काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी राष्ट्रको गौरव बढाएको योगदानको कदर गर्दै आरोही सुधिज्ञ पन्त र साईत शर्मालाई सम्मान गरिएको छ ।
आइसीएफसी फाइनान्स लिमिटेडद्वारा आयोजित विशेष समारोहमा उनीहरूलाई सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गरिएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष सुशीलकुमार अर्याल प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
समारोहमा बोल्दै प्रमुख अतिथि अर्यालले सगरमाथा आरोहण व्यक्तिगत सफलतामात्र नभई सम्पूर्ण राष्ट्रको पहिचान र गौरवसँग जोडिएको विषय भएको उल्लेख गरे । उनले यस्ता उपलब्धिहरूले नेपाली युवामा आत्मविश्वास, देशप्रेम र उच्च लक्ष्य हासिल गर्ने प्रेरणा दिने विश्वास व्यक्त गरे ।
सम्मानित आरोहीद्वयले आफ्नो अनुभव साझा गर्दै आरोहणका क्रममा सामना गर्नुपरेका जोखिम, चुनौती र सफलताका क्षणहरूबारे चर्चा गरे । उनीहरूले आफ्नो सफलतामा परिवार, सहयोगी संस्था तथा सम्पूर्ण शुभेच्छुकहरूको समर्थन महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा वक्ताहरूले नेपाललाई पर्वतीय पर्यटन र साहसिक खेलकुदको विश्व केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै आरोहीहरूको योगदानको प्रशंसा गरे । साथै, यस्ता प्रतिभालाई निरन्तर प्रोत्साहन र सम्मान गर्नुपर्नेमा जोड दिइयो ।
आइसीएफसी फाइनान्स लिमिटेडले आगामी दिनमा पनि खेलकुद, पर्यटन, सामाजिक तथा राष्ट्रिय गौरवसँग सम्बन्धित क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ ।