रास्वपाको नयाँ नेतृत्वले लियो शपथ, महाधिवेशनपछि पाटीले समात्यो नयाँ गति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

महाधिवेशनस्थलमै आयोजित विशेष समारोहमा नवनिर्वाचित नेतृत्वले शपथ लिएसँगै रास्वपाले औपचारिक रूपमा नयाँ नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरेको हो । 

महाधिवेशनबाट सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भएका थिए भने खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका हुन् । 

निर्वाचनमार्फत महिलातर्फ उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य तथा सहमहामन्त्रीमा खुलातर्फ हरि ढकाल र असिम शाह विजयी भएका छन् । महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन् । 

महाधिवेशनअन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएको थियो भने दोस्रो चरणमा पदाधिकारी चयनका लागि मतदान भएको थियो । 

शपथग्रहणसँगै रास्वपाको नयाँ नेतृत्वले आगामी संगठन विस्तार, पार्टी सुदृढीकरण र राजनीतिक जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

प्रथम महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन र शपथग्रहण सम्पन्न भएपछि रास्वपाले आफ्नो संगठनात्मक यात्रामा नयाँ अध्याय सुरु गरेको छ । 

Share News