आइजीआई प्रुडेन्सियल र अल्का अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र अल्का अस्पताल प्रालिबीच बीमित ग्राहकका लागि नगदरहित (क्यासलेस) उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ। नारायणचौर, नक्शालस्थित आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रधान कार्यालय र जावलाखेल, ललितपुरस्थित अल्का अस्पतालबीच भएको सम्झौतापत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अल्का अस्पतालका वित्त अधिकृत मुकुन्द भुसालले हस्ताक्षर गरे । सम्झौता अनुसार आइजीआई प्रुडेन्सियलबाट औषधोपचार बीमा सेवा खरिद गरेका बीमितले बीमालेखमा तोकिएको सीमाभित्र अस्पतालमा नगदरहित भर्ना सेवा प्राप्त गर्न सक्नेछन् । सम्झौता हस्ताक्षरपछि नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले अल्का अस्पतालका ग्राहकलाई आइजीआई प्रुडेन्सियलको स्वास्थ्य बीमा सेवा उपयोग गरी सहज र व्यवस्थित सेवा लिन अनुरोध गरे । उनले अस्पताल तथा त्यससँग आवद्ध सदस्यहरूले आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा कम्पनीमार्फत निश्चिन्त रूपमा पाउन सकिने बताए । त्यसैगरी अल्का अस्पतालका वित्त अधिकृत भुसालले अस्पतालसँग सन्तुष्ट ग्राहकको संख्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै आइजीआई प्रुडेन्सियलबाट प्राप्त बीमा सेवा छिटो छरितो हुने र आगामी दिनमा दुबै संस्थाले मिलेर सेवाको दायरा अझ विस्तार गर्दै जाने जानकारी दिए
सेयर बजारमा ४ अर्बको कारोबार, सबै समूहका सूचकमा हरियाली
काठमाडौं । साताको तेस्रो करोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ अंकले बढेर २५६६ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २०७ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा कुनै कारोबार भएको छैन । मंगलबार ३४५ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै बरुण हाइड्रोको १५ करोड, माउन्टेन इनर्जीको १३ करोड, सीइनर्जी पावर डेभलपमेन्टको ९ करोड ९३ लाख र निफ्रा इन्फ्राइस्ट्रक्चर बैंकको ९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी र माबिलुङ इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बुंगल हाइड्रो, झापा इनर्जी र बन्दिपुर केबलकारको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । मंगलबारको करोबारमा सबै समूहका सूचकमा हरियाली छाएको छ । बैंकिङ ०.३१, विकास बैंक १.२५, फाइनान्स ०.८९, होटल तथा पर्यटन १.२८, जलविद्युत् ०.९३, लगानी १.०३, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.८४, अन्य ०.५३ तथा व्यापार ०.०९ प्रतिशतले बढेका छन् ।
नेपाल पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै, राष्ट्रिय टोली आज मलेसिया प्रस्थान
काठमाडौं । नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुन लागेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने प्रतियोगितामा भाग लिन १८ सदस्यीय नेपाली डजबल टोली आज मलेसिया प्रस्थान गरेको हो । यो प्रतियोगितामा १२ देश सहभागी हुँदैछन् जहाँ आयोजक राष्ट्र मलेसिया हाल विश्व डजबल र्‍याङ्किङमा नम्बर–१ स्थानमा रहेको छ । नेपालका खेलाडीहरूका लागि यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि पहिलो अन्तर्राष्ट्रिय सहभागीता जनाइसकेको टोली यसपटक थप आत्मविश्वास, तयारी र अनुभवका साथ मैदानमा उत्रने तयारीमा छ । प्रस्थानअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई बिदाइ गर्दै उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरे । नेपालमा डजबल खेल दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ । नेपाल डजबल फेडेरेसनले यो खेललाई देशभर पहिचान दिलाउने उद्देश्यसहित विभिन्न कार्यक्रम, प्रतियोगिता तथा जागरूकता अभियानहरू निरन्तर आयोजना गर्दै आएको छ । विद्यालय, कलेज तथा सामुदायिक स्तरमा सञ्चालन गरिएको परिचयात्मक कार्यक्रमले खेलप्रति युवाहरूको आकर्षण उल्लेख्य रूपमा बढाएको फेडेरेसनले जनाएको छ । नेपाली टोलीमा कप्तान विराज दाहालसहित प्रकाश सिंह ऐर, कृष्ण हरि बुढाथोकी, रबिन शाक्य, कृष्ण कुमार साह, अनिल कुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम र विनोद कोईरालाको समावेश छ । टोलीसँगै टोली प्रमुख राजन गौतम, व्यवस्थापक कौशल ज्ञवाली, सहायक व्यवस्थापक हिरामणी नेपाल, प्रशिक्षक तथा खेलाडी अरुण तिमल्सिना, ट्रेनर बेनु कुमार राई तथा मिडिया अफिसर सन्दीप रिजाल पनि सहभागी छन् । सो अवसरका लागि जर्सी पुल मुख्य प्रायोजक बनेको छ भने इम्पाएर ट्राभल्स एन्ड टुर्स ट्राभल पार्टनर, जी स्पोट्र्स होम किट पार्टनर र डिजिटल ल्याब ब्ल्याक आइ जर्नी प्रालि डिजिटल पार्टनरको रूपमा रहेका छन् । नेपाली टोलीले ऐतिहासिक सहभागीता जनाउँदै अन्तर्राष्ट्रिय डजबल क्षेत्रमा नेपालको पहिचान बलियो बनाउने तथा देशको प्रतिष्ठा उकास्ने विश्वास लिइएको छ ।
हिमालयन इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । हिमालयन इनर्जी लिमिटेडले साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ । यसका लागि आईपीओ निष्काशन र बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई दिइएको छ । मंसिर १ गते काठमाडौंमा आयोजित समारोहमा सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा हिमालयन इनर्जीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जीको आईपीओ निष्काशन प्रक्रिया व्यवस्थापन गर्नेछ । कम्पनीले निर्माण गरिरहेको 'कालिन्चोक जलविद्युत आयोजना' दोलखा जिल्ला, कालिन्चोक–१ थामी गाउँमा अवस्थित छ र यसले ३ मेगावाट बिजुली उत्पादन गर्ने क्षमता राख्छ । २०८१ असोज ११ गते सम्पन्न साधारण सभाले कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ (५ लाख कित्ता सेयर) पारित गर्दै, त्यसको २० प्रतिशत (१० लाख कित्ता) सेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको थियो । हिमालयन इनर्जी लिमिटेडले कालिन्चोक आयोजना बाहेक अन्य सम्भावित ऊर्जा र पूर्वाधार परियोजनामा लगानी प्रवद्र्धन गर्ने दीर्घकालीन रणनीति पनि बनाएको छ । कम्पनीले ऊर्जा उत्पादन र लगानी क्षेत्रमा दिगो विस्तार गर्दै राष्ट्रिय ऊर्जा विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ । यसले परियोजनालाई समयमै सम्पन्न गरी राष्ट्रिय विद्युत प्रणालीमा योगदान पु¥याउने योजना पनि बनाएको छ ।
गुहेश्वरी–गोकर्णेश्वर खण्ड सफाइ गरिँदै, बागमती किनारका अलपत्र सवारी हटाइँदै
काठमाडौं । बागमती नदीको गुहेश्वरी-गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका ५ जम्बुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए । जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ । ढल फुटेका कारण सडकमा पनि क्षति पुगेको छ । ढल मर्मत पनि सुरु गरिएको छ । साथै, गुहेश्वरीबाट माथिल्लो तटीय क्षेत्रमा नदी थ्रुपिएको बालुवा तथा फोहोर पनि हटाइने भएको छ । यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक तयारी गरिरहेको छ ।
एनपिएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १६७ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा मंगलबार कर्णाली याक्सले चितवन राइनोजलाई जितका लागि १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनाएको हो । कर्णालीका लागि ओपनर प्रियाङ्क पन्चालले सर्वाधिक ९० रनको योगदान दिए । उनी शतक बनाउनबाट १० रनले चुके । पहिलोपटक एनपिएल खेलिरहेका पञ्चालले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाएका हुन् । यस संस्करणमा अर्थशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् । त्यसैगरी कर्णालीका लागि म्याक्स ओडाउडले ३० बलमा एक चौका हान्दै २० रन बनाए । मार्क वाटले २१ बलमा एक चौकाको मद्दतमा १६, पवन शर्राफले अविजित २७ तथा नाजिबुल्लाह जद्रानले अविजित चार रन बनाए । अहिले चितवन राइनोजले कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।
भारत दशकको अन्त्यसम्म विश्वकै अग्रणी सौर्य उत्पादक बन्ने दिशामा
काठमाडौं । भारत यो दशकको अन्त्यसम्म विश्वकै अग्रणी सौर्य उत्पादक बन्ने दिशामा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत विश्वका सबैभन्दा ठूला सौर्य ऊर्जा (पीभी) उत्पादन केन्द्रहरू मध्ये एक बन्ने लक्ष्यसहित तीव्र गतिमा अगाडि बढिरहेको हो । २०२५ देखि २०२९ को बीचमा करिब २१३ गिगावाट (जीडब्ल्यू) नयाँ सौर्य क्षमता जडान हुने अनुमान गरिएको छ । त्यस्तै, मोड्युल उत्पादन क्षमता २८० जीडब्ल्यू नाघ्नेछ भने सेल उत्पादन क्षमता २०२५ को २६ जीडब्ल्यूबाट बढेर २०२९ सम्म करिब १७१ जीडब्ल्यू पुग्ने प्रक्षेपण गरिएको छ । यी तथ्यांकहरू अन्तर्राष्ट्रिय अनुसन्धान संस्था ईयूपीडी रिसर्चद्वारा जारी ‘इन्डियाज सोलर सर्जस् द नेक्स्ट लूमिङ पीभी प्राइस शक ?’ शीर्षकको ताजा रिपोर्टमा समेटिएका हुन् । रिपोर्टअनुसार भारतको सौर्य ऊर्जा क्षेत्र अब परिपक्वता, प्रविधि र वैश्विक महत्त्वाकांक्षाको नयाँ चरणतर्फ प्रवेश गरिरहेको छ । यसमा सरकारी पहलभन्दा बढी प्रतिस्पर्धा, प्रविधि र दिगोपनलाई प्राथमिकता दिइन थालेको उल्लेख छ । भारतीय सौर्य उद्योगको तीव्र विस्तारले देशलाई निर्यातका असाधारण अवसर प्रदान गर्दैछ । रिपोर्टका अनुसार यदि उत्पादन क्षमताको ६५ प्रतिशत मात्र उपयोग भयो भने पनि भारतले २०३० सम्म १४३ जीडब्ल्यू सौर्य मोड्युल निर्यात गर्न सक्छ। यो उत्पादन स्तर धेरैजसो निर्माताका लागि लागत उठ्ने न्यूनतम बिन्दु मानिन्छ । अमेरिका परम्परागत रूपमा भारतको प्रमुख निर्यात बजार रहे पनि त्यहाँका कडा हुँदै गएका व्यापार नियमका कारण भारतीय कम्पनीहरूले अब युरोप, मध्यपूर्व र अफ्रिकाजस्ता नयाँ बजारमा उच्च प्राथमिकता दिनुपर्ने अवस्था आएको विश्लेषण गरिएको छ । ईयूपीडी ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्कुस ए.डब्ल्यू. होएनरका अनुसार भारतको सोलर म्यानुफ्याक्चरिङ क्षमतामा आएको तीव्र वृद्धिले ठूलो मात्रामा उत्पादन बढेको छ । अब देशको लक्ष्य विश्वस्तरको प्रतिस्पर्धामा केन्द्रित हुनुपर्छ। बलिया बजार, तिनका आवश्यकता र उदीयमान दिगोपन तथा गुणस्तर मापदण्डहरू पूरा गर्नु दीर्घकालीन सफलताका लागि महत्त्वपूर्ण हुनेछ । पछिल्ला एक वर्षमा भारतको लागत संरचनामा उल्लेखनीय सुधार देखिएको छ । टपकन (टनल अक्साइड पासिभेटेड कन्ट्याक्ट) मोड्युलको मूल्यमा भारत–चीनबीचको अन्तर २०२४ को सुरुवातमा रहेको ९/डब्ल्यू डलरबाट घटेर २०२५ को अक्टोबरमा ५.७/ डब्ल्यूमा झरेको छ । यस सुधारमा अटोमेशन, ठूलो मात्रामा उत्पादन, इण्टिग्रेशन र उत्पादन दक्षता बढ्नु मुख्य कारण रहेको रिपोर्टमा उल्लेख छ । यद्यपि भारतको न्यूनतम दिगो मूल्य चीन र दक्षिण–पूर्व एसियाभन्दा अझै पनि १४–१७ प्रतिशत महँगो छ, जसले थप प्रविधि तथा सञ्चालन सुधार आवश्यक रहेको संकेत गर्दछ । युरोपजस्ता दिगोपनलाई ठूलो प्राथमिकता दिने बजारमा भारतलाई केही संरचनागत फाइदा रहेको देखिन्छ । भारतबाट युरोपसम्म ढुवानी लागत मोड्युल मूल्यको करिब ५ प्रतिशत पर्छ भने चीनबाट भने ८.७ प्रतिशत । भारत–युरोप मार्गमा ढुवानी गर्दा हुने कार्बन उत्सर्जन चीनको तुलनामा ६५ प्रतिशत कम रहेको छ । यी कारणहरूले यूरोपेली संघ (ईयू) का औद्योगिक तथा कार्बन–सम्बन्धी दिगो मापदण्ड पूरा गर्न भारतका उत्पादकहरूलाई थप सहयोग पुर्याउने आँकलन गरिएको छ । दक्षिण अमेरिकामा वर्चस्व राख्दै चिनियाँ ईभी
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूको भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरका नेताहरूबीच बालुवाटारमा करिब दुई घन्टा लामो बैठक भएको छ । उक्त बैठकमा सुरुदेखि नै विशेष महाधिवेशनको माग राख्ने देवराज चालिसे, गुरुराज घिमिरे, राजेन्द्र बजगाईं, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा र सन्दीप निरौला सहभागी रहेको एक नेताले बताए । बैठकका उद्देश्य र छलफलका विषयहरू भने सार्वजनिक भएका छैनन् । विशेषतः फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको विषयमा कुराकानी भएको एक नेताले जानकारी दिए ।