विकासन्युज

जननेत्र माविका विद्यार्थीलाई एनआईसी एशिया बैंकको शैक्षिक सामग्री

काठमाडौं । एनआईसी एशिया बैंकले पर्वतको मोदी गाउँपालिका–देउपुरस्थित श्री जननेत्र माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ । विद्यार्थीहरूको पठनपाठन तथा खेलकुद गतिविधिलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ । हाल १९१ भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा आयोजित कार्यक्रममा बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्र शर्मा र पोखरा सर्कल हेड श्वेता शेरचनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शर्मा तथा प्रधानाध्यापक दीपक शर्मालाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले विद्यालयलाई झोला, कपी, पेन्सिल, पेनलगायत शैक्षिक सामग्रीका साथै फुटबल, भलिबल, भलिबल नेट, ब्याडमिन्टन, स्किपिङ, सटपुट बल र जेभलिन थ्रोलगायत खेलकुद सामग्री उपलब्ध गराएको छ । सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो । बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको पठनपाठनसँगै खेलकुद गतिविधिलाई थप सहज बनाउने र विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

बीमा तथ्याङ्कलाई विश्वसनीय र एकरूप बनाउन प्राधिकरणको जोड

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अनुसन्धान तथा तथ्याङ्क व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले बीमकहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा शुक्रबार आयोजित कार्यक्रममा बीमकहरूले बुझाउने दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक तथ्याङ्कलाई एकरूप, गुणस्तरीय र विश्वसनीय बनाउने विषयमा छलफल भएको थियो । साथै, आइआरएमआइएसमा गरिएको डाटा रिपोर्टिङसम्बन्धी परिवर्तन र त्यसक्रममा देखिएका समस्याको समाधानका उपायबारे पनि विमर्श गरिएको प्राधिकरणले जनाएको छ । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि तथ्याङ्कको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसको शुद्धता, एकरूपता र विश्वसनीयता सुनिश्चित गर्नुपर्ने बताए । उपनिर्देशक पुष्पा कुँवरले तथ्याङ्क प्रणालीमा देखिएका समस्या समाधानका लागि प्राधिकरण सहकार्य र आवश्यक सहजीकरण गर्न तयार रहेको जानकारी दिए । कार्यक्रममा सहायक निर्देशक सुन्दर प्रसाद शर्माले बीमा क्षेत्रको अध्ययन तथा अनुसन्धानका क्रममा देखिएका समस्या, चुनौती र अवसरबारे प्रस्तुति दिएका थिए । उनले अनुसन्धानका लागि आवश्यक तथ्याङ्क समयमै उपलब्ध हुनुपर्ने, तथ्याङ्कमा एकरूपता कायम गरिनुपर्ने, बीमकहरूले अनुसन्धानसम्बन्धी सम्पर्क व्यक्ति तोक्नुपर्ने, अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने तथा त्यसका लागि आवश्यक स्रोत–साधन सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए । त्यस्तै, प्राधिकरणका तथ्याङ्कशास्त्री बसन्त प्रसाद बोहराले बीमकहरूबाट सङ्कलन गरिने तथ्याङ्कका आधार, सङ्कलन प्रणालीमा गरिएको सुधार तथा बीमकहरूले पेश गर्ने तथ्याङ्कप्रति प्राधिकरणको अपेक्षाबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका तथ्याङ्क, अनुसन्धान र सूचना प्रविधि शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्राधिकरणकी सहायक प्रथम कमला घर्तीले गरेकी थिइन् ।

शुभ इन्टरनेशनलले ल्याउँदै आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत साधारण सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । यससम्बन्धी सम्झौतापत्रमा शुभ इन्टरनेशनल हस्पिटालिटीका अध्यक्ष कविन श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा कम्पनीका प्रतिनिधि विकास चौधरी र सञ्चालक प्रशान्त तातेडको पनि उपस्थिति थियो । शुभ इन्टरनेशनल हस्पिटालिटीले विराटनगरको धरान रोडस्थित अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल सञ्चालन गर्दै आएको छ । भारतको प्रतिष्ठित होटल व्यवस्थापन समूहसँगको व्यवस्थापन साझेदारीमा सञ्चालित उक्त होटल विराटनगरको पहिलो अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गत सञ्चालित पाँचतारे होटल रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार होटलले व्यावसायिक यात्रु, स्वदेशी तथा विदेशी पर्यटक, सम्मेलन, विवाह तथा अन्य विशेष कार्यक्रमलाई लक्षित गर्दै अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराइरहेको छ । आधुनिक सुविधा, अन्तर्राष्ट्रिय सेवा मापदण्ड र व्यावसायिक व्यवस्थापनमार्फत पूर्वी नेपालको पर्यटन, आर्थिक गतिविधि तथा आतिथ्य उद्योगको विकासमा योगदान पुर्‍याउने लक्ष्य कम्पनीको छ । कम्पनीले आगामी दिनमा क्यासिनो सञ्चालन गर्ने योजना पनि रहेको जनाएको छ ।

साताभरि नै सेयर बजार राताम्मे, नेप्से झर्‍यो २६४९ अंकमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता लगातार पाँचै दिनको कारोबार ओरालो लागेको छ । साताको सुरुवात सोमबार २ हजार ७००.६५ अंकबाट भएको बजार अन्तिम कारोबार दिन शुक्रबार २ हजार ६४९.५१ अंकमा बन्द भएको छ । यो साता बजार ५१.१४ अंक घटेको हो । साताको पहिलो कारोबार दिन सोमबार नेप्से १.४६ अंकले घटेको थियो । त्यसपछि मंगलबार सबैभन्दा ठूलो गिरावट देखिँदा परिसूचक २६.१६ अंकले ओरालो लाग्यो । बुधबार १४.४५ अंक, बिहीबार ८.५० अंक र शुक्रबार थप २ अंकले घटेपछि बजार लगातार पाँच दिन नै नकारात्मक रह्यो । साताभर नेप्सेमा करिब १८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पाँच कारोबार दिनमा करिब ३ करोड ६१ लाख कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी ४ अर्ब ३१ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै सोमबार ३ अर्ब ९२ करोड ५४ लाख रुपैयाँ, मंगलबार ४ अर्ब १७ करोड ६३ लाख रुपैयाँ, बिहीबार २ अर्ब ८० करोड ५० लाख रुपैयाँ र शुक्रबार २ अर्ब ७७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साताको अन्तिम दिन शुक्रबार ५७ लाख ७ हजार ५०८ कित्ता सेयर ३८ हजार ७७२ पटक किनबेच हुँदा २ अर्ब ७७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।   

११ महिनामा २७७ अर्ब निर्यात, सबैभन्दा धेरै सोयाबिन तेल

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि जेठ मसान्तसम्ममा २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो अवधिमा सबैभन्दा धेरै सोयाबिन तेल निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा १ खर्ब १३ अर्ब १८ करोड ३२ लाख रुपैयाँको मात्रै सोयाविन तेल निर्यात भएको तथ्यांक छ । नेपालबाट भारतमा उक्त रकम बराबरको सोयाविन तेल निर्यात भएको देखिन्छ । दोस्रो धेरै निर्यात हुने वस्तुमा अलैंची रहेको छ । जेठसम्ममा नेपालबाट १२ अर्ब ७ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । अलैंची पनि नेपालबाट भारतमा नै निर्यात हुने गरेको छ । त्यस्तै, तेस्रो धेरै निर्यात हुने वस्तुमा सूर्यमूखीको तेल रहेको छ । ११ महिनाको अवधिमा नेपालबाट ७ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको सोयाविन तेल भारतमा निर्यात भएको देखिन्छ । त्यसैगरी, ६ अर्ब १४ करोड २ लाख रुपैयाँको पाम तेल निर्यात भएको छ । नेपालबाट भारतमा नै पाम तेल निर्यात हुने गरेको छ । पामतेलपछि नेपालबाट धेरै निर्यात हुने वस्तुमा गलैंचा देखिन्छ । साउनदेखि जेठ मसान्तसम्ममा ६ अर्ब ७ करोड रुपैयाँको गलैंचा निर्यात भएको छ । गलैंचापछि जुट वा अन्य वनस्पतिबाट बनेको ब्लिच नगरिएको बुना कपडा रहेको छ । ११ महिनाको अवधिमा नेपालबाट ५ अर्ब ७८ करोड रुपैयाँ बराबरको सो वस्तु निर्यात भएको देखिन्छ । त्यस्तै, ११ महिनामा ४ अर्ब ४० करोड रुपैयाँको मिक्स जुस, ४ अर्ब ३८ करोड रुपैयाँको एक धागो, ३ अर्ब ७५ करोड रुपैयाँको कुकुर र बिरालोको खाना र ३ अर्ब ६७ करोड रुपैयाँको अन्य धागो निर्यात भएका छन् । 

लगातार तेस्रोपटक प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ । शुक्रबार (आज)का लागि तय गरिएको बैठक शनिबारका लागि बोलाइएको थियो ।  उक्त बैठक पनि संसद् सचिवालयले सूचना टाँस गर्दै स्थगित गरेको छ ।  संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक अब आइतवार बिहान ११ बजे बस्ने गरी नयाँ समय निर्धारण गरिएको छ। बैठक स्थगित हुनुको कारणबारे विस्तृत जानकारी नदिइए पनि संसद् सचिवालयले विशेष कारण उल्लेख गर्दै बैठक सारिएको जनाएको छ।  यसअघि पनि दुईपटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको थियो ।  पछिल्लोपटकको स्थगनसँगै प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक प्रभावित भएको हो ।

महाराजगञ्जमा दिपलको नयाँ सोरुम, पहिलो दिनमै २० इभी डेलिभरी

काठमाडौं । दिपल ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको महाराजगञ्जमा नयाँ ‘स्टेट अफ द आर्ट’ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले एपोलो मोटर्सलाई काठमाडौंको नयाँ अधिकृत डिलर नियुक्त गर्दै दिपल इभीको पहुँच थप विस्तार गरेको जनाएको छ । नयाँ सोरुमको उद्घाटन दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवाली तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले नेपाली विद्युतीय सवारी (इभी) बजार परिवर्तनको चरणमा रहेको र दिपलले त्यसको नेतृत्व गरिरहेको बताए । उनले दिपललाई दीर्घकालसम्म विश्वासिलो र स्थापित ब्रान्डका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै देशका विभिन्न सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार गरिने जानकारी दिए । कार्यक्रममा अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डगसमेत प्रदर्शन गरिएको थियो । कम्पनीका अनुसार यसले चांगानको कृत्रिम बौद्धिकता (एआई) र स्वचालन प्रविधिप्रतिको दृष्टिकोणलाई प्रत्यक्ष रूपमा प्रस्तुत गरेको थियो । एपोलो मोटर्सका निर्देशक सुयाश ज्ञवालीले दिपलको काठमाडौंस्थित अधिकृत डिलर बन्न पाएकोमा खुसी व्यक्त गर्दै नयाँ सोरुम केवल गाडी बिक्री गर्ने स्थान नभई ग्राहकले दिपलका आधुनिक इभी मोडलको अनुभव लिन सक्ने केन्द्रका रूपमा विकास गरिएको बताए । कम्पनीले उद्घाटनकै दिन २० जना ग्राहकलाई दिपलका विद्युतीय सवारी हस्तान्तरण गरेको छ । ब्रान्ड एम्बेसेडर पारस खड्का, अध्यक्ष विष्णु अग्रवाल र विनोदराज ज्ञवालीले संयुक्त रूपमा ग्राहकलाई गाडीको साँचो हस्तान्तरण गरेका थिए ।  

भदौ २३–२४ पछि एउटै मञ्चमा सहभागी हुँदै चार पूर्वप्रधानमन्त्रीहरू

काठमाडौं । गत वर्षको भदौ २३ र २४ गतेका राजनीतिक घटनाक्रमपछि चार पूर्वप्रधानमन्त्रीहरु पहिलोपटक एउटै सार्वजनिक मञ्चमा उभिने भएका छन् । जननेता मदन भण्डारीको जन्मदिन पारेर मदन भण्डारी फाउण्डेशनले आइतबार (असार १४ गते) आयोजना गर्न लागेको कार्यक्रममा चारै प्रधानमन्त्रीहरु एउटै मन्चमा आउन लागेका हुन् ।  नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी हुने कार्यक्रम तय भएको हो ।  उनीहरूले कार्यक्रममा अतिथि वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको फाउण्डेसनले जनाएको छ । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको फाउण्डेसनले जनाएको छ । त्यस्तै, पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि वक्ताका रूपमा सहभागी हुने फाउण्डेशनले जनाएको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा कम्युनिष्ट आन्दोलन, भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद र समसामयिक राजनीतिक विषयमा विचार विमर्श हुने जनाइएको छ । भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भदौ २३ र २४ गतेका राजनीतिक घटनाक्रमपछि प्रमुख कम्युनिष्ट धारका शीर्ष नेताहरू पहिलोपटक एउटै सार्वजनिक मञ्चमा उपस्थित हुन लागेकाले उक्त कार्यक्रमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण भेटका रूपमा हेरिएको छ ।