विकासन्युज

काठमाडौं उपत्यकाको जाम हटाउन १८ मिटर लामो विद्युतीय बस ल्याइने

काठमाडौं । काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यका साथ शशिला मोटर्स प्रालिले १८ मिटर लामो ‘आर्टिकुलेटेड’ (दुईवटा बस जोडिएजस्तो देखिने) विद्युतीय बस भित्र्याउने तयारी सुरु गरेको छ । चीनको प्रसिद्ध ‘फेन्सर’ कम्पनीले उत्पादन गरेको यो बस नेपालको बढ्दो सहरी जाम र सार्वजनिक यातायातको समस्या समाधानका लागि कोसेढुंगा सावित हुने विश्वास गरिएको छ । शशिला मोटर्सका सेल्स हेड सुरेन्द्र रोकायाका अनुसार यो बस हाल सञ्चालनमा रहेका बसभन्दा निकै ठूलो र सुविधायुक्त छ । १८ मिटर लम्बाइ भएको यो आर्टिकुलेटेड बसमा ६४ वटा आरामदायी सिटहरू रहनेछन् ।उभिएर यात्रा गर्ने यात्रुसहित यसले एकैपटक २२० जनासम्मलाई गन्तव्यमा पुर्‍याउन सक्छ । यस बसमा ८०० किलोवाट आवरको शक्तिशाली ब्याट्री जडान गरिएको छ । लो-फ्लोर डिजाइन भएकाले वृद्धवृद्धा, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरू सजिलै चढ्न र ओर्लन सक्छन् । झट्ट हेर्दा रेल जस्तै देखिने यो बस बीचमा लचकदार हुने भएकाले मोडहरूमा सजिलै घुम्न सक्छ । एडीबीको प्रतिवेदन र सरकारी योजनाको साथ एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सन् २०१४ मा तयार पारिएको ‘काठमाडौं दिगो सहरी यातायात आयोजना’ (केएसयूटीपी) को प्रतिवेदनले उपत्यकाका मुख्य (प्राथमिक) रुटहरूमा १२ देखि १८ मिटर लामा बसहरू चलाउन सुझाव दिएको छ ।  सोही सुझाव र हालै सरकारले बजेटमार्फत सार्वजनिक यातायात सुधारमा देखाएको चासोलाई मध्यनजर गर्दै शशिला मोटर्सले यो प्रक्रिया अगाडि बढाएको हो । शशिला मोटर्सका सेल्स हेड रोकाया भन्छन्, ‘हामी अहिले प्रोडक्ट प्लानिङ फेजमा छौं । यो बस तत्कालै ल्याएर सञ्चालन गरिहाल्ने भन्दा पनि आवश्यक पूर्वाधार र सरकारी तयारीलाई हेरिरहेका छौं । सरकारले रुट पर्मिट र डेडिकेटेड लेनको व्यवस्था गर्ने हो भने हामी यो बस ल्याउन पूर्ण रूपमा तयार छौं ।’ यद्यपि, यति ठूलो बस सञ्चालनका लागि केही चुनौतीहरू पनि छन् । १८ मिटर लामो गाडीका लागि पर्याप्त पार्किङ स्पेस, ८०० किलोवाटको ब्याट्री चार्ज गर्ने पूर्वाधार र उपयुक्त सडक कन्डिसन आवश्यक पर्छ । हाल यो बस उपत्यकाको चक्रपथ (एयरपोर्टदेखि कलंकीसम्म) सजिलै सञ्चालन गर्न सकिने बताइएको छ । यो बस निकै महँगो समेत छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य करिब ३ लाख अमेरिकी डलर रहेको छ । नेपाल ल्याउँदा भन्सार र अन्य करका कारण यसको लागत ६ करोड रुपैयाँभन्दा माथि पर्ने कम्पनीले जनाएको छ ।

काठमाडौंबाट अवैध विदेशी मुद्रा, सुन र चाँदीसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला साङ्गली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भई हाल काठमाडौं महानगरपालिका–२५ ठहिटी बस्ने ३३ वर्षीय अमितइरगोन्डा घाली रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनले भने, ‘काठमाडौंको ज्याठा ठहिटी एरियामा केही व्यक्तिले अवैध विदेशी विनिमय अमेरिकी डलर र राजस्व छली गरी सुन, चाँदी ओसारपसार, भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा हाम्रो टोलीले उहाँलाई पक्राउ गरेको हो ।’ उनको साथबाट नेपाली रु सात लाख ३० हजार, अमेरिकी डलर जम्मा ३४ हजार ५००, सुन जस्तो देखिने पहेँलो धातुका विभिन्न टुक्रा १७ थान, (तौल ७५ ग्राम) तथा चाँदी जस्तो देखिने धातु विभिन्न आकारका टुक्रा दुई किलो ६०० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका निज घालीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको प्रवक्ता कार्कीले बताए ।

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य

इन्डोनेसियाको जकार्तामा आयोजित ‘ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस (जीएसडीसी) २०२६’ का क्रममा ग्लोकल प्रालि र विश्वप्रसिद्ध टाइम्स हायर एजुकेसन बीच एक महत्त्वपूर्ण रणनीतिक सहकार्य समझदारीपत्र मा हस्ताक्षर भएको छ ।  यो सहकार्यलाई नेपालको उच्च शिक्षा क्षेत्रको शैक्षिक गुणस्तर सुधार, अन्तर्राष्ट्रिय पहुँच र विश्वव्यापी सहभागिता अभिवृद्धि गर्ने दिशामा एउटा ठूलो उपलब्धिका रूपमा हेरिएको छ ।  उक्त सम्झौता पत्रमा ग्लोकलका अध्यक्ष आशिष ठाकुर र टाइम्स हायर एजुकेसनका एशिया(प्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिमले हस्ताक्षर गरे । यस साझेदारीमार्फत टाइम्स हायर एजुकेसनको उच्च शिक्षा सम्बन्धी विश्वव्यापी अनुभव, डेटा र ‍याङ्किङ प्रणालीलाई ग्लोकलको शिक्षा, युवा तथा सीप विकास क्षेत्रको स्थानीय अनुभवसँग एकीकृत गर्दै नेपाल र समग्र दक्षिण एशियाकै शैक्षिक क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने लक्ष्य राखिएको छ । यस ऐतिहासिक सहकार्यले मुख्य गरी तीनवटा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । पहिलो चरणमा नेपालका विश्वविद्यालय र सम्बन्धित सरकारी निकायहरूको शैक्षिक गुणस्तर वृद्धि, अन्तर्राष्ट्रिय पहिचान, प्रभाव मूल्याङ्कन तथा डाटामा आधारित निर्णय प्रक्रियाका लागि विश्वस्तरीय अभ्यास र प्राविधिक परामर्श उपलब्ध गराइनेछ ।  दोस्रो, नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित स्टडी इन नेपाल अभियानलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गरिनेछ, जसले नेपाललाई दक्षिण एशियामा गुणस्तरीय शिक्षा, अनुसन्धान तथा अन्तरदेशीय शैक्षिक सहकार्यको उदीयमान केन्द्र बनाउन सहयोग पु‍र्याउनेछ । तेस्रो क्षेत्र अन्तर्गत विश्वविद्यालय, सरकार, उद्योग तथा विकास साझेदारहरूसँग मिलेर उच्च शिक्षा प्रणालीको सुदृढीकरण, कार्यक्षेत्रका लागि आवश्यक सीप विकास, रोजगारीयोग्यता अभिवृद्धि र नीतिगत सुधारका लागि विभिन्न कर्पोरेट तथा संस्थागत परामर्श परियोजनाहरू संयुक्त रूपमा सञ्चालन गरिनेछन् ।   समझदारीपत्रमा हस्ताक्षर गरेपछि ग्लोकल प्रालिका अध्यक्ष आशिष ठाकुरले नेपालको उच्च शिक्षा क्षेत्र रूपान्तरणको महत्त्वपूर्ण चरणमा रहेको र दिगो प्रगतिका लागि स्थानीय आकांक्षालाई विश्वव्यापी अवसरसँग जोड्न यो सहकार्य कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । उहाँले नेपालसँग गुणस्तरीय शिक्षा र युवा जनशक्तिको अपार सम्भावना रहेको बताउँदै यसले नेपाललाई अन्तर्राष्ट्रिय ज्ञान केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गरे । त्यस्तै, टाइम्स हायर एजुकेसनका एशियाप्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिमले नेपाल उच्च शिक्षा विकासका लागि ठूलो सम्भावना बोकेको देश भएको औंल्याउँदै नेपाली विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय दृश्यता क्षमता विकास र विश्वव्यापी सहभागिता बढाउन आफूहरू उत्साहित रहेको बताए । उहाँले विश्वविद्यालय, सरकार र उद्योगबीचको बलियो सम्बन्धले नै दिगो परिवर्तन सम्भव हुनेमा समेत जोड दिए । यो साझेदारी ज्ञान आदानप्रदान र नवप्रवर्तनात्मक पहलमार्फत नेपालको शिक्षा प्रणालीलाई थप प्रतिस्पर्धी र विश्वस्तरमा परिचित बनाउने साझा प्रतिबद्धताको प्रतीक हो।  नेपालले क्षेत्रीय तथा विश्वव्यापी शिक्षा प्रणालीमा आफ्नो भूमिका विस्तार गरिरहेको वर्तमान सन्दर्भमा यसले नीति निर्माता, विद्यार्थी, अनुसन्धानकर्ता र उद्योग क्षेत्रका सरोकारवालाहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ । 

सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको हो । बिहीबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँ र चाँदी चार हजार २३५ रुपैयाँ निर्धारण भएको छ । बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  एक तोला चाँदीको मूल्य चार हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार एक तोला सुन दुई लाख ८७ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ५९० रुपैयाँमा खरिद बिक्री भएको थियो । अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंसत तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।    

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर । भक्तपुरमा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ  । चाँगुनारायण  र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ ।      बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा. अमिक श्रेष्ठले जानकारी दिए । बर्डफ्लु रोगका कारण सुर्यविनायक १, ४ र ८ मा नौ हजार ३७८ कुखराहरू नष्ट गरिएको उनले जानकारी दिए । जिल्लामा ४८ हजार १७३ कुखुरा नष्ट गरेको जानकारी दिँदै उनले बर्डफ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताए ।  

बुक बिल्डिङमार्फत आईपीओ ल्याउँदै टाईम फर्मास्यूटिकल्स, असार १९ मा रोड शो

काठमाडौं । टाईम फर्मास्यूटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल (रोड शो) कार्यक्रम आयोजना गर्ने भएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रूपमा स्वीकृति प्राप्त संस्थाहरूलाई सहभागी गराई आईपीओको आशय मूल्य निर्धारणका लागि छलफल गर्न लागेको जनाएको छ । बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम सञ्चालन हुने उक्त कार्यक्रममा प्रारम्भिक विवरणपत्रमाथि संस्थागत लगानीकर्ताको सुझावसमेत संकलन गरिनेछ। रोड शो असार १९ गते शुक्रबार दिउँसो ३ बजे काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजना हुने कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी संस्थागत लगानीकर्ताले खरिद गर्न इच्छुक धितोपत्रको न्यूनतम संख्या, प्रस्तावित आशय मूल्य तथा मूल्याङ्कनको आधार प्रस्तुत गर्नुपर्नेछ । साथै, प्रारम्भिक विवरणपत्रमा आवश्यक सुझाव भए सोसमेत पेश गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रोड शोका लागि आवश्यक कागजातमा प्रारम्भिक विवरणपत्र तथा पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न वित्तीय विवरण समावेश छन् । टाईम फर्मास्यूटिकल्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। टाईम फर्मास्यूटिकल्स नेपालका पुराना तथा स्थापित औषधि उद्योगमध्ये एक हो । सन् १९९४ मा स्थापना भएको कम्पनीले सन् १९९७ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो । कम्पनीले औषधिजन्य अणु (फार्मास्युटिकल मोलिक्युल) को फर्मुलेसन तथा विभिन्न उपचारात्मक औषधिको उत्पादन गर्दै आएको छ । सन् २०२५ को अक्टोबर मध्यसम्मको विवरणअनुसार कम्पनीमा एम÷एस अल्फा क्यापिटल लिमिटेडको करिब १५ प्रतिशत स्वामित्व रहेको छ । त्यसपछि राजु कर्माचार्य र झंकनाथ भट्टाको करिब ९–९ प्रतिशत तथा जी.नारायण बहादुर क्षेत्रीको करिब ७ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी स्वामित्व अन्य संस्थागत तथा व्यक्तिगत लगानीकर्तामा रहेको छ ।

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तको मर्जर प्रस्ताव पारित

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारणसभाले तीनवटा लघुवित्तबीचको मर्जर सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।  मोरङको कटहरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले अध्यक्ष बिक्रमराज सुवेदीद्वारा प्रस्तुत मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको हो । गत चैत २८ गते मोरङमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त, बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको युनिक नेपाल लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको थियो । यो सम्झौता लघुवित्त क्षेत्रमा भएको हालसम्मकै ठूलो सम्झौता हो । सोही सम्झौतालाई अनुमोदनका लागि जीवन विकासले विशेष साधारणसभा आह्वान गरेको थियो । विशेष साधारणसभाले संस्थाको नाम जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ र केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मै रहने प्रस्ताव पनि पारित गरेको छ । मर्जरपछि युनिक नेपाल र मानुषी लघुवित्तको हालको केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयको रूपमा रूपान्तरण गरिनेछ । मर्जरपछि संस्थाको नेतृत्व जीवन विकास लघुवित्तका वर्तमान प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । साधारणसभाले मर्जरका लागि सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन र हालसम्मका सम्पूर्ण कामकारबाहीलाई अनुमोदन गरेको छ । साधारणसभाले भविष्यमा अन्य लघुवित्तहरूसँग पनि मर्जर वा प्राप्तिको प्रक्रिया अघि बढाउन सक्ने गरी समितिलाई अधिकार प्रदान गरेको छ । हाल जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोड १२ लाख ३२ हजार, युनिक नेपालको १४ करोड ८५ लाख ७५ हजार र मानुषी लघुवित्तको १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । मर्जर पश्चात् संस्थाको कुल चुक्ता पुँजी १ अर्ब ९८ करोड ८४ लाख ४ हजार ३१२ रुपैयाँ पुग्नेछ । एकीकृत कारोबारपछि संस्थाको कार्यक्षेत्र कर्णाली प्रदेश बाहेक देशभर विस्तार हुनेछ । ६ वटा प्रदेशमा गरी संस्थाको शाखा संख्या २३३ पुग्ने साधारणसभामा जानकारी दिइयो । जीवन विकासले हाल ३१ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । युनिक नेपालले १० जिल्ला र मानुषीले १४ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ । मर्जरको सम्पूर्ण प्रक्रिया पूरा गरी २०८३ साल असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी छ । बुधबारको साधारणसभामा संस्थाका सञ्चालक श्यामचन्द्र खतिवडा, प्रकाश कुमार श्रेष्ठ, इन्द्र नारायण देव वैश्य, गोकर्ण खतिवडा, अशोक सिटौला,डाक्टर वन्दना कुमारी जैन प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डललगायत संस्थाका सेयरसदस्यहरु उपस्थित रहेका थिए ।

भेनेजुएलालाई सहयोग गर्न अमेरिका तयार र इच्छुक छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै भेनेजुएलाका जनताको सहयोगका लागि अमेरिकी एजेन्सीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘भेनेजुएलाका जनतामाथि परेका दुई ठूला भूकम्प निकै भीषण थिए र यसबाट धेरै मानिसको मृत्यु भएको छ । अमेरिका सहयोगका लागि तयार र इच्छुक छ ।’ ‘मैले मेरो सरकारका सबै एजेन्सीहरूलाई द्रुत गतिमा कारबाहीका लागि तयार रहन निर्देशन दिएको छु । हामी हाम्रा नयाँ र असल मित्रहरूको सहयोगका लागि त्यहाँ उपस्थित रहनेछौं,’ उनले थपे । राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट आइरहेका प्रारम्भिक खबरहरू राम्रो नभएको पनि बताए । भेनेजुएलाको राजधानी काराकासमा बुधबार आएको भीषण भूकम्पमा हजारौं मानिस मारिएको आशंका गरिएको छ । भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न भागमा व्यापक क्षति पुर्‍याएका छन् ।  राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौं मानिस घरबाट बाहिर निस्कन बाध्य भएका छन् ।  अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत अभियान तीव्र बनाएका छन् । भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सि रोड्रिगेजले आपतकाल घोषणा गरेकी छन् ।  कार्यवाहक राष्ट्रपति रोड्रिगेजले क्षतिका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको बताएकी छन् । यसअघि विमानस्थलबाट धुलो उडिरहेको र मानिसहरू भाग्दै गरेका दृश्यहरू सार्वजनिक भएका थिए । अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्पको तीव्रता सुरुमा ७.१ मापन गरे पनि पछि ७.२ मा संशोधन गरेको थियो।  यसको केन्द्र काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा क्यारिबियन तटीय क्षेत्रको मोरोन समुदाय नजिक रहेको थियो ।  २२ किलोमिटर गहिराइमा गएको पहिलो भूकम्पपछि एक मिनेटमै ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प आएको थियो । दोस्रो भूकम्पको केन्द्र मोरोनबाट १६ किलोमिटर दक्षिणपश्चिममा तथा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।