विकासन्युज

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो

म्याग्दी । सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा १२ घण्टापछि यातायात सेवा सञ्चालन भएको छ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा गए राति विद्युतीय गाडीमाथि ढुङ्गा खसेर च्यापिँदा मुस्ताङस्थित कोरला नाकाबाट विद्युतीय गाडी चलाएर पोखरातर्फ जाँदै गरेका वीरगञ्ज महानगरपालिकाका २३ वर्षीय सोहिल मियाको मृत्यु हुनुका साथै सडक अवरुद्ध बनेको थियो ।  बेनी– जोमसोम– कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडक विभागका उपकरण परिचालन गरेर सडकमा थुप्रिएको ढुङ्गा पन्छाएर आज बिहानदेखि सवारी आवतजावत सुचारु भएको जानकारी दिनुभयो । रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । विस्फोटक पदार्थको प्रयोग गरेर फराकिलो बनाउने काम भइरहेको सडकमा गुडिरहेको अवस्थामा ढुङ्गा खसेर अठ्याएको गाडीभित्र एक्लै रहेका मिया च्यापिएका थिए । सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा उद्धार गरेर प्रदेश अस्पताल बेनीमा ल्याइएका मियालाई चिकित्सकले राति मृत घोषणा गरेका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।     

भेनेजुएलामा शताब्दीकै शक्तिशाली भूकम्प

काठमाडौं । भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न भागमा व्यापक क्षति पु¥याएका छन् । राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ मानिस घरबाट बाहिर निस्कन बाध्य भएका छन् । अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत अभियान तीव्र बनाएका छन् । भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सि रोड्रिगेजले आपतकाल घोषणा गरेकी छन् । कार्यवाहक राष्ट्रपति रोड्रिगेजले क्षतिका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको बताएकी छन् । यसअघि विमानस्थलबाट धुलो उडिरहेको र मानिसहरू भाग्दै गरेका दृश्यहरू सार्वजनिक भएका थिए । राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले पक्राउ गरेपछि डेल्सि रोड्रिगेजले देशको नेतृत्व गरिरहेकी छन् । भूकम्पपछि राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले धेरै राज्यहरू प्रभावित भएको जानकारी दिएकी छन् । उनले क्षतिग्रस्त घर तथा भवनहरूको यकिन विवरण, घाइते वा मृत्युको आधिकारिक सङ्ख्या भने सार्वजनिक गरेका छैनन् । सरकारले नागरिकहरूलाई शान्त रहन, एकताबद्ध हुन तथा सरकारी निकायहरूसँग समन्वय गर्न आग्रह गरेको छ । रोड्रिग्जका अनुसार देशको मुख्य हवाई प्रवेशद्वार सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेको छ । क्षतिको गम्भीरताका कारण विमानस्थल बन्द गरिएको छ भने विद्यालयका कक्षाहरू केही दिनका लागि स्थगित गरिएका छन् । शिक्षा मन्त्रालयले केही विद्यालयलाई अस्थायी आश्रयस्थल र राहत वितरण केन्द्रका रूपमा प्रयोग गरिने जनाएको छ । स्वास्थ्यकर्मीहरूलाई अस्पतालमा उपस्थित भएर घाइतेहरूको उपचारमा सहयोग गर्न सरकारले आह्वान गरेको छ । तटीय फाल्कन राज्यका गभर्नर भिक्टर क्लार्कका अनुसार कम्तीमा ३२ जना अस्पतालमा भर्ना भएका छन् भने भूकम्प गएको चार घण्टापछि पनि १५ जना भग्नावशेषमा फसेका थिए । अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्पको तीव्रता सुरुमा ७.१ मापन गरे पनि पछि ७.२ मा संशोधन गरेको थियो । यसको केन्द्र काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा क्यारिबियन तटीय क्षेत्रको मोरोन समुदाय नजिक रहेको थियो । २२ किलोमिटर गहिराइमा गएको पहिलो भूकम्पपछि एक मिनेटमै ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प आएको थियो । दोस्रो भूकम्पको केन्द्र मोरोनबाट १६ किलोमिटर दक्षिणपश्चिममा तथा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । एक शताब्दीभन्दा बढी अवधिमा भेनेजुएलामा महसुस गरिएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये यी दुईलाई मानिएको छ । स्थानीय समयअनुसार साँझ ६ बजेपछि आएका ती भूकम्पका कारण राजधानी काराकासका मानिसहरू घर, कार्यालय र व्यापारिक भवनबाट बाहिर निस्किएका थिए । कतिपय क्षेत्रमा पर्खालहरू भत्किएका, सडकमा सामान छरिएका र धुलोका मुस्लाहरू उडेको देखिएको थियो । सूर्यास्तपछि पनि हजारौँ मानिसहरू सडक, खुला स्थान तथा पार्कमा बसेका थिए । धेरैले आफ्ना घरपालुवा जनावरलाई साथमा लिएर खुला स्थानमा रात बिताएका थिए । कतिपय सडकहरूमा ढलेका संरचना, बिजुलीका खम्बा र भग्नावशेषले आवागमन अवरुद्ध बनाएको थियो । राजधानीका केही क्षेत्रमा विद्युत् सेवा तथा मोबाइल सञ्जालसमेत अवरुद्ध भएको छ । काराकास निवासी हेक्टर रिक्कीले सुरुमा हल्का कम्पन महसुस भए पनि केही क्षणमै भूकम्प अत्यन्त शक्तिशाली बनेको बताएका छन् । उनका अनुसार सबै मानिस घरबाट बाहिर निस्केर खुला स्थानमा भेला हुन बाध्य भएका थिए । सरकारले राजधानीमा मेट्रो सेवा तथा प्राकृतिक ग्यास आपूर्ति अस्थायी रूपमा बन्द गरेको छ । नागरिकहरूलाई सरकारी मोबाइल एपमार्फत आफ्नो क्षेत्रको क्षति विवरण उपलब्ध गराउन पनि आग्रह गरिएको छ । मोबाइल सञ्जाल अवरुद्ध हुँदा देशबाहिर रहेका लाखौँ भेनेजुएलीहरूमा आफ्ना परिवारसँग सम्पर्क गर्न नसक्दा चिन्ता बढेको छ । विदेशमा निर्वासनमा रहेकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले सामाजिक सञ्जालमार्फत देशवासीलाई धैर्य र एकताको सन्देश दिएका छन् ।  गृहमन्त्री डिओसडाडो क्याबेलोले भूकम्प धेरै राज्यहरूमा महसुस गरिएको बताउँदै केही स्थानमा भवन र घरहरूमा गम्भीर क्षति पुगेको जानकारी दिएका छन् । उनले आपत्कालीन सवारीसाधनलाई प्राथमिकता दिन तथा बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न आग्रह गर्नुभयो । सम्भावित परकम्पका कारण नागरिकहरूलाई खुला स्थानमा बस्न पनि सुझाव दिइएको छ । काराकास निवासी रोबर्टो गामासले भवन एक छेउबाट अर्को छेउसम्म अत्यन्त तीव्र रूपमा हल्लिएको बताए । उनका अनुसार भूकम्पको शक्तिशाली धक्काले घरभित्रका सामानहरू खसेका थिए र मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निस्कन निकै कठिन भएको थियो । भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायबाट पनि सहानुभूति र सहयोगका प्रस्ताव आएका छन् । संयुक्त राज्य अमेरिका, चिली, एल साल्भाडोर तथा इक्वेडरले आवश्यक मानवीय सहायता उपलब्ध गराउन तत्पर रहेको जनाएका छन् ।  अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर लान्डाउले भेनेजुएली जनतासँग अमेरिका एकताबद्ध रहेको बताएका छन् । एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले पनि सामाजिक सञ्जालमार्फत सहानुभूति व्यक्त गर्दै सहयोगको प्रस्ताव गरेका छन् । इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले तत्काल मानवीय सहायता पठाउन निर्देशन दिएको जानकारी दिएका छन् ।  भूकम्पको प्रभाव छिमेकी देशहरूमा समेत महसुस गरिएको छ । ब्राजिलको अमेजन क्षेत्रका मनाउस, बेलेम र मकापा सहरमा भवनहरू खाली गराइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोलम्बियाको क्यारिबियन तथा उत्तरपूर्वी क्षेत्रमा पनि कम्पन महसुस गरिएको भए पनि त्यहाँ क्षति वा मानवीय हानि भएको विवरण प्राप्त भएको छैन । प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पपछि केही समयका लागि सुनामीसम्बन्धी चेतावनी जारी गरे पनि पछि ती चेतावनीहरू फिर्ता लिइएको जनाएको छ । भेनेजुएलामा यस्ता शक्तिशाली भूकम्प कमै आउने भए पनि देश दक्षिण अमेरिकी र क्यारिबियन टेक्टोनिक प्लेटको सीमाक्षेत्र नजिक अवस्थित छ ।  यद्यपि मेक्सिको र चिलीजस्ता प्रशान्त तटीय राष्ट्रहरूको तुलनामा यहाँ ठूलो भूकम्प कम हुने गर्छ । वैज्ञानिकहरूका अनुसार विश्वका करिब ९० प्रतिशत भूकम्प हुने ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने देशहरूमा यस्ता घटनाहरू बढी दोहोरिने गरेका छन् । एजेन्सीको सहयोगमा ।   

विश्व बजारमा तेलको मूल्य ११७ बाट घटेर ६९ डलरमा झर्याे, नेपालले घटाएन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेखनीय रूपमा घटिसक्दा पनि नेपाली उपभोक्ताले त्यसको लाभ पाउन नसकेको भन्दै सरकार र नेपाल आयल निगमको आलोचना गरेका छन् । पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ११७.६३ अमेरिकी डलरको उच्च बिन्दुबाट घटेर ६९.२१ डलरमा झरेको उल्लेख गर्दै नेपालमा भने अझै पुरानै महँगो दर कायम रहनु अस्वाभाविक भएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ आम उपभोक्ताले पाउनुपर्ने भए पनि नेपालमा त्यस्तो अवस्था नदेखिएको टिप्पणी गरे । 'यति ठूलो परिमाणमा मूल्य घटिसक्दा पनि उपभोक्ताले राहत नपाउनु दुःखद् हो,' उनले भने । आयल निगमले कच्चा तेल नभई प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्ने भएकाले मूल्य समायोजनमा समय लाग्ने तर्क गर्दै आएको उल्लेख गर्दै पौडेलले त्यसलाई पर्याप्त आधार मान्न नसकिने बताए । उनका अनुसार कच्चा र प्रशोधित तेलको मूल्यबीच केही समयको अन्तर र प्रशोधन खर्चको प्रभाव रहने भए पनि कच्चा तेलको मूल्यमा आएको ठूलो गिरावटले अन्ततः प्रशोधित तेलको लागतमा समेत प्रभाव पार्ने निश्चित छ । पौडेलले वास्तविक लागत र मूल्य घट्ने अवस्थाबारे स्पष्ट जानकारी नदिई पुरानै प्राविधिक कारण देखाएर मूल्य नघटाउनु पारदर्शिताविपरीत भएको आरोप लगाए । उनले यसले सरकार र निगमभित्र सुशासन तथा व्यवस्थापकीय क्षमतामाथि समेत प्रश्न उठाएको बताए । नेपालमा लागू रहेको स्वचालित मूल्य प्रणालीअनुसार प्रत्येक १५ दिनमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा इन्धनको मूल्य समायोजन गरिनुपर्ने उल्लेख गर्दै पौडेलले मूल्य बढ्दा तत्काल लागू हुने तर घट्दा ढिलाइ हुने प्रवृत्ति स्वीकार्य नभएको बताए । 'घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर निगमलाई साथ दिने, तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा राहत नपाउने अवस्था न्यायोचित हुन सक्दैन,' उनले भने । पौडेलले पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र उपभोक्तामुखी बनाउन सरकारसँग माग गरेका छन् ।  

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १९ लाख ३१ हजार ५०२ रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३,  सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो ।      यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागुपदार्थ सेवन गर सवारीसाधन सञ्चालन गर्ने तीन, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १९ अन्य सवारी नियम पालना नगरेका एक हजार ८१९ जनालाई कारबाही गरिएको हो ।  

वीरगञ्ज महागरपालिका बजेट : कृषि, स्वास्थ्य र पूर्वाधारका क्षेत्रलाई प्राथमिकता

पर्सा । वीरगञ्ज महानगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकता दिएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले बुधबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०८३/ ८४ मा कृषि विविधीकरण तथा व्यवसायीकरणका लागि आधुनिक प्रविधिमा आधारित उत्पादनशील कृषि प्रणाली अवलम्बन गर्ने बताएका छन् । महानगरपालिकाले मुख्य खाद्यान्न बाली गहुँको उत्पादकत्व बढाउन कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरण गर्ने व्यवस्थालाई महत्वका साथ निरन्तरता दिने पनि प्रतिबद्धता व्यक्त गरेको छ । कार्यवाहक नगर प्रमुख आलमल जलवायु परिवर्तन तथा रसायनिक मलको उच्चतम प्रयोगका कारण कृषि क्षेत्रमा सिर्जित जोखिम र बालीनालीमा लाग्ने आकस्मिक रोगव्याधि तथा कीरा नियन्त्रणका लागि ‘आकस्मिक बाली संरक्षण कार्यक्रम’ सञ्चालन गरिने उल्लेख गरे । नीति तथा कार्यक्रममा भनिएको छ, 'कृषि पेसाको विविधीकरण, व्यवसायीकरण र कृषकको आत्मसम्मान अभिवृद्धि गर्न असार १५ लाई धान दिवसको रूपमा मनाउँदै प्राविधिक साक्षरता विस्तार गरिनेछ ।' महानगरपालिकाले ‘नश्ल सुधार र आकस्मिक उपचारः पशुपालनमा वीरगञ्जको नयाँ पूर्वाधार’ नारालाई आत्मसात् गर्दै निःशुल्क पशु सेवा उपचार कार्यक्रम तथा महामारीजन्य र आकस्मिक रोग निवारणका लागि आवश्यक औषधि खरिद र वितरणको न्यायपूर्ण प्रबन्ध पनि मिलाउने भएको छ । त्यसैगरी आधुनिक प्रविधिमार्फत पशु सेवा क्षेत्रको सुदृढीकरण गर्न पोर्टेबल (अल्ट्रासाउन्ड) मेसिन, भेटेरिनरी ल्याब सामग्री र सर्जिकल सामग्री खरिद गरी निदान प्रणालीलाई विश्वसनीय बनाउँदै व्यावसायिक पशुपालनलाई प्रवद्र्धन गर्न कृत्रिम गर्भाधारण कार्यक्रमलाई नगरव्यापी रूपमा विस्तार गर्ने महानगरले जनाएको छ । ‘सफा नाला, स्वस्थ सहरः लामखुट्टे मुक्त वीरगञ्जको रहर’ नारालाइ आत्मसात् गर्दै वर्षातको समयमा हुने डुबान समस्या समाधानका लागि नाला सफाइ कार्यलाई प्राथमिकता दिने महानगरको योजना छ । नाला सफाइमा संलग्न सफाइकर्मीको व्यावसायिक स्वास्थ्य सुरक्षाका लागि सुरक्षात्मक उपकरण उपलब्ध गराउने पनि महानगरको योजना छ । ‘सहरी क्षेत्रमा डेङ्गु, औलोजस्ता घातक रोगहरूको प्रकोप नियन्त्रणका लागि उच्च गुणस्तरीय औषधि खरिद, स्प्रे र फगिङ मेसिनहरूको व्यवस्थापन गरी लामखुट्टे नियन्त्रणलाई प्रभावकारी बनाइने र त्यस कार्यका लागि दैनिक ज्यालादारी कामदार परिचालन गरी नगरव्यापी अभियान चलाइने’ विषय नीति तथा कार्यक्रममा उल्लेख छ । सार्वजनिकस्थल र सडक किनारका अनावश्यक झारपात न्यूनीकरणका लागि सुरक्षित केमिकल तथा जैविक विधिहरू प्रयोग गरी व्यस्थित सहरीकरणको अवधारणा अवलम्बन गर्ने महानगरपालिकाले जनाएको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य क्षेत्रमा रहेको योगदानको उच्च कदर गर्दै उनीहरूको क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा तथा प्रोत्साहन सुविधामा निरन्तरता दिने कार्यवाहक प्रमुख आलमले बताए । उनले मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरण गर्न सञ्चालनमा रहेका बर्थिङ सेन्टरहरूलाई आवश्यक उपकरण, दक्ष जनशक्ति तथा एम्बुलेन्स सेवासहित सुविधा सम्पन्न बनाउँदै सुत्केरी आमा, नवजात शिशु, ज्येष्ठ नागरिक तथा नसर्ने रोगबाट प्रभावित व्यक्तिहरूका लागि सामुदायिक नर्सिङ तथा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम विस्तार गरिने पनि बताए ।

रास्वपा महाधिवेशन : ९ घण्टामा २३ सय मत खस्यो, मतदान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान जारी रहेको छ । बुधबार निर्धारित समयमै मतदान हुन नसकेपछि मध्यरातपछि सुरु भएको मतदानमा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको छ । निर्वाचन व्यवस्थापनमा संलग्न राम–लक्ष्मण इनोभेसनका लक्ष्मण रिमालका अनुसार बिहीबार बिहान ९ बजेसम्म करिब २३ सय प्रतिनिधिले मतदान गरिसकेका छन् । मतदानको गति हेर्दा दिउँसो १२ बजेसम्म ३ हजारभन्दा बढी मत खस्ने अनुमान गरिएको उनले बताए । केन्द्रीय निर्वाचन आयोगले पहिलो चरणको मतदानका लागि बिहीबार दिउँसो १२ बजेसम्मको समय तोकेको छ । यद्यपि महाधिवेशन प्रतिनिधिको संख्या ४१ सयभन्दा बढी रहे पनि मतदानमा भएको लामो ढिलाइका कारण केही प्रतिनिधि घर फर्किसकेको जनाइएको छ । रास्वपाको केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये खुलातर्फ २१० र भूगोलतर्फ १७४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशगत कोटाअनुसार सातै प्रदेशबाट पाँच–पाँच जना गरी ३५ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ ।  पार्टी विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ । तीमध्ये ९९ जना निर्वाचनमार्फत चयन गरिनेछन् भने बाँकी सदस्य पछि मनोनयन गरिने व्यवस्था छ । पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा आठ पदाधिकारी चयनका लागि मतदान हुनेछ। सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । मतदान बुधबार बिहान ८ बजेदेखि सुरु हुने कार्यतालिका रहे पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली टुंगो नलाग्दा प्रक्रिया पटक–पटक प्रभावित भएको थियो । निर्धारित समयभन्दा झन्डै १६ घण्टा ढिला गरी मतदान सुरु भएपछि महाधिवेशन स्थलमा प्रतिनिधिहरूले असन्तुष्टि जनाएका थिए । मतदान अनिश्चित बन्दै जाँदा केही प्रतिनिधिले बहिष्कारको चेतावनीसमेत दिएका थिए । त्यसक्रममा महाधिवेशन स्थलमा सुरक्षा व्यवस्था कडा पार्दै ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । हाल भने मतदान प्रक्रिया नियमित रूपमा अघि बढिरहेको छ । महाधिवेशन प्रतिनिधिहरू लामबद्ध भएर मतदान केन्द्रमा पुगिरहेका छन् भने निर्वाचन आयोगले मतदान सम्पन्न भएपछि छिट्टै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । 

कालिमाटीमा सबैभन्दा सस्तो लोकल गोलभेँडा, प्रतिकिलो १२ रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५२ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु १२०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३० कायम भएको छ । समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ४० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १००, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ९०, आँप (दशहरी) प्रतिकिलो रु १००, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १४०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।

नेरुडे मिर्मिरे लघुवित्तले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको २५ प्रतिशत बराबर हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव स्वीकृत गर्दै त्यसलाई पारित गर्न वार्षिक साधारणसभा आह्वान गरेको हो । लघुवित्तले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार रुपैयाँको २५ प्रतिशत अर्थात् १:०.२५ अनुपातमा ३४ करोड ९४ लाख ४१ हजार रुपैयाँ बराबरको ३४ लाख ९४ हजार ४१० कित्ता हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहनेछ । हकप्रद सेयर निष्कासन भने नियामक निकायको स्वीकृतिपछि मात्र हुने लघुवित्तले जनाएको छ । हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्न लघुवित्तले असार ३२ गते १९औँ वार्षिक साधारणसभा बोलाएको छ । उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । यस्तै, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउनुका साथै संस्थापक समूहतर्फ रिक्त रहेको एक सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ ।