काठमाडौं । टाईम फर्मास्यूटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल (रोड शो) कार्यक्रम आयोजना गर्ने भएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रूपमा स्वीकृति प्राप्त संस्थाहरूलाई सहभागी गराई आईपीओको आशय मूल्य निर्धारणका लागि छलफल गर्न लागेको जनाएको छ । बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम सञ्चालन हुने उक्त कार्यक्रममा प्रारम्भिक विवरणपत्रमाथि संस्थागत लगानीकर्ताको सुझावसमेत संकलन गरिनेछ।
रोड शो असार १९ गते शुक्रबार दिउँसो ३ बजे काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजना हुने कम्पनीले जनाएको छ ।
कार्यक्रममा सहभागी संस्थागत लगानीकर्ताले खरिद गर्न इच्छुक धितोपत्रको न्यूनतम संख्या, प्रस्तावित आशय मूल्य तथा मूल्याङ्कनको आधार प्रस्तुत गर्नुपर्नेछ । साथै, प्रारम्भिक विवरणपत्रमा आवश्यक सुझाव भए सोसमेत पेश गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार रोड शोका लागि आवश्यक कागजातमा प्रारम्भिक विवरणपत्र तथा पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न वित्तीय विवरण समावेश छन् । टाईम फर्मास्यूटिकल्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
टाईम फर्मास्यूटिकल्स नेपालका पुराना तथा स्थापित औषधि उद्योगमध्ये एक हो । सन् १९९४ मा स्थापना भएको कम्पनीले सन् १९९७ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो । कम्पनीले औषधिजन्य अणु (फार्मास्युटिकल मोलिक्युल) को फर्मुलेसन तथा विभिन्न उपचारात्मक औषधिको उत्पादन गर्दै आएको छ ।
सन् २०२५ को अक्टोबर मध्यसम्मको विवरणअनुसार कम्पनीमा एम÷एस अल्फा क्यापिटल लिमिटेडको करिब १५ प्रतिशत स्वामित्व रहेको छ । त्यसपछि राजु कर्माचार्य र झंकनाथ भट्टाको करिब ९–९ प्रतिशत तथा जी.नारायण बहादुर क्षेत्रीको करिब ७ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी स्वामित्व अन्य संस्थागत तथा व्यक्तिगत लगानीकर्तामा रहेको छ ।