प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री : यो दशगजाको समस्या हो
काठमाडाैं । परराष्ट्रमन्त्री शिशीर खनालले दशगजा क्षेत्रमा देखिएका सीमा सम्बन्धी समस्याको समाधानका लागि नेपाल र भारतका सम्बन्धित संयन्त्रहरू सक्रिय रूपमा काम गरिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको हालैको सीमा विवादबारे दिएकाे अभिव्यक्तिबारे स्पष्ट पार्दै मन्त्री खनालले सीमा विवादका विषयमा प्रधानमन्त्रीले उठाएको अभिव्यक्ति तेस्रो पक्षको संलग्नता आवश्यक पर्ने विषय नभएको स्पष्ट पारे । उनले नेपालले यस विषयमा कूटनीतिक नोट पठाएको र भारतले पनि त्यसको जवाफमा नोट पठाइसकेको जानकारी दिए । नेपाल-भारतबीच खुला सीमा रहेको उल्लेख गर्दै उनले केही स्थानमा सीमांकन तथा नक्सांकनको काम अझै सम्पन्न हुन बाँकी रहेको बताए । मन्त्री खनालका अनुसार दशगजा क्षेत्रमा अतिक्रमण, एक देशका नागरिकले अर्को देशको भूभागमा बसोबास गर्ने तथा दुवै देशले एकअर्काको भूभाग प्रयोग गरिरहेको जस्ता समस्या देखिएका छन् । 'भारतले उपभोग गर्ने केही जग्गा नेपालतर्फ परेको छ भने नेपालले उपभोग गर्ने केही भूभाग भारततर्फ परेको अवस्था पनि छ,' उनले भने । यस्ता समस्यालाई व्यवस्थित गर्न दशगजा क्षेत्रको अतिक्रमण हटाउने, सीमा स्तम्भ निर्माण तथा सीमासम्बन्धी तथ्याङ्क संकलन र म्यापिङको काम दुवै देशका संयन्त्रमार्फत भइरहेको उनले बताए। कुन-कुन स्थानमा कस्ता समस्या छन् भन्नेबारे विस्तृत विवरण म्यापिङ सम्पन्न भएपछि उपलब्ध गराइने उनले जानकारी दिए ।
इजरायल पठाउने नाममा लिइने परीक्षामाथि सांसद राईको प्रश्न
काठमाडाैं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले इजरायल रोजगारीका लागि लिइँदै आएको परीक्षाको प्रक्रियामाथि प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले सीआईआईएनले सञ्चालन गरेको भनिएको परीक्षामा सहभागी युवाहरूले विभिन्न समस्या भोग्नुपरेको गुनासो आएको बताए । उनले परीक्षाकाे फाराम भर्ने क्रममा सर्भर बारम्बार डाउन हुने, परीक्षा दिन नसकेका सहभागीले पुनः पाँच हजार रुपैयाँ तिरेर फाराम भर्नुपर्ने अवस्था रहेको तथा यसले युवामाथि अनावश्यक आर्थिक भार थपेको बताए । सांसद राईले परीक्षासम्बन्धी समस्याका कारण युवाहरू आन्दोलनमा उत्रिएको र आन्दोलनरत युवालाई प्रहरीले पक्राउ गरिरहेको विषयप्रति पनि सरकारको ध्यानाकर्षण गराए । 'पहिले अर्कै संस्थाले परीक्षा सञ्चालन गर्थ्यो, अहिले अर्कै संस्थालाई किन र कसरी जिम्मेवारी दिइयो ? विद्यार्थी तथा युवाहरूले सास्ती किन भोग्नुपरेको छ ?' उनले प्रश्न गरे । परीक्षा सञ्चालन हुने स्थानमा समेत विभिन्न व्यवस्थापकीय समस्या रहेको उल्लेख गर्दै उनले यसले सहभागीहरूलाई थप दुःख र खर्चको भार बोक्न बाध्य बनाएको बताए । सांसद राईले घटनाबारे निष्पक्ष छानबिन गरी परीक्षालाई पारदर्शी, व्यवस्थित र सहभागीमैत्री बनाउन सरकारसँग माग गरे ।
सेयर बजारमा ४ अर्बको कारोबार, ३ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५७ अंकले बढेर २७३६.१७ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १२७ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३५६ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखुको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड, सीटी होटलको १६ करोड, अप्पर हेवाखोलाको १४ करोड र सेन्ट्रल फाइनान्सको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिन्चोक हाइड्रो, सोपन फर्मा र एपोलो हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेका छन् ।
वैदेशिक रोजगारीमा नाममा ३० लाख बढी ठगी गर्ने ४ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग ३० लाखभन्दा बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सिन्धुपाल्चोकका २९ वर्षीय सुमन शाही, रामेछापका ४७ वर्षीय वेदबहादुर सुनुवार, झापाका ४५ वर्षीय अनिल अग्रवाल र तनहुँका ३७ वर्षीय विवेक अधिकारीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुले क्रोएशिया, स्वीटजरल्याण्ड, अष्ट्रिया र फ्रान्स पठाइदिने भन्दै सर्वसाधारणसँग ठूलो रकम असुल गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रतिनिधिसभा बैठक सुरु
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो । बैठक अपरान्ह सवा ३ बजेबाट सुरु भएको हो । प्रतिनिधिसभामा परराष्ट्रमन्त्री शिशिर खनाललाई बोल्न दिने र गत १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा बोलेको सीमासम्बन्धी विषयलाई रेकर्डबाट हटाउने सहमति भएसँगै बैठक सुरु भएको हो । जारी गतिरोध अन्त्य गर्ने उद्देश्यले सत्ता र विपक्षी दलबीचको संवादमा सहमति भएसँगै बैठक सुरु भएको हो । गत १७ जेठमा प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको विषयमा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध हुँदै आएको थियो ।
एमसीए नेपालद्वारा २९७ किमि प्रसारण लाइन निर्माण सुरु, दुई ठूला सबस्टेशन पनि बन्ने
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले बुधबार मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजना सुरु गर्दै दुई नयाँ सबस्टेशन र २९७ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्य औपचारिक रूपमा शुभारम्भ गरेको छ । रातमाटे सबस्टेशन निर्माणस्थलमा आयोजित समारोहमार्फत रातमाटे सबस्टेशन, नयाँ दमौली सबस्टेशन तथा लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा, रातमाटे–न्यू दमौली र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्डहरूको निर्माण कार्य सुरु गरिएको हो । यो आयोजना संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा सञ्चालन भइरहेको हो । यसले नेपालको विद्युत् प्रसारण पूर्वाधारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार तथा सुदृढ बनाउने लक्ष्य लिएको छ । कार्यक्रममा सरकारी उच्च अधिकारी, एमसीसी तथा अमेरिकी दूतावासका प्रतिनिधि, विकास साझेदार, निर्माण कम्पनी, स्थानीय सरोकारवाला तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । एमसीए नेपालका अनुसार, यस कम्प्याक्टअन्तर्गत तीन वटा ४०० केभी क्षमताका सबस्टेशन तथा करिब ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ, जसले राष्ट्रिय विद्युत् ग्रीडलाई थप भरपर्दो बनाउनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, यो पूर्वाधारले प्रसारण अवरोध घटाउने, विद्युत् आपूर्तिको गुणस्तर सुधार गर्ने र दीर्घकालीन ऊर्जा माग व्यवस्थापनमा महत्वपूर्ण योगदान दिनेछ । समारोहमा बोल्दै अर्थ सचिव तथा एमसीए नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले यस आयोजनालाई देशको आर्थिक भविष्यसँग जोडिएको रणनीतिक लगानीका रूपमा व्याख्या गरे । त्यस्तै, नेपालका लागि अमेरिकी दूतावासका प्रतिनिधिले यो परियोजनाले नेपालको ऊर्जा भविष्यलाई मजबुत बनाउँदै घरायसी तथा औद्योगिक विद्युत् आपूर्तिमा उल्लेखनीय सुधार ल्याउने बताएका छन् । एमसीसी र एमसीए नेपालका अधिकारीहरूले यो आयोजना नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा अझ प्रतिस्पर्धी र सक्षम बनाउने दिशामा महत्वपूर्ण कदम हुने बताएका छन् । निर्माण सम्पन्न भएपछि रातमाटे र नयाँ दमौली सबस्टेशन देशकै उच्च क्षमताका सबस्टेशनमध्ये पर्नेछन् । यसले नेपालको राष्ट्रिय प्रसारण सञ्जाललाई थप सुदृढ बनाउँदै दीर्घकालीन आर्थिक वृद्धि र औद्योगिक विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नेता बैठकमा व्यस्त, सांसद सिंहदरबारमा अलपत्र
काठमाडौं । सुरु नै नभई दिउँसो २ बजेका लागि सरेको प्रतिनिधि सभाको बैठक यो समाचार तयार पार्दासम्म पनि सुरु हुन सकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा सदन खुलाउने वार्ता चलिरहेकोले सभाको बैठक ढिलो भएको बताइएको छ । बैठकको पर्खाइमा थुप्रै सांसदहरू सिंहदरबारका चौरमा बसिरहेका छन् । केही सांसदहरू क्यान्टिनमा बसेर बैठक सुरु हुने समय पर्खिइरहेका छन् । प्रतिनिधि सभाको बैठक सञ्चालन नियमावलीअनुसार ‘निर्धारित समयको दुई घण्टासम्म पनि बैठक प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगन गरी अर्को बैठकको सूचना गर्नेछ’ भन्ने व्यवस्था गरिएको छ । उक्त नियमको आधारमा आज बुधबारको बैठक ४ बजेसम्म बस्न सक्नेछ । यदि चार बजेसम्म बैठक नबसे सभामुखले उक्त बैठक स्थगनको सूचना जारी गर्न सक्नेछन् । गत १७ जेठमा प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको विषयमा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध हुँदै आएको छ । उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् ।
३५ करोड लगानीमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’ उत्पादन
काठमाडौं । कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’ उत्पादन सुरु भएको छ । नेपाली ब्रान्ड ‘ओआरए’ले ललितपुरको इमाडोलमा रु ३५ करोडको लगानीमा उद्योग स्थापना गरी अन्तरराष्ट्रियस्तरका स्किन केयर उत्पादन बजारमा ल्याएको जनाएको छ । कम्पनीले कोरियन विज्ञान, अनुसन्धान, प्रविधि तथा उच्च गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरी नेपालमै विश्वस्तरीय उत्पादन गरिरहेको जनाएको हो । ‘ओआरए ब्रान्ड’ उत्पादन गरिरहेको एनके कस्मेटिक प्रालिका प्रमुख तथा गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वध्यक्ष विनोद कुँवरले नेपाली उपभोक्तालाई अन्तरराष्ट्रियस्तरका गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनी स्थापना गरिएको बताए । हाल कम्पनीले नौवटा प्रमुख स्किन केयर उत्पादन बजारमा उपलब्ध गराइसकेको र निकट भविष्यमा थप १० देखि १५ वटा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको उनले जानकारी दिए । उत्पादन क्षमता विस्तारसँगै कम्पनीले आफ्नै उद्योगबाट एक सयभन्दा बढी प्रकारका कस्मेटिक्स, स्किन केयर तथा व्यक्तिगत सौन्दर्य सामग्री उत्पादन गर्नसक्ने जनाएको छ । कम्पनी नेपाली तथा कोरियन उद्यमीको संयुक्त सहकार्यमा स्थापना भएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सौन्दर्य सामग्रीविज्ञ जेहो हुरले उत्पादन विकासमा सहयोग गरिरहेको जानकारी दिइयो । कम्पनीमा व्यवस्थापन, उत्पादन, मार्केटिङ तथा बिक्री विभागमा प्रत्यक्ष रूपमा २५ जना नेपाली कर्मचारी कार्यरत छन् ।