ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
काठमाडौं । केही दिनयता विभिन्न क्षेत्रका उद्योगी-व्यवसायीसँग निरन्तर संवाद गर्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज (शुक्रबार) ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने भेटवार्तामा ऊर्जा क्षेत्रका समसामयिक समस्या, लगानीको वातावरण नीतिगत सुधार तथा समाधानका उपायबारे विस्तृत छलफल हुने कार्यक्रम रहेको छ । एक ऊर्जा व्यवसायीका अनुसार प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा देखिएका चुनौती, निजी क्षेत्रका गुनासा तथा सुधारका सम्भावित उपायबारे प्रत्यक्ष रूपमा सुझाव लिन ऊर्जा उद्यमीहरूलाई छलफलका लागि बोलाएका हुन् । पछिल्ला केही दिनयता प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रका उद्योगी-व्यवसायीसँग संवादलाई तीव्रता दिँदै आएका छन् । यसैक्रममा ऊर्जा क्षेत्रसँगको आजको छलफललाई पनि सरकारले निजी क्षेत्रका समस्या सुन्ने र समाधान खोज्ने प्रयासका रूपमा हेरिएको छ । ऊर्जा व्यवसायीहरूले उत्पादन, प्रसारण, विद्युत् खरिद–बिक्री, लगानीमैत्री वातावरण तथा नीतिगत स्थायित्वलगायतका विषयमा आफ्ना धारणा प्रधानमन्त्रीसमक्ष राख्ने तयारी गरेका छन् ।
पोखरा फाइनान्स र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु
काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शुक्रबार (असार २६) गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुवै वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन गरेका हुन् । दुवै संस्था १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । मर्जरपश्चात् कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित साविक समृद्धि फाइनान्सको कार्यालयमा रहनेछ । मर्जपछि सात सदस्यीय सञ्चालक समिति गठन हुनेछ । समितिमा समृद्धि फाइनान्सबाट अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे तथा पोखरा फाइनान्सबाट प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ रहनेछन् । हालका अध्यक्ष अजय मिश्रले मर्जरपछिको संस्थाको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्ने स्रोतको भनाइ छ । यस्तै, मर्जरपछिको कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश गुरुङ नियुक्त हुने सहमति भएको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुग्नेछ । हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ र समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ । एकीकृत संस्थाको शाखा सञ्जाल ३६ वटा पुग्नेछ भने कर्मचारी संख्या करिब ३०० रहनेछ ।
राष्ट्र बैंकद्वारा ६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै १९ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरिएको जनाएको छ । बोलकबोल आज दिउँसो ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ । सूचनाअनुसार निक्षेप संकलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँ दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ । निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ
काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण गर्नेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नवीन मान सिंह प्रधान, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. सूर्यमान मेन्याङबो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अजय कुमार मिश्र रहेका छन् । नेपाल सरकारले 'स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३' बमोजिम गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई सम्बन्धित प्रतिष्ठानहरूको उपकुलपतिमा नियुक्त गरेको हो ।
टिकटकको सहारामा फस्टायो कोरियाबाट फर्किएका युवाको नर्सरी व्यवसाय
काठमाडौं । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना बगाउने अधिकांश नेपाली युवाको सपना हुन्छ, स्वदेशमै फर्केर उद्यम गर्ने । यस्तै, सपनालाई यथार्थमा परिणत गर्न सफल भएका छन् झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढीका फिलिप लिम्बू । दक्षिण कोरियामा एक दशक बिताएर गत वर्ष नेपाल फर्किएका लिम्बूले आफ्नै जन्मथलोमा श्रीमतीको नाममा ‘सेवारो फूल कथा नर्सरी’ स्थापना गरी व्यावसायिक पुष्पखेती र बिरुवा उत्पादनको काम सुरु गरेका हुन् । सानैदेखि फूलप्रति विशेष रुचि राख्ने लिम्बूले विदेशमा रहँदा पनि अवसर पाएसम्म बगैँचा र हरियालीसँग जोडिएका काम नियाले । स्वदेश फर्किएपछि त्यही रुचिलाई व्यवसायमा रूपान्तरण गर्ने अठोटका साथ उहाँले नर्सरी स्थापना गरे । 'रोजगारीका सिलसिलामा लामो समय विदेश बसियो । पैसा कमाइयो, तर परिवारसँग बस्न पाइएन', लिम्बूले भने, 'आफ्नै देशमा केही गर्नुपर्छ भनेर कोरियामा हुँदै योजना बनाइसकेको थिएँ । अहिले परिवारसँगै बसेर आफ्नै रुचिको व्यवसाय गर्न पाउँदा आर्थिक आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ । विदेशमा कमाएको अनुभव र पुँजी आफ्नै माटोमा लगानी गर्न पाउँदा गर्व लाग्छ ।' एक वर्षअघि सुरु गरिएको नर्सरीले छोटो समयमै राम्रो व्यापार गर्न थालेको छ । यहाँ विभिन्न जातका मौसमी फूल, सजावटी बिरुवा, फलफूलका बिरुवा तथा घरआँगन हरियाली बनाउन प्रयोग हुने बिरुवा उत्पादन तथा बिक्री हुँदै आएका छन् । स्थानीय ग्राहकसँगै जिल्ला बाहिरबाट पनि माग बढ्दै गएको लिम्बूले बताए । उनका अनुसार नर्सरीमा उत्पादन भएका बिरुवा अहिले झापामात्र नभई चितवन, धरान, इटहरी, विराटनगरलगायतका विभिन्न स्थानसम्म पुग्न थालेका छन् । व्यवसाय विस्तारसँगै ग्राहकको विश्वास पनि बढ्दै गएको उनको अनुभव छ । 'गुणस्तरीय बिरुवा उत्पादन गर्ने र ग्राहकलाई आवश्यक परामर्श दिने प्रयास गरेका छौँ', उनले भने, 'एकपटक बिरुवा लिएर सन्तुष्ट भएका ग्राहक फेरि पनि आउनुहुन्छ र अरूलाई पनि सिफारिस गर्नुहुन्छ । यही नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।' लिम्बूको व्यवसाय सफल बनाउन सामाजिक सञ्जाल ‘टिकटक’ प्रभावकारी माध्यम बनेको छ । उनले नियमित रूपमा नर्सरीमा रहेका फूल, बिरुवा, तिनको हेरचाह गर्ने तरिका तथा नयाँ उत्पादनका भिडियो टिकटकमार्फत सार्वजनिक गर्दै आएका छन् । यसले नर्सरीको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको उनले बताए । 'सदुपयोग गर्नेका लागि सामाजिक सञ्जाल निकै राम्रो प्लेटफर्म हो', उनले भने, 'टिकटकबाट हाम्रो नर्सरी धेरै मानिससम्म पुगेको छ । भिडियो हेरेरै धेरै ग्राहक नर्सरी खोज्दै आउनुहुन्छ । अनि कति ग्राहकले अनलाइनमार्फत ‘अर्डर’ पनि दिनुहुन्छ । अहिले मेरो लागि सामाजिक सञ्जाल व्यवसाय प्रवद्र्धनको प्रभावकारी माध्यम बनेको छ ।' सुरुआतमा नर्सरीको संरचना निर्माण, बिरुवा उत्पादन र आवश्यक पूर्वाधार तयार गर्न करिब रु आठ लाख लगानी भएको लिम्बूले जानकारी दिए । यसमा सरकारी निकायले पनि साथ दिएको छ । यसमध्ये राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यान्वयन एकाइ भद्रपुरबाट पुष्प नर्सरी स्थापना तथा पुष्प व्यवसाय कार्यक्रममार्फत ५० प्रतिशत अर्थात् रु चार लाख अनुदान प्राप्त भएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ भद्रपुरका प्रमुख रवीन्द्र सुवेदीले कृषि क्षेत्रमा नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । 'वैदेशिक रोजगारीबाट फर्किएका युवाले आफ्नो सीप, अनुभव र पुँजीलाई कृषि क्षेत्रमा लगानी गर्नु सकारात्मक कुरा हो', सुवेदीले भने, 'यस्ता उद्यमले स्थानीयस्तरमा रोजगारी सृजना गर्नुका साथै व्यावसायिक कृषि विस्तारमा पनि टेवा पुग्छ ।' सरकारको नीतिअनुसार कार्यालयले कृषि उद्यमशीलतालाई प्रवद्र्धन गर्न विभिन्न अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको छ । इच्छाशक्ति र योजनासहित काम गर्ने किसान तथा उद्यमीलाई हामीले निरन्तर सहयोग गरिरहेको उनको भनाइ छ । रासस
सेतो आलु केजीको ३० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४७, आलु रातो (गोलो) प्रतिकिलो रु ४०, आलु रातो (मुढे) प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ४५, रातो मूला प्रतिकिलो रु ३२, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५ र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु १४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३५, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो रु ३५, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १६०, आँप (दशहरी) प्रतिकिलो रु १७०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु ३००, लिची (भारतीय) रु ३५०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । अदुवा प्रतिकिलो रु २००, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३५, माछे खुर्सानी प्रतिकिलो रु ५०, खुर्सानी भेडे प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।
व्यतित बीमालेख नवीकरणमा ब्याज–जरिवानामा ५० प्रतिशत छुट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित (ल्याप्स) भएका बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क अर्थात् ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट जारी भई व्यतित भएका बीमालेखहरूमा असार २५ गतेदेखि ३२ गतेसम्म नवीकरण वा पुनर्जागरण गर्दा उक्त छुट सुविधा उपलब्ध गराइने जनाएको हो । जतिसुकै अवधिदेखि व्यतित भएका बीमालेख भए पनि नवीकरणका क्रममा लाग्ने ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट प्रदान गरिनेछ । कम्पनीले भने यस्तो सुविधा बीमाको अवधिभर एकपटक मात्र उपलब्ध गराइने स्पष्ट पारेको छ । यस्तै, ब्याज-जरिवाना छुट सुविधा उपयोग गरी नवीकरण गरिएका बीमालेख बीमालेख नवीकरण भएको मितिले दुई वर्षभित्र बीमित वा प्रस्तावकले समर्पण (सरेंडर) गर्न चाहेमा नवीकरणका क्रममा छुट दिइएको ब्याज तथा जरिवाना बराबरको रकम कम्पनीले कट्टा गर्ने जनाएको छ ।
रिलायबल नेपाल लाइफको ३ करोड ७१ लाख कित्ता सेयरको लक-इन अवधि सकिँदै
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लक-इन अवधि सकिने भएको छ । कम्पनीको संस्थापक सेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लक-इन अवधि साउन ३० गते समाप्त हुने भएको हो । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता रहेको कुल ५ करोड १९ लाख ६८ हजार कित्ता सेयरमध्ये संस्थापक सेयरधनी तथा कर्मचारीको नाममा रहेको सेयरको लक-इन अवधि समाप्त हुन लागेको हो । कम्पनीका अनुसार लक-इन अवधिमा रहेको संस्थापक सेयरधनीको सेयर संख्या ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता रहेको छ । यस्तै कर्मचारीलाई बाँडफाँट गरिएको ७ लाख ७९ हजार ५२० कित्ता सेयरको पनि लक-इन अवधि सोही मितिमा समाप्त हुनेछ । सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का रहने स्पष्ट पारेको छ ।