गुहेश्वरी–गोकर्णेश्वर खण्ड सफाइ गरिँदै, बागमती किनारका अलपत्र सवारी हटाइँदै
काठमाडौं । बागमती नदीको गुहेश्वरी-गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका ५ जम्बुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए । जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ । ढल फुटेका कारण सडकमा पनि क्षति पुगेको छ । ढल मर्मत पनि सुरु गरिएको छ । साथै, गुहेश्वरीबाट माथिल्लो तटीय क्षेत्रमा नदी थ्रुपिएको बालुवा तथा फोहोर पनि हटाइने भएको छ । यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक तयारी गरिरहेको छ ।
एनपिएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १६७ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा मंगलबार कर्णाली याक्सले चितवन राइनोजलाई जितका लागि १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनाएको हो । कर्णालीका लागि ओपनर प्रियाङ्क पन्चालले सर्वाधिक ९० रनको योगदान दिए । उनी शतक बनाउनबाट १० रनले चुके । पहिलोपटक एनपिएल खेलिरहेका पञ्चालले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाएका हुन् । यस संस्करणमा अर्थशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् । त्यसैगरी कर्णालीका लागि म्याक्स ओडाउडले ३० बलमा एक चौका हान्दै २० रन बनाए । मार्क वाटले २१ बलमा एक चौकाको मद्दतमा १६, पवन शर्राफले अविजित २७ तथा नाजिबुल्लाह जद्रानले अविजित चार रन बनाए । अहिले चितवन राइनोजले कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।
भारत दशकको अन्त्यसम्म विश्वकै अग्रणी सौर्य उत्पादक बन्ने दिशामा
काठमाडौं । भारत यो दशकको अन्त्यसम्म विश्वकै अग्रणी सौर्य उत्पादक बन्ने दिशामा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत विश्वका सबैभन्दा ठूला सौर्य ऊर्जा (पीभी) उत्पादन केन्द्रहरू मध्ये एक बन्ने लक्ष्यसहित तीव्र गतिमा अगाडि बढिरहेको हो । २०२५ देखि २०२९ को बीचमा करिब २१३ गिगावाट (जीडब्ल्यू) नयाँ सौर्य क्षमता जडान हुने अनुमान गरिएको छ । त्यस्तै, मोड्युल उत्पादन क्षमता २८० जीडब्ल्यू नाघ्नेछ भने सेल उत्पादन क्षमता २०२५ को २६ जीडब्ल्यूबाट बढेर २०२९ सम्म करिब १७१ जीडब्ल्यू पुग्ने प्रक्षेपण गरिएको छ । यी तथ्यांकहरू अन्तर्राष्ट्रिय अनुसन्धान संस्था ईयूपीडी रिसर्चद्वारा जारी ‘इन्डियाज सोलर सर्जस् द नेक्स्ट लूमिङ पीभी प्राइस शक ?’ शीर्षकको ताजा रिपोर्टमा समेटिएका हुन् । रिपोर्टअनुसार भारतको सौर्य ऊर्जा क्षेत्र अब परिपक्वता, प्रविधि र वैश्विक महत्त्वाकांक्षाको नयाँ चरणतर्फ प्रवेश गरिरहेको छ । यसमा सरकारी पहलभन्दा बढी प्रतिस्पर्धा, प्रविधि र दिगोपनलाई प्राथमिकता दिइन थालेको उल्लेख छ । भारतीय सौर्य उद्योगको तीव्र विस्तारले देशलाई निर्यातका असाधारण अवसर प्रदान गर्दैछ । रिपोर्टका अनुसार यदि उत्पादन क्षमताको ६५ प्रतिशत मात्र उपयोग भयो भने पनि भारतले २०३० सम्म १४३ जीडब्ल्यू सौर्य मोड्युल निर्यात गर्न सक्छ। यो उत्पादन स्तर धेरैजसो निर्माताका लागि लागत उठ्ने न्यूनतम बिन्दु मानिन्छ । अमेरिका परम्परागत रूपमा भारतको प्रमुख निर्यात बजार रहे पनि त्यहाँका कडा हुँदै गएका व्यापार नियमका कारण भारतीय कम्पनीहरूले अब युरोप, मध्यपूर्व र अफ्रिकाजस्ता नयाँ बजारमा उच्च प्राथमिकता दिनुपर्ने अवस्था आएको विश्लेषण गरिएको छ । ईयूपीडी ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्कुस ए.डब्ल्यू. होएनरका अनुसार भारतको सोलर म्यानुफ्याक्चरिङ क्षमतामा आएको तीव्र वृद्धिले ठूलो मात्रामा उत्पादन बढेको छ । अब देशको लक्ष्य विश्वस्तरको प्रतिस्पर्धामा केन्द्रित हुनुपर्छ। बलिया बजार, तिनका आवश्यकता र उदीयमान दिगोपन तथा गुणस्तर मापदण्डहरू पूरा गर्नु दीर्घकालीन सफलताका लागि महत्त्वपूर्ण हुनेछ । पछिल्ला एक वर्षमा भारतको लागत संरचनामा उल्लेखनीय सुधार देखिएको छ । टपकन (टनल अक्साइड पासिभेटेड कन्ट्याक्ट) मोड्युलको मूल्यमा भारत–चीनबीचको अन्तर २०२४ को सुरुवातमा रहेको ९/डब्ल्यू डलरबाट घटेर २०२५ को अक्टोबरमा ५.७/ डब्ल्यूमा झरेको छ । यस सुधारमा अटोमेशन, ठूलो मात्रामा उत्पादन, इण्टिग्रेशन र उत्पादन दक्षता बढ्नु मुख्य कारण रहेको रिपोर्टमा उल्लेख छ । यद्यपि भारतको न्यूनतम दिगो मूल्य चीन र दक्षिण–पूर्व एसियाभन्दा अझै पनि १४–१७ प्रतिशत महँगो छ, जसले थप प्रविधि तथा सञ्चालन सुधार आवश्यक रहेको संकेत गर्दछ । युरोपजस्ता दिगोपनलाई ठूलो प्राथमिकता दिने बजारमा भारतलाई केही संरचनागत फाइदा रहेको देखिन्छ । भारतबाट युरोपसम्म ढुवानी लागत मोड्युल मूल्यको करिब ५ प्रतिशत पर्छ भने चीनबाट भने ८.७ प्रतिशत । भारत–युरोप मार्गमा ढुवानी गर्दा हुने कार्बन उत्सर्जन चीनको तुलनामा ६५ प्रतिशत कम रहेको छ । यी कारणहरूले यूरोपेली संघ (ईयू) का औद्योगिक तथा कार्बन–सम्बन्धी दिगो मापदण्ड पूरा गर्न भारतका उत्पादकहरूलाई थप सहयोग पुर्याउने आँकलन गरिएको छ । दक्षिण अमेरिकामा वर्चस्व राख्दै चिनियाँ ईभी
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूको भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरका नेताहरूबीच बालुवाटारमा करिब दुई घन्टा लामो बैठक भएको छ । उक्त बैठकमा सुरुदेखि नै विशेष महाधिवेशनको माग राख्ने देवराज चालिसे, गुरुराज घिमिरे, राजेन्द्र बजगाईं, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा र सन्दीप निरौला सहभागी रहेको एक नेताले बताए । बैठकका उद्देश्य र छलफलका विषयहरू भने सार्वजनिक भएका छैनन् । विशेषतः फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको विषयमा कुराकानी भएको एक नेताले जानकारी दिए ।
बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौं । कामदार भिषामा बेलायत पठाउने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ घर भई हाल काठमाडौं गोकर्णेश्वर–७ बस्ने २२ वर्षीय आदर्श तिमल्सिना तथा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ घर भई गोकर्णेश्वर–७ बस्ने ३४ वर्षीय आशिष खोखाली रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, 'पक्राउ परेकामध्ये तिमल्सिनाले ३० लाख ५० हजार तथा खोखालीले ११ लाख ५० हजार रुपैयाँ कामदार भिषामा युके पठाउने भन्दै एक जनाबाट ४२ लाख रुपैयाँ रकम लिई फरार रहेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।' फेसबुक पेजमा जेन शिक्षा मब नामक कन्सल्टेन्सीका सञ्चालक आशिष खोखालीसमेत भएको ठगीसम्बन्धी कसुर मुद्दामा निजहरुलाई काठमाडौं–१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।
नौ प्रकारका औषधि उत्पादनको तयारी
काठमाडौं । नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ । लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औषधिको परीक्षण सकेर अर्को महिनादेखि उत्पादनका लागि औषधि व्यवस्थापन विभागबाट अनुमतिपत्र लिएर उत्पादन सुरु गर्ने जानकारी दिए । यसअघि लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गर्दै आइरहेका छ ।
राष्ट्र बैंकले गर्यो एकै वर्ष पौने २ खर्ब रुपैयाँ नाफा, कर्मचारीलाई दियो ५ अर्ब ६ करोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकै वर्ष पौने २ खर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब ७२ अर्ब ३९ करोड ९२ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो आव २०८०/८१ मा राष्ट्र बैंकले १ खर्ब १५ अर्ब ३५ करोड ३७ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आवको तुलनामा गत वर्ष ४९.४५ प्रतिशत अर्थात् ५७ अर्ब ४ करोड ५५ लाख ११ हजार रुपैयाँ बढी नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । यसअघि आव २०७९/८० मा ८७ अर्ब ६० करोड ३७ लाख रुपैयाँ, आव २०७८/७९ मा ६० अर्ब ९८ करोड ७ लाख रुपैयाँ, आव २०७७/७८ मा ३० अर्ब ४७ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष राष्ट्र बैंकको खुद ब्याज आम्दानी १०.२४ प्रतिशत बढेर ८७ अर्ब ३० करोड ९७ लाख ७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष ७९ अर्ब ३१ करोड ६५ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष राष्ट्र बैंकले शुल्क तथा कमिशन आम्दानी १ करोड ८१ लाख ६२ हजार रुपैयाँ, गोल्ड सर्टिफिकेटबाट हुने आम्दानी ५३ करोड ७१ लाख ५६ हजार रुपैयाँ, अन्य आम्दानी ९९ करोड ७० लाख ७२ हजार रुपैयाँ, खुद अन्य आम्दानी १ अर्ब ४० करोड २० लाख ६५ हजार रुपैयाँ र कुल सञ्चालन आम्दानी ८८ अर्ब ४६ करोड ७४ लाख ७९ हजार रुपैयाँ गरेको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष कर्मचारीको तलब खर्च ५ अर्ब ६ करोड ३३ लाख ६१ हजार रुपैयाँ, नोट छाप्ने खर्च ७७ करोड ३६ लाख ५ हजार रुपैयाँ, प्रशासनिक खर्च १ अर्ब ६६ करोड २६ लाख ८७ हजार रुपैयाँ र कुल खर्च ७ अर्ब ९८ करोड ४८ लाख २९ हजार रुपैयाँ गरेको छ । ५ अर्ब पुँजी रहेको राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब ७६ अर्ब २ करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकका अनुसार विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
मेटलाइफ २०२५ का लागि फर्च्युन वर्ल्डको उत्कृष्ट २५ कार्यस्थलमा सम्मानित
न्यूयोर्क । विश्वको प्रतिष्ठित सूचीकर्ता ‘फर्च्युन वर्ल्ड’ ले २०२५ का लागि सार्वजनिक गरेको उत्कृष्ट २५ कार्यस्थलहरूको सूचीमा मेटलाइफ, इंक लगातार दोस्रो वर्ष पुर्याइएको छ । यस वर्ष मेटलाइफले सो सूचीमा १०औँ स्थान हासिल गरेको हो । विश्वभरका केवल २५ कम्पनीलाई प्रदान गरिने यो मान्यताले मेटलाइफको कर्मचारी, ग्राहक र समुदायप्रति रहेको दिगो प्रतिबद्धतालाई झल्काउँछ । 'यो मान्यता हाम्रा कर्मचारीहरूको निरन्तर समर्पण र ऊर्जाको प्रमाण हो,' मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले भने, 'हामीले अवलम्बन गरेको नयाँ सीमाना वृद्धि रणनीतिलाई अघि बढाउँदै गर्दा, सबै कर्मचारीले फस्टाउन सक्ने वातावरण बनाउन तथा सरोकारवालाको भविष्य आकार दिने हाम्रो प्रतिबद्धता झन् दृढ भएको छ ।' फर्च्युनको अनुसन्धान साझेदार ग्रेट प्लेस टु वर्क द्वारा गरिएको नौ मिलियनभन्दा बढी कर्मचारी सर्वेक्षण प्रतिक्रियामा आधारित मूल्यांकनबाट यो सूची तयार गरिएको हो । विश्वभरका प्रमाणित संस्थाहरूमा कार्यरत २ करोड ५० लाखभन्दा बढी कामदारको अनुभव प्रतिनिधित्व गर्ने आधारमा उत्कृष्ट कार्यस्थल चयन गरिन्छ । मेटलाइफलाई हालसम्म अमेरिकाको फर्च्युन १०० उत्कृष्ट कम्पनीहरू सूचीमा लगातार तेस्रो वर्ष स्थान मिळेको छ भने एशिया, युरोप, ल्याटिन अमेरिका तथा मध्यपूर्वका विभिन्न देशहरूमा पनि उत्कृष्ट कार्यस्थलको मान्यता प्राप्त गरिसकेको छ । २०२५ मा मात्र मेटलाइफ ३३ विभिन्न बजारमा ‘सर्टिफाइड ग्रेट प्लेस टु वर्क’ बनेको छ । 'हाम्रा सबै उपलब्धिका मूल प्रेरक शक्ति हाम्रै कर्मचारी हुन्,' मेटलाइफका प्रमुख मानव संसाधन अधिकृत शुराउल सिब्लिसले भने, 'कर्मचारीलाई सम्मान, मान्यता र सशक्तिकरण दिने हाम्रो संस्कृतिले नै यो उपलब्धि सम्भव बनाएको हो ।' फर्च्युनका मापदण्डअनुसार, उत्कृष्ट २५ विश्वव्यापी कार्यस्थलमा सूचीकृत हुन कम्पनीसँग ५ हजार वा सोभन्दा बढी कर्मचारी हुनुका साथै २०२४ वा २०२५ को सुरुवातमा विभिन्न महादेशका कम्तिमा पाँच उत्कृष्ट कार्यस्थल सूचीमा मान्यता प्राप्त हुनुपर्छ । मेटलाइफले यी सबै मापदण्ड पूरा गर्दै वैश्विक प्रतिस्पर्धामा उच्च स्थान सुरक्षित गरेको छ ।