सुनचाँदीको मूल्य फेरि बढ्यो, सुनको मूल्य तोलामा दुई लाख ४२ हजार
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मंगलबारको तुलनामा बुधबार दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले बढेको छभने त्यति नै परिमाणको चाँदी ६० रुपैयाँले बढेको छ । बुधबार एक तोला सुनको मोल दुई लाख ४२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १५० रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रधानमन्त्री कार्कीले बोलाइन् सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले हालसम्म सञ्चालन गरेका गतिविधि, निर्णय र आगामी योजनाबारे राजनीतिक दलहरूलाई अवगत गराउने उद्देश्यले बुधबार (आज) एक महत्त्वपूर्ण सर्वदलीय बैठक आह्वान गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने बताइएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बैठकका लागि निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई निमन्त्रणा पठाइएको छ । वर्तमान राजनीतिक परिस्थितिमा सरकारका कदम, प्रशासनिक प्रक्रियाहरू, कानुनी तयारी, तथा आगामी निर्वाचन व्यवस्थापनलगायत विषयमा दलहरूलाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले बैठक आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी हुने तयारीमा रहेको प्रवक्ता महतले जानकारी दिए । अन्तिम क्षणसम्म सहभागी सूचीमा केही परिवर्तन हुन सक्ने प्रवक्ता महतले बताएका छन् । यस्तै, नेकपा एमालेले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने निर्णय दोहोर्याएको छ । प्रवक्ता राजेन्द्र गौतमका अनुसार यही निर्णय कार्यान्वयन हुने सम्भावना उच्च छ । नेपाली कम्युनिष्ट पार्टीबाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी हुने निश्चित भएको छ । तर परिस्थितिअनुसार राजेन्द्र पाण्डे सहभागी हुने र दुवै नेतामध्ये एक जना पछि हट्न सक्ने विकल्प पनि खुला राखिएको कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए ।
अधिक तरलता कायमै रहेपछि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब निक्षेप तान्दैछ । निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले बुधबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ माघ १८ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।
५० वर्षअघि हत्या हुनबाट बचेकी हसिना भारतबाट गएर फाँसीमा चढ्न तयार छिन् ?
काठमाडौं । यतिखेर विश्वभरका सञ्चारमाध्यममा बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको मृत्युदण्डको सजायको विषयमा व्यापक बहस भइरहेको छ । सोमबार बंगलादेशको अदालतले मानवताविरुद्धको अपराधमा उनलाई मृत्युदण्डको सजाय सुनाएपछि यो विषयले प्राथमिकता पाएको हो । फैसलापछि बंगलादेश सरकारले हसिनालाई ढाकासमक्ष हस्तान्तरण गर्न भारतलाई आग्रह गरेको छ । तर, भारतले भने त्यसको जवाफ दिएको छैन । आन्दोलनबाट सत्तापलट भएपछि हसिना भारतमा निर्वासित छिन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिले भारतले हसिनालाई बंगलादेशका नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा कुनै औपचारिक निर्णय गरिएको छैन । शेख हसिना बंगलादेशकी सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीमा रहेर काम गर्ने व्यक्तिका रूपमा परिचित छिन् । अहिले उनलाई मृत्युदण्डको सजाय सुनाइएपछि उनको एउटा विषयले प्राथमिकता पाएको छ- त्यो हो हत्याकाण्ड । पाँच दशकअघि एक मध्यरातको हत्याकाण्डबाट बचेकी उनका परिवारका अधिकांश सदस्यसहित उनका पिता तथा बंगलादेशका संस्थापक राष्ट्रपति शेख मुजीबुर रहमानको हत्या भयो । तिनै शेख हसिनालाई अहिले मानवताविरुद्धको अपराधको आरोपमा मृत्युदण्ड सुनाइएको छ । गत वर्ष देशव्यापी आन्दोलनका कारण ढाकामा सत्ता परिवर्तन भयो र ७८ वर्षीया हसिना भारत भाग्नु परेको थियो । ‘जुलाई आन्दोलन’ का क्रममा प्रदर्शनकारीहरूको हत्या गर्न आदेश दिएको अभियोगमा उनलाई दोषी ठहर गर्दै ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिनाले विद्यार्थी प्रदर्शनकारीहरू विरुद्ध आक्रमण गराउन उक्साएको र उनीहरूलाई सुरक्षा दिन असफल भएको उल्लेख गरेको छ । फैसला आउनुअघि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै हसिनाले यो मुद्दा नक्कली र राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको आरोप लगाएकी थिइन् । उनले अन्तरिम सरकार प्रमुख तथा नोबेल विजेता मोहम्मद यूनुसले आफ्नो पार्टीलाई समाप्त पार्ने उद्देश्य राखेको दाबी उनको छ । उनले बंगलादेशी जनताका लागि आफ्नो योगदान जारी रहने र अन्यायका सबै अध्यायहरूको हिसाब एक दिन किताबमा आउने बताएकी छन् । हत्याकाण्डबाट बचेकी सन् १९७५ जुलाईमा हसिना र उनकी बहिनी रेहाना जर्मनी उडे । जहाँ हसिनाका पति तथा भौतिकशास्त्री एम.ए. वाजेद मियाँ कार्यरत थिए । परिवारका सबै सदस्य उनीहरूलाई बिदाइ गर्न विमानस्थल पुगेका थिए । एक अन्तर्वार्तामा उनले त्यो बिदाइको क्षण सम्झिँदै भनेकी छन्, मेरा पति विदेशमै हुनुहुन्थ्यो, म बाबु नानीहरूसँगै बस्थें, त्यो दिन सबैजना आएका थिए—बुबा, आमा, तीनजना भाइ, ती दुवै भाउजूहरू ।’ १५ अगस्ट १९७५ मा मुजीबुर रहमान, उनकी पत्नी, तीन छोरा र दुई बुहारीहरूलाई ढाकाको धानमण्डीस्थित निवासमै हत्या गरियो । बंगलादेशी सेनाको एक समूहले घर घेराबन्दी गर्दै ३६ जनाको हत्या गर्यो । जुन विश्वकै सबैभन्दा रक्तरंजित सैनिक ‘कूप’ मध्ये एक थियो । यो घटनापछि हसिनासहित उनका पति, छोराछोरी सजीब वाजेद र साइमा वाजेद तथा उनकी बहिनी रेहानाले भारतमा शरण लिएका थिए । लोकप्रिय नेतृ सन् १९८१ मा जब उनी अझै भारतमै थिइन्, शेख हसिना आफ्ना पिता नेतृत्व गरेको आवामी लीगको अध्यक्ष निर्वाचित भइन् । सन् १९९१ को निर्वाचनपछि बंगलादेश नेशनल पार्टीले सरकार गठन गर्यो र आवामी लीग मुख्य प्रतिपक्ष बन्यो । हसिना प्रतिपक्ष नेतृका रूपमा परिचित भइन् । सन् १९९६ को निर्वाचनमा आवामी लीगले बलियो प्रदर्शन गर्दै उनी प्रधानमन्त्री बनिन् । सन् २००९ मा पुनः निर्वाचित हुँदै उनी गत वर्ष सत्ताच्यूत हुने समयसम्म लगातार प्रधानमन्त्री रहिन् । उनको प्रधानमन्त्रीकालमा भारत–बंगलादेश सम्बन्ध अत्यन्त सुदृढ बन्यो । सीमा सुरक्षा, पूर्वाधार विकास, आतंकवाद विरुद्ध सहकार्य आदि यस कालखण्डका मुख्य उपलब्धि ठहरिन्छन् । त्यही लामो मित्रताको आधारमा बंगलादेशमा भएको सत्ता परिवर्तनपछि समेत भारतले नयाँ सरकारले निरन्तर प्रत्यर्पण माग गरिरहँदा पनि हसिनालाई शरण दियो । सत्ताच्युत प्रधानमन्त्री चौथो कार्यकाल सुरु गरेको केही महिनामै १९७१ का स्वतन्त्रता सेनानी (मुक्तिजोध्दा) का परिवारलाई रोजगारी तथा शिक्षामा दिइने आरक्षण (कोटा) विरुद्ध बंगलादेशभरि व्यापक विरोध सुरु भयो । उनी सो विषयमा लचिलो नबेनेपछि आन्दोलन ज्वाला झैँ फैलियो । कोटा विरोध आन्दोलन ‘हसिना हटाऊ आन्दोलन’ मा परिणत भयो । हसिनाले कडा दमन गरिन् । आन्दोलनमा एक हजार बढी विद्यार्थी मारिए । उनको दमन विफल भयो, आन्दोलनकारीहरू प्रधानमन्त्री कार्यालयसम्म पुगे, र अन्ततः हसिना बहिनी रेहानासहित भारत भाग्न बाध्य भइन् । उनी त्यतिबेलादेखि भारतमै छिन् । निर्वासनमा सजाय सत्ताच्युत भएको १५ महिनापछि पूर्व प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै बंगलादेशको अदालतले मृत्युदण्ड सुनाएको छ । अदालतले उनले हिंसा उक्साएको, प्रदर्शनकारीहरूको हत्या गर्न आदेश दिएको, र नागरिक सुरक्षामा असफल भएको फैसला सुनाएको छ । अदालतले समन्स हुँदाहुँदै उनी मुद्दामा उपस्थित नभएको र उनी लुकेर बस्नु नै दोषको प्रमाण भएको टिप्पणी गरेको छ । हसिनाले यो फैसलालाई पूर्णतः अस्वीकार गर्दै आफूलाई प्रतिरक्षा गर्ने उचित अवसर नदिइएको आरोप लगाएकी छन् । उनले ‘अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण’ लाई निष्पक्ष नभएको बताउँदै यो अदालतको फैसला पहिले नै तय गरिएको उल्लेख गरेकी छन् । ‘दुनियाँ कुण्ठित न्यायविद्हरू मात्र यस्तो निर्णयलाई समर्थन गर्न सक्छन्,’ आवामी लीगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटा वैध लोकतान्त्रिक सरकारविरुद्ध व्यक्तिगत प्रतिशोध बाहेक यसको अन्य कुनै पनि उद्देश्य होइन ।’ एनडीटीभीको सहयोगमा ।
तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति
दमौली । हालैको वर्षाले तनहुँमा एक करोड रुपैयाँ बराबरको धानबालीमा क्षति भएको छ । कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लाको धानबालीमा एक करोड तीन लाख ७३ हजार पाँच सय ४१ रुपैयाँ बराबरको क्षति भएको छ । जिल्लाका घिरिङ, म्याग्दे, आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाको तीन सय तीन मेट्रिक टन धानमा क्षति पुगेको छ । घिरिङमा चार लाख ८६ हजार रुपैयाँ, म्याग्देमा १४ लाख ६० हजार रुपैयाँ, आँबुखैरेनीमा २६ लाख ८२ हजार ९४३ रुपैयाँ र व्यास नगरपालिकामा ५७ लाख ४४ हजार ५९७ रुपैयाँ बराबरको क्षति भएको हो । घिरिङमा ९.८ हेक्टरमा १८.२ मेट्रिक टन, म्याग्देमा १०.६२ हेक्टरमा ४२.१६ मेट्रिक टन, आँबुखैरेनीमा १९.५१ हेक्टरमा ७७.४७ मेट्रिक टन र व्यास नगरपालिकामा ९५.८ हेक्टरमा १६५.८८ मेट्रिक टन धानमा क्षति भएको छ । तनहुँका विभिन्न भागका आठ हजार ७२० हेक्टरमा धानखेती हुने गरेको छ । केन्द्रका अनुसार आव २०८०÷८१ मा सात हजार ६४२ हेक्टरमा खेती गरिएकामा आठ हजार ७२० मेट्रिक टन धान उत्पादन भएको थियो । तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर,लगायतका धानखेती हुने गरेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्र धानखेतीका लागि प्रख्यात छ । तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर छ । एकाउन्न हजार ५१० हेक्टरमा मात्र खेती भइरहेको छ ।
ङादी ग्रुप पावरको लाभांश घोषणा
काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) सहित कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । घोषित लाभांश पारित गरी वितरणका लागि कम्पनीले मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा हुनेछ । साधारण सभाले लाभांश प्रस्ताव पारित गर्नेबाहेक, बोनस सेयर वितरणपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । साथै, कम्पनीले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्नेछ । चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालकहरूको नियुक्ति अनुमोदन तथा समितिबाट भएका निर्णय र कार्य अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
५ करोडमा बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण हुँदै
तनहुँ । व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण भइरहेको छ । तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको ३७ प्रतिशतमात्र काम पूरा भएको छ । पूर्वाधार विकास कार्यालयका इन्जिनियर रवीन्द्र तिवारीका अनुसार निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको २५ मिटर लामो पुलको गडरमध्ये एक भाग भत्काएर पुनर्निर्माण थालिएको छ । हाल ‘फाउण्डेसन’को काम जारी छ । पुलको लागत पाँच करोड १० लाख ३३ हजार रुपैयाँ हो ।
बालाचतुर्दशी : डोलेश्वर, ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज
भक्तपुर । डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर जाग्राम बसी आज बालाचतुर्दशीका दिन शतबीज छर्नेको भीड लागेको हो । चाँगुनारायण र सूर्यविनायकका विभिन्न शिवालयमा पनि शतबीज छर्नेको भीड लागेको छ । केही वर्ष अगाडिसम्म शतबीज छर्न पाशुपत क्षेत्र जाने गरेका यहाँका स्थानीय डोलेश्वर मन्दिरमा चौघेरा सत्तल र १०८ शिवलिङ्गको निर्माण भएसँगै डोलेश्वर महादेवको मूल दीपबाट बत्ती सल्काएर यहीँ महादीप बालेर शतबीज र्छन थालेका हुन् । त्यसैगरी, चाँगुनारायण नगरपालिका–५गोकुलधाम एवं मच्छेनारायण मन्दिर, सूर्यविनायकको सिपाडोलस्थित आशापुरी महादेव गुण्डुको अनन्तलिङ्श्वर मन्दिर परिसरमा स्थानीयले शतबीज छरेका छन् ।