आएको कुश्मा नगरपालिका-२ का किसान टीकाराम शर्माले बताए । ‘नगरपालिकाबाट समयमा नै गुणस्तरीय यान्त्रिक हलो आउला र वर्षे बाली लगाउला भन्ने थियो तर तीन महिना बितिसक्यो हलो आएन । अहिले प्रतिघण्टा १ हजार रूपैयाँ तिरेर जोत्नुपर्ने अवस्था आएको छ,’ उनले भने । उनी जस्तै अन्य किसानको पनि समयमा हलो उपलब्ध नगराएकोप्रति गुनासो व्यक्त गरेका छन् । सम्झौता गरेको कम्पनीले समयमा गुणस्तरीय सामग्री उपलब्ध गराउन नसक्दा किसानलाई सास्ती भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । जतिसक्दो छिटो किसानलाई हलो उपलब्ध गराउने गरी लागिएको उनको भनाइ छ । अहिले धान रोप्ने समयमा हलो उपलब्ध नहुँदा किसान ठूलो समस्यामा परेका छन् । अहिले पर्वतमा धान र कोदो रोप्न किसानलाई भ्याइनभ्याइ भएको छ ।

केप भर्डेको अर्को चमत्कार, उरुग्वेलाई २–२ को बराबरीमा रोक्यो

विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा केप भर्डेले दुई पटकको विश्व च्याम्पियन उरुग्वेलाई २–२ को रोमाञ्चक बराबरीमा रोक्दै आफ्नो पहिलो विश्वकप यात्रालाई थप यादगार बनाएको छ । यसअघि पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको केप भर्डेले उरुग्वेविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण एक अंक बटुल्यो । यो नतिजासँगै उसले अन्तिम ३२ मा स्थान बनाउने सम्भावना जीवित राखेको छ । खेलको २१औँ मिनेटमा केभिन पिनाले गोल गर्दै केप भर्डेलाई अग्रता दिलाएका थिए । त्यसपछि उरुग्वेका म्याक्सी अराउजोले ४४औँ मिनेटमा हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा अगुस्टिन कानोब्बियोले गोल थपेपछि उरुग्वेले पहिलो हाफ २–१ को अग्रतासहित समाप्त गरेको थियो । तर दोस्रो हाफमा केप भर्डेले पुनरागमन ग‍र्यो । खेलको ६१औँ मिनेटमा हेलियो भारेलाले गाेल गर्दै केप भर्डेलाई २–२ को बराबरीमा पुर्‍याए । इन्जुरी समयमा दुवै टोलीले निर्णायक गोलका लागि केही अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा खेल बराबरीमा सकियो । यस नतिजासँगै केप भर्डे र उरुग्वे दुवैले पहिलो दुई खेलबाट समान २–२ अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलअघि दुवै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।

हेटौंडा कपडा उद्योग ब्यूँताउँदै सरकार, बुटवल धागो र कपास खेती पनि पुनः सञ्चालन गर्ने

काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमनसँगै सक्रियता बढाइएको छ । हेटौंडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो । त्यसयता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटकपटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन । यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तवरबाट स्थलगत अनुगमनसँगै सक्रियता बढाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौंडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए ।  ‘कपडा उद्योगसँगै तत्कालीन समयमा नै यससँग सम्बन्धित बुटवलमा धागो कारखाना र बाँकेको नेपालगन्जमा कपास उत्पादन कारखाना पनि सँगसँगै सञ्चालनमा ल्याइएको थियो,’ सूचना अधिकारी भण्डारीले भने, ‘हेटौंडा कपडा उद्योग बन्द भएपछि यी दुई उद्योग पनि बन्द भएका थिए ।’ त्यसयता समय-समयमा यसको पुनः सञ्चालनको प्रयास भने भइरहेको उनले जानकारी दिए । कपडा उद्योग पुनः तत्कालै सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँदै सूचना अधिकारी भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको बताए । हेटौंडा कपडा उद्योगको पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अग्रसरता लिएको बताउँदै उनले यसबीचमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले उद्योगको स्थलगत अनुगमन गरेको बताए ।  त्यस्तै उद्योगको हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि स्थलगत निरीक्षणसँगै जानकारी लिएको उनको भनाइ छ ।  मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सरकारले हेटौंडा कपडा उद्योग यसै वर्षबाट सञ्चालनमा ल्याउने तयारी गरेको बताइन् ।  रूग्ण उद्योगहरूमध्ये हेटौंडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउने बताउँदै उनले कपडा उद्योगका लागि बुटवल धागो र कपास खेती पनि यसै वर्ष सञ्चालनमा ल्याउने जानकारी गराइन् ।  कपडा उद्योग बन्द भएसँगै उक्त उद्योग परिसरमा २०७५ सालदेखि सशस्त्र प्रहरी सुरक्षा बल १४ नम्बर गण बस्दै आएको छ । सशस्त्र प्रहरी बस्नुअघि त्यहाँको सुरक्षाका लागि दुई कर्मचारीमात्र थिए । सशस्त्र बस्नुअघि लागूऔषध प्रयोग गर्ने दुर्व्यसनको अखडा बनेकामा अहिले भने उद्योग पूर्ण सुरक्षित रहेको  छ । सरकारी चासोसँगै उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाइ गरिएको छ ।

१९८ किमि सडक कालोपत्र ,१७ हजार ३७४ लाई साढे ६३ करोड भत्ता वितरण

काठमाडौं । घोराही उप-महानगरपालिकाले पछिल्लो ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ । नगर प्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो ९ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, २८० किलोमिटर नयाँ सडक निर्माण र ६८.३ किलोमिटर सडक मर्मत सम्पन्न भएको छ ।  नगरका सबै वडालाई केन्द्रसँग जोड्न २०७ कल्भर्ट र पाँच झोलुङ्गे पुल निर्माण गरिएका उनले बताए । सहरी सौन्दर्यीकरण र सरसफाइका लागि ९९ किलोमिटर ढल निर्माण तथा एउटा व्यवस्थित स्यानेटरी ल्यान्डफिल्ड साइट सञ्चालनमा ल्याइएको छ । नदी नियन्त्रणका लागि २०.९ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरी बाढी र कटानको जोखिम कम गरिएको छ । खानेपानी र सिँचाइमा आत्मनिर्भरता नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ १०८ कुवा र ७७ डिपबोरिङ निर्माण गरी हाल ९२ प्रतिशत घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगर प्रमुख चौधरीले बताए । कृषि क्षेत्रलाई लक्षित गरी ४३ कृत्रिम जलाशय निर्माण गरिएका छन् । जसबाट ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको उनको भनाइ छ । ऊर्जा क्षेत्रमा ८७ किलोमिटर प्रसारण लाइन विस्तार र ७ वटा शौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको छ । नगर प्रमुख चौधरीका अनुसार शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा शिक्षा क्षेत्रमा २७ विद्यालय भवन र ३९ नयाँ कक्षाकोठा थपिएका छन् भने अधिकांश सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ । स्वास्थ्यतर्फ २८ स्वास्थ्य संस्थाका भवन निर्माण भएका छन् । सामाजिक सुरक्षाका क्षेत्रमा १७ हजार ३७४ लाभग्राहीलाई बैंकमार्फत ६३ करोड ५८ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।  घोराहीले हालसम्म १३८ स्थानीय कानुन निर्माण गरी शासन प्रणालीलाई विधिसम्मत बनाएको छ । वडास्तरबाटै अनलाइन घटना दर्ता, अनलाइन नागरिकता सिफारिस र राजस्व सङ्कलनजस्ता विद्युतीय शासन प्रणाली लागू गरी सेवा प्रवाहलाई छिटो तथा पारदर्शी बनाइएको नगरप्रमुख चौधरीले बताए । वातावरण संरक्षणका लागि एक हजार ३०० थान इन्डक्सन चुलो र ४५० थान सुधारिएको चुलो वितरण गरी धुवाँ मुक्त भान्सा अभियानलाई समेत सहयोग पुर्याइएको छ ।

स्पेनको सानदार प्रदर्शन, साउदी अरेबियामाथि ४–० को एकपक्षीय जित

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘एच’को रोमाञ्चक भिडन्तमा स्पेनले साउदी अरेबियामाथि ४–० को फराकिलो र सानदार जित दर्ता गरेको छ ।  खेलको सुरुवाती मिनेटदेखि नै आक्रामक रणनीति अपनाएको स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै ३ अंक जोड्न सफल भयो । खेलको पहिलो हाफमा स्पेन पूर्ण रूपमा हाबी देखियो । स्पेनले लगातार साउदीको रक्षापंक्तिमाथि दबाब बढाएको थियो ।  मिडफिल्डको उत्कृष्ट तालमेल र फरवार्ड लाइनको सटिक फिनिसिङका कारण स्पेनले पहिलो ४५ मिनेटभित्रै विपक्षी टोलीविरुद्ध ३–० को सहज एवं सानदार अग्रता लियो ।  खेलको १०औं मिनेटमै बार्सिलोनाका युवा स्टार लामिने यमालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । फरवार्ड मिकेल ओयार्जाबालले मात्र ३ मिनेटको अन्तरालमा लगातार दुई गोल गरे । उनले २१औं मिनेटमा टोलीका लागि दोस्रो र २४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३-० को स्थितिमा पुर्याए । खेलकाे ४९ ‍‍औं मिनेटमा साउदीका हसन अल्टामबक्तीले आत्मघाती गाेल गरे । दोस्रो हाफमा साउदी अरेबियाले खेलमा पुनरागमनका लागि आफ्नो रणनीति बदल्ने प्रयास गरेको थियो । साउदीले केही राम्रा प्रहार गरे पनि स्पेनको मजबुत रक्षापंक्ति र गोलकिपरलाई भत्काउन सकेन । साउदी अरेबियालाई पूर्ण रूपमा दबाबमा राख्दै ४ गोलको जित निकालेसँगै स्पेनले समूह ‘एच’ मा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ ।  यो फराकिलो जितले स्पेनको नकआउट पुग्ने सम्भावनालाई थप मजबुत बनाएको छ ।

पहिलो हाफमै स्पेनको बलियो कमब्याक, ३ गोलको सानदार अग्रता

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘एच’को रोमाञ्चक भिडन्तमा स्पेनले खेलको पहिलो हाफमै बलियो पकड बनाएको छ ।  स्पेनले पहिलो ४५ मिनेटभित्रै विपक्षी टोलीविरुद्ध ३-० को सानदार अग्रता लिएको हो । खेलको सुरुवाती मिनेटदेखि स्पेनले लगातार विपक्षीको रक्षापंक्तिमाथि दबाब बढाएको थियो । मिडफिल्डको चुस्त पासिङ र फरवार्ड लाइनको उत्कृष्ट तालमेलका कारण स्पेनले पहिलो हाफमै तीन पटक बललाई जाली चुमाउन सफल भयो । खेलको १०औं मिनेटमै बार्सिलोनाका युवा स्टार लामिने यमालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । फरवार्ड मिकेल ओयार्जाबालले मात्र ३ मिनेटको अन्तरालमा लगातार दुई गोल गरे । उनले २१औं मिनेटमा टोलीका लागि दोस्रो र २४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३-० को स्थितिमा पुर्‍याए । विश्वकपको समूह चरणमा नकआउट यात्रा बलियो बनाउन यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।  दोस्रो हाफमा विपक्षी टोलीले पुनरागमनका लागि रणनीति बदल्ने प्रयास गर्नेछ भने स्पेन आफ्नो यो बलियो अग्रतालाई जितमा बदल्दै स्पष्ट ३ अंक जोड्ने दाउमा हुनेछ । पहिलो खेलमा स्पेन केप भर्डसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट

काठमाडौं । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ६४ करोड ६४ लाख रुपैयाँ बजेट ल्याएको छ । आइतबार (आज) आयोजित नगरसभाको १५औं अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट सार्वजनिक गरेकी हुन् ।  उनका अनुसार आगामी आवका लागि चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख रुपैयाँ र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ ।  बजेटका स्रोतका रुपमा आन्तरिक आयबाट ५५ करोड १० लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ६० करोड ४५ लाख ३६ हजार रुपैयाँ, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणतर्फ एक अर्ब छ करोड ७९ लाख प्राप्त हुने जनाएको छ ।      त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड २२ लाख रुपैयाँ तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।  चालु आवको दुई अर्ब ५६ करोड चार लाख रुपैयाँ बजेटमध्ये जेठ मसान्तसम्म एक अर्ब ७७ करोड ४९ लाख ५१ हजार रुपैयाँ प्राप्त भएकामा एक अर्ब १९ करोड ९४ लाख खर्च भएको उपप्रमुख रानाले जानकारी दिइन् ।  उपमहानगरले आगामी आवको बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यलाई प्राथमिकता दिएको छ ।  उपमहानगरले आगामी वर्ष नगर गौरवका आयोजना सञ्चालन तथा वडा स्वास्थ्य क्लिनिकलाई थप सुदृढीकरण गर्ने जनाइएको छ ।  विकास आयोजनाको प्रभावकारी सञ्चालनका लागि आयोजना बैंक स्थापना गर्ने र त्यसमा समावेशन आयोजना क्रमशः कार्यान्वयन गर्दै लगिने र सीप सिकाएर युवालाई स्वरोजगार बाउन सीप तथा रोजगार मेला सञ्चालनलाई उपमहानगरले आगामी वर्ष निरन्तरता दिने भएको छ  ।