भदौ २३–२४ पछि एउटै मञ्चमा सहभागी हुँदै चार पूर्वप्रधानमन्त्रीहरू
काठमाडौं । गत वर्षको भदौ २३ र २४ गतेका राजनीतिक घटनाक्रमपछि चार पूर्वप्रधानमन्त्रीहरु पहिलोपटक एउटै सार्वजनिक मञ्चमा उभिने भएका छन् । जननेता मदन भण्डारीको जन्मदिन पारेर मदन भण्डारी फाउण्डेशनले आइतबार (असार १४ गते) आयोजना गर्न लागेको कार्यक्रममा चारै प्रधानमन्त्रीहरु एउटै मन्चमा आउन लागेका हुन् । नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी हुने कार्यक्रम तय भएको हो । उनीहरूले कार्यक्रममा अतिथि वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको फाउण्डेसनले जनाएको छ । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको फाउण्डेसनले जनाएको छ । त्यस्तै, पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि वक्ताका रूपमा सहभागी हुने फाउण्डेशनले जनाएको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा कम्युनिष्ट आन्दोलन, भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद र समसामयिक राजनीतिक विषयमा विचार विमर्श हुने जनाइएको छ । भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भदौ २३ र २४ गतेका राजनीतिक घटनाक्रमपछि प्रमुख कम्युनिष्ट धारका शीर्ष नेताहरू पहिलोपटक एउटै सार्वजनिक मञ्चमा उपस्थित हुन लागेकाले उक्त कार्यक्रमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण भेटका रूपमा हेरिएको छ ।
सहकारीका ठूला सेयर सदस्यको सम्पत्ति खोजिँदै
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाका ठूला सेयरधनी, वास्तविक धनी (बेनेफिसियल ओनर), सञ्चालक तथा उच्च व्यवस्थापनमा रहने व्यक्तिहरूको विस्तृत विवरण अनिवार्य रूपमा संकलन तथा अध्यावधिक गर्न निर्देशन दिएको छ । अब उनीहरूले नेपालबाहेक विदेशमा रहेको सम्पत्तिको विवरणसमेत खुलाउनुपर्ने भएको छ । प्राधिकरणले सहकारी ऐन, २०७४ को दफा १०३ (ज) ले दिएको अधिकार प्रयोग गर्दै जारी गरेको ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय (दोस्रो संशोधन) मापदण्ड–२०८२’ बमोजिम यस्तो निर्देशन जारी गरेको हो । निर्देशनअनुसार सहकारी संस्थाले सम्बन्धित व्यक्तिको व्यक्तिगत विवरण, पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारीको विवरण नियमित रूपमा अध्यावधिक गर्नुपर्नेछ । साथै सम्बन्धित व्यवसायसँग सम्बन्धित कानुनी मापदण्ड पालना गरेको स्वघोषणासमेत अनिवार्य गरिएको छ । प्राधिकरणले नेपाल वा विदेशमा कुनै कसुरमा संलग्न भए वा नभएको घोषणा, संलग्न भएको भए त्यसको विस्तृत विवरण तथा हालको अवस्था, कुनै मुद्दा, अनुसन्धान, वैकल्पिक विवाद समाधान वा न्यायिक तथा प्रशासनिक प्रक्रियामा रहेको भए त्यसको विवरण पनि अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । यस्तै, अदालत वा अधिकारप्राप्त निकायको आदेशअनुसार तिर्नुपर्ने राजस्व वा सरकारी बाँकी बक्यौता भए–नभएको विवरण, नेपाल वा विदेशमा कर्जा सम्बन्धी कालोसूचीमा परेको वा नपरेको अवस्था तथा स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था भए–नभएको जानकारी पनि खुलाउनुपर्नेछ । निर्देशनको महत्वपूर्ण व्यवस्थाअनुसार सम्बन्धित व्यक्ति नेपाली नागरिक भए नेपाल बाहिर कुनै सम्पत्ति रहेको वा नरहेको, अथवा विदेशमा रहेको कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भएको वा नभएको घोषणा पनि गर्नुपर्नेछ । यसका अतिरिक्त सम्बन्धित व्यक्तिले विगतको कार्य अनुभव, संलग्न संस्था, पाएको जिम्मेवारी, पुरस्कार, सजाय, कार्यसम्पादनका उपलब्धि तथा वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरणसमेत पेश गर्नुपर्नेछ । प्राधिकरणले यी विवरण निश्चित अवस्थामा अनिवार्य रूपमा बुझाउन पनि निर्देशन दिएको छ । दर्ता अनुमति वा इजाजतपत्रका लागि निवेदन दिँदा, चुक्ता पुँजीको पाँच प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढीको सेयर वा पुँजी लगानी वा खरिद गर्दा, सूचक संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पदमा नियुक्ति वा मनोनयन गर्दा तथा पाँच प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढीको सेयर वा पुँजीमा वास्तविक धनी वा हिताधिकारी रहँदा सम्बन्धित विवरण प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्राधिकरणको यो व्यवस्थाले सहकारी क्षेत्रमा स्वामित्व संरचनाको पारदर्शिता बढाउने, वास्तविक लगानीकर्ता पहिचान गर्न सहज बनाउने तथा सम्पत्ति लुकाउने, स्वार्थको द्वन्द्व र वित्तीय अनियमितता नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्नो रिभर्स, टक्सार पिखुवा र याम्बालिङ हाइड्रोको सेयरमा सकारात्मक सर्किट
काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले घटेर २६४९ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ । २० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्नो रिभर्सको १५ प्रतिशत, टक्सार पिखुवाको १४.९८ प्रतिशत र याम्बालिङ हाइड्रोको १४.९८ प्रतिशतले सेयर मूल्य बढेकाे छ । आज ३५९ कम्पनीको ७७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंक लिमिटेड डिभेन्चर २०८६/८७ को ३३ करोड रुपैयाँ बराबरको भएको छ । साथै आँखु खोलाको १५ करोड र सिटी होटलको सेयर मूल्य ११ करोड रुपैयाँले कारोबार भएको छ ।
अम्बेको आम्दानी ९ अर्ब, नाफा १८ करोडमात्रै
काठमाडौं । अम्बे स्टीलले गत आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब १० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ बढी हो । अघिल्लो आव २०८०/८१ मा कम्पनीले ८ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबर आम्दानी गरेको थियो । आव २०७९/८० मा ८ अर्ब ३४ करोड ८० लाख रुपैयाँ, आव २०७८/७९ मा १० अर्ब ८७ करोड ८० लाख रुपैयाँ, आव २०७७/७८ मा ९ अर्ब २८ करोड ४० लाख रुपैयाँ, आव २०७६/७७ मा ६ अर्ब ३७ करोड ६० लाख रुपैयाँ, आव २०७५/७६ मा ८ अर्ब ८१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । साथै, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामै कम्पनीले ६ अर्ब १८ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरिसकेको जनाएको छ । सन् २००७ अगस्ट मा स्थापना भएको अम्बे स्टील्सको उत्पादन केन्द्र रुपन्देहीको भैरहवामा रहेको छ । कम्पनीले त्यहाँबाट टीएमटी स्टील बार, बिलेट, जीआई तार तथा ग्याबियन बक्स उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक कुल उत्पादन क्षमता २ लाख ३८ हजार ४ सय मेट्रिक टन रहेको छ । स्टील उत्पादनका लागि आवश्यक अर्ध-प्रशोधित कच्चा पदार्थ बिलेट पनि कम्पनीले आफैं उत्पादन गर्दै आएको छ । यसको वार्षिक उत्पादन क्षमता ८० हजार मेट्रिक टन रहेको छ । त्यस्तै, ग्याबियन बक्स उत्पादन क्षमता वार्षिक ३० लाख वर्गमिटर छ । कम्पनीले ‘अम्बे टीएमटी’ र ‘अम्बे जीआई’ ब्रान्डमार्फत देशभर रहेका ६५५ डिलर मार्फत आफ्ना उत्पादन बिक्री गर्दै आएको छ । अम्बे समूहअन्तर्गत सञ्चालित कम्पनीका प्रमुख सेयरधनीमा शोभाकर न्यौपानेको २४ प्रतिशत, शिवाज न्यौपानेको १८ प्रतिशत, सज्जन अग्रवालको १२.५० प्रतिशत र शिवानी न्यौपानेको ११ प्रतिशत रहेको छ । कम्पनीका अध्यक्ष शोभाकर न्यौपाने अम्बे समूहअन्तर्गतका जय अम्बे स्टील्स, रिद्धि सिद्धि सिमेन्ट इन्डस्ट्रिज, अम्बे सिमेन्ट प्रालिलगायत विभिन्न कम्पनीका सञ्चालक पनि हुन् । आम्दानी बढ्दा पनि नाफा घट्यो गत आर्थिक वर्ष कम्पनीको व्यापार बढे पनि खुद नाफा घटेको छ । बिक्री आम्दानी बढे पनि उत्पादन तथा सञ्चालन खर्च वृद्धि, मूल्यह्रास खर्च बढ्नु तथा अन्य आम्दानी घटेकाले नाफामा दबाब परेको कम्पनीले जनाएको छ । ब्याज, कर, मूल्यह्रास तथा परिशोधन खर्चअघिको सञ्चालन नाफा ७५ करोड रुपैयाँबाट बढेर ७६ करोड ५० लाख रुपैयाँ पुगे पनि औसत बिक्री मूल्य घट्नु र सञ्चालन खर्च बढेकाले सञ्चालन नाफा अनुपात करिब ९ प्रतिशतबाट घटेर ८ प्रतिशत मा सीमित भएको छ । करपछिको खुद नाफा २३ करोड रुपैयाँबाट घटेर १८ करोड ९० लाख रुपैयाँमा झरेको छ । मूल्यह्रास खर्च वृद्धि र अन्य आम्दानी घटेकाले खुद नाफा अनुपात २.८३ प्रतिशतबाट घटेर २.०७ प्रतिशत मा सीमित भएको कम्पनीले जनाएको छ । यद्यपि, कम्पनीको नगद सिर्जना क्षमता भने सुधार हुँदै २८ करोड २० लाख रुपैयाँबाट बढेर ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको ब्याज, कर, मूल्यह्रास तथा परिशोधन खर्चअघिको सञ्चालन नाफा ४१ करोड ९० लाख रुपैयाँ रहेको छ । यस अवधिमा सञ्चालन नाफा अनुपात करिब ७ प्रतिशत रहेको छ । तर, बिक्री मूल्य घट्नु तथा वर्षको सुरुआती अवधिमा महँगो मूल्यमा खरिद गरिएको मौज्दात बिक्री गर्नुपरेकाले कम्पनीले करिब १ करोड रुपैयाँ खुद घाटा व्यहोरेको जनाएको छ । ऋणभार र कार्यशील पुँजीमा दबाब आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल ऋण ४ अर्ब १९ करोड ८० लाख रुपैयाँबाट बढेर ४ अर्ब ७२ करोड ७० लाख रुपैयाँ पुगेको थियो । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कार्यशील पुँजीका लागि बैंक ऋणको उपयोग बढेसँगै कुल ऋण ६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यसमध्ये १ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ४२ करोड ३५ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । कम्पनीका अनुसार ग्राहकबाट रकम उठाउन लाग्ने औसत समय ९३ दिनबाट ९६ दिन पुगेको छ भने मौज्दात राख्ने अवधि १५२ दिन कायमै रहेको छ । यसका कारण सञ्चालन चक्र २१७ दिनबाट २२३ दिन पुगेको र कार्यशील पुँजी व्यवस्थापनमा थप दबाब परेको छ । कच्चा पदार्थ, विदेशी मुद्रा र प्रतिस्पर्धाको जोखिम कम्पनीले प्रयोग गर्ने प्रमुख कच्चा पदार्थ स्पन्ज आइरन तथा आवश्यक पर्दा बिलेट मुख्यतः भारतबाट आयात गर्छ । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य निर्धारण हुने भएकाले कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले उत्पादन लागत र नाफामा प्रत्यक्ष असर पार्ने कम्पनीको भनाइ छ । नेपाल र भारतका आयात-निर्यात तथा औद्योगिक नीतिमा हुने परिवर्तनले पनि कम्पनीको व्यवसाय प्रभावित हुन सक्ने जनाएको छ । कम्पनीका कच्चा पदार्थको ५० प्रतिशतभन्दा बढी आयात अमेरिकी डलरमा हुने गरेको छ भने उत्पादन नेपाली रुपैयाँमा बिक्री हुने भएकाले विदेशी विनिमय दरको जोखिम पनि रहेको छ । गत आर्थिक वर्ष कम्पनीले ३ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको विदेशी विनिमय घाटा बेहोरेको जनाएको छ । त्यसैगरी, नेपालमा स्टील उद्योगमा साना-ठूला धेरै कम्पनी सञ्चालनमा रहेकाले बजारमा तीव्र प्रतिस्पर्धा रहेको कम्पनीको भनाइ छ । नयाँ उद्योग थपिनु र विद्यमान उद्योगहरूले उत्पादन क्षमता विस्तार गर्नुका कारण बिक्री मूल्यमा दबाब परेको छ । यस्तो अवस्थामा अधिकांश उत्पादक बजारले निर्धारण गरेको मूल्यमा बिक्री गर्न बाध्य हुने भएकाले नगद प्रवाह र नाफा दुवैमा उतारचढाव रहने कम्पनीले जनाएको छ ।
सरकारी जग्गा कौडीको भाउमा भाडामा दिने नीति खारेज
काठमाडौं । सरकारले नेपाल सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ खारेज गरेको छ । सरकारले राजपत्रमार्फत सूचना जारी गर्दै सो कार्यनीति खारेज गरेको जानकारी गराएको हो । यसअघि सरकारी जग्गाहरूलाई सरकारको नाममा दर्ता गर्ने, तीनै तहका सरकारी निकायलाई उपयोगको प्रमाणपत्र दिने तथा विदेशी नियोग, स्वायत्त संस्था वा व्यक्तिलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी ४० वर्षसम्मका लागि लिजमा उपलब्ध गराउने व्यवस्था थियो । तर, कार्यनीतिको अनुसूची–२ बमोजिम मालपोत कार्यालयको न्यूनतम मूल्याङ्कनको मात्र ०.२५% देखि १.५०% सम्म वार्षिक भाडा तोकेर रणनीतिक र बहुमूल्य सरकारी जग्गाहरू कौडीको भाउमा लामो अवधिका लागि वितरण गर्ने बाटो खुला भएको भन्दै आलोचना भएपछि सरकारले कार्यनीति नै खारेज गरेको हो । विगतमा भोगाधिकार पाएका व्यक्ति, संस्था वा निकायले अनिवार्य रूपमा लिजमा परिणत गर्नुपर्ने र तोकिएको समयभित्र निवेदन नदिएमा भोगाधिकार स्वतः समाप्त भई जग्गा तथा निर्मित संरचना सरकारले प्राप्त गर्ने जस्ता कडा प्राविधिक व्यवस्थाहरू थिए । तर, पहुँचवाला शक्ति केन्द्र र संस्थाहरूले वर्षौंसम्म सरकारी जग्गा ओगटेर पनि लिज सम्झौता गर्न र राजस्व बुझाउन आलटाल गरेपछि कार्यनीतिको व्यावहारिक कार्यान्वयन फितलो बन्न पुगेको थियो । जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने सिफारिस समिति र मन्त्रालयको छानबिन समिति मार्फत अनुगमन र उजुरी सुनुवाइको व्यवस्था भए तापनि गैरकानूनी रूपमा कब्जा गरिएका जग्गाहरू पूर्ण रूपमा फिर्ता ल्याउन यो नीति पर्याप्त देखिएको थिएन । यो कार्यनीति खारेज भएसँगै सरकारी जग्गामाथि भइरहेको राजनीतिक र व्यावसायिक दोहनमा ठूलो अंकुश लाग्ने देखिन्छ । अब ४० वर्षसम्मका लागि सरकारी जग्गा निजी स्वार्थ वा नाफामूलक व्यापारिक मल, रिसोर्ट तथा मनोरञ्जन स्थल जस्ता व्यवसायलाई खुकुलो रूपमा सुम्पिने परिपाटीको अन्त्य हुनेछ । यसका साथै, लिजमा परिणत हुन नसकेका पुराना भोगाधिकार प्राप्त जग्गा र संरचनाहरूलाई विना कुनै सर्त सीधै सरकारी मातहत ल्याउन सरकारलाई कानूनी बल पुग्नेछ । यद्यपि, यो कार्यनीति खारेज हुँदा प्रदेश सरकार र स्थानीय तहले विकास निर्माण, खेलमैदान वा अस्पतालका लागि संघीय सरकारको जग्गा उपयोग गर्ने प्रक्रिया तत्कालका लागि केही जटिल र सुस्त हुन सक्ने देखिन्छ । राज्यको भू–सम्पत्ति संरक्षणका लागि यो कदम सकारात्मक भए तापनि आगामी दिनमा सार्वजनिक हित र स्थानीय आवश्यकतालाई सम्बोधन गर्न थप पारदर्शी र कसिलो नयाँ भूमि ऐन वा नियमावली आवश्यक पर्ने देखिन्छ ।
भेनेजुएला भूकम्प : हालसम्म कम्तीमा २३५ जनाको मृत्यु, ४ हजार बढी घाइते
काठमाडौं । भेनेजुएलामा आएको शक्तिशाली भूकम्पपछि राहत तथा उद्धार टोली भग्नावशेषमा फसेका मानिसहरूलाई बचाउन निरन्तर अभियान चलाइरहेका छन् । यस विपद्‌मा परी हालसम्म कम्तीमा २३५ जनाको मृत्यु भइसकेको छ । स्थानीय समयअनुसार बुधबार साँझ आएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा भूकम्पमा परी हालसम्म कम्तीमा ४ हजार ३०० जना घाइते भएका छन् । भेनेजुएलाको नेसनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले भूकम्पका कारण २५० वटा भवनमा क्षति पुगेको वा पूर्ण रूपमा भत्किएको बताएका छन् । यसमध्ये सबैभन्दा बढी क्षति ला ग्वेइरामा भएको छ। यहाँ एउटा १० तले होटल पूर्ण रूपमा भग्नावशेषमा परिणत भएको छ । घटनास्थलमा खटिएका टोलीहरूले निरन्तर राहत तथा उद्धार अभियान चलाइरहेका छन् र घटनासँग सम्बन्धित ताजा विवरणहरू बाहिर आउने क्रम जारी छ ।
अब सिटिजन्स बैंकको मोबाइल बैंकिङबाटै एसआईपी आवेदन गर्न सकिने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स सदाबहार योजना’ (एसआईपी) मा डिजिटल माध्यमबाटै आवेदन दिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा सर्वसाधारणमा नियमित तथा दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले उक्त सुविधा सुरु गरेको जनाएको छ । नयाँ व्यवस्थाअनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइट तथा ‘डीजी बैंक’ मोबाइल बैंकिङ सेवामार्फत सिधै एसआईपी आवेदन दर्ता गरी लगानी प्रक्रिया सुरु गर्न सक्नेछन् । बैंकका अनुसार यस सुविधाले एसआईपी आवेदन प्रक्रियालाई थप सरल, छिटो र सुरक्षित बनाउनेछ । साथै, ग्राहकलाई आफ्नो वित्तीय लक्ष्यअनुसार नियमित लगानी गर्न सहज हुने विश्वास गरिएको छ । सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी हो । बैंकले डिजिटल लगानी सेवाको विस्तारसँगै ग्राहकलाई प्रविधिमैत्री वित्तीय सेवा उपलब्ध गराउने रणनीतिअनुसार यो सुविधा सञ्चालनमा ल्याएको जनाएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्समा अध्यक्ष, सञ्चालक तथा कायममुकायम सीईओ नियुक्त
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएमआईसी) ले नयाँ अध्यक्ष, सञ्चालकहरू तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नारदकुमार लुइँटेल नियुक्त भएका छन् । त्यसैगरी, सञ्चालकहरूमा दामोदर सत्याल, चार्टर्ड एकाउन्टेन्ट (सीए) अशोक प्रसाद साह तथा दीपक कुमार मिश्र नियुक्त भएका छन् । यसैगरी, कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अनिल गिरीलाई कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ) को जिम्मेवारी प्रदान गरिएको छ । नेपालका पाँचवटै माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरू निलम्बनमा परेपछि सिर्जित विशेष परिस्थितिमा नेपाल बीमा प्राधिकरणको निर्देशन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै अत्यन्त छोटो अवधिमै रिक्त रहेका सम्पूर्ण नेतृत्वदायी पदहरूमा नियुक्ति सम्पन्न गर्ने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी पहिलो माइक्रो इन्स्योरेन्स कम्पनी बनेको छ । नयाँ नेतृत्वको आगमनसँगै कम्पनीले सेवा विस्तार, सुशासन, डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा संस्थागत विकासलाई थप प्रभावकारी बनाउँदै बीमित, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाको विश्वासलाई अझ सुदृढ बनाउने विश्वास लिएको छ । कम्पनीले नवनियुक्त अध्यक्ष, सञ्चालकहरू तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृतलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनीहरूको नेतृत्वमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।