विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा केप भर्डेले दुई पटकको विश्व च्याम्पियन उरुग्वेलाई २–२ को रोमाञ्चक बराबरीमा रोक्दै आफ्नो पहिलो विश्वकप यात्रालाई थप यादगार बनाएको छ ।
यसअघि पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको केप भर्डेले उरुग्वेविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण एक अंक बटुल्यो । यो नतिजासँगै उसले अन्तिम ३२ मा स्थान बनाउने सम्भावना जीवित राखेको छ ।
खेलको २१औँ मिनेटमा केभिन पिनाले गोल गर्दै केप भर्डेलाई अग्रता दिलाएका थिए । त्यसपछि उरुग्वेका म्याक्सी अराउजोले ४४औँ मिनेटमा हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा अगुस्टिन कानोब्बियोले गोल थपेपछि उरुग्वेले पहिलो हाफ २–१ को अग्रतासहित समाप्त गरेको थियो ।
तर दोस्रो हाफमा केप भर्डेले पुनरागमन गर्यो । खेलको ६१औँ मिनेटमा हेलियो भारेलाले गाेल गर्दै केप भर्डेलाई २–२ को बराबरीमा पुर्याए ।
इन्जुरी समयमा दुवै टोलीले निर्णायक गोलका लागि केही अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।
यस नतिजासँगै केप भर्डे र उरुग्वे दुवैले पहिलो दुई खेलबाट समान २–२ अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलअघि दुवै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।