इरानसँग गोलरहित बराबरीमा रोकियो बेल्जियम

काठमाडौं । सन् २०२६ फिफा विश्वकपअन्तर्गत समूह ‘जी’को आफ्नो दोस्रो खेलमा इरानले  बेल्जियमसँग गोलरहित बराबरी खेलेको छ ।

लस एञ्जलस स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल ०–० को बराबरीमा टुंगिएको हो ।

खेलको ६६औं मिनेटमा बेल्जियमका नेथान नगुईले इरानका मेहदी तारेमीमाथि खराब फल गरेपछि सिधै रातो कार्ड पाएका थिए । नगुई मैदानबाट बाहिरिएपछि बेल्जियम १० खेलाडीमा सीमित बने पनि इरानले संख्यात्मक लाभलाई गोलमा परिणत गर्न सकेन ।

यसअघि इरानले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग २–२ गोलको बराबरी खेलेको थियो । लगातार दोस्रो बराबरीसँगै इरानले नकआउट चरण पुग्ने सम्भावना भने कायम राखेको छ ।

अब इरानले जुन २७ मा इजिप्टविरुद्ध समूह चरणको अन्तिम तथा निर्णायक खेल खेल्नेछ । नकआउट चरणमा स्थान सुरक्षित गर्ने सम्भावना जीवित राख्न उक्त खेल इरानका लागि महत्त्वपूर्ण रहनेछ ।

Share News