नेता बैठकमा व्यस्त, सांसद सिंहदरबारमा अलपत्र

फाइल तस्बिर ।

काठमाडौं । सुरु नै नभई दिउँसो २ बजेका लागि सरेको प्रतिनिधि सभाको बैठक यो समाचार तयार पार्दासम्म पनि सुरु हुन सकेको छैन । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा सदन खुलाउने वार्ता चलिरहेकोले सभाको बैठक ढिलो भएको बताइएको छ ।

बैठकको पर्खाइमा थुप्रै सांसदहरू सिंहदरबारका चौरमा बसिरहेका छन् । केही सांसदहरू क्यान्टिनमा बसेर बैठक सुरु हुने समय पर्खिइरहेका छन् । 

प्रतिनिधि सभाको बैठक सञ्चालन नियमावलीअनुसार ‘निर्धारित समयको दुई घण्टासम्म पनि बैठक प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगन गरी अर्को बैठकको सूचना गर्नेछ’ भन्ने व्यवस्था गरिएको छ । 

उक्त नियमको आधारमा आज बुधबारको बैठक ४ बजेसम्म बस्न सक्नेछ । यदि चार बजेसम्म बैठक नबसे सभामुखले उक्त बैठक स्थगनको सूचना जारी गर्न सक्नेछन् ।

गत १७ जेठमा प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको विषयमा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध हुँदै आएको छ । उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् ।

Share News