काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमनसँगै सक्रियता बढाइएको छ ।
हेटौंडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो । त्यसयता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटकपटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन ।
यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तवरबाट स्थलगत अनुगमनसँगै सक्रियता बढाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौंडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए ।
‘कपडा उद्योगसँगै तत्कालीन समयमा नै यससँग सम्बन्धित बुटवलमा धागो कारखाना र बाँकेको नेपालगन्जमा कपास उत्पादन कारखाना पनि सँगसँगै सञ्चालनमा ल्याइएको थियो,’ सूचना अधिकारी भण्डारीले भने, ‘हेटौंडा कपडा उद्योग बन्द भएपछि यी दुई उद्योग पनि बन्द भएका थिए ।’
त्यसयता समय-समयमा यसको पुनः सञ्चालनको प्रयास भने भइरहेको उनले जानकारी दिए । कपडा उद्योग पुनः तत्कालै सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँदै सूचना अधिकारी भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको बताए । हेटौंडा कपडा उद्योगको पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अग्रसरता लिएको बताउँदै उनले यसबीचमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले उद्योगको स्थलगत अनुगमन गरेको बताए ।
त्यस्तै उद्योगको हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि स्थलगत निरीक्षणसँगै जानकारी लिएको उनको भनाइ छ ।
मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सरकारले हेटौंडा कपडा उद्योग यसै वर्षबाट सञ्चालनमा ल्याउने तयारी गरेको बताइन् ।
रूग्ण उद्योगहरूमध्ये हेटौंडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउने बताउँदै उनले कपडा उद्योगका लागि बुटवल धागो र कपास खेती पनि यसै वर्ष सञ्चालनमा ल्याउने जानकारी गराइन् ।
कपडा उद्योग बन्द भएसँगै उक्त उद्योग परिसरमा २०७५ सालदेखि सशस्त्र प्रहरी सुरक्षा बल १४ नम्बर गण बस्दै आएको छ । सशस्त्र प्रहरी बस्नुअघि त्यहाँको सुरक्षाका लागि दुई कर्मचारीमात्र थिए । सशस्त्र बस्नुअघि लागूऔषध प्रयोग गर्ने दुर्व्यसनको अखडा बनेकामा अहिले भने उद्योग पूर्ण सुरक्षित रहेको छ । सरकारी चासोसँगै उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाइ गरिएको छ ।