विकासन्युज

फेरि बन्द भयो चन्द्रागिरि केबलकार, अस्ट्रियाबाट पाटपुर्जा आयात गरिँदै

काठमाडौं । जेनजी आन्दोलनले बन्द भएर सञ्चालनमा आएको चन्द्रागिरि केबलबार पुनः बन्द भएको छ । कम्पनीका अनुसार सञ्चालन प्रणाली (प्यानल बोर्ड) मा समस्या देखिएपछि सेवा अनिश्चितकालका लागि स्थगित गरिएको हो ।  गत भदौ २४ गते केबलकारमा तोडफोड भएपछि केबलकार बन्द भएको थियो । केबलकारमा पुर्ननिर्माण भएर कात्तिक २२ र २३ गते सञ्चालनमा आएको थियो । अहिले फेरि बन्द भएको छ । पुर्ननिर्माणपछि दुई दिनमात्रै सञ्चालनमा आएको केबलकार त्यसपछि बन्द अवस्थामा छ ।  कम्पनीका सचिव झलक शर्माले प्यानल बोर्डमा धुलो जम्मा भई प्रणालीमा समस्या आएको र यसलाई दिगो समाधान गर्न अस्ट्रियाबाट आवश्यक पार्टपुर्जा मगाइएको जानकारी दिए ।  शर्माले प्यानल बोर्डमा देखिएको समस्याबारे बताउँदै विकासन्युजसँग भने, ‘केबलकारको प्यानल बोर्डमा समस्या देखिएकाले यो सधैंका लागि समस्या नहोस् भनेर हामीले त्यसलाई परिवर्तन गर्न लागेका छौं । यो विशेषगरी प्यानल बोर्डको साइडमा डस्ट (धूलो) जम्मा भई केही सिस्टममा परिवर्तन गर्नुपर्ने देखिएको हो ।’ उनका अनुसार पार्टपुर्जा आइसकेपछि करिब एक साताभित्र केबलकार पुनः सञ्चालनमा आउनेछ । गुणस्तरीय र सुरक्षित सेवा सुनिश्चित गर्नका लागि यो मर्मतसम्भार आवश्यक रहेको उनको भनाइ छ ।  ‘हामी त्यो सामान आयातको प्रक्रिया अगाडि बढाएका छौं, सामान आएको समयको करिब एक हप्ताभित्रमा केबलकार पुनः सञ्चालनमा ल्याउँछ,’ शर्माले भने ।  गुणस्तरीय र सुरक्षित सेवा प्रदान गर्नका लागि यो मर्मतसम्भार आवश्यक रहेको कम्पनीको भनाइ छ ।  जेनजी आन्दोलनको झट्का गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले केबलकारको बटम स्टेसनमा तोडफोड र आगजनी हुँदा रिसोर्टसहितका सेवाहरू करिब २ महिनासम्म ठप्प भएका थिए । यो घटनाले कम्पनीलाई ठूलो आर्थिक नोक्सानी समेत भएको छ ।  गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५५ लाख रुपैयाँ खुद नाफामा रहेको कम्पनीको चालु आर्थिक वर्षको सोही अवधिमा १ करोड २४ लाख रुपैयाँ नोक्सानीमा गएको छ । कुल आम्दानी पनि १९ करोड ५८ लाख रुपैयाँबाट घटेर १३ करोड ८७ लाख रुपैयाँमा झरेको कम्पनीले जनाएको छ ।   

एनपिएल : बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा रबि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी भएको छ । चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो ।  कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनायो । एक सय ६७ रनको विजयी लक्ष्य चितवनले पाँच बल बााकी छँदै ६ विकेट गुमाउदै पूरा गर्यो ।      चितवनको जितमा बोपाराले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ३६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै दिपक बोहोराले ३६ बलमा ६ चौका र एक छक्काको सहयोगमा ४२ रन बनाए । सइफ जइबले १६ बलमा दुई चौका र चार छक्का हान्दै ३८ तथा कप्तान कुशल मल्ले १५ बलमा दुई छक्काको मद्दतमा २० रन बनाए ।      बलिङततर्फ कर्णाली याक्सका लागि कप्तान सोमपाल कामीले दुई तथा उनिस सिंह, मार्क वाट र युवराज खत्रीले एक एक विकेट लिए ।    त्यसअघि कर्णाली याक्सका लागि ओपनर प्रियाङ्क पञ्चालले सर्वाधिक ९० रनको योगदान दिए । उनी शतक बनाउनबाट १० रनले चुके । पहिलोपटक एनपिएल खेलिरहेका पञ्चालले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाएका हुन् । यस संस्करणमा अर्थशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् ।    त्यसैगरी म्याक्स ओडाउडले ३० बलमा एक चौका हान्दै २० रन बनाए । मार्क वाटले २१ बलमा एक चौकाको मद्दतमा १६, पवन शर्राफले अविजित २७ तथा नाजिबुल्लाह जद्रानले अविजित चार रन बनाए ।       बलिङतर्फ चितवन राइनोजका सोहेल तानविर, सइफ जैब र रबि बोपराले एक एक विकेट लिए । आजै खेलिने दोस्रो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल  अपराह्न ४ बजे सुरु हुनेछ ।   

विप्लवको नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र, गुलाब चिह्न चयन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ ।  यससँगै माओवादी पार्टीको वैधानिकता औपचारिक रूपमा स्वीकृत भएको छ र आगामी चुनावमा भाग लिनका लागि पार्टीलाई थप अधिकार प्राप्त भएको छ । निर्वाचन आयोगको निर्णयसँगै माओवादीले आफ्नो चुनाव चिह्नको रूपमा गुलाब चयन गरेको छ ।  निर्वाचन आयोगले गुलाब निर्वाचन चिन्ह दिएपछि पत्रकारहरूसँगको प्रतिक्रियामा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले गुलाब चिह्नको चयनले पार्टीको राजनीतिक दृष्टिकोण र पहिचानलाई स्पष्ट पार्ने काम गरेको बताए ।  उनले गुलाबलाई परिवर्तन र संघर्षको प्रतीकको रूपमा लिइएको जानकारी दिए ।

आइजीआई प्रुडेन्सियल र अल्का अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र अल्का अस्पताल प्रालिबीच बीमित ग्राहकका लागि नगदरहित (क्यासलेस) उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ। नारायणचौर, नक्शालस्थित आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रधान कार्यालय र जावलाखेल, ललितपुरस्थित अल्का अस्पतालबीच भएको सम्झौतापत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अल्का अस्पतालका वित्त अधिकृत मुकुन्द भुसालले हस्ताक्षर गरे । सम्झौता अनुसार आइजीआई प्रुडेन्सियलबाट औषधोपचार बीमा सेवा खरिद गरेका बीमितले बीमालेखमा तोकिएको सीमाभित्र अस्पतालमा नगदरहित भर्ना सेवा प्राप्त गर्न सक्नेछन् । सम्झौता हस्ताक्षरपछि नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले अल्का अस्पतालका ग्राहकलाई आइजीआई प्रुडेन्सियलको स्वास्थ्य बीमा सेवा उपयोग गरी सहज र व्यवस्थित सेवा लिन अनुरोध गरे । उनले अस्पताल तथा त्यससँग आवद्ध सदस्यहरूले आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा कम्पनीमार्फत निश्चिन्त रूपमा पाउन सकिने बताए । त्यसैगरी अल्का अस्पतालका वित्त अधिकृत भुसालले अस्पतालसँग सन्तुष्ट ग्राहकको संख्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै आइजीआई प्रुडेन्सियलबाट प्राप्त बीमा सेवा छिटो छरितो हुने र आगामी दिनमा दुबै संस्थाले मिलेर सेवाको दायरा अझ विस्तार गर्दै जाने जानकारी दिए 

सेयर बजारमा ४ अर्बको कारोबार, सबै समूहका सूचकमा हरियाली

काठमाडौं । साताको तेस्रो करोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ अंकले बढेर २५६६ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार २०७ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा कुनै कारोबार भएको छैन । मंगलबार ३४५ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै बरुण हाइड्रोको १५ करोड, माउन्टेन इनर्जीको १३ करोड, सीइनर्जी पावर डेभलपमेन्टको ९ करोड ९३ लाख र निफ्रा इन्फ्राइस्ट्रक्चर बैंकको ९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी र माबिलुङ इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बुंगल हाइड्रो, झापा इनर्जी र बन्दिपुर केबलकारको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । मंगलबारको करोबारमा सबै समूहका सूचकमा हरियाली छाएको छ । बैंकिङ ०.३१, विकास बैंक १.२५, फाइनान्स ०.८९, होटल तथा पर्यटन १.२८, जलविद्युत् ०.९३, लगानी १.०३, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.८४, अन्य ०.५३ तथा व्यापार ०.०९ प्रतिशतले बढेका छन् ।  

नेपाल पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै, राष्ट्रिय टोली आज मलेसिया प्रस्थान

काठमाडौं । नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुन लागेको छ ।  मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने प्रतियोगितामा भाग लिन १८ सदस्यीय नेपाली डजबल टोली आज मलेसिया प्रस्थान गरेको हो ।  यो प्रतियोगितामा १२ देश सहभागी हुँदैछन् जहाँ आयोजक राष्ट्र मलेसिया हाल विश्व डजबल र्‍याङ्किङमा नम्बर–१ स्थानमा रहेको छ । नेपालका खेलाडीहरूका लागि यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि पहिलो अन्तर्राष्ट्रिय सहभागीता जनाइसकेको टोली यसपटक थप आत्मविश्वास, तयारी र अनुभवका साथ मैदानमा उत्रने तयारीमा छ ।  प्रस्थानअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई बिदाइ गर्दै उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरे । नेपालमा डजबल खेल दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ । नेपाल डजबल फेडेरेसनले यो खेललाई देशभर पहिचान दिलाउने उद्देश्यसहित विभिन्न कार्यक्रम, प्रतियोगिता तथा जागरूकता अभियानहरू निरन्तर आयोजना गर्दै आएको छ ।  विद्यालय, कलेज तथा सामुदायिक स्तरमा सञ्चालन गरिएको परिचयात्मक कार्यक्रमले खेलप्रति युवाहरूको आकर्षण उल्लेख्य रूपमा बढाएको फेडेरेसनले जनाएको छ । नेपाली टोलीमा कप्तान विराज दाहालसहित प्रकाश सिंह ऐर, कृष्ण हरि बुढाथोकी, रबिन शाक्य, कृष्ण कुमार साह, अनिल कुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम र विनोद कोईरालाको समावेश छ । टोलीसँगै टोली प्रमुख राजन गौतम, व्यवस्थापक कौशल ज्ञवाली, सहायक व्यवस्थापक हिरामणी नेपाल, प्रशिक्षक तथा खेलाडी अरुण तिमल्सिना, ट्रेनर बेनु कुमार राई तथा मिडिया अफिसर सन्दीप रिजाल पनि सहभागी छन् । सो अवसरका लागि जर्सी पुल मुख्य प्रायोजक बनेको छ भने इम्पाएर ट्राभल्स एन्ड टुर्स ट्राभल पार्टनर, जी स्पोट्र्स होम किट पार्टनर र डिजिटल ल्याब ब्ल्याक आइ जर्नी प्रालि डिजिटल पार्टनरको रूपमा रहेका छन् । नेपाली टोलीले ऐतिहासिक सहभागीता जनाउँदै अन्तर्राष्ट्रिय डजबल क्षेत्रमा नेपालको पहिचान बलियो बनाउने तथा देशको प्रतिष्ठा उकास्ने विश्वास लिइएको छ ।

हिमालयन इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । हिमालयन इनर्जी लिमिटेडले साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ । यसका लागि आईपीओ निष्काशन र बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई दिइएको छ । मंसिर १ गते काठमाडौंमा आयोजित समारोहमा सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा हिमालयन इनर्जीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जीको आईपीओ निष्काशन प्रक्रिया व्यवस्थापन गर्नेछ । कम्पनीले निर्माण गरिरहेको 'कालिन्चोक जलविद्युत आयोजना' दोलखा जिल्ला, कालिन्चोक–१ थामी गाउँमा अवस्थित छ र यसले ३ मेगावाट बिजुली उत्पादन गर्ने क्षमता राख्छ । २०८१ असोज ११ गते सम्पन्न साधारण सभाले कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ (५ लाख कित्ता सेयर) पारित गर्दै, त्यसको २० प्रतिशत (१० लाख कित्ता) सेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको थियो । हिमालयन इनर्जी लिमिटेडले कालिन्चोक आयोजना बाहेक अन्य सम्भावित ऊर्जा र पूर्वाधार परियोजनामा लगानी प्रवद्र्धन गर्ने दीर्घकालीन रणनीति पनि बनाएको छ । कम्पनीले ऊर्जा उत्पादन र लगानी क्षेत्रमा दिगो विस्तार गर्दै राष्ट्रिय ऊर्जा विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ । यसले परियोजनालाई समयमै सम्पन्न गरी राष्ट्रिय विद्युत प्रणालीमा योगदान पु¥याउने योजना पनि बनाएको छ ।

गुहेश्वरी–गोकर्णेश्वर खण्ड सफाइ गरिँदै, बागमती किनारका अलपत्र सवारी हटाइँदै

काठमाडौं । बागमती नदीको गुहेश्वरी-गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका ५ जम्बुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।  जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ । ढल फुटेका कारण सडकमा पनि क्षति पुगेको छ । ढल मर्मत पनि सुरु गरिएको छ । साथै,  गुहेश्वरीबाट माथिल्लो तटीय क्षेत्रमा नदी थ्रुपिएको बालुवा तथा फोहोर पनि हटाइने भएको छ ।  यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक तयारी गरिरहेको छ ।