विकासन्युज

रास्वपा महाधिवेशन : ९ घण्टामा २३ सय मत खस्यो, मतदान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान जारी रहेको छ । बुधबार निर्धारित समयमै मतदान हुन नसकेपछि मध्यरातपछि सुरु भएको मतदानमा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको छ । निर्वाचन व्यवस्थापनमा संलग्न राम–लक्ष्मण इनोभेसनका लक्ष्मण रिमालका अनुसार बिहीबार बिहान ९ बजेसम्म करिब २३ सय प्रतिनिधिले मतदान गरिसकेका छन् । मतदानको गति हेर्दा दिउँसो १२ बजेसम्म ३ हजारभन्दा बढी मत खस्ने अनुमान गरिएको उनले बताए । केन्द्रीय निर्वाचन आयोगले पहिलो चरणको मतदानका लागि बिहीबार दिउँसो १२ बजेसम्मको समय तोकेको छ । यद्यपि महाधिवेशन प्रतिनिधिको संख्या ४१ सयभन्दा बढी रहे पनि मतदानमा भएको लामो ढिलाइका कारण केही प्रतिनिधि घर फर्किसकेको जनाइएको छ । रास्वपाको केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये खुलातर्फ २१० र भूगोलतर्फ १७४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशगत कोटाअनुसार सातै प्रदेशबाट पाँच–पाँच जना गरी ३५ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ ।  पार्टी विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ । तीमध्ये ९९ जना निर्वाचनमार्फत चयन गरिनेछन् भने बाँकी सदस्य पछि मनोनयन गरिने व्यवस्था छ । पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा आठ पदाधिकारी चयनका लागि मतदान हुनेछ। सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । मतदान बुधबार बिहान ८ बजेदेखि सुरु हुने कार्यतालिका रहे पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली टुंगो नलाग्दा प्रक्रिया पटक–पटक प्रभावित भएको थियो । निर्धारित समयभन्दा झन्डै १६ घण्टा ढिला गरी मतदान सुरु भएपछि महाधिवेशन स्थलमा प्रतिनिधिहरूले असन्तुष्टि जनाएका थिए । मतदान अनिश्चित बन्दै जाँदा केही प्रतिनिधिले बहिष्कारको चेतावनीसमेत दिएका थिए । त्यसक्रममा महाधिवेशन स्थलमा सुरक्षा व्यवस्था कडा पार्दै ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । हाल भने मतदान प्रक्रिया नियमित रूपमा अघि बढिरहेको छ । महाधिवेशन प्रतिनिधिहरू लामबद्ध भएर मतदान केन्द्रमा पुगिरहेका छन् भने निर्वाचन आयोगले मतदान सम्पन्न भएपछि छिट्टै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । 

कालिमाटीमा सबैभन्दा सस्तो लोकल गोलभेँडा, प्रतिकिलो १२ रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५२ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु १२०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३० कायम भएको छ । समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ४० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १००, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ९०, आँप (दशहरी) प्रतिकिलो रु १००, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १४०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।

नेरुडे मिर्मिरे लघुवित्तले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको २५ प्रतिशत बराबर हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव स्वीकृत गर्दै त्यसलाई पारित गर्न वार्षिक साधारणसभा आह्वान गरेको हो । लघुवित्तले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार रुपैयाँको २५ प्रतिशत अर्थात् १:०.२५ अनुपातमा ३४ करोड ९४ लाख ४१ हजार रुपैयाँ बराबरको ३४ लाख ९४ हजार ४१० कित्ता हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहनेछ । हकप्रद सेयर निष्कासन भने नियामक निकायको स्वीकृतिपछि मात्र हुने लघुवित्तले जनाएको छ । हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्न लघुवित्तले असार ३२ गते १९औँ वार्षिक साधारणसभा बोलाएको छ । उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । यस्तै, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउनुका साथै संस्थापक समूहतर्फ रिक्त रहेको एक सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ ।

रास्वपाको महाधिवेशनमा १ हजार ६ सय बढीले गरे मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । रातिदेखि सुरु भएको मतदानमा प्रतिनिधिहरूले पार्टीका केन्द्रीय सदस्य चयनका लागि मत हालिरहेका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदान आज दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ । हालसम्म १ हजार ६ सयभन्दा बढी प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणमा ९९ सदस्यीय केन्द्रीय समितिका लागि कुल ३८४ जनाको उम्मेदवारी परेको छ । तीमध्ये खुलातर्फ ६४ पदका लागि २१० जना र भूगोलतर्फ ३५ पदका लागि १७४ जना प्रतिस्पर्धामा छन् । भूगोलतर्फ सातवटै प्रदेशबाट ५-५ जना गरी ३५ जना निर्वाचित हुनेछन् । प्रदेशगत रूपमा उम्मेदवारी संख्या हेर्दा सुदूरपश्चिमबाट १८, मधेशबाट २०, लुम्बिनीबाट ३१, कोशीबाट २०, कर्णालीबाट ३१, बागमतीबाट २७ र गण्डकीबाट २७ जनाले उम्मेदवारी दिएका छन् । मतदान चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा जारी छ । पहिलो चरणको मतदान सम्पन्न भएको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । त्यसलगत्तै दोस्रो चरणको मतदान सुरु हुनेछ, जसमा सबै प्रतिनिधिले पार्टीका पदाधिकारी चयनका लागि मतदान गर्नेछन् ।

एन्फालाई फिफाले गर्याे निलम्बन, नेपालले अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ बमोजिम एन्फामाथि निलम्बनको निर्णय गरेको हो । निलम्बनसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सदस्यका सबै अधिकार गुमाएको छ । यससँगै एन्फाका प्रतिनिधि टोली तथा नेपाली क्लब टोलीहरूले निलम्बन कायम रहुञ्जेल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले जनाएको छ ।

अब मौखिक आदेशमै बैंक खाता रोक्का हुने

काठमाडौं । अब वित्तीय अपराधसँग सम्बन्धित शङ्कास्पद बैंक खाता अनुसन्धान अधिकारीको मौखिक आदेशका आधारमा पनि अल्पकालीन अवधिका लागि रोक्का गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले वित्तीय अपराध न्यूनीकरणका लागि कुनै कसुरको अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने अधिकारीको मौखिक वा लिखित अनुरोध प्राप्त भएमा सम्बन्धित बैंक खाता अल्पकालीन अवधिका लागि रोक्का राख्न २४सै घण्टा र सातै दिन (२४/७) कार्य गर्ने व्यवस्था मिलाउनुपर्नेछ । राष्ट्र बैंकले यस्तो समन्वय सहज बनाउन प्रत्येक बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा यससम्बन्धी कार्यका लागि समर्पित (डेडिकेटेड) सम्पर्क नम्बर राख्नुपर्ने व्यवस्था पनि गरेको छ । त्यसैगरी, अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने निकायले बैंकसँग कुनै खातासम्बन्धी विवरण माग गरेमा सोझै र यथाशीघ्र उपलब्ध गराउने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

दीर्घकालीन कर्जामा राहत, ग्रेस अवधिको ब्याज पुँजीकरण गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दीर्घकालीन परियोजनामा ब्याज पुँजीकरण सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै दीर्घकालीन प्रकृतिका परियोजनामा कर्जा प्रवाह गर्दा परियोजनाको व्यवसायीक सञ्चालन वा उत्पादनबाट नगद आप्रवाह सुरु नहुँदासम्मको ग्रेस वा मोरेटोरियम अवधिमा पाकेको ब्याजलाई पुँजीकरण गर्न सक्नेछन् । तर यस्तो सुविधा कर्जा सम्झौतापत्रमै उल्लेख गरिएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकले ब्याज पुँजीकरणसम्बन्धी छुट्टै कार्यविधि तयार गरी लागू गर्न निर्देशन दिएको छ । कार्यविधिमा ब्याज पुँजीकरण गरिने क्षेत्र, परियोजनाको यथार्थपरक नगद प्रवाह विश्लेषण, पुँजीकृत ब्याज भुक्तानीका शर्त, प्रस्तावित पुँजी योजना तथा कर्जा–स्वपुँजी अनुपात समावेश गर्नुपर्नेछ । साथै, ब्याज पुँजीकरण गर्ने निर्णय सम्बन्धित बैंकको सञ्चालक समितिबाट अनुमोदित हुनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार एकपटक निर्धारण गरिएको ग्रेस अवधि थप गरी पुनः ब्याज पुँजीकरण गरिएमा त्यस्तो कर्जालाई पुनरसंरचना गरिएको मानिनेछ । यस्तो अवस्थामा कर्जा वर्गीकरण गरी न्यूनतम २५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । यद्यपि, उत्पादन सुरु गरिसकेका तर प्रसारण लाइन निर्माण नहुँदा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका जलविद्युत् आयोजनाको हकमा भने प्रसारण लाइन सञ्चालनमा नआउँदासम्म खुद बिक्री आम्दानीले नधानेको ब्याज आंशिक रूपमा पुँजीकरण गर्न सकिनेछ । यस्तो कर्जालाई पुनर्संरचना गरिएको मानिने छैन । ‘प्राकृतिक प्रकोप, हुलदंगा वा ऋणीको नियन्त्रण बाहिरका कारणले परियोजना सञ्चालन गर्न नसकिने र पुनः सञ्चालन हुन कम्तीमा दुई वर्षभन्दा बढी समय लाग्ने अवस्थाका कर्जामा पनि विशेष व्यवस्था गरिएको छ । त्यस्ता कर्जाको भाखा नाघेको साँवा तथा ब्याज असुल गरी ग्रेस अवधि दिइएमा सो अवधिको ब्याज पुँजीकरण गर्न सकिनेछ । यस्ता कर्जालाई पुनर्संरचना गरिएको मानिने भए पनि न्यूनतम १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरे पुग्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । यसैगरी, पुनर्संरचना वा पुनरतालिकीकरण गरिएको कर्जाको भाखा नाघेको ब्याज भने पुँजीकरण गर्न नपाइने स्पष्ट गरिएको छ । ग्रेस अवधिको ब्याज पुँजीकरण गर्दा उक्त रकमलाई इन्ट्रेस्ट क्यापिटलाइज्ड टर्म लोन शीर्षकमा छुट्टै लेखांकन गर्न राष्ट्र बैंकको निर्देशन छ । परियोजनाको नगद प्रवाहको विश्लेषणका आधारमा इन्ट्रेस्ट क्यापिटलाइज्ड टर्म लोनको भुक्तानी अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्न सक्नेछन् ।  राष्ट्र बैंकका अनुसार दीर्घकालीन परियोजना भन्नाले व्यवसायीक सञ्चालन वा उत्पादनबाट नगद आप्रवाह सुरु हुन कम्तीमा दुई वर्ष लाग्ने परियोजनालाई बुझ्नुपर्नेछ ।

स्विट्जरल्यान्डको लगातार दोस्रो जित, क्यानडालाई २-१ ले हराउँदै समूह विजेता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा स्विट्जरल्यान्डले क्यानडामाथि २-१ को महत्वपूर्ण जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । भ्यानकुभरमा भएको खेलमा रुबेन भार्गास र जोहान मान्जाम्बीले दोस्रो हाफको सुरुआती १२ मिनेटभित्र १-१ गोल गरी स्विट्जरल्यान्डलाई २-१ को जित दिलाएका हुन् । क्यानडाले खेलमा फर्कने प्रयास गरे पनि स्विस टोलीले आफ्नो लय कायम राख्दै तीन अंक सुरक्षित गर्‍यो । यस जितसँगै स्विट्जरल्यान्डले समूह चरणमा ३ खेलबाट ७ अंक जोड्यो । उसले पहिलो खेलमा कतारसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा बोस्निया-हर्जगोभिनालाई ४-१ ले पराजित गरेको थियो । अन्तिम खेलमा क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड समूहको शीर्ष स्थानमा रह्यो । यता क्यानडाले पनि प्रभावशाली प्रदर्शन गरे पनि हार टार्न सकेन । क्यानडाले पहिलो खेलमा बोस्निया-हर्जगोभिनासँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा कतारलाई ६-० ले हराएको थियो । स्विट्जरल्यान्डसँगको हारका बाबजुद पनि क्यानडा समूह उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ । समूह ‘बी’ को अर्को खेलमा बोस्निया-हर्जगोभिनाले कतारलाई ३-१ ले हराएको थियो । त्यससँगै बोस्निया तेस्रो स्थानमा रहँदा कतार अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।