कालापानी–लिपुलेकको प्रमाण छ, मेरो राष्ट्रियताप्रति आशंका नगर्नू : प्रधानमन्त्री बालेन
प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कालापानी र लिपुलेक नेपालकै भूभाग रहेको बलियो प्रमाण आफूहरूसँग सुरक्षित रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले राष्ट्रियता र सीमा सुरक्षाका सवालमा सरकार सम्झौताहीन रहने प्रष्ट पारे । सम्बोधनका क्रममा सीमा विवादलाई लिएर चासो र आपत्ति जनाउँदै उनले देशको सार्वभौमिकता रक्षाका लागि वर्तमान नेतृत्व दृढ रहेको जिकिर गरे । पछिल्लो समय सीमा समस्या समाधानका लागि तेस्रो पक्षको संलग्नता हुन सक्ने भनी बजारमा चलेका हल्ला र चर्चाको प्रधानमन्त्री शाहले खण्डन गरे । ‘हामीले कालापानी–लिपुलेकको मुद्दामा ब्रिटिस सरकारलाई मध्यस्थकर्ता राख्न खोजेका हौँ भन्ने कुरा सत्य होइन, हामी त्यसो गर्दैनौँ,' उनले भने, 'हामीसँग आफ्नै ऐतिहासिक तथ्य र प्रमाणहरू छन् । त्यसैले मेरो राष्ट्रियता र देशप्रतिको निष्ठामाथि कसैले पनि आशङ्का गर्नु पर्दैन ।’ राजनीतिक स्थायित्व र दलहरूभित्रको आन्तरिक लोकतन्त्रबारे बोल्दै प्रधानमन्त्री शाहले विगतको प्रवृत्तिको आलोचना गरे । पहिलेका राजनीतिक दलहरूमा विचार र नीतिको सट्टा गुट र उपगुट बनाउने गलत अभ्यास निकै मौलाएको उल्लेख गर्दै उहाँले अहिले देशको राजनीतिक वातावरण लयमा आउँदै गरेको दाबी गरे । 'विगतमा जे(जस्ता गुट र उपगुट बनाउने राजनीतिक अभ्यासहरू भए, त्यसले देशलाई फाइदा गरेन,' प्रधानमन्त्री शाहले थपे, ‘तर अहिले परिस्थिति फरक छ । राज्यका संयन्त्र र सुरक्षा लगायतका सबै कुराहरू पूर्ण नियन्त्रणमा छन् । जनताले कुनै पनि कुरामा चिन्ता लिनुपर्ने आवश्यकता छैन ।’ महाधिवेशनमा बोल्दै उनले सरकार देश र नागरिकको हितलाई केन्द्रमा राखेर अघि बढिरहेको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे ।
‘हाम्रो गाडी लोकल होइन, एक्सप्रेस हो, गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ’
काठमाडौं । प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शाहले आफूहरूले अघि बढाइरहेको अभियानलाई ‘एक्सप्रेस गाडी’सँग तुलना गर्दै निर्धारित गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् । राष्ट्रिय पार्टीको प्रथम महाधिवेशनमा बोल्दै शाहले आफूहरूको काम योजनाबद्ध र नियन्त्रणमै रहेको दाबी गरे । ‘हाम्रो गाडी लोकलमा होइन, एक्सप्रेसमा हिँडेको गाडी हो । यो अनियन्त्रित छैन । यो लोकल गाडी होइन, एक्सप्रेस गाडी हो । गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ,’ उनले भने । आफ्नो नेतृत्वमा भएका कामको बचाउ गर्दै उनले बाढी नियन्त्रण र नदी व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे । ‘हामीले बाढी रोकेर खोला फर्काएका हौं । यो हावा गफ होइन,’ उनले भने । सरकार र नेतृत्वबारे व्यक्त भइरहेका चिन्ताप्रति प्रतिक्रिया दिँदै उनले चिन्ता व्यक्त गर्नेहरूलाई धन्यवाद दिए । ‘सबै कुरा नियन्त्रणमा छ । कुनै पनि विषयमा अनावश्यक चिन्ता लिनु पर्दैन,’ उनले भने । शाहले जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्दै ‘जनता सधैं स्पटलाइटमा रहन्छन् । हाम्रो सरकारले जनतालाई प्रतिबिम्बित गर्छ,’ भने । उनले आफ्नो राजनीतिक सोचलाई विकासमुखी रहेको उल्लेख गर्दै प्रतिशोधको राजनीति नगर्ने बताए । ‘हाम्रो पार्टी विकासवादी पार्टी हो । हामी प्रतिशोधको राजनीति गर्दैनौं । तर, कसैले निहुँ खोजे विगतमा भएका भ्रष्टाचार र अनियमितताका विषय उठाउन पछि पर्दैनौं’ , उनले भने । सीमा विवादबारे बोल्दै शाहले कालापानी–लिपुलेक नेपालको भूमि भएको दाबी दोहोर्याए । ‘कालापानी–लिपुलेकका प्रमाण छन् । हामीले ब्रिटिसलाई मध्यस्थता गर्न खोजेका होइनौं । मेरो राष्ट्रियताप्रति कसैले आशंका गर्नुपर्ने आवश्यकता छैन, ’ उनले भने । उनले विगतको गुट-उपगुटको राजनीतिक अभ्यासबाट देशले अपेक्षित परिणाम नपाएको पनि उल्लेख गरे ।
रास्वपा महाधिवेशनमा अमरेश सिंह किन अनुपस्थित भए ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आइतबार (आज)देखि चितवनको भरतपुरमा भव्य रूपमा सुरु भएको छ । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका वरिष्ठ नेताहरू महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न भरतपुर पुगिरहँदा रास्वपाका सांसद अमरेशकुमार सिंह भने समारोहमा अनुपस्थित भएका छन् । पार्टीको यति ठूलो आन्तरिक उत्सवमा उनको अनुपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । सांसद सिंहले हालै प्रतिनिधिसभा बैठकमा आफ्नै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । संसदमा बजेटका प्राथमिकताहरूमाथि महत्त्वपूर्ण छलफल भइरहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायतका जिम्मेवार मन्त्रीहरू उपस्थित नभएको भन्दै उनले संसदमा आक्रोश व्यक्त गरेका थिए। सरकारको क्रमभंगताको नारा व्यावहारिक रूपमा नदेखिएको र विगतमा स्वतन्त्र रहँदा आफूले उठाउँदै आएका एजेन्डाहरूलाई पार्टीभित्र पर्याप्त स्थान नदिइएको भन्दै उनी रुष्ट बनेका हुन् । विगतमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को कट्टर समर्थक रहेका सिंहको दृष्टिकोणमा अचेल ठूलो परिवर्तन आएको छ । गत वर्ष जनकपुरधाममा भएको रास्वपाको चुनावी सभामा ‘बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु’ सम्मको अभिव्यक्ति दिएका सिंहले अहिले भने बालेनको कार्यशैलीप्रति कडा कटाक्ष गरेका छन् । सरकार चलाउनु र महानगर चलाउनु एउटै नभएको टिप्पणी गर्दै उनले भनेका थिए, ‘सरकार चलाउनु महानगर चलाउनुजस्तो सजिलो काम होइन ।’ सांसद सिंहको असन्तुष्टि केन्द्रमा मात्र सीमित नभएर तल्लो तहसम्म पुगेको छ । विशेष गरी मधेस प्रदेशको जलेश्वर र सर्लाही क्षेत्रमा रास्वपाका स्थानीय कार्यकर्ता र अमरेश सिंहका समर्थकहरूबीच विवाद बढ्दै गएको छ । सिंहविरुद्ध नाराबाजीसमेत भएको छ।
‘हामीले नेतालाई भगवान र ‘बा’ मानेर ठूलो गल्ती गर्यौं’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली राजनीतिक संस्कृतिमा नेतालाई भगवान वा ‘बा’का रूपमा हेर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले नेताप्रति आवश्यक आलोचना नगर्दा राजनीतिक दल र नेतृत्व दुवै कमजोर बनेको बताए । 'हामीले नेतालाई भगवान र ‘बा’ मानेर ठूलो गल्ती गर्यौं । हामीले नेताहरूको समयमै आलोचना गरेनौं। त्यो कुरा ढिलो गरेर बुझ्यौं', उनले भने । थापाले रास्वपाका नेता-कार्यकर्तालाई पनि आफ्नै नेतृत्वमाथि आवश्यक पर्दा आलोचना गर्न आग्रह गरे । उनका अनुसार लोकतान्त्रिक पार्टीमा आत्मालोचना र नेतृत्वप्रति प्रश्न उठाउने संस्कृतिले मात्रै पार्टीलाई बलियो बनाउँछ । उनले कांग्रेस र रास्वपाबीच स्वस्थ प्रतिस्पर्धा रहने दोहोर्‍याउँदै सही काममा साथ र गलत काममा खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरे । 'राम्रो काममा हामी साथ दिन्छौं। गलत काममा औंला उठाउँछौं', थापाले भने ।
रास्वपाको जनमत असाधारण र लोभलाग्दो छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको जनमत असाधारण र लोभलाग्दो रहेको बताएका छन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै थापाले नयाँ राजनीतिक शक्तिले प्राप्त गरेको जनमतलाई जोगाएर संस्थागत गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे । विगतमा पनि यस्तै जनमत पाएका केही राजनीतिक दल नेतृत्वको कमजोरीका कारण टिक्न नसकेको उनको भनाइ थियो । 'रास्वपाले प्राप्त गरेको जनमत असाधारण छ, लोभलाग्दो छ । विगतमा पनि केही दलले यस्तै जनमत तीन–चार पटक प्राप्त गरे। तर, त्यो जनमत दुर्घटनामा पर्यो,' उनले भने । थापाले जनमत दुर्घटनामा पर्नुको मुख्य कारण नेतृत्वमा देखिएको उन्माद भएको टिप्पणी गरे । 'कुनै पार्टीले जनमत प्राप्त गर्यो, तर पार्टीका नेताको उन्मादका कारण त्यो दुर्घटनामा पर्यो । ती पार्टीले आफूलाई सम्हाल्न सकेनन्। उनीहरू मात्रै असफल भएनन्, जनताले दिएको विश्वास र पसिना पनि खेर गयो,' उनले भने । कांग्रेस र रास्वपाबीच स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुने उल्लेख गर्दै थापाले प्रतिस्पर्धा विचार, नीति र कार्यसम्पादनका आधारमा हुनुपर्ने बताए । 'नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो। हामी तपाईंहरूभन्दा अग्लो बन्न चाहन्छौं। तर, तपाईंहरूलाई फोहोर देखाएर होइन, आफूलाई सफा बनाएर अग्लो हुन चाहन्छौं', उनले भने । थापाले लोकतान्त्रिक संस्कृतिअनुसार सहकार्य र प्रतिस्पर्धा दुवै आवश्यक रहेको उल्लेख गर्दै आवश्यक पर्दा सहयोग र आवश्यक पर्दा खबरदारी गर्ने कांग्रेसको नीति रहने बताए । 'सहयोग गर्ने ठाउँमा सहयोग गर्छौं । आलोचना गर्नुपर्ने ठाउँमा आलोचना गर्छौं। औंला उठाउनुपर्ने ठाउँमा औंला उठाउँछौं,' उनले भने ।
एमालेको प्रश्न : रास्वपाको राजनीतिक सिद्धान्त र वैचारिक दिशा के हो ?
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफ्नो राजनीतिक सिद्धान्त र वैचारिक दिशा स्पष्ट गर्न आग्रह गरेका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले अब आन्दोलनलाई संस्थागत राजनीतिक संगठनमा रूपान्तरण गर्नुपर्ने बेला आएको बताए । उनले रास्वपाले राष्ट्रिय राजनीतिमा आफू कहाँ उभिने भन्ने विषय स्पष्ट पार्नुपर्ने धारणा राखे । 'राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ रु यसको राजनीतिक सिद्धान्त के हो रु पार्टी केन्द्रमा उभिन्छ, वामपन्थी धारमा जान्छ, दक्षिणतर्फ ढल्किन्छ वा 'सेन्टर टु राइट' को बाटो रोज्छ ? यी प्रश्नहरूको उत्तर सिंगो देशले खोजिरहेको छ,' ज्ञवालीले भने । उनले निर्वाचनबाट प्राप्त जनादेशलाई सुदृढ लोकतन्त्र निर्माणमा रूपान्तरण गर्नु अहिलेको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जनादेशको रक्षा सबै राजनीतिक दलको साझा दायित्व भएको बताए। 'मत दिने र मत नदिने दुवै जनताको अनुहारमा उज्यालो ल्याउने गरी राजनीति अघि बढ्नुपर्छ', उनले भने। ज्ञवालीले नेपालको भूराजनीतिक अवस्थाप्रति पनि ध्यानाकर्षण गराउँदै छिमेकी मुलुकहरूबीचको सन्तुलित कूटनीति कायम राख्नु आवश्यक रहेको बताए । उनले रास्वपा सभापति रवि लामिछाने र परराष्ट्र मन्त्रीको भारत भ्रमणपछि नेपालको भूराजनीतिक अवस्था कस्तो दिशातर्फ जान्छ भन्ने विषय चासोको रहेको उल्लेख गरे । 'नेपालजस्तो मुलुकका लागि भूराजनीतिक दबाब थेग्न सहज हुँदैन । सरकारका केही प्रारम्भिक निर्णयले केही दबाब सिर्जना गरेका छन् । ती विषय अपवादमै सीमित रहून् भन्ने हाम्रो अपेक्षा छ', ज्ञवालीले भने ।
रास्वपा र नेकपाबीच धेरै समानता छन् : वर्षमान पुन
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र माओवादी केन्द्रबीच धेरै समानता रहेको बताएका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पुनले यस्तो बताएका हुन् । दुवै राजनीतिक शक्तिले स्थापित राजनीतिक निरन्तरतामा क्रमभंग गर्दै नयाँ वैकल्पिक शक्तिका रूपमा उदय भएको उनको भनाइ छ । उनले माओवादी केन्द्रले सशस्त्र जनयुद्ध र राजनीतिक आन्दोलनमार्फत पुरानो राजनीतिक संरचनामा परिवर्तनको एजेन्डा अघि सारेको स्मरण गर्दै रास्वपाले पनि परम्परागत दलप्रतिको जनअसन्तुष्टिलाई सम्बोधन गर्दै नयाँ राजनीतिक शक्तिका रूपमा स्थान बनाएको उल्लेख गरे । ‘माओवादी र रास्वपाबीच धेरै समानता छन्, दुवैले स्थापित राजनीतिक निरन्तरतामा क्रमभंग गरेका छन्,’ उनले भने । पुनले लोकतन्त्रलाई सुदृढ बनाउन नयाँ र पुराना सबै राजनीतिक शक्तिबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको धारणा व्यक्त गरे। उनले जनताका आकांक्षा, सुशासन, पारदर्शिता र विकासका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्न रास्वपालाई सुझाव पनि दिए । रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएर शुभकामना मन्तव्य राखिरहेका छन् ।
‘बालेनले राजा ल्याउँछ’ भन्ने अपेक्षासहित पनि रास्वपालाई भोट गएको थियो : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत प्रतिनिधिसभा निर्वाचनमा ‘बालेनले राजा ल्याउँछ’ भन्ने अपेक्षासहित पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मत गएको दाबी गरेका छन् । चितवनको भरतपुरमा सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले नेपालमा राजसंस्था पुनःस्थापनाको पक्षमा रहेका मतदाताको एक हिस्सा राप्रपामा नआएर रास्वपालाई मतदान गरेको दाबी गरेका हुन् । उनले प्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले जनताको चाहना र अपेक्षालाई सम्बोधन गर्नुपर्ने बताएका हुन् । ‘प्रधानमन्त्रीजीलाई थाहा छ, सभापतिलाई थाहा छ, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ,’ उनले भने, ‘नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हो, तर राप्रपालाई नदिएर ‘बालेनले राजा ल्याउँछ’ भनेर तपाईंहरूलाई भोट दिएका छन् । त्यसकारण तपाईंहरूको विशिष्ट जिम्मेवारी छ ।’ लिङ्देनले विगतका राजनीतिक नेतृत्वप्रति जनतामा असन्तुष्टि बढेकै कारण नयाँ शक्तिहरूलाई अवसर प्राप्त भएको उल्लेख गर्दै अहिलेको संविधान र राजनीतिक व्यवस्थामा पनि सुधार आवश्यक रहेको धारणा राखे। संविधान संशोधन र राष्ट्रिय सहमतिबिना देश सही दिशामा अघि बढ्न नसक्ने उनको भनाइ थियो। ‘समस्या केवल नेताहरूमा मात्र होइन, संविधान र संवैधानिक व्यवस्थामा पनि छ,’ उनले भने, ‘संविधानमा सुधार नगरी र राष्ट्रिय सहमति कायम नगरी देशले सही लय समात्न सक्दैन ।’ राप्रपा अध्यक्ष लिङ्देनले रास्वपालाई निषेधको राजनीति नगर्न पनि सुझाव दिए। विगतमा भएका राजनीतिक विभेद र बहिष्कारको अभ्यासलाई दोहोर्याउने गल्ती नगर्न आग्रह गर्दै उनले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए । उनले निषेध र प्रतिशोधको राजनीतिले मुलुकलाई थप संकटतर्फ धकेल्ने चेतावनी दिँदै जनताको आशा र विश्वास जोगाउन जिम्मेवार राजनीतिक व्यवहार आवश्यक रहेको उल्लेख गरे । सम्बोधनका क्रममा लिङ्देनले रास्वपा र राप्रपा वैचारिक रूपमा फरक धारमा रहे पनि केही साझा मुद्दामा समान धारणा राख्ने दल भएको दाबी गरे । उनले जनताले पुराना राजनीतिक शक्तिप्रति देखाएको असन्तुष्टिलाई सकारात्मक परिवर्तनको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।