काभ्रेमा बस दुर्घटना, सात जनाको शव फेला
काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पा चोक जाँदै गरेको बस दुर्घटनामा परेको हो । सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा सात जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । घाइते १५ जनालाई उपचारका लागि अस्पताल पठाइएको प्रवक्ता रविन विष्टले जानकारी दिए । घटनास्थलमा प्रहरीमार्फत उद्धार कार्य जारी रहेको उनले विकासन्युजलाई जानकारी दिए । घटनास्थलमा उद्धार कार्य भइ रहेकाले थप विवरण आउन बाँकी रहेको उनले बताए ।
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन दिने निर्णय गरेको छ । त्यसैगरी, बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को म्याद थप गर्ने निर्णय गरेको छ । कार्यदलको कामलाई पूर्णता दिनका लागि आगामी २०८३ असार मसान्तसम्म म्याद थप गरिएको हो । त्यस्तै, सरकारले लेखामान बोर्डको अध्यक्षमा सिन्धुपाल्चोक निवासी रमेशकुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको छ ।
निजी क्षेत्रलाई विद्युत व्यापार र प्रसारण लाइनमा अनुमति दिनुपर्छ : वरिष्ठ उपाध्यक्ष डाँगी
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले देशको आर्थिक उन्नतिका लागि विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई तत्काल अनुमति दिनुपर्ने माग गरेका छन् । इप्पानको २४ औं वार्षिक साधारण सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष डाँगीले छिमेकी मुलुक भारतमा ऊर्जा व्यापारमा निजी क्षेत्रको ५० प्रतिशत हिस्सा रहे जस्तै नेपालमा पनि बिजनेस टु बिजनेस व्यापार गर्न सक्ने कानुनी व्यवस्था गरी निजी क्षेत्रलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । नेपालमा जलविद्युतको ११५ वर्षको इतिहासलाई केलाउँदै उनले राणा शासन र पञ्चायत कालको झन्डै ९० वर्षको अवधिमा जम्मा २५४ मेगावाट विद्युत उत्पादन भएकोमा २०४७ सालको प्रजातन्त्रपछि सरकारले विद्युत नीति २०४९ र विद्युत ऐन २०४९ जारी गरेर निजी क्षेत्रलाई सहभागी गराएपछि ऊर्जा क्षेत्रमा क्रान्ति आएको बताए । उनकाअनुसार पछिल्लो २५ वर्षको अवधिमा देशको कुल विद्युत उत्पादन झन्डै ४३०० मेगावाट पुग्दा उत्पादित विद्युत मध्ये झन्डै ३५०० मेगावाट निजी क्षेत्रकै लगानीबाट सम्भव भएको हो । वर्तमान नेपाल सरकारले सन् २०३५ सम्ममा ३० हजार मेगावाट विद्युत उत्पादन गरी भारतलाई १० हजार मेगावाट र बंगलादेशलाई ५ हजार मेगावाट निर्यात गर्ने तथा १५ हजार मेगावाट नेपालमै खपत गर्ने लक्ष्य लिएको सन्दर्भ जोड्दै उनले यो लक्ष्य हासिल गर्ने दायित्व सबैको भएको उल्लेख गरे । इप्पानमा आबद्ध १२० कम्पनीहरू र झन्डै ७० लाख लगानीकर्ताहरूको सक्रियताले यो लक्ष्य पुरा गर्न सम्भव रहेको उनको दाबी छ । ऊर्जा उत्पादनमा गरिएको लगानीले देशलाई छोटो समयमै समृद्धिको मार्गमा लैजान सक्ने र प्रति मेगावाट वार्षिक झन्डै ३ करोड रुपैयाँ आय हुने भएकाले यो क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको डाँगीले स्पष्ट पारे । तर, सरकारले सन् २०३५ सम्मको यो महत्वाकाँक्षी लक्ष्य पुरा गर्नका लागि वन र वातावरण मन्त्रालयका विकास विरोधी नीति नियमहरूलाई तत्काल परिमार्जन गरी ऊर्जा मैत्री बनाउन जरुरी रहेको तर्फ समेत उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
बैंकिङ कसुरमा बर्दिबास नगरपालिका वडाध्यक्ष पक्राउ
जलेश्वर । प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ । महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत वैशाख २२ गते बिहीबार पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी बैंकिङ कसुरसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए ।
शुलभको दावी– चेकमा हस्ताक्षरमात्र गर्थेँ
काठमाडौं । शुलभ अग्रवालले दीपक भट्टसँग व्यावसायिक क्रममा चिनजान भएको बयान दिएका छन् । काठमाडौं जिल्ला सरकारी वकिलले अदालतमा पेश गरेको अभियोग पत्रमा उनले व्यापार व्यवसायको क्रममा चिनजान भएको उल्लेख गरेका हुन् । भट्टसँग चिनजान भएपछि सापटी रकम दिने गरेको उनले बताएका छन् । आफ्नो संलग्नतामा सौर्य सिमेण्ट, ऋद्धिसिद्धि सिमेण्ट, जगदम्बा सिन्थेटिक र एसजी वर्ल्ड लगायतका कम्पनीहरू रहेको उनको भनाइ छ । ‘अन्दाजी ३० वटा प्रालि कम्पनीहरू हुनुपर्छ, अन्यको नाम हाल याद भएन । अंशबण्डा भएपछि सो कम्पनीमा पछि भाइ शाहिल अग्रवालको भागमा पर्यो र निज समेतको नाममा दर्ता भयो,’ उनले बयानमा भनेका छन्, ‘मैले बेलायतमा अध्ययन सकाई नेपाल फर्केपश्चात सो कम्पनीमा बुवाले खाता संचालकमा मेरो नाम राख्नु भएको हुँदा हस्ताक्षरमा म समेतको नाम रहेको छ । मैले सुरुमा बुवाको र भाइ शाहिल अग्रवालको भागमा परे पश्चात भाईको आदेशले हस्ताक्षर गर्ने गरेको छु ।’ जगदम्बा स्टील्स लिमिटेडको चेकमा मात्र आफ्नो दस्तखत चल्ने र कुनै कारोबारमा हस्ताक्षर गर्ने नगरेको सुलभले बयानमा खुलाएका छन् । सुरुदेखि सो कम्पनीमा चेकमा दस्तखत गर्ने (खाता सञ्चालक) को रूपमा मात्र रहेको उनले प्रस्ट पारेका छन् । मिसिल संलग्न रहेका एनआइएमबीको केवाइसी फर्म देखाउँदा थाहा पाएको सुलभले उल्लेख गरेका छन् । केवाइसी फर्ममा खाता सञ्चालक भएको नाम र डिक्लिर्यसनमा रहेको हस्ताक्षर आफ्नो रहेको उनले प्रस्ट बयान दिएका छन् । जगदम्बा स्टील्सको नाममा सञ्चालनमा रहेका खाताहरूमा हाल खाता सञ्चालक नभएको तर हस्ताक्षरकर्ता मात्र रहेको उनले बताएका छन् । ‘मेरो नाममा एनआइएमबी, प्रभु बैंक, कुमारी बैंक, सानिमा बैंक, ग्लोबल बैंक, एभरेष्ट बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक लगायतका बैंकहरूमा खाता सञ्चालनमा रहेका छन्,’ उनले भनेका छन् । जगदम्बा स्टील्सको एनआइएमबीको केवाइसी फर्ममा शुलभ अग्रवालसमेत शाहिल अग्रवाल, शंकरलाल अग्रवालको नाममा खाता सञ्चालकको रूपमा उल्लेख छ । उनले यो केवाइसी सन् २०१८ को भएको बताएका छन् । शुलभले भाइ शाहिल अग्रवाल र व्यवस्थापकको आदेशले मात्र चेकहरुमा दस्तखत मात्र गरेको बयान दिएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कृषिव अग्रवालको खाता नम्बर ००१०५०३०२७४४५६ को चेकहरुमा भएको हस्ताक्षर आफ्नो रहेको स्वीकारेका छन् । कृषिव अग्रवाल मेरो जेठो छोरा रहेको र उक्त खाता छोरा नाबालक हुँदाको अवस्थामा खोलेको उनले बताए । दीपक भट्टले सापटी रकम माग गर्दा छोरा कृषिवको खातामा भएको रकम छोरालाई भनेर चेक मार्फत भुक्तानी गरिदिएको उनले बताएका छन् । ‘रकमको स्रोत सम्बन्धमा कारोबार हेर्नु पर्ने हुन्छ । दीपक भट्टले मलाई सापटी मागेको हुँदा उक्त रकम दिएको हुँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि।को शुभी अग्रवालको खाता नं।००७०५०३०२७३४९७ को चेक न। ३०३०५७१०७८०५०१ भएको चेक दीपक भट्टले मलाई सापटी रकमको लागी आग्रह गरेको हुँदा मैले श्रीमती शुभी अग्रवाललाई आग्रह गरि उक्त रकम दिन लगाएको हुँ,’ उनले भनेका छन्, ‘म उद्योगी भएको हुँदा मैले दीपक भट्टलाई दिएको सबै रकमको स्रोत छ । जगदम्बा स्टील्स लिमिटेडले के कुन शीर्षकमा लिएको कर्जा रकम भुक्तानी गरेको मलाई थाहा छैन ।’
कालिकोटका बाढी तथा आगलागी पीडितलाई आइजीआई प्रुडेन्सियलको सहयोग
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेशको कालिकोट जिल्लामा प्राकृतिक विपत्तीबाट प्रभावित तथा विस्तापित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । असोज १८ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण शुभ कालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका विभिन्न वडामा ठूलो क्षति पुगेको थियो । साथै केही स्थानमा आगलागीबाट समेत घरपरिवार प्रभावित भएका थिए । कुल ५७ घरपरिवार पूर्ण रूपमा क्षति भई विस्थापित भएको अवस्थामा ती परिवारहरूको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले १ लाख रुपैयाँ बराबरका ३२ थान सिरक खरिद गरी राहतस्वरूप उपलब्ध गराएको हो । कम्पनीको केन्द्रिय कार्यालय, पानीपोखरी काठमाडौंमा आयोजित कार्यक्रममा उक्त राहत सामग्री कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई हस्तान्तरण गरिएको हो । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सहयोग हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्य निरन्तर गर्दै जाने प्रतिबद्धता जनाए । उनले राहत तथा पुनःस्थापनाका लागि सहकार्य गर्ने कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई धन्यवाद पनि दिए । त्यस्तै, कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीले विपत्तिपीडितका लागि गरिएको यस सहयोगको प्रशंसा गर्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स परिवारप्रति आभार व्यक्त गरे ।
सगरमाथा आरोही सुधिज्ञ पन्त र साईत शर्मालाई आइसीएफसी फाइनान्सले गर्यो सम्मान
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी राष्ट्रको गौरव बढाएको योगदानको कदर गर्दै आरोही सुधिज्ञ पन्त र साईत शर्मालाई सम्मान गरिएको छ । आइसीएफसी फाइनान्स लिमिटेडद्वारा आयोजित विशेष समारोहमा उनीहरूलाई सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गरिएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष सुशीलकुमार अर्याल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । समारोहमा बोल्दै प्रमुख अतिथि अर्यालले सगरमाथा आरोहण व्यक्तिगत सफलतामात्र नभई सम्पूर्ण राष्ट्रको पहिचान र गौरवसँग जोडिएको विषय भएको उल्लेख गरे । उनले यस्ता उपलब्धिहरूले नेपाली युवामा आत्मविश्वास, देशप्रेम र उच्च लक्ष्य हासिल गर्ने प्रेरणा दिने विश्वास व्यक्त गरे । सम्मानित आरोहीद्वयले आफ्नो अनुभव साझा गर्दै आरोहणका क्रममा सामना गर्नुपरेका जोखिम, चुनौती र सफलताका क्षणहरूबारे चर्चा गरे । उनीहरूले आफ्नो सफलतामा परिवार, सहयोगी संस्था तथा सम्पूर्ण शुभेच्छुकहरूको समर्थन महत्वपूर्ण रहेको बताए । कार्यक्रममा वक्ताहरूले नेपाललाई पर्वतीय पर्यटन र साहसिक खेलकुदको विश्व केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै आरोहीहरूको योगदानको प्रशंसा गरे । साथै, यस्ता प्रतिभालाई निरन्तर प्रोत्साहन र सम्मान गर्नुपर्नेमा जोड दिइयो । आइसीएफसी फाइनान्स लिमिटेडले आगामी दिनमा पनि खेलकुद, पर्यटन, सामाजिक तथा राष्ट्रिय गौरवसँग सम्बन्धित क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
चीन भ्रमण जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने छन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम छ। परराष्ट्रमन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।