विकासन्युज

राष्ट्र बैंकले गर्‍यो एकै वर्ष पौने २ खर्ब रुपैयाँ नाफा, कर्मचारीलाई दियो ५ अर्ब ६ करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकै वर्ष पौने २ खर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब ७२ अर्ब ३९ करोड ९२ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो आव २०८०/८१ मा राष्ट्र बैंकले १ खर्ब १५ अर्ब ३५ करोड ३७ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आवको तुलनामा गत वर्ष ४९.४५ प्रतिशत अर्थात् ५७ अर्ब ४ करोड ५५ लाख ११ हजार रुपैयाँ बढी नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।  यसअघि आव २०७९/८० मा ८७ अर्ब ६० करोड ३७ लाख रुपैयाँ, आव २०७८/७९ मा ६० अर्ब ९८ करोड ७ लाख रुपैयाँ, आव २०७७/७८ मा ३० अर्ब ४७ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष राष्ट्र बैंकको खुद ब्याज आम्दानी १०.२४ प्रतिशत बढेर ८७ अर्ब ३० करोड ९७ लाख ७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष ७९ अर्ब ३१ करोड ६५ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष राष्ट्र बैंकले शुल्क तथा कमिशन आम्दानी १ करोड ८१ लाख ६२ हजार रुपैयाँ, गोल्ड सर्टिफिकेटबाट हुने आम्दानी ५३ करोड ७१ लाख ५६ हजार रुपैयाँ, अन्य आम्दानी ९९ करोड ७० लाख ७२ हजार रुपैयाँ, खुद अन्य आम्दानी १ अर्ब ४० करोड २० लाख ६५ हजार रुपैयाँ र कुल सञ्चालन आम्दानी ८८ अर्ब ४६ करोड ७४ लाख ७९ हजार रुपैयाँ गरेको छ ।  राष्ट्र बैंकका अनुसार गत वर्ष कर्मचारीको तलब खर्च ५ अर्ब ६ करोड ३३ लाख ६१ हजार रुपैयाँ, नोट छाप्ने खर्च ७७ करोड ३६ लाख ५ हजार रुपैयाँ, प्रशासनिक खर्च १ अर्ब ६६ करोड २६ लाख ८७ हजार रुपैयाँ र कुल खर्च ७ अर्ब ९८ करोड ४८ लाख २९ हजार रुपैयाँ गरेको छ ।  ५ अर्ब पुँजी रहेको राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब ७६ अर्ब २ करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको छ ।  केन्द्रीय बैंकका अनुसार विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । 

मेटलाइफ २०२५ का लागि फर्च्युन वर्ल्डको उत्कृष्ट २५ कार्यस्थलमा सम्मानित

न्यूयोर्क । विश्वको प्रतिष्ठित सूचीकर्ता ‘फर्च्युन वर्ल्ड’ ले २०२५ का लागि सार्वजनिक गरेको उत्कृष्ट २५ कार्यस्थलहरूको सूचीमा मेटलाइफ, इंक लगातार दोस्रो वर्ष पुर्याइएको छ । यस वर्ष मेटलाइफले सो सूचीमा १०औँ स्थान हासिल गरेको हो ।  विश्वभरका केवल २५ कम्पनीलाई प्रदान गरिने यो मान्यताले मेटलाइफको कर्मचारी, ग्राहक र समुदायप्रति रहेको दिगो प्रतिबद्धतालाई झल्काउँछ । 'यो मान्यता हाम्रा कर्मचारीहरूको निरन्तर समर्पण र ऊर्जाको प्रमाण हो,' मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले भने, 'हामीले अवलम्बन गरेको नयाँ सीमाना वृद्धि रणनीतिलाई अघि बढाउँदै गर्दा, सबै कर्मचारीले फस्टाउन सक्ने वातावरण बनाउन तथा सरोकारवालाको भविष्य आकार दिने हाम्रो प्रतिबद्धता झन् दृढ भएको छ ।' फर्च्युनको अनुसन्धान साझेदार ग्रेट प्लेस टु वर्क द्वारा गरिएको नौ मिलियनभन्दा बढी कर्मचारी सर्वेक्षण प्रतिक्रियामा आधारित मूल्यांकनबाट यो सूची तयार गरिएको हो । विश्वभरका प्रमाणित संस्थाहरूमा कार्यरत २ करोड ५० लाखभन्दा बढी कामदारको अनुभव प्रतिनिधित्व गर्ने आधारमा उत्कृष्ट कार्यस्थल चयन गरिन्छ । मेटलाइफलाई हालसम्म अमेरिकाको फर्च्युन १०० उत्कृष्ट कम्पनीहरू सूचीमा लगातार तेस्रो वर्ष स्थान मिळेको छ भने एशिया, युरोप, ल्याटिन अमेरिका तथा मध्यपूर्वका विभिन्न देशहरूमा पनि उत्कृष्ट कार्यस्थलको मान्यता प्राप्त गरिसकेको छ । २०२५ मा मात्र मेटलाइफ ३३ विभिन्न बजारमा ‘सर्टिफाइड ग्रेट प्लेस टु वर्क’ बनेको छ । 'हाम्रा सबै उपलब्धिका मूल प्रेरक शक्ति हाम्रै कर्मचारी हुन्,' मेटलाइफका प्रमुख मानव संसाधन अधिकृत शुराउल सिब्लिसले भने, 'कर्मचारीलाई सम्मान, मान्यता र सशक्तिकरण दिने हाम्रो संस्कृतिले नै यो उपलब्धि सम्भव बनाएको हो ।' फर्च्युनका मापदण्डअनुसार, उत्कृष्ट २५ विश्वव्यापी कार्यस्थलमा सूचीकृत हुन कम्पनीसँग ५ हजार वा सोभन्दा बढी कर्मचारी हुनुका साथै २०२४ वा २०२५ को सुरुवातमा विभिन्न महादेशका कम्तिमा पाँच उत्कृष्ट कार्यस्थल सूचीमा मान्यता प्राप्त हुनुपर्छ । मेटलाइफले यी सबै मापदण्ड पूरा गर्दै वैश्विक प्रतिस्पर्धामा उच्च स्थान सुरक्षित गरेको छ ।

‍बागमती सरकारले ‘एक घर दुई भैंसी’ कार्यक्रमका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने

रसुवा । बागमती प्रदेश सरकारले ग्रामीण क्षेत्रका नागरिकलाई रोजगारी दिलाउन निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ ।  जिल्ला समन्वय समिति रसुवाले सोमबार आयोजना गरेको दशौं जिल्ला सभालाई सम्बोधन गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले एक घर दुई भैंसी खरिदका लागि सरकारले निर्ब्याजी ऋण रकम उपलब्ध गराउने बताए । उनले सो कार्यक्रममा युवाहरू सहभागी भइदिन आग्रह गरे । दूध डेरी खोल्न, दाना र मलखादको व्यवस्थापन गर्नसमेत प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनले बताए । जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेको सभापतित्वमा सम्पन्न सभामा जिल्लाका सरकारी कार्यालयको वार्षिक कामको प्रगति प्रस्तुत गरिएको थियो ।  सहभागीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजनाको कार्यप्रगति प्रस्तुत नगरेकामा आलोचना गरेका थिए ।  प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जिल्लामा बाढीपहिरो जस्ता विपद्का घटना भइरहने र त्यस्ता विपद्को समस्या समाधानका लागि विपद् व्यवस्थापन समितिको बैठक बोलाउँदा सदरमुकामबाहिर कार्यालय रहेका कार्यालय प्रमुखहरुले बेवास्ता गर्ने गरेको बताए । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले रसुवा र नुवाकोटको विकासमा हातेमालो गरी जनहितका काम अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका जिल्ला सभापति पेम्वाछिरिङ तामाङले चिलिमे जलविद्युत्ले जिल्लालाई प्रदान गर्ने रोयल्टी रकमबाट कुनै प्रतिफल नपाएकाले सो रकम खोजी गरी प्रभावित बासिन्दा माझ ल्याउन, पर्यटन प्रवद्र्वन अगाडि बढाउन आग्रह गरे । जिल्लामा राम्रो काम गर्ने १० व्यक्ति/संस्थालाई जिल्ला सभाले सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलान, उत्तरगया गापाका अधिकृतस्तर छैटौँ तहमा कार्यरत रामकृष्ण न्यौपाने, नौकुण्ड गापा–४ का सचिव पूर्णबहादुर बुलुन, आमाछोदिङ्मो गापा–३ का वडा सचिव छोवाङदोर्जे तामाङ, श्रेणीविहीन पदमा कार्यरत जिल्ला समन्वय समितिका जयराम देवकोटा, गोसाइँकुण्ड गाउँपालिकाका नुर्पु घले रहेका छन् भने संस्थातर्फ चिलिमे जलविद्युत् आयोजना र माथिल्लो मैलुङ जलविद्युत् आयोजना रहेका छन् ।

दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट दुई खर्ब ७५ अर्ब रुपैयाँ बक्यौता कर असुली हुन बाँकी देखिएको छ ।      सोमबार सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार बक्यौता बाँकी रहेका करदाताबाट ९४ अर्ब ९५ करोड रुपैयाँ र प्रशासकीय पुनरावलोकनमा रहेका दुई हजार ९५ करदाताबाट एक खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबर असुली हुन बाँकी देखिएको हो ।      असुली हुन बाँकी कर बक्यौताको अवस्था हेर्दा आयकरतर्फ सबैभन्दा बढी एक लाख (३ हजार ६२) करदाताबाट दुई खर्ब १९ अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ । मूल्य अभिवृद्धि करतर्फ एक लाख ३७ हजार २५३ करदाताबाट रु ४८ अर्ब ७० करोड, अन्तः शुल्कतर्फ ३६४ करदाताबाट चार अर्ब नौ करोड रुपैयाँ र अन्यतर्फ एक हजार ७७० करदाताबाट तीन अर्ब १५ करोड रुपैयाँ बराबर कर असुली हुन बाँकी छ ।      गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले कर बक्यौता असुलीका लागि राखेको वार्षिक लक्ष्यको प्रगति पनि न्यून देखिएको छ । 'बक्यौता सङ्कलनतर्फ आर्थिक वर्ष २०८१/८२ मा आयकरतर्फ २२ अर्ब ७६ करोड लक्ष्य रहेकामा आठ अर्ब ७१ करोड रुपैयाँ असुल भई लक्ष्यको तुलनामा ३८ दशमलव २९ प्रतिशत प्रगति हासिल भएको छ', वार्षिक प्रतिवेदनमा भनिएको छ ।       त्यसैगरी मूल्यअभिवृद्धि करतर्फ १६ अर्ब ३३ करोड रुपैयाँ बक्यौता उठाउने लक्ष्य रहेकामा ६३ दशमलव २८ प्रतिशत अर्थात् १० अर्ब ३३ करोड रुपैयाँ असुल भएको जनाइएको छ ।      गत आर्थिक वर्षमा बक्यौता समायोजनमा आयकरतर्फ २७ अर्ब ३८ करोड रुपैयाँ लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड रुपैयाँ प्रगति भई लक्ष्यको तुलनामा ७८ दशमलव एक प्रतिशत प्रगति भएको छ । त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ १८ अर्ब १७ करोड रुपैयाँ लक्ष्य रहेकामा २२ अर्ब २९ करोड रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको तुलनामा १२२ दशमलव ६३ प्रतिशत प्रगति भएको छ ।  

प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । प्रोटेक्भिट माइक्रो इन्स्योरेन्स, भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबी अन्तर्गतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ । शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल लगायत जनप्रतिनिधिहरूको उपस्थितिमा भरतपुर शाखाका प्रमुख कुमार उप्रेतीले ३७ लाख ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा आगजनी गरिएका गाउँपालिकाका एक स्कर्पियो र एक बोलेरो गाडीको क्षतिपूर्तिस्वरूप सो बीमा रकम प्रदान गरिएको हो । प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सले सेवा प्राप्तिकर्ताको जोखिम न्यूनीकरण तथा दाबी भुक्तानी प्रक्रियामा द्रुत, पारदर्शी र दिगो सेवा प्रवाह गर्नेजन्य प्रतिवद्धता पुनः व्यक्त गरेको छ ।

तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको छ । सोमबार तोलामा ५ सय रुपैयाँले घटेको सुन मंगलबार ३ हजार ८ सयले घटेको हो ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार ३ हजार ८ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार ५ सय कायम भएको छ । सोमबार एक तोला सुन २ लाख ४३ हजार ३ सयमा खरिदबिक्री भएको थियो । सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । मंगलबार एक तोला चाँदी ३ हजार ९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 

मातृभूमि लघुवित्तको कामु सीईओमा बटाला नियुक्त

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा बखत बहादुर बटाला नियुक्त भएका छन् । मंसिर १ गते बसेको संस्था सञ्चालक समितिको बैठकले बटालालाई कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाका सीईओ लक्ष्मी प्रसाद शर्माले पदबाट राजीनामा दिएपछि रिक्त भएको पदमा नायव प्रमुख कार्यकारी अधिकृत बटालालाई कामु सीईओको जिम्मेवारी दिइएको हो । संस्थाका अनुसार बटालाले मंसिर २ गतेदेखि कार्यभार समाल्नेछन् । 

दक्षिण अमेरिकामा वर्चस्व राख्दै चिनियाँ ईभी

काठमाडौं । सन् २०१९ मा पेरूका हरितऊर्जा उद्यमी लुइस ज्विबाखले एउटा विद्युतीय सवारीसाधन (ईभी) कार किन्न खोज्दा उनी ४ हजार माइल टाढा क्यालिफोर्निया उडे, जहाँ उनले टेस्लाको मोडल–३ टेस्ट ड्राइभ गरे । तर टेस्लाको पेरूमै आधिकारिक आयातकर्ता नभएकाले जटिल आयात प्रक्रिया पार गर्न सकेनन् । तर उनी त्यतिमै रोकिएनन् । ‘एउटा मानिसले पहिले नै गाडी आयात गरेका रहेछन् र बेच्न चाहँदा रहेछन्, ‘ज्विबाख भन्छन्,’ म गएर हेरेँ र किनिहालेँ ।’ लिमाबाहिर समुद्री किनाराको घरमा चार्ज गर्न सुरुमा समस्या आयो । ‘ग्राउन्डिङ थिएन, त्यसैले गाडी चार्ज भएन,’ उनले भने, ‘हामीले काँटा लिएर भुइँमा गाड्यौं र गाडी चार्ज भयो ।’ उद्यमी लुइस ज्विबाख आज पेरूमा ईभी किन्न यति समस्या छैन । टेस्लाको शोरूम अझै नभए पनि बीवाईडी, जीली, जीडब्ल्यूएमजस्ता चिनियाँ कम्पनीका मोडेलहरू छिरेका छन्, जसले टेस्लाभन्दा झन्डै ६० प्रतिशत सस्तोमा ईभी बेचिरहेका छन् । टोयोटा, किया र हुन्डाईले पनि विभिन्न मोडेल ल्याएका छन् । चिनियाँ उत्पादकहरूले दक्षिण अमेरिकामा दुवै प्रकारका (इन्धन र इलेक्ट्रिक) सवारीसाधनको उपस्थिति बढाइरहेका छन् । पेरूमा यो वर्ष सेप्टेम्बरसम्म कूल १ लाख ३५ हजार ३९४ नयाँ गाडी बिक्री भए जसमा ईभी र हाइब्रिड संख्या कम भए पनि बढ्दैछ । यो अवधिमा ७ हजार २५६ युनिट बिके जुन वार्षिक रूपमा ४४ प्रतिशत वृद्धि हो । लिमाको उत्तरमा बनेको चिनियाँ ‘मेगापोर्ट’ चान्काई सञ्चालनमा आएपछि चीनका ईभी बिक्री झनै बढेका छन् ।  बीवाईडीले यस वर्षकै अन्त्यसम्म लिमामा चौथो डिलर खोल्दैछ । चेरी र गिलीसँग पेरूमा दर्जनभन्दा बढी डिलर छन् । ‘इलेक्ट्रिक कार यहाँ निकै राम्रो चलेको छ— दैनिक दुईभन्दा बढी ईभी बिक्छ,’ ज्विबाख भन्छन् ।  माग बढेपछि उनले आफ्नो नवीकरणीय व्यवसाय पनि विस्तार गरेका छन्— ईभी चार्जर, सोलार प्यानल र रिकुपरेटिभ लिफ्ट स्थापना सेवासहित । चिनियाँ ‘मेगापोर्ट’ चान्काई ‘एक डेभलपरले भने– पेन्टहाउस किन्छु यदि कार चार्जर राखिदियो भने । त्यसैले हामीले राखिदियौं,’ उनले भने। जाटो डाइनामिक्सका विश्लेषक फेलिपे मुनोजका अनुसार चीनमा मूल्ययुद्ध र अत्यधिक उत्पादनका कारण धेरै गाडी विदेश मध्यपूर्व, एसिया र ल्याटिन अमेरिकातर्फ पठाइँदैछ ।  चिलीका सीएभीइएम अध्यक्ष मार्टिन ब्रेस्सियानी भन्छन्, ‘चिनियाँले गुणस्तरमा वैदेशिक ब्रान्ड बराबरी गरिसकेका छन् ।’ यस वर्ष पहिलो त्रैमासमा चिलीमा बिक्री भएको यात्रुबाहक कारमध्ये २९.६ प्रतिशत चिनियाँ ब्रान्ड थिए । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार २०२४ मा ल्याटिन अमेरिकामा ईभीको बजार हिस्सा ४ प्रतिशत पुगेको छ । मेक्सिको र मध्य अमेरिकासहित सरकारी प्रोत्साहन र सस्ता चिनियाँ मोडेलका कारण यो सम्भव भएको हो । चिनियाँ ‘मेगापोर्ट’ चान्काईमा राखिएका चिनियाँ ईभी चिली, ब्राजिल र उरुग्वेमा ईभी बजार हिस्सा लगातार नयाँ रेकर्ड बनाइरहेको छ । चिलीमा १०.६ प्रतिशत, ब्राजिलमा ९.४ प्रतिशत र उरुग्वेमा त तेस्रो त्रैमासमा २८ प्रतिशत बनार हिस्सा रहेको छ । अर्जेन्टिनामा आर्थिक चुनौती हुँदाहुँदै पनि ईभी बिक्री बढ्दै छ । चीनको सबैभन्दा ठूलो कार निर्माता बीवाईडीले अक्टोबरमा अर्जेन्टिनामा आधिकारिक रूपमा प्रवेश गरिसकेको छ । यस सफलताको ठूलो हिस्सा स्थानीय विश्वसनीय आयातकर्तासँगको साझेदारी हो, जसले क्षेत्रअनुकूल डिजाइन र मूल्यका मोडेल ल्याएका छन् । उरुग्वेमा त बीवाईडी देशकै तेस्रो ठूलो विक्रेता बनेको छ, चेभरलेट र हुन्डाईपछि । चिनियाँ बजार हिस्सेदारी २०२३ यता दोब्बर भइसकेर २२ प्रतिशत पुगेको छ । उरुग्वेको पन्टा डेल एस्टेमा लग्जरी डिलर गन्जालो एल्गोर्रियगाले केही वर्षदेखि बीवाईडी मोडेल प्रदर्शन गर्न थाले । अहिले बीवाईडी नै मुख्य बिक्रीकर्ता बनेको छ । ‘चिनियाँले पहिला नै कडा हमला गरे,’ उनले भने । उरुग्वेमा चिनियाँ बीईभीको प्रारम्भिक मूल्य करिब १९ हजार डलरबाट सुरु हुन्छ । ‘दुई परम्परागत गाडीको मूल्यमा म तीनवटा चिनियाँ पिकअप किन्न सक्छ’ अर्को डिलरले भने । चिनियाँ मेगापोर्टले दक्षिण अमेरिकालाई ‘खोलिदियो’ चान्काई बन्दरगाह अब चिनियाँ गाडीहरूको प्रवेशद्वार बनेको छ— जहाँ प्रत्येक जहाजले ८ सयदेखि १ हजार २०० गाडी ल्याउँछ । यी गाडीहरू पेरूमै होइन, चिली, इक्वेडर र कोलम्बियातर्फ पनि पठाइँदैछन् । जुलाईमा मात्र ३ हजार ५७ गाडी आइपुगे । जनवरीको ८३९ भन्दामात्र आइपुगेका थिए । पेरूमा ठूलो स्थानीय गाडी उद्योग नभएकाले विरोध कम छ तर ब्राजिलमा भने तनाव बढेको छ । ब्राजिलमा बीवाईडी र जीडब्ल्यूएमले कारखाना खोलेका छन् । दुवै कम्पनीले उच्च भन्सारका कारण स्थानीय उत्पादन गर्नुपर्ने भएकाले कारखाना खोलेका हुन् । जीडब्ल्यूएमले २०२७ सम्म ब्राजिलबाट क्षेत्रभरि निर्यात सुरु गर्ने योजना बनाएको छ । तर ब्राजिलमा चिनियाँ गाडी ठूलो मात्रामा आयात पनि भइरहेका छन् । यस वर्ष विश्वकै सबैभन्दा ठूलो कार–क्यारियर जहाज २२ हजार  गाडी लिएर ब्राजिल पुगेको थियो । ब्राजिलले ईभीमा पुनः भन्सार बढाउन थालेको छ— २०२६ सम्म ३५ प्रतिशत पुग्नेछ । त्यसैले स्थानीय उत्पादन झनै महत्त्वपूर्ण बन्नेछ । अर्जेन्टिनाका लागि बीवाईडी प्रमुख स्टीफेन डेङ भन्छन्— २०२७ सम्म ब्राजिलबाट गाडी ल्याउनेछन् र अर्जेन्टिनामा पनि ब्राजिल जस्तै ईभीदर देखिन सकिनेछ । तर दक्षिण अमेरिकामा केही ठूला चुनौतीहरू अझै कायम छन्— विशेष गरी लामो दूरीको यात्रा र चार्जिङ स्टेशनहरूको असमान वितरण । ज्विबाख भन्छन्, ‘यदि तपाईं टुम्बेसदेखि टाक्नासम्म पेरूको सारा तटीय क्षेत्रमा यात्रा गर्न चाहनुहुन्छ भने अझै पनि गाह्रो छ ।’ ‘यद्यपि चार्जिङ सुविधामा समस्या छन्, कार चलाउन भने निकै सस्तो पर्छ र प्रायः कहिल्यै ग्यारेज सेवा आवश्यक हुँदैन,’ उनले थपे । अमेरिकी शुल्क घटेपछि हुन्डाईको ठूलो उडान, कोरियामा‍ ८६ अर्ब डलर लगानी गर्ने घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता