३५ करोड लगानीमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’ उत्पादन

काठमाडौं । कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’ उत्पादन सुरु भएको छ । 

नेपाली ब्रान्ड ‘ओआरए’ले ललितपुरको इमाडोलमा रु ३५ करोडको लगानीमा उद्योग स्थापना गरी अन्तरराष्ट्रियस्तरका स्किन केयर उत्पादन बजारमा ल्याएको जनाएको छ ।

कम्पनीले कोरियन विज्ञान, अनुसन्धान, प्रविधि तथा उच्च गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरी नेपालमै विश्वस्तरीय उत्पादन गरिरहेको जनाएको हो । 

‘ओआरए ब्रान्ड’ उत्पादन गरिरहेको एनके कस्मेटिक प्रालिका प्रमुख तथा गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वध्यक्ष विनोद कुँवरले नेपाली उपभोक्तालाई अन्तरराष्ट्रियस्तरका गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनी स्थापना गरिएको बताए ।

हाल कम्पनीले नौवटा प्रमुख स्किन केयर उत्पादन बजारमा उपलब्ध गराइसकेको र निकट भविष्यमा थप १० देखि १५ वटा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको उनले जानकारी दिए ।

उत्पादन क्षमता विस्तारसँगै कम्पनीले आफ्नै उद्योगबाट एक सयभन्दा बढी प्रकारका कस्मेटिक्स, स्किन केयर तथा व्यक्तिगत सौन्दर्य सामग्री उत्पादन गर्नसक्ने जनाएको छ । 

कम्पनी नेपाली तथा कोरियन उद्यमीको संयुक्त सहकार्यमा स्थापना भएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सौन्दर्य सामग्रीविज्ञ जेहो हुरले उत्पादन विकासमा सहयोग गरिरहेको जानकारी दिइयो ।  

कम्पनीमा व्यवस्थापन, उत्पादन, मार्केटिङ तथा बिक्री विभागमा प्रत्यक्ष रूपमा २५ जना नेपाली कर्मचारी कार्यरत छन् ।

Share News