विकासन्युज

रविको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितलाई जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा संशोधन तथा फिर्ता लिन गरिएको निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालत मा सुनुवाइ जारी रहेको छ । सोमबार न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा बहस सुरु भए पनि समय अभावका कारण सुनुवाइ टुंगोमा पुग्न सकेन ।  अदालतले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । यसअघि लगातार चार दिनसम्म सुनुवाइ भएपछि चैत ५ गते न्यायाधीशहरू शारंगा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासले माघ २ गते गरिएको कसुर संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन आदेश दिएको थियो ।  उक्त आदेश मुख्यत रवि लामिछानेबाहेक अन्य प्रतिवादीहरूको हकमा गरिएको संशोधन निर्णयसँग सम्बन्धित थियो । रवि लामिछानेसम्बन्धी निर्णय भने सविता भण्डारी ले पुस ३० गते गरेकी थिइन् । त्यसपछि माघ २ गते ‘त्रुटि सच्याइएको’ भन्दै सबै प्रतिवादीहरूविरुद्धको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय अघि बढाइएको थियो । यस प्रक्रियामा फरार प्रतिवादी जिबी राई लगायतलाई समेत समेटिएको देखिन्छ । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीको लिखित जवाफमा उक्त संशोधनसम्बन्धी विवरण उल्लेख भए पनि महान्यायाधिवक्ताको आधिकारिक जवाफमा सो विषय स्पष्ट नदेखिएको भन्दै अदालतले सम्बन्धित टिप्पणी आदेश र प्रमाणहरू झिकाउन निर्देशन दिएको हो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन् । ती रिटहरूको सन्दर्भ देखाउँदै सरकारी वकिलले दिएको संशोधन निवेदनमा कास्की जिल्ला अदालत र रूपन्देही जिल्ला अदालत ले समेत अन्तिम निर्णय नगर्न आदेश दिएका छन् । निवेदक युवराज सफल ले महान्यायाधिवक्ताको निर्णय कानुनविपरीत रहेको दाबी गर्दै त्यसको कार्यान्वयन रोक्न माग गरेका छन् । अब यस मुद्दामा सर्वोच्च अदालतको अन्तिम निर्णयलाई चासोपूर्वक हेरिएको छ ।

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

मधु शाही र सिर्जना राई काठमाडौं । मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन् । कतिपय कर्मचारीहरू मन्त्रीका कार्यकक्ष सजाउन खटिएका छन् । नयाँ मन्त्रीको स्वागतमा सजिएका छन्, मन्त्रालयहरू ।       यसै त वसन्त ऋतुमा सिंहदरबारका बगैँचामा फूलहरू ढकमक्क छन् । त्यसैमा अहिलेको सजावटले ‘सुनमा सुगन्ध’ थपिदिए जस्तै भएको छ । यसो हेर्दा लाग्छ, सिंहदरबारमा फुलेका फुलहरू पनि नयाँ सरकारको स्वागतार्थ लामबद्ध छन् ।      निर्वाचनको अन्तिम परिणाम आइसकेको छ र सांसदहरूको शपथ चैत १२ गतेका लागि तोकिएको छ । त्यसलगत्तै सरकार गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृहकार्यमै छ । त्यसैले केही दिनमै बन्ने सरकारको स्वागतका लागि सिंहदबारभित्र तयारी भइरहेको हो ।      गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगलागीमा परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मुहार पनि यसै मेसोमा फेरिँदै छ, सिँगारिँदै छ । मन्त्रालयका सूचना अधिकारी मधुप्रसाद घिमिरेका अनुसार जेनजी आन्दोलनका बेला टेलिफोनका जलेका टेलिफोनका तारहरू व्यवस्थित हुँदैछन् । उनले भने, 'मन्त्रालय चिरिच्याट्ट बन्दै छ । नयाँ मन्त्रीको स्वागतमा तयार हुँदै छ ।'      युवा खेलकुद मन्त्रालयमा पनि नयाँ मन्त्रीको स्वागतका तयार गरिँदै छ ।       यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि नयाँमन्त्रीसँगै नीतिगत कार्य सम्पादनको पर्खाइमा छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदयबहादुर रानामगरले कार्यकारी अर्थात मन्त्री नहुँदा नियमित सामान्य कामसमेत प्रभावित भइरहेको अवस्थामा नयाँ मन्त्रीको स्वागत गर्न मन्त्रालयका कर्मचारी उत्साहित रहेको बताए ।  उनले विगतमा जस्तै भौतिक संरचनाको हिसाबले मन्त्रीकक्ष पूर्ण व्यवस्थित नै रहेको सुनाए । 'मन्त्री हुँदा पब्लिक चहलपहल हुने गर्यो । अहिले सुनसान जस्तै छ,' उनले भने, 'मन्त्रीको प्रतीक्षामा कार्यालयदेखि कर्मचारी रहेका छौँ ।'       त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि जलेको अघिल्लो भाग पेन्टिङ गरेर चिरिच्याट्ट पारिएको छ । मन्त्रालयका एक कर्मचारीले भने, 'अब नयाँ सरकार आएसँगै चहलपहल बढ्ला, अहिले त सुनसानै छ ।'   मन्त्रालयका सूचना अधिकारी राजु महर्जनले नयाँ मन्त्रीको आगमनसँगै मन्त्रालयमा सेवाग्राहीले चाप बढ्ने हुनाले आवश्यक सबै तयारी सकिएको बताए । जेनजी आन्दोलनका क्रममा मन्त्रालयको क्षतिग्रस्त भवनको पुनः निर्माण सम्पन्न भइसेको छ । नियमित प्रशासनिक कामबाहेक नीतिगत मन्त्रिस्तर निर्णयका लागि मन्त्रालय प्रतिक्षारत रहेको उनको भनाइ छ ।      जेनजी आन्दोलनले पूर्ण रूपमा क्षति भएको मन्त्रालयमध्ये, बेला रामशाह पथमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय थियो । भवनको क्षति भएसँगै कार्यालय व्यवस्थित बनाउने सङ्घर्षमै रहेको छ ।       मन्त्रालयको आधा कार्य कार्यालय अहिले सिंहदबारस्थित अस्थायी टहरामा सीमित छ । यद्यपि आगामी सरकार गठनले ल्याउने स्वास्थ्यमन्त्रीको स्वागत गर्न मन्त्रालय प्रशासन चुस्त छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार भवन जलेपछि स्वास्थ्य मन्त्रालयको आफ्नो स्थायी संरचना छैन । उनका अनुसार हालका स्वास्थ्यमन्त्री डा सुधा गौतमले आइतबारदेखि अत्यावश्यक कामबाहेक मन्त्रालयमा नियमित उपस्थित नहुने गरी धन्यवाद दिएर जाएकी छन् । आगामी बजेटको तयारीमा लागेको मन्त्रालयले बेलैमा नयाँ मन्त्रीको स्वागत गर्न पाए प्रभावकारी हुने आशा रहेको  मन्त्रालयका प्रवक्ता बुढाथोकीको धारणा छ ।       'टहरामा मन्त्रालय चलाउनु परेको अवस्था छ,' उनले भने, 'हाम्रो यति मात्र आशा छ कि बजेटको तयारी गर्दै गर्दा स्वास्थ्यमन्त्री छिटो नियुक्ति भएको खण्डमा पछि पनि सजिलो हुन्थ्यो ।'      सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले नयाँ मन्त्रीको स्वागतका लागि खास तयारी आवश्यक नभएको बताए । उनले भवन संरचना पूर्ण तयार रहेकाले पनि तयारी आवश्यक नभएको बताए । नियमित प्राशासनिक काम सञ्चालन भइरहेको र नीतिगत कामहरू सम्पादन गर्न मन्त्रीको पर्खाइमा रहेको उनले सुनाए । रासस   

कपिलवस्तुमा दुई समुदायबीचको झडपमा १० जनाविरुद्ध मुद्दा, स्थिति सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाको बर्गदामा शनिबार बिहान दुई समुदायबीच धार्मिक विषयमा विवाद उत्पन्न भई स्थिति उग्र बनेपछि जिल्ला प्रशासनले तत्काल अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । हालसम्म प्रहरीले १० जनालाई नियन्त्रणमा लिई मुद्दासमेत चलाइसकेको छ । मस्जिदमा नमाज पढिरहेका बेला नजिकैको काली मन्दिरमा अत्यन्त चर्को स्वरमा भजन बजाइएको विषयलाई लिएर दुई पक्षबीच विवाद सुरु भएको हो । सुरुमा भनाभनबाट सुरु भएको विवाद उग्र बन्दै जाँदा नमाज पढिरहेको समूहले मन्दिरभित्र पसी मूर्ति तोडफोड गरे । त्यसपछि दुवै समुदाय शारीरिक झडपमा उत्रिए र स्थिति पूरै तनावपूर्ण बन्न पुग्यो ।  स्थानीय प्रशासनले अवस्था थप बिग्रन नदिन शनिबार दिउँसो २ बजेदेखि सो क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लागू गर्यो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा सर्वपक्षीय बैठक सम्पन्न बसी आवश्यक निर्णयहरू सार्वजनिक गरिएको जानकारी दिए । उनका अनुसार घाइतेहरूको उपचार जारी रहेको र दोषीहरूमाथि कानुन बमोजिम कारबाहीको प्रक्रिया सुरु भइसकेको पनि छ । गौतमले कानुनले निषेध गरेका कार्यमा संलग्न भएको पाइएमा कडा कारबाही गरिने चेतावनीसमेत दिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष आचार्यले जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गइरहेको बताए ।  ‘आज पनि बजार बन्द गर्दै हिँड्ने केही समूहलाई पक्राउ गरिएको छ । झडप भएको दिनदेखि हालसम्म प्रहरीले १० जनालाई नियन्त्रणमा लिई मुद्दा चलाइसकेको छ,’ उनले भने । कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत नागरिकको जीवनलाई लक्षित गरी भ्रम फैलाउने कार्य नगर्न सबैलाई कडा अनुरोध गरेको छ ।  सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रमपूर्ण अभिव्यक्ति दिनेहरूमाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाही अगाडि बढाइने प्रशासनले स्पष्ट पारेको छ । जिल्लामा सुरक्षा निकायको उपस्थिति बढाइएको छ र अवस्थामाथि निरन्तर निगरानी राखिएको प्रशासनले जनाएको छ ।

सालमनीदेवी हाइड्रोले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं । सालमनीदेवी हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता तथा सर्वसाधारणका लागि सोही अंकित दरका थप ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ । आईपीओ निष्काशनसम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सालमनीदेवी हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन् । सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा अवस्थित ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।  

अनुभवी उद्योगी लिएर अञ्जनले घोषणा गरे प्यानल, को–को बने उम्मेदवार ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि अञ्जन श्रेष्ठको नेतृत्वमा उम्मेदवारहरूको प्यानल घोषणा भएको छ । चैत २८ र २९ गते हुने महासंघको ६०औं वार्षिक साधारणसभामा नयाँ टिमका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफ्नो टिम घोषणा गरेका हुन् । गत फागुन २१ गते वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा नयाँ टिम घोषणा भएको थियो । अर्को समूहले पनि आज (सोमबार) उम्मेदवारी घोषणा भएको हो । सो समूहले अबको साधारणसभाबाट स्वतः अध्यक्ष बन्ने अञ्जन श्रेष्ठको नेतृत्वमा बन्ने टीम भनेर घोषणा गरेको हो ।  यस समूहबाट वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्लानगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्मा उम्मेदवारी घोषणा गरेका छन् ।  यी हुन् उम्मेदवार  वस्तुगततर्फका उम्मेदवार शिवप्रसाद घिमिरे, उपाध्यक्ष सदस्यका उम्मेदवारहरूः नेपाल आइसक्रिम उद्योग– अरनीकोराज भण्डारी  नेपाल दाना उत्पादक संघ– रबिन पुरी  नेपाल कुचो संघ– राजकुमार कार्की  नेपाल बिउ व्यवसायी संघ– बसन्त चन्द्र मरहट्टा नेपाल सिमेन्ट उद्योग संघ– रघुनन्दन मारु नेपाल कृषि मेशिनरी व्यवसायी संघ– सुनिता नेहाफुकि नेपाल प्लाइउड उत्पादक संघ– होम प्रसाद घिमिरे  नेपाल पश्मिना उद्योग संघ– धन प्रसाद लामिछाने  नेपाल धितोपत्र दलाल संघ– धर्मराज सापकोटा  रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल– संघर्ष विष्ट  फ्लोरिकल्चर एशोसिएसन नेपाल–राजेश भक्त श्रेष्ठ जुत्ता उत्पादक संघ– नानीराज घिमिरे  नेपाल वायो ग्यास प्रवद्र्धक संघ– यप बहादुर थापा मगर  ढुवानी व्यवसायी महासंघ नेपाल– विश्वनाथ खनाल  नेपाल इट्टा उद्योग संघ– कृष्ण प्रसाद अवाले  नेपाल बोटल एण्ड वाटर इण्डष्ट्रिज एशोसिएसन– ध्रुव बहादुर गौतम जिल्ला/नगरतर्फ उपाध्यक्षहरू १. दिलसुन्दर श्रेष्ठ २.कृष्णप्रसाद शर्मा सदस्यहरू १.कोशी प्रदेश– नवीन रिजाल  २. बागमती प्रदेश– बेदबहादुर श्रेष्ठ ३. गण्डकी प्रदेश–नवराज सुवेदी ४. लुम्बिनी प्रदेश–ठाकु श्रेष्ठ एसोसिएट तर्फका उम्मेदवार प्रवलजंग पाण्डे, उपाध्यक्ष  सदस्यहरू अविज्ञा मल्ल अम्बिका प्रसाद पौडेल बाबुकाजी कार्की हेमन्त गोल्छा इश्वर जीसी जुना माथेमा  कृष्णलाल महर्जन निकोलश पाण्डे प्रियराज रेग्मी  राजेश कुमार अग्रवाल ऋषी अग्रवाल चैनावाल आरएस भण्डारी  शक्ति कुमार बेगानी  सुशील थापा  सुयस प्याकुरेल उज्वल कुमार श्रेष्ठ अर्को समूहले गत फागुन ११ गते टिम घोषणा गरेको थियो । सो समूहबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल, वर्तमान एसोसिएट तर्फकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ उपाध्यक्षमै दोहोर्याएर उम्मेदवारी दिएकी छन् ।  यो समूहबाट उमेश डालमिया र कल्पना गैरे  जिल्ला नगर उपाध्यक्षका उम्मेदवार बनेका छन् भने नरेशलाल श्रेष्ठ वस्तुगत उपाध्यक्षका उम्मेदवार बनेका छन् । ढकाल समूहबाट कल्पना श्रेष्ठ महिला उपाध्यक्षकी उम्मेदवार बनेकी छन् । वरिष्ठ उपाध्यक्षका ५ जना आकांक्षीबीच ‘जेन्टलमेन एग्रिमेन्ट’, पद पेन्डिङ राखेर बन्यो ‘टिम अञ्जन’

फरक क्षमता भएका व्यक्तिलाई वित्तीय ज्ञानसँग जोड्दै सांग्रिला बैंक

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल वहिरा संघसँगको समन्वयमा चैत ८ गते काठमाडौंमा आयोजित कार्यक्रममा ४० जना फरक क्षमता भएका व्यक्तिको सहभागिता रहेको बैंकले जनाएको छ । कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले आम्दानी व्यवस्थापन, बचत, वित्तीय सुरक्षा, बैंकिङ कारोबार, डिजिटल साक्षरता, स्मार्ट मनि, लगानी, प्रतिफल तथा जोखिम व्यवस्थापनलगायत विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा सांकेतिक भाषा दोभाषे उमा पौडेल र प्रकाश महर्जनले सहजीकरण गरेका थिए । कार्यक्रमको समापनमा राष्ट्रिय वहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले कार्यक्रम निकै उपयोगी भएको उल्लेख गर्दै आर्थिक क्षेत्रसम्बन्धी विभिन्न तालिम सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरिरहेको जानकारी दिए । सांग्रिला डेभलपमेन्ट बैंकले आम नागरिकको विश्वासका आधारमा हाल देशभर १०९ शाखा कार्यालय तथा ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्दै आगामी दिनमा सेवा विस्तारलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।   

काम नगरेपछि ठेकेदारको गाडी कब्जामा, अस्पताल निर्माण अझै अलपत्र

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमूना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बाग्मती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो ।  आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु नभएसम्म गाडी, गाडीको चाबी र सवारीसाधन दर्ता प्रमाणपत्र नियन्त्रणमा लिएको नगरप्रमुख विमला राईले जानकारी दिए । '२०८० सालमै बनिसक्नुपर्ने १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम हालसम्म अलपत्र छ । भवनको पहिलो चरणको कामसमेत पूरा भएको छैन,' उनले भने, 'काममा निरन्तरता नदेखिएको तथा पटक–पटक लिखित एवम् मौखिक जानकारी गराउँदा पनि प्रगति नभएपछि नगरपालिकाले गाडी कब्जामा लिएको हो । गाडी नियन्त्रणमा लिएको विषयमा जिल्ला प्रशासन कार्यालयलाई पनि लिखित जानकारी पठाइसकिएको छ ।' नगरप्रमुख राईले चैत ८ गते चालकलाई आफ्नो कार्यकक्षमा बोलाएर गाडीको चाबी नियन्त्रणमा लिएर प्रहरीलाई बोलाएका थिए । अस्पताल भवन निर्माणको काममा सुरुबाटै ढिलासुस्ती गर्ने निर्माण कम्पनीका ठेकेदारलाई नगरपालिकाले यही चैत १२ गतेदेखि पुनः सुरु गराउने लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको छ ।      यही चैत १२ गतेदेखि सुरु गरेर ४५ दिनभित्र कम्तीमा बेसमेन्ट कभर स्ल्याब ढलान सक्ने, ६० दिनभित्र फष्ट फ्लोर स्ल्याब तथा अर्को ६० दिनभित्र सेकेन्ड फ्लोर स्ल्याब ढलानको काम सम्पन्न गर्ने प्रतिबद्धता गराइएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । प्रतिबद्धताअनुसार काम नगरे नियमानुसार कारबाही भोग्ने तथा कतै उजुरबाजुर नगर्ने कागजमा हस्ताक्षर गराइएको उनको भनाई छ ।       ठेकेदारलाई पटक–पटक फोन गर्दा नउठाएपछि नगरप्रमुख राईले हिउँदे नगरसभामार्फत ‘ब्ल्याकलिष्ट’मा राख्ने मेसेज पठाएपछि निर्माण कम्पनी नमूना/हिमालयन जेभी विराटनगरका ठेकेदार बस्नेत नगरपालिकाको सम्पर्कमा आउनुभएको थियो । नमूना/हिमालयन जेभीले विसं २०८० साउन ८ गतेसम्ममा काम सम्पन्न गर्नेगरी विसं २०७८ साउन ८ गते अस्पताल भवन बनाउने ठेक्का सम्झौता गरेको थियो । तर सम्झौता म्याद नाघेको दुई वर्ष बितिसक्दा पनि अस्पतालको भवन जगभन्दा माथि उठ्न सकेको छैन ।      भवन निर्माण योजना सुरु गरेपछि ठेकेदार कम्पनीले सम्बन्धित निकायबाट रु चार करोड ११ लाख २८ हजार ५८ भुक्तानी लिएका थिए । भुक्तानी लिएपछि भवन निर्माणको काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्क विहीन भएका थिए । भूगोलका कारण डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएको तर, उक्त डिजाइन मन्त्रालयले स्वीकृति गर्न ढिलाइ गरेकाले अस्पताल भवन अलपत्र परेको ठेकेदार कम्पनीले बताउँदै आएको छ ।      नेपाल सरकारको नीतिअनुसार चार वर्षअघि जिल्लाका दशमध्ये छ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्नेगरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐँसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा एकैसाथ आधारभूत अस्पताल निर्माणको काम थालिएको हो ।      हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकामा १५/१५ शय्या तथा रावाबेँसी गाउँपालिकामा दश र साकेला गाउँपालिकामा पाँच शय्याको अस्पताल शिलान्यास गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्धारण गरेको कार्यक्रमअनुसार २०७७ मङ्सिर १५ गते जिल्लाका चार स्थानीय तहमा एकै दिन अस्पताल शिलान्यास गरिएको हो ।       हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकामा मङ्सिर १५ गते तथा केपिलासगढीमा मङ्सिर २३ गते शिलान्यास गरिएको थियो भने साकेला गाउँपालिकामा निर्माण गरिने अस्पताल बिना शिलान्यास काम सुरु गरिएको थियो । साकेला गाउँपालिकामा सञ्चालित कुनै पनि योजना औपचारिक शिलान्यास तथा उद्घाटन नगर्ने तत्कालीन गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’को प्रतिबद्धताअनुसार बिना शिलान्यास काम सुरु गरिएको हो ।       दश स्थानीय तह रहेको जिल्लामा वर्षदिनपछि थप तीन स्थानीय तहमा अस्पताल निर्माणको योजना स्वीकृत भएको थियो । हरेक स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल निर्माण गर्ने सरकारको नीतिअनुसार बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा २०७८ सालमा योजना परेको हो ।      दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वर्षदिनपछि थप तीन स्थानीय तहमा अस्पताल निर्माणको योजना स्वीकृत भएको थियो । हरेक स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल निर्माण गर्ने सरकारको नीतिअनुसार बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा २०७८ सालमा योजना परेको हो ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यसअघि नै १५ शय्याको सरकारी जिल्ला अस्पताल सञ्चालनमा थियो । २०४९ वैशाख १ गते १५ शय्यामा स्थापना गरेर सञ्चालन गरिएको जिल्ला अस्पताललाई अहिले ५० शय्यामा स्तरोन्नति गर्ने काम तीव्रगतिमा भइरहेको छ । रासस  

मलाई उपाध्यक्षमा निर्वाचित गराउनुहोस्, पद दोहोर्याउँदिनँ : प्रवलजंग पाण्डे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएटतर्फका उपाध्यक्षका उम्मेदवार प्रवलजंग पाण्डेले दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको सुनाउँदै सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर निजी क्षेत्रमैत्री नीति बनाउन आवश्यक रहेको बताए ।  उनले विदेशिँदै गरेका युवाको भीड रोक्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको सुनाए ।  उनले आफू उपाध्यक्षमा निर्वाचित भए दोस्रो पटक नदोहोर्याउने पनि प्रतिबद्धता गरे ।