काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै भेनेजुएलाका जनताको सहयोगका लागि अमेरिकी एजेन्सीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘भेनेजुएलाका जनतामाथि परेका दुई ठूला भूकम्प निकै भीषण थिए र यसबाट धेरै मानिसको मृत्यु भएको छ । अमेरिका सहयोगका लागि तयार र इच्छुक छ ।’
‘मैले मेरो सरकारका सबै एजेन्सीहरूलाई द्रुत गतिमा कारबाहीका लागि तयार रहन निर्देशन दिएको छु । हामी हाम्रा नयाँ र असल मित्रहरूको सहयोगका लागि त्यहाँ उपस्थित रहनेछौं,’ उनले थपे ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट आइरहेका प्रारम्भिक खबरहरू राम्रो नभएको पनि बताए ।
भेनेजुएलाको राजधानी काराकासमा बुधबार आएको भीषण भूकम्पमा हजारौं मानिस मारिएको आशंका गरिएको छ ।
भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न भागमा व्यापक क्षति पुर्याएका छन् ।
राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौं मानिस घरबाट बाहिर निस्कन बाध्य भएका छन् ।
अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत अभियान तीव्र बनाएका छन् ।
भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सि रोड्रिगेजले आपतकाल घोषणा गरेकी छन् ।
कार्यवाहक राष्ट्रपति रोड्रिगेजले क्षतिका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको बताएकी छन् । यसअघि विमानस्थलबाट धुलो उडिरहेको र मानिसहरू भाग्दै गरेका दृश्यहरू सार्वजनिक भएका थिए ।
अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्पको तीव्रता सुरुमा ७.१ मापन गरे पनि पछि ७.२ मा संशोधन गरेको थियो।
यसको केन्द्र काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा क्यारिबियन तटीय क्षेत्रको मोरोन समुदाय नजिक रहेको थियो ।
२२ किलोमिटर गहिराइमा गएको पहिलो भूकम्पपछि एक मिनेटमै ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प आएको थियो । दोस्रो भूकम्पको केन्द्र मोरोनबाट १६ किलोमिटर दक्षिणपश्चिममा तथा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।