ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य

इन्डोनेसियाको जकार्तामा आयोजित ‘ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस (जीएसडीसी) २०२६’ का क्रममा ग्लोकल प्रालि र विश्वप्रसिद्ध टाइम्स हायर एजुकेसन बीच एक महत्त्वपूर्ण रणनीतिक सहकार्य समझदारीपत्र मा हस्ताक्षर भएको छ । 

यो सहकार्यलाई नेपालको उच्च शिक्षा क्षेत्रको शैक्षिक गुणस्तर सुधार, अन्तर्राष्ट्रिय पहुँच र विश्वव्यापी सहभागिता अभिवृद्धि गर्ने दिशामा एउटा ठूलो उपलब्धिका रूपमा हेरिएको छ । 

उक्त सम्झौता पत्रमा ग्लोकलका अध्यक्ष आशिष ठाकुर र टाइम्स हायर एजुकेसनका एशिया(प्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिमले हस्ताक्षर गरे ।

यस साझेदारीमार्फत टाइम्स हायर एजुकेसनको उच्च शिक्षा सम्बन्धी विश्वव्यापी अनुभव, डेटा र याङ्किङ प्रणालीलाई ग्लोकलको शिक्षा, युवा तथा सीप विकास क्षेत्रको स्थानीय अनुभवसँग एकीकृत गर्दै नेपाल र समग्र दक्षिण एशियाकै शैक्षिक क्षेत्रमा सकारात्मक योगदान पुर्याउने लक्ष्य राखिएको छ ।

यस ऐतिहासिक सहकार्यले मुख्य गरी तीनवटा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । पहिलो चरणमा नेपालका विश्वविद्यालय र सम्बन्धित सरकारी निकायहरूको शैक्षिक गुणस्तर वृद्धि, अन्तर्राष्ट्रिय पहिचान, प्रभाव मूल्याङ्कन तथा डाटामा आधारित निर्णय प्रक्रियाका लागि विश्वस्तरीय अभ्यास र प्राविधिक परामर्श उपलब्ध गराइनेछ । 

दोस्रो, नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित स्टडी इन नेपाल अभियानलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गरिनेछ, जसले नेपाललाई दक्षिण एशियामा गुणस्तरीय शिक्षा, अनुसन्धान तथा अन्तरदेशीय शैक्षिक सहकार्यको उदीयमान केन्द्र बनाउन सहयोग पुर्याउनेछ ।

तेस्रो क्षेत्र अन्तर्गत विश्वविद्यालय, सरकार, उद्योग तथा विकास साझेदारहरूसँग मिलेर उच्च शिक्षा प्रणालीको सुदृढीकरण, कार्यक्षेत्रका लागि आवश्यक सीप विकास, रोजगारीयोग्यता अभिवृद्धि र नीतिगत सुधारका लागि विभिन्न कर्पोरेट तथा संस्थागत परामर्श परियोजनाहरू संयुक्त रूपमा सञ्चालन गरिनेछन् ।  

समझदारीपत्रमा हस्ताक्षर गरेपछि ग्लोकल प्रालिका अध्यक्ष आशिष ठाकुरले नेपालको उच्च शिक्षा क्षेत्र रूपान्तरणको महत्त्वपूर्ण चरणमा रहेको र दिगो प्रगतिका लागि स्थानीय आकांक्षालाई विश्वव्यापी अवसरसँग जोड्न यो सहकार्य कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

उहाँले नेपालसँग गुणस्तरीय शिक्षा र युवा जनशक्तिको अपार सम्भावना रहेको बताउँदै यसले नेपाललाई अन्तर्राष्ट्रिय ज्ञान केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गरे ।

त्यस्तै, टाइम्स हायर एजुकेसनका एशियाप्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिमले नेपाल उच्च शिक्षा विकासका लागि ठूलो सम्भावना बोकेको देश भएको औंल्याउँदै नेपाली विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय दृश्यता क्षमता विकास र विश्वव्यापी सहभागिता बढाउन आफूहरू उत्साहित रहेको बताए ।

उहाँले विश्वविद्यालय, सरकार र उद्योगबीचको बलियो सम्बन्धले नै दिगो परिवर्तन सम्भव हुनेमा समेत जोड दिए ।

यो साझेदारी ज्ञान आदानप्रदान र नवप्रवर्तनात्मक पहलमार्फत नेपालको शिक्षा प्रणालीलाई थप प्रतिस्पर्धी र विश्वस्तरमा परिचित बनाउने साझा प्रतिबद्धताको प्रतीक हो। 

नेपालले क्षेत्रीय तथा विश्वव्यापी शिक्षा प्रणालीमा आफ्नो भूमिका विस्तार गरिरहेको वर्तमान सन्दर्भमा यसले नीति निर्माता, विद्यार्थी, अनुसन्धानकर्ता र उद्योग क्षेत्रका सरोकारवालाहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ । 

Share News