लागेर कुलतमा
भागेर आफैदेखि कहाँ पुग्छौं र ?
युवा !
हुँदैन कुनै समस्या समाधान
गरेर लागूपदार्थ सेवन
भो नगर दोमन ।
क्षणिक लतमा फसेर,
बसेर साथी भनिएका, बनिएकाहरुसँग
जीवन बर्बाद नगर।।
तनाव भुल्ने, बहानामा
झुल्न हुँदैन नशामा
सिर्जनाका अनेक आयाम छन्
मन लगाऊ त्यसैमा र सजाऊ जिन्दगीको रङ्गमञ्च
आउने छैन पुनः यो गुलाबी उमेर
मात्र छुटाउने छ यसले
असल मित्रता, आफन्त
बाआमाका सुन्दर सपना
तिम्रो आफ्नै लक्ष्य हराउने छ
कुहिरोको काग बन्नेछौ
त्यति बेला एक्लै हुनुको
पश्चातापले तड्पिदै रुनुको अर्थ रहँदैन ।।
कमजोर तन,मन लिएर कहाँ सकिन्छ ?
दूर सफर गर्न जिन्दगीको ।
गाह्रो पर्नेछ दुनियाँको
छिछिदुर्दुर सहन
न अर्थ रहन्छ
न कोही सहन्छ ?
समय नदीजस्तै बहन्छ ।।
भो, छाडिदेऊ कुलत
नभाग समस्यासँग डराएर
आऊ एक भएर लागौँ सिर्जनामा
यो धर्ती सिँगार्नु तिम्रो पनि कर्तव्य होइन र ?।।
क्राेध,ईर्ष्या र द्वेषले
सक्छ आफैलाई
नलगाऊ त्यता मन
नफाल व्यर्थ धन
जोगाएर पन, फुलाऊ जीवन ।।
कहाँ छ हार ?
कि जितिन्छ कि सिकिन्छ
भो यसै खेर जान नदेऊ
सार्थक पार्ने प्रण गर जिन्दगी।।
कमजोर, खत्तम भन्नेहरुलाई
गरेर देखाइदेऊ उद्यम
अल्झेर वादविवादमा खेर नफाल समय
यो सिर्जनाको याम हो ।।
आवाज बुलन्द पारौं,
बाचौं र बचाऊँ
विरुद्धमा लागौं लागूपदार्थ दुर्व्यसनको ।।
-गोपाल खनाल
दाङसिङ,नुवाकोट