प्रदिक्षा शर्मा र सागर केसीलाई सीईओको जिम्मेवारी, अन्तर्राष्ट्रिय विस्तारलाई तीव्रता दिने
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको नेपालको अग्रणी उत्पादन तथा निर्यात कम्पनी मनराम ग्रुपले आफ्ना विभिन्न व्यावसायिक इकाइहरूमा नयाँ नेतृत्व नियुक्त गरेको छ । कम्पनीका अनुसार यस कदमले नवप्रवर्तन, अन्तर्राष्ट्रिय विस्तार र दिगो विकासप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउनेछ । प्रदिक्षा शर्मालाई मनराम हिमालयन ह्यान्डिक्राफ्ट प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरिएको छ भने सागर केसीलाई मनराम फार्म प्रालिको सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । यी रणनीतिक नियुक्तिले कम्पनीको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । सन् २००३ मा स्थापना भएको मनराम ग्रुपले आफ्नो यात्रा परम्परागत नेपाली उत्पादन( जस्तै छुर्पी र हस्तकलाका सामग्री-संयुक्त राज्य अमेरिकामा निर्यात गर्दै सुरु गरेको थियो । समयसँगै कम्पनीले कृषि, डेरी, पेट उत्पादन, खाद्य सेवा तथा उत्पादन क्षेत्रलगायत विविध क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ । हाल ग्रुपमा ४५० भन्दा बढी कर्मचारी कार्यरत छन् । गुणस्तर, नैतिक व्यावसायिक अभ्यास र नवप्रवर्तनप्रतिको प्रतिबद्धताका साथ कम्पनीले स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै विशेषगरी महिला सशक्तीकरणमा उल्लेखनीय योगदान दिँदै आएको जनाएको छ । ग्रुपका अध्यक्ष सुमन श्रेष्ठले भने, ‘यी नेतृत्व परिवर्तनहरूले हाम्रो दीर्घकालीन रणनीतिलाई अझ मजबुत बनाउनेछन्। नयाँ नेतृत्वले नवप्रवर्तन, कार्यक्षमता र अन्तर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौं ।’ व्यावसायिक गतिविधिसँगै कम्पनी सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको छ । मनराम फाउन्डेसनमार्फत शिक्षा क्षेत्रमा पुस्तकालय स्थापना र छात्रवृत्ति कार्यक्रम सञ्चालन जस्ता पहलहरू अघि बढाइएको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर विस्तार र विविध उत्पादन पोर्टफोलियोमार्फत मनराम ग्रुपले नेपालको निर्यात क्षेत्र सुदृढ बनाउँदै व्यापार घाटा न्यूनीकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
कालंगा हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आज चैत १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको अंकित मूल्य १ सय दरका ४९ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १४ करोड रुपैयाँको १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ९ लाख १० हजार कित्ता बझाङको केदारस्युँ गाउँपालिका-४ र ५, बित्थडचिर गाउँपालिका-६ र ८, बुंगल नगरपालिका-३, ४, ६, ८ र ५, बैतडीको डिलासैनी गाउँपालिका-१ र २, दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का स्थानीयलाई र ४ लाख ९० हजार कित्ता बझाङको केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडीको डिलासैनी गाउँपालिका र दार्चुलाको शैल्यशिखर नगरपालिकाका स्थानीयलाई बिक्री खुला गरिएको हो । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्युँ-१, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका-१०, बझाङ्ग, गोकुलेश्वर, शैल्यशिवर-९, दार्चुला शाखा, कुमारी बैंकको छबिसपाथिभारा गाउँपालिका र डिलासैनी गाउँपालिका र कृषि विकास बैंकको बुंगल नगरपालिका-४ मा रहेका शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
थप १२ देशले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने, अप्रिल २ देखि ५० राष्ट्रमा लागू हुने
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले कम्बोडिया, इथियोपिया र जर्जियासहित थप १२ देशका विदेशीहरूले भिसा प्राप्त गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने बताएको छ । अमेरिकी विदेश मन्त्रालयले भनेको छ, ‘पछिल्लो निर्णयले ट्रम्प प्रशासनको ‘भिसा बन्ड कार्यक्रम’ अप्रिल २ देखि लागू हुने गरी ५० राष्ट्रहरूमा ल्याउनेछ ।’ यो कार्यक्रम, जुन छोटो अवधिको व्यापार र पर्यटन भिसा दुवैमा लागू हुन्छ, गत वर्ष अवैध आप्रवासनमाथि ट्रम्प प्रशासनको सामूहिक दमनको एक भागको रूपमा ‘भिसा अनुमतिभन्दा बढी’ समय बस्ने विदेशीलाई त्यसो गर्नबाट रोक्नका लागि सुरु गरिएको हो । यदि आवेदकले सबै भिसा सर्तहरू पालना गरेमा रकम फिर्ता गरिनेछ । यदि आवेदक समय सीमा भन्दा धेरै समय संयुक्त राज्य अमेरिकामा रहेमा रकम जफत गरिनेछ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको तथ्य पत्रमा भनिएको छ, ‘यस कार्यक्रम अन्तर्गत करिब एक हजार विदेशीहरूलाई भिसा जारी गरिएको छ र सर्तमा बाँधिएका ९७ प्रतिशत यात्रीहरू समयमै अमेरिकाबाट स्वदेश फर्किएका छन् ।’ कम्बोडिया, इथियोपिया, जर्जिया, ग्रेनाडा, लेसोथो, मौरिसस, मङ्गोलिया, मोजाम्बिक, निकारागुआ, पपुवा न्युगिनी, सेसेल्स र ट्युनिसिया गरी नयाँ राष्ट्रहरु यस कार्यक्रममा थपिएका छन् । अन्य ३८ देशमा अल्जेरिया, अङ्गोला, एन्टिगुवा र बार्बुडा, बङ्गलादेश, बेनिन, भुटान, बोत्सवाना, बुरुन्डी, काबो भर्दे, मध्य अफ्रिकी गणतन्त्र, आइभरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका र फिजी रहेका छन् । यो समूहमा गाम्बिया, गिनी, गिनी बिसाउ, किर्गिस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोमे, प्रिन्सेपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, तुभालु, युगान्डा, भानुआटु, भेनेजुएला, जाम्बिया र जिम्बावेलाई पनि समावेश गरिएको थियो ।
वर्षाका कारण ३० इँटा उद्योगमा साढे ७ करोड बढी क्षति
काठमाडौं । गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा उद्योगमा क्षति पुगेको छ । इँटा व्यवसायी समितिका जिल्ला अध्यक्ष रोम वलीका अनुसार बेमौसमी वर्षाले सुकाएर राखेका काँचो इँटामा क्षति पुर्याएको हो । सुकाउनका लागि राखेका इँटा पानीले भिजाएर माटोमा परिणत भएपछि व्यवसायी मारमा परेका छन् । अध्यक्ष वलीले जिल्लाको तुलसीपुर, घोराही र देउखुरी क्षेत्रमा रहेका प्रायः सबै इँटा उद्योगले ठूलो क्षति पुगेको बताए । हाल जिल्लाभरको क्षति विवरण सङ्कलन भइरहेको छ । प्रारम्भिक तथ्याङ्कअनुसार तुलसीपुर र घोराही क्षेत्रका २२ वटा उद्योगबाट मात्रै एक करोड रुपैयाँ बराबरको काँचो इँटा नष्ट भएको समितिका कोषाध्यक्ष केवल खत्रीले जानकारी दिए । देउखुरी क्षेत्रका ८ वटा इँटा उद्योगमा पनि क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । हरेक इँटा उद्योगका पाँचदेखि ६ लाखसम्म कच्ची इँटा नष्ट भएको जनाइएको छ । काँचो इँटा सुकाउने सुरक्षित व्यवस्था र प्रविधि नहुँदा आफूहरूका करोडौं रुपैयाँ लगानी गरी सञ्चालन गरेका इँटा उद्योगको लगानी डुब्ने खतरा रहेको व्यवसायी बताउँछन् । हालसम्म प्राप्त विवरणअनुसार जिल्लाभर साढे ७ करोड रुपैयाँभन्दा बढी क्षति भएको इँटा व्यवसायी समितिका कोषाध्यक्ष खत्रीले बताए । ती उद्योगमा ३ हजार मजदुर कार्यरत छन् ।
मध्यपूर्व क्षेत्रमा हवाई प्रतिबन्धका कारण ६ वटा उडान रद्द
काठमाडौं । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने ६ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । सोमबार जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान रद्द भएका विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए । ‘मध्यपूर्व क्षेत्रको हालैको हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने ६ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्,’ उनले भने, ‘विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एयरलाइन्स तथा सम्बन्धित निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको छ ।’ महाप्रबन्धक सिटौलाले सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरेर थप जानकारी लिन सबैमा आग्रह गरे ।
डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । डोटीको आदर्श गाउँपालिका-६ रौसेल्ला खोला नजिक मौवा-गिरीचौकको कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरो चालक आदर्श-३ काँडीस्याउलेका २२ वर्षीय सुबोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलले जानकारी दिए । उनका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१-००१च ३९२३ नम्बरको सो बोलेरो घुम्तीमा अनियन्त्रित भई गए राति १२ बजेको समयमा दुर्घटनामा परेको थियो । दुर्घटनापछि दुवै जना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेला परेका थिए । यस्तै, झापास्थित कचनकवल गाउँपालिका-४ मा सवारी साधन (सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गए राति बनियानीबाट लोधाबारी गइरहेको बीआर-११सी-३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र-१-०१-००२बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किएको थियो । सो दुर्घटना चालक गणेश गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल उपचारका लागि पठाइएकामा अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरी सिटी चालक स्थानीय वर्ष १९ का सैजन मियाँ, सिटी र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सुवा ग्रोसरी, प्रमिसा खाद्य स्टोर र ए जे सल्पायर्सलाई जरिवाना
काठमाडौं । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन तीन वटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवा ग्रोसरी, प्रमिसा खाद्य स्टोर र ए जे सल्पायर्सलाई जरिवाना गरेको हो । विभागका अनुसार ललितपुर महानगरपालिका २२ बुङ्मतिमा रहेको सुवा ग्रोसरीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै, ललितपुर महानगरपालिका-१८ मगरगाउँमा अवस्थित प्रमिसा खाद्य स्टोरलाई १० हजार रुपैयाँ र सूर्यविनायक नगरपालिका-६ पाण्डु बजारमा अवस्थित एजे सप्लायर्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ । ती फर्मलाई विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको छ । विभागले थप १२ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकाय समेतको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।
पर्यटन पूर्वाधारका २७ आयोजना, २ करोड ३० लाख रुपैयाँ बजेट
काठमाडौं र मुस्ताङका पाँच पालिकामा चालु आव २०८२/८३ का लागि धार्मिक तथा पर्यटन पूर्वाधार निर्माण तथा स्तरोन्नतिसम्बन्धी २७ वटा आयोजना कार्यान्वयनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालयले मुस्ताङका धार्मिक तथा पर्यटकीयस्थलको पर्यटनसम्बन्धी पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि चालु आवमा २ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण, मर्मत तथा स्तरोन्नतिका लागि २४ वटा आयोजना कार्यान्वयन गर्न एकीकृत सेवा कार्यालयलाई बजेट सुनिश्चित गरिएको हो भने बाँकी ३ वटा आयोजना प्रदेश सरकारअन्तर्गत कार्यान्वयन गर्ने गरी बजेट सुनिश्चित गरेको एकीकृत सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिए । उनका अनुसार कार्यालयलाई धार्मिक तथा पर्यटकीयस्थलको मर्मत, स्तरोन्तिका लागि १ करोड ५० लाख रुपैयाँ र प्रदेश सरकारबाट अख्तियारी प्राप्त ३ वटा आयोजनाका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालु आवका लागि लोमान्थाङ गाउँपालिकामा ५, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २, घरपझोङ गाउँपालिकामा ९ र थासाङ गाउँपालिकामा ७ वटा आयोजना परेका एकीकृत सेवा कार्यालयले जनाएको छ । यसैगरी, प्रदेश सरकारबाट अख्तियारी प्राप्त भई कार्यान्वयनको चरणमा रहेका ३ आयोजनामध्ये थासाङ, घरपझोङ र लोमान्थाङ गाउँपालिकामा १/१ वटा परेका प्रमुख दर्जीले जानकारी दिए । धार्मिक तथा पर्यटन पूर्वाधारसम्बन्धी ५ वटा आयोजनाका लागि २५ लाख रुपैयाँ बजेट परेको छ । सोमध्ये लोमान्थाङमा रहेका ऐतिहासिक तथा धार्मिक ४ वटा गुम्बाको मर्मत तथा स्तरोन्नति र १ पर्यटकीयस्थलको पूर्वाधार स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन भएको उनको भनाइ छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा चराङ गुम्बा मर्मत तथा स्तरोन्नति गर्न ५ लाख रुपैयाँ बजेट छुट्याइएको जनाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २ आयोजनाका लागि १० लाख रुपैयाँ बजेट परेको छ । यहाँ बारागुङ मुक्तिक्षेत्र–४ तिरीस्थित गुम्बा मर्मत तथा स्तरोन्नति र बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि लोघेकर दामोदरकुण्डको ताङ्ग्या जाने पर्यटकीय पदमार्ग स्तरोन्नति गर्न उक्त बजेट विनियोजन भएको हो । घरपझोङ गाउँपालिकामा ९ वटा आयोजनाका लागि ५० लाख रुपैयाँ बजेट परेको छ । घरपझोङस्थित एयरपोर्ट पुथाङ भिरमा पर्यटकीय पूर्वाधार, जोमसोम पर्यटक पार्क निर्माण, इको म्युजियममा आवश्यक पर्यटकीय पूर्वाधार, छैरो छहरामा पर्यटन पूर्वाधार, ठिनी पर्यटकीय पूर्वाधार, ढुम्बाताल संरक्षण तथा सौन्दर्यीकरण, नीलगिरि भ्यू पार्क र रिसुम गुम्बा जाने पदमार्ग निर्माण गर्न उक्त बजेट परेको हो । थासाङ गाउँपालिकामा ७ आयोजनाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यहाँ गुरुसाङ्बो धार्मिक क्षेत्रमा जीर्ण अवस्थामा रहेको ध्यान गर्ने कोठा निर्माण, नाखेधारा झरना पर्यटन पूर्वाधार निर्माण र छाक्ताङदेखि खल्ह्यु गोरेटो पदमार्ग निर्माण गरिने एकीकृत सेवा कार्यालयले उल्लेख गरेको छ । थासाङमा थकाली सामुदायिक ऐतिहासिक कोतघरको तला थप्ने, नाङसुङ गुम्बा मर्मतसम्भार, कालोपानी स्याकुप्रा पर्यटन मार्ग निर्माण र कालोपानी धुलो डाँडा भ्यू टावर पर्यटन मार्ग विस्तारलगायत आयोजना छन् । गण्डकी प्रदेश सरकारमार्फत यहाँस्थित एकीकृत सेवा कार्यालयले कार्यान्वयन गर्ने थासाङ गाउँपालिकामा अवस्थित धौलागिरि आइसफल पर्यटकीय पदमार्ग तथा पर्यटकीय पूर्वाधार निर्माणमा ४० लाख रुपैयाँ, घरपझोङ–४ जोमसोमस्थित कालीगण्डकी नदीमा रहेको ठूला चट्टानमा मूर्तिकला र शालिग्रामलगायत आकृति निर्माणमा २० लाख रुपैयाँ र लोमान्थाङ–१ छोसेरस्थित झोङ केपमा पर्यटकीय पार्क निर्माणमा २० लाख रुपैयाँ बजेट कार्यान्वयनको चरणमा रहेका कार्यालय प्रमुख दर्जीले जानकारी दिए ।