काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘एच’को रोमाञ्चक भिडन्तमा स्पेनले साउदी अरेबियामाथि ४–० को फराकिलो र सानदार जित दर्ता गरेको छ ।
खेलको सुरुवाती मिनेटदेखि नै आक्रामक रणनीति अपनाएको स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै ३ अंक जोड्न सफल भयो ।
खेलको पहिलो हाफमा स्पेन पूर्ण रूपमा हाबी देखियो । स्पेनले लगातार साउदीको रक्षापंक्तिमाथि दबाब बढाएको थियो ।
मिडफिल्डको उत्कृष्ट तालमेल र फरवार्ड लाइनको सटिक फिनिसिङका कारण स्पेनले पहिलो ४५ मिनेटभित्रै विपक्षी टोलीविरुद्ध ३–० को सहज एवं सानदार अग्रता लियो ।
खेलको १०औं मिनेटमै बार्सिलोनाका युवा स्टार लामिने यमालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । फरवार्ड मिकेल ओयार्जाबालले मात्र ३ मिनेटको अन्तरालमा लगातार दुई गोल गरे । उनले २१औं मिनेटमा टोलीका लागि दोस्रो र २४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३-० को स्थितिमा पुर्याए ।
खेलकाे ४९ औं मिनेटमा साउदीका हसन अल्टामबक्तीले आत्मघाती गाेल गरे ।
दोस्रो हाफमा साउदी अरेबियाले खेलमा पुनरागमनका लागि आफ्नो रणनीति बदल्ने प्रयास गरेको थियो । साउदीले केही राम्रा प्रहार गरे पनि स्पेनको मजबुत रक्षापंक्ति र गोलकिपरलाई भत्काउन सकेन ।
साउदी अरेबियालाई पूर्ण रूपमा दबाबमा राख्दै ४ गोलको जित निकालेसँगै स्पेनले समूह ‘एच’ मा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ ।
यो फराकिलो जितले स्पेनको नकआउट पुग्ने सम्भावनालाई थप मजबुत बनाएको छ ।

