विकासन्युज

इन्जिनियरमाथि कुटपिट गर्ने मल्ल दाजुभाई पक्राउ

काठमाडौं । धादिङमा  इन्जिनियरमाथि कुटपिट गरी फरार रहेका दुई व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रमुख सन्तोष खडकाले इन्जिनियरमाथि कुटपिट ४० वर्षीय भीम मल्ल र ५७ वर्षीय विक्रम भन्ने बलबहादुर मल्ललाई पक्राउ गरिएको  जानकारी दिए । उनका अनुसार मल्ल दाजुभाइ निलकण्ठ नगरपालिका ४ का हुन् । इजरा खानेपानी आयोजनाको साइट निरीक्षणका लागि धादिङ पौवा जाँदै गरेका सप्तरीको सप्तकोशी नगरपालिका-२ निवासी सब-इन्जिनियर हबेन्द्र कुमार यादव माथि कुटपिट भएको हो। केही दिनअघि नीलकण्ठ नगरपालिका–४ धादिङ पौवामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवन अन्तर्गत धादिङ शाखा कार्यालयमा कार्यरत सब-इन्जिनियरमाथि कुटपिट भएको थियो । घटनामा मोटरसाइकल चालक चितवनको भरतपुर महानगरपालिका-९ निवासी सब-इन्जिनियर सुरेश आले मगरमाथि पनि आक्रमण भएको थियो ।  मल्लले मुक्का प्रहार गर्दा सब इन्जिनियर यादवको दाँत हल्लिनुका साथै बङ्गारा नजिकको हड्डी समेत भाँचिएको एक्सरे रिपोर्टबाट पुष्टि भएको छ।  उनलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित बी एन्ड बी अस्पताल ग्वार्को ल्याइएको प्रहरीले जनाएको छ।

होल्डिङ सेन्टरमा रहेका नागरिकलाई सरकारले निःशुल्क बीमा सुविधा दिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा प्रदान गर्न तयारी तीव्र पारेको छ । सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक कार्यविधि निर्माणको तयारी भइरहेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमाका साथै बालबालिकाहरूका लागि बाल शैक्षिक योजनाको समेत सुविधा उपलब्ध गराउने योजना बनाएको छ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, स्वास्थ्य बीमा बोर्ड र नेपाल राष्ट्र बैंकले आवश्यक तयारी गरेका हुन् । हाल काठमाडौं उपत्यकाभित्रका विभिन्न ६ वटा होल्डिङ सेन्टरमा करिब एक हजार चार सय ८८ जना आश्रय लिँदै आएका छन् ।  जसमध्ये ९५ प्रतिशतभन्दा बढीको डिजिटल लगत संकलन भइसकेको छ । बाँकी रहेका झण्डै पाँच प्रतिशतको पनि विवरण समेटेर सरकारले उपलब्ध गराएको पहिचान कार्ड वा अन्य कुनै आधिकारिक माध्यमबाट पहिचान गरी बीमा प्रक्रियामा सहजीकरण गरिनेछ । बीमा कार्यक्रमको सम्पूर्ण लागत तथा प्रिमियम खर्च सरकारले नै बेहोर्नेछ । बीमाका लागि आवश्यक पर्ने प्रिमियम रकमको स्रोत सुनिश्चित भइसकेको छ । सुरुवाती चरणमा काठमाडौं उपत्यकाबाट यो कार्यक्रम सुरु गरेर कम्तीमा १० वर्षसम्म यसलाई निरन्तरता दिने योजना बनाइएको छ । हाल विद्युतीय लगत प्रणालीमा समेटिएकाहरूबाट सुरु हुने यो कार्यक्रम आगामी दिनमा देशभरका अन्य जिल्ला र प्रदेशका भूमिहीनहरूमा समेत विस्तार गर्दै लैजाने सरकारको लक्ष्य छ ।

अध्ययन भिसा सिफारिसमा अनियमितताबारे कारबाही अघि बढाउन गृह मन्त्रालयलाई पत्राचार

काठमाडौं। अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । शिक्षा मन्त्रालयले बिहीबार गृह मन्त्रालयलाई पठाएको पत्रमार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातहरूमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पत्राचाक गरेको हो । मन्त्रालयका अनुसार काठमाडौंस्थित वाल्मिकी विद्यापीठको नामबाट “एकेडेमिक अध्ययन भिसाका लागि सिफारिस सम्बन्धमा” भन्ने विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिस गरिएको थियो ।  तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थलगत अनुगमन गर्दा सिफारिस गरिएको विद्यार्थीको नाममा जारी गरिएको पत्र र त्यससँग संलग्न आम्दानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययनसम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ । अनुगमनका क्रममा उक्त व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरिरहेको दाबी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ ।  साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिदहरू समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ ।  यसै क्रममा मन्त्रालयले सोही विद्यापीठको नामबाट यसअघि प्राप्त अर्को पत्रसमेत नक्कली रहेको पाइएको जनाएको छ ।  मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानबाट पेश गरिएका कागजातहरूको विश्वसनीयतामाथि प्रश्न उठेकाले अध्ययन भिसाका लागि जारी गरिएको सिफारिस पत्रसमेत खारेज गरिएको छ । मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा उक्त घटनासँग सम्बन्धित सबै पक्षमाथि विस्तृत छानबिन गरी प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको हो ।  साथै अध्ययन भिसा सिफारिस प्रक्रियाको दुरुपयोग रोक्न सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको पनि औंल्याइएको छ । नेपालमा विदेशी विद्यार्थीलाई अध्ययनका लागि भिसा सिफारिस गर्दा सम्बन्धित शैक्षिक संस्थाबाट जारी भएका भर्ना, अध्ययन तथा शुल्कसम्बन्धी आधिकारिक कागजातका आधारमा प्रक्रिया अघि बढाइन्छ ।  अध्यागमन विभागले समेत अध्ययन भिसा सिफारिस गर्दा विद्यार्थी वास्तविक रूपमा अध्ययनमा संलग्न रहेको सुनिश्चित गर्नुपर्ने व्यवस्था छ ।  त्यस्तै, नेपाल सरकारका विभिन्न निकायहरूले भिसा वा वैदेशिक अध्ययनसम्बन्धी कुनै पनि प्रक्रियामा गलत, भ्रामक वा नक्कली कागजात पेश गरेमा कानुनी कारबाही हुन सक्ने भन्दै समय–समयमा सचेत गराउँदै आएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो घटनालाई अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको गम्भीर विषयका रूपमा लिएको छ । मन्त्रालयले अनुसन्धानको निष्कर्षका आधारमा थप प्रशासनिक तथा कानुनी निर्णय लिइने पनि स्पष्ट गरेको छ ।

उत्तम भ्लोन लामा समूहबाट ६ जना उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) मा उत्तम भ्लोन लामा समूहको तर्फबाट विभिन्न पदका ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।  निर्वाचन समितिले बिहीबार साँझ सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीअनुसार भ्लोनको समुहबाट उपमहासचिव पदमा हिमसिला पावर कम्पनी लिमिटेडकी अध्यक्ष कविता पोखरेल निर्विरोध निर्वाचित भएकी हुन् ।  सचिवहरुमा रिडी पावर कम्पनी लिमिटेड, साझा पावर कम्पनी लिमिटेड तथा भोजपुर शिवालय हाइड्रोपावर कम्पनी प्रालिका अध्यक्ष कुबेरमणि नेपाल, ग्रीन हाइडेल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक विजय मोहन भट्टराई, ह्वाइट लोटस पावर लिमिटेडकी कार्यकारी निर्देशक सुमन जोशी, युनियन हाइड्रोपावर लिमिटेड तथा चेन्ज नेपालकी अध्यक्ष अभिज्ञा मल्ल तथा तुन्डी पावर कम्पनी प्रालिकी उपमहाप्रबन्धक ईशा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।  सचिव पदमा सुरुमा ७ जनाको उम्मेदवारी परेको भए पनि दाबी विरोधमाथिको छानबिनपछि २ जनाको उम्मेदवारी खारेज भएको थियो । पद संख्या अनुसार कायम रहेका ५ उम्मेदवार स्वतः निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित सबै उम्मेदवार लामाको टिमका रहेका छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि उत्तम भ्लोन लामा र बलराम खतिवडा प्रतिस्पर्धामा छन् । इप्पानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । उपाध्यक्ष पदमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, बिक्रम बिष्ट, भरतप्रसाद नेपाल, भरतबहादुर खत्री, सुसन कर्माचार्य र हिमप्रसाद पाठक चुनावी मैदानमा छन् । सात उम्मेदवारमध्ये पाँच जना उपाध्यक्षमा निर्वाचित हुनेछन् । महासचिव पदका लागि टेकनाथ (टी.एन.) आचार्य र प्रकाशचन्द्र दुलालबीच प्रतिस्पर्धा हुनेछ भने कोषाध्यक्ष पदमा मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्याल उम्मेदवार छन् । खुलातर्फ सात सदस्य पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन् । महिलातर्फ तीन सदस्य चयन हुने व्यवस्था रहेकामा चार जनाको उम्मेदवारी परेको छ । खुला सदस्यतर्फ अनुप आचार्य, इन्दिरा पन्त, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, प्रदीप ओली, डा.भूषण गुरागाईं, मिलन खड्का, वर्णन लामिछाने, बाबुराम थापा, सकुन्द ओझा, सन्तोषराज नेपाल र सोमनाथ कँडेल प्रतिस्पर्धामा छन् ।  महिला सदस्यतर्फ ज्योति गैरे, प्रतिमा ज्ञवाली, सङ्गीता धमला र सिर्जना खड्का चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । इप्पानको विधानअनुसार कार्यसमितिमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, पाँच सचिव, एक कोषाध्यक्ष, सात खुला सदस्य तथा तीन महिला सदस्य रहने व्यवस्था छ ।  इप्पानको २४औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन शुक्रबार (जेठ २९ गते) आयोजना हुँदैछ ।

सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेता

काठमाडौं । सोफिया तामाङले टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ को उपाधि जितेकी छन् । काठमाडौंस्थित नेपाल पुलिस क्लब हल, भृकुटीमण्डपमा आयोजित ग्राण्ड फिनाले कार्यक्रममा उनले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भएकी हुन् । प्रतियोगिताको अन्तिम चरणमा पुगेका ६ जना प्रतिस्पर्धीबीच विभिन्न सूचना प्रविधि (आईटी) सम्बन्धी चुनौतीपूर्ण कार्यहरूमा आधारित प्रतिस्पर्धा भएको थियो । ती प्रतिस्पर्धामध्ये उत्कृष्ट प्रदर्शनका आधारमा सोफिया तामाङ विजेता घोषित भएकी हुन्। प्रतियोगितामा प्रार्थना मिश्रा प्रथम उपविजेता तथा बिबेक अधिकारी द्वितीय उपविजेता घोषित भए । विजेता सोफिया तामाङले नगद १ लाख रुपैयाँसहित अष्ट्रेलियन मापदण्डअनुसारको रोजगारी सुनिश्चित गर्ने अवसर प्राप्त गरिन् ।  त्यस्तै, प्रथम उपविजेता प्रार्थना मिश्राले नगद ५० हजार रुपैयाँसहित अष्ट्रेलियन मापदण्डअनुसारको रोजगारी सुनिश्चित गर्ने अवसर प्राप्त गरिन् । कार्यक्रमका प्रमुख अतिथि रायन ओ कोनेलले नेपाली युवाहरूमा बढ्दो सूचना प्रविधि प्रतिभा र अन्तर्राष्ट्रियस्तरको सीप विकासको आवश्यकताबारे धारणा राखेका थिए । उनले विश्वव्यापी प्रतिस्पर्धामा सफल हुन प्राविधिक दक्षता र व्यावसायिक सीपको महत्त्व बढ्दै गएको उल्लेख गरे । विशेष अतिथि रञ्जन राजाले साइबर सुरक्षा तथा डिजिटल सचेतनाको महत्त्वबारे प्रकाश पार्दै डिजिटल युगमा सुरक्षित प्रविधि प्रयोगको आवश्यकता औंल्याए । ग्राण्ड फिनालेमा विजेता तथा उत्कृष्ट प्रतिस्पर्धीहरूलाई पुरस्कार, प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो । कार्यक्रमले नेपाली युवाहरूलाई विश्वस्तरीय सूचना प्रविधि सीप विकास, करियर निर्माण तथा अन्तर्राष्ट्रिय रोजगारीको तयारीतर्फ प्रेरित गर्ने प्रभावकारी मञ्चका रूपमा आफ्नो छाप छोड्न सफल भएको आयोजकले जनाएको छ ।

भट्ट र अग्रवालसहित ४ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता, ४२ करोड बढी बिगो दाबी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि दीपक भट्ट, सुलभ अग्रवालसहित चारजना विरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ ।  उच्च अदालत पाटनको वाणिज्य इजलासमा बिहीबार उक्त मुद्दा दर्ता गरिएको हो ।  मुद्दामा व्यवसायी दीपक भट्टसहित सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरिएको छ । प्रतिवादीहरूमाथि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर जुन प्रयोजनका लागि लिइएको हो, त्यसमा खर्च नगरी अन्यत्रै दुरुपयोग गरेको आरोप छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार १० करोडदेखि ५० करोड रुपैयाँसम्मको बिगो परिमाणमा दोषी ठहर भएमा ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र बिगो बमोजिमको जरिवाना र बिगो भराउने व्यवस्था रहेको छ । प्रतिवादीहरूमध्ये दीपक भट्ट र सुलभ अग्रवाल हाल प्रहरी हिरासतमै छन् । अन्य दुई प्रतिवादी शाहिल अग्रवाल र शंकरलाल अग्रवाल भने फरार रहेकाले उनीहरूविरुद्ध अदालतबाटै पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ ।  सीआईबीको प्रतिवेदनअनुसार भट्ट, सुलभ र शाहिललाई मुख्य कसुरदार ठहर गरिएको छ भने शंकरलाल अग्रवालमाथि कसुरदारहरूलाई सहयोग गरेको आरोप लगाइएको छ । पक्राउ परेका र फरार रहेका यी व्यवसायीहरूमाथि बैंकिङ कसुरबाहेक अन्य गम्भीर विधामा पनि मुद्दा चलाउने तयारी भइरहेको छ । 

कक्षा ११ का विद्यार्थीलाई कलेज जीवनबारे टेक्सासको अभिमुखीकरण

काठमाडौं । टेक्सास इन्टरनेशनल कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि अभिभुखीकरण कार्यक्रम गरेको छ । कलेजमा आउने नयाँ विद्यार्थीले विद्यालय समयमा के गर्न पाउने, के नपाउने भन्ने विषयमा जानकारी गराउन नयाँ भर्ना भएका विद्यार्थीका लागि यो कार्यक्रम गरेको हो ।    बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित अभिमुखीकरण कार्यक्रममा विद्यार्थीलाई टेक्सास कलेजमा स्वागत गर्दै विद्यार्थीले विद्यालय भित्र पालना गर्नुपर्ने नियमबारे जानकारी गराइएको थियो ।  जसमा विद्यार्थीले कलेजमा अनिवार्य विद्यालय पोशाकमा आउनुपर्ने, कलेज समयभन्दा करिब १५ मिनेट अगाडि  नै उपस्थित हुनुपर्ने, विद्यालयमा  आयोजना हुने हरेक कार्यक्रममा भाग लिनुपर्ने लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक डा. श्यामसुन्दर श्रेष्ठले टेक्सासले आध्यात्मिक रूपमा सचेत, तीक्ष्ण विवेकी र सीपयुक्त विद्यार्थी उत्पादन गर्नु आफूहरूको लक्ष्य रहेको बताए ।  ‘टेक्सास मन्टेश्वरीदेखि मास्टर्स सम्मकै शिक्षाको लागि उत्कृष्ट शैक्षिक संस्था हो,’ उनी भन्छन्,‘ कुनै विषयको छनोटले विद्यार्थीलाई सफल बनाउने नभई आफ्नो मेहनत र त्यो विषय प्रतिको धारणाले सफल बनाउने हो । सिकाइमा कलेजले कुनै कसुर बाँकी राख्दैन यसमा परिश्रम, मिहिनेत विद्यार्थीले गर्नुपर्छ ।’ कलेजमा विज्ञान र व्यवस्थापन संकायमा विद्यार्थीको आकर्षण बढेको बताउँदै श्रेष्ठले कुनै पनि विषय आफैमा कमजोर नभएको तर विद्यार्थीले आफूले रोजेको विषयमा निकै मिहिनेत गर्नुपर्ने बताए ।  कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेको जीवन विकास विशेषज्ञ एलपी भानु शर्माले विद्यार्थीलाई अरूको पछाडि दगुर्नुभन्दा आफ्नो रुचि लगाव के हो भन्ने बुझन आवश्यक रहेको बताए ।  अहिले बजारमा विज्ञान, व्यवस्थापन, आईटीजस्ता विषयमा माग पनि बढेको र विद्यार्थीको आकर्षण पनि त्यतै बढेको बताउँदै उनी भन्छन्, ‘जुन कुरा बिक्छ भनेर दौडिनुहुन्छ, त्यतापट्टि नलाग्नुहोस्, किनकि त्यो बिकाउ सामान होइन, तपाईं आफ्नो ज्ञान र रुचिमा  काम गर्नुहुन्छ भने बजार तपाईंको पछाडि दगुर्छ ।’ अहिले धेरै विद्यार्थी साथी र बजारको पछाडि लाग्ने गरेको बताउँदै उनले विद्यार्थी आफैको वुद्धि जाग्नुपर्ने बताए । कसैलाई खुसी बनाउन काम गर्नुभन्दा खुसी भएर गरेको कामले राम्रो परिणाम दिने उनको भनाइ छ । यस्तै कार्यक्रममा बोल्दै उत्प्रेरक वक्ता डा. रविन कटवाल भन्छन्, ‘अहिले सबै व्यक्ति उत्कृष्ट भए पनि अझै उत्कृष्ट त्यो व्यक्ति बन्छ जसले आफूलाई चिनेर काम गर्छ ।’ उनले विद्यार्थीले राम्रो विद्यालय छनोट गरेको बताउँदै अब मिहिनेत गर्ने पालो आएको बताए । उनी शिक्षा अहिले अपरिहार्य रहेको बताउँदै  मान्छेलाई महान बनाउने चिज नै शिक्षा भएकाले पढाइमा निकै मिहिनेत गर्नुपर्ने बताए। शिक्षालाई ग्रहण गर्न ‍इच्छा आवश्यक पर्ने भएकाले इच्छा नभएका व्यक्तिले शिक्षा लिन नसक्ने बताए ।  ‘जसरी आजको ३०–४० वर्ष अगाडि पढेलेखेका मान्छे निकै कम थिए, अबको २० वर्ष पछाडि यो समाजमा पढेलेखेका मान्छे निकै कम हुनेछन् किनकि अधिकांश मानिस धनको पछाडि दगुर्ने र पढाइ बीचैमा छोड्नेछन्,’  उनले भने ।    कार्यक्रममा टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका चिफ अफ एकेडेमिक्स प्रा. डा. गोविन्दप्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, क्याम्पस प्रमुख श्याम सुन्दर श्रेष्ठसहित अन्य प्रशासकहरू, विभिन्न विभागका विभाग प्रमुखहरू तथा अध्यापकहरूको उपस्थिति थियो ।   

लक्ष्मी हुन्डाईलाई अन्तर्राष्ट्रिय ‘सर्भिस पर्फर्मेन्स अवार्ड’

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित ‘इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका सर्भिस पर्फर्मेन्स अवार्ड’ प्राप्त गरेको छ । गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत–सम्भार (आफ्टर–सेल्स सर्भिस) र उच्च ग्राहक सन्तुष्टिका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । यसले गाडी बिक्रीभन्दा बढी ग्राहक अनुभवलाई प्राथमिकता दिने हुन्डाईको दृष्टिकोणलाई प्रस्ट पारेको छ । धेरैजसो अटोमोबाइल ब्रान्डहरू बिक्री र शोरुममा केन्द्रित भइरहेका बेला लक्ष्मी हुन्डाईले भने बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्तिका रूपमा विकास गर्दै आएको छ । ग्राहकलाई गाडी प्रयोगभर भरपर्दो सेवा उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले सेवा केन्द्रहरूको सञ्जाल विस्तार, कर्मचारीको दक्षता अभिवृद्धि र पूर्वाधार आधुनिकीकरणमा निरन्तर लगानी गरिरहेको जनाएको छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै लक्ष्मी हुन्डाईले ग्राहक सेवामा विश्वस्तरीय मापदण्ड कायम गर्दै यस्तो पुरस्कार जित्नु देशकै लागि गौरवको विषय बनेको छ । कम्पनीले आफ्टर–सेल्स सेवालाई छोटो अवधिको व्यापारभन्दा दीर्घकालीन प्रतिबद्धताका रूपमा लिँदै आएको छ । कम्पनीका अनुसार यो सफलता सम्पूर्ण टोलीको निरन्तर मेहनत, लगनशीलता र ग्राहकलाई पहिलो प्राथमिकतामा राख्ने संस्कृतिको परिणाम हो । यस अवसरमा कम्पनीले आफ्ना ग्राहकप्रति अटुट विश्वास र साथका लागि कृतज्ञता व्यक्त गर्दै कर्मचारीहरूको समर्पणको उच्च प्रशंसा गरेको छ । साथै, प्राप्त सम्मानले आगामी दिनमा नेपाली अटो बजारमा उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिका नयाँ मापदण्ड स्थापित गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ ।