विकासन्युज

एफएनसीसीआई सदस्यता विवाद टुंगियो : १८ वस्तुगत संघलाई सदस्यता, तर मतदान अधिकार छैन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि विवादमा रहेका १८ वटा वस्तुगत संघहरूको सदस्यता प्रकरणमा ‘बीचको बाटो’ अपनाउँदै निकास खोजेको छ । हिजो बुधबार रातिसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको करिब ८ घण्टा लामो बैठकले उच्च अदालत पाटनको मंसिर १६ गतेको आदेश अनुसार सदस्यता खारेज गर्दै नयाँ प्रक्रियाबाट सदस्यता दिने निर्णय गरेको हो । अब ती सबै संघलाई विधान अनुसार नयाँ प्रक्रिया पूरा गरेर सदस्यता दिइनेछ, तर यस पटक मतदानको अधिकार नदिने सहमति भएको छ । ती १८ संघले आगामी वैशाख २१ र २२ गते हुने साधारण सभामा पर्यवेक्षकका रूपमा मात्र सहभागिता जनाउन पाउनेछन्, मतदान अधिकार भने रहने छैन । नयाँ सदस्यहरूले आगामी दिनमा नवीकरण गर्दा महासंघको विधान अनुसार सबै मापदण्ड पूरा गर्नुपर्नेछ । बैठकमा सदस्यता दिने र नदिने पक्षबीच तीव्र मतभेद देखिएपछि अन्ततः वस्तुगततर्फका उपाध्यक्ष उम्मेदवार शिवप्रसाद घिमिरेले अघि सारेको प्रस्तावमा सहमति जुटेको हो । बैठक लगभग भाँडिने अवस्थामा पुगेपछि घिमिरेले राखेको मध्यमार्गी प्रस्तावले सहमतिको ढोका खोलेको केन्द्रीय सदस्य रविन पुरीले बताए । बुधबारको बैठकले दुवै पक्षलाई समेट्ने गरी सहमतिको ‘बीचको बाटो’ रोजेको हो । बैठकमा १८ मध्ये सात नयाँ सदस्यले उच्च अदालत पाटनमा दर्ता गरेको निवेदन र सर्वोच्च अदालतमा दर्ता गरेको रिट फिर्ता लिने सहमति भएको छ । नयाँ सदस्यहरूले पनि अब अदालत नगर्ने सहमति गरेका छन् । यससँगै निर्धारित मितिमै साधारण सभा हुने पक्का भएको छ । यस निर्णयले एकातिर यसअघि सदस्यता दिने निर्णयलाई निरन्तरता दिएको छ भने अर्कोतर्फ मापदण्ड नपुगेको भन्दै विरोध गर्ने पक्षलाई पनि सम्बोधन गरेको छ । अर्थात् ‘सबैको जित हुने गरी’ निकास खोजिएको महासंघका केन्द्रीय सदस्यहरूको भनाइ छ । अब ती १८ संघले पूर्ण सदस्यता पाउनका लागि पुनः विधान अनुसार सबै प्रक्रिया पूरा गर्नुपर्नेछ । यस पटक मतदान अधिकार नपाए पनि आगामी दिनमा आवश्यक मापदण्ड पूरा गरेपछि मात्र पूर्ण अधिकारसहित सदस्यता प्राप्त हुने स्पष्ट गरिएको छ । महासंघको यो निर्णयले लामो समयदेखि जारी सदस्यता विवाद समाधान भएको छ । महासंघको सदस्यता विवाद अदालतसम्म पुगेको थियो । उच्च अदालत पाटनले सदस्यता विवाद टुंग्याएर मात्र साधारण सभा गर्न निर्देशन दिएपछि चैत २९ र ३० गतेका लागि तय गरिएको साधारण सभा स्थगित भएको थियो । साथै, एउटा मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ । यसअघि सदस्यता सिफारिस समितिले मापदण्ड नपुगेको भन्दै ती १८ संघलाई सदस्यता दिन नसकिने रायसहितको प्रतिवेदन बुझाएको थियो ।  

हरिबहादुरले मिठाईको व्यापारले जोडे घरजग्गा, छोरीहरूलाई पठाएँ अमेरिका र अस्ट्रेलिया

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन ।  साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उनले भने, 'गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु मेरैमा खाजा, खाना खान्थे ।' उनी सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा तीन दशक यता निरन्तर मिठाई पसल सञ्चालन गर्दै आएका छन् ।  स्वदेशमा परिश्रम गरिरहेका तामाङले मिठाई बेचेर खुसी कमाइरहेको बताउँछन् । पचासदेखि ०५८ सालसम्म उनको व्यापार फस्टायो । सोही अवधि तराईमा घर किने । फिक्कल नजिकै नयाँचोकमा तीन ठाउँ जमिन जोडे । दुई जना छोरीलाई पढाएर अमेरिका र अस्ट्रेलिया पठाउने यही व्यापारले गर्यो । कान्छी छोरीलाई काठमाडौं राखेर चार्टर एकाउन्टेन्ड र बिएबीएस पढाउने खर्च पनि यसै पसलले धानिरहेको छ । 'झापाको विर्तामोडमा जोडेको घर, नयाँचोकमा जोडेका जमिनहरु त्यतिबेलाकै व्यापारले हो ।' उनी भन्छन्, '०५० सालमा फिक्कल आएर २२ हजार लगानीमा पसल सुरु गरेँ । महिनाको रु २०० भाडा तिर्नुपथ्र्यो । पाँच रुपैयाँमा पेट अघाउने खाजा बेच्दा पनि पैसा कमाइयो । छोरीहरुलाई ‘सेटल’ गराएँ । मिठाई बेचेर खुसी कमाएको छु ।'  अहिले पनि उनको पसल (जनता मिष्ठान्न भण्डार) उत्तिकै चलेको छ । तर, त्यो बेलामा जस्तो नाफा हुँदैन । तामाङ भन्छन्, 'महँगी बढेको छ । सामान किनिसक्नु छैन । मान्छे त आइरहन्छन् । तर, प्रतिस्पर्धा बढ्यो । पसल धेरै छन् । तैपनि ६०–७० हजार बचाउँछु ।' उनको इमानदार सोच र निरन्तर श्रमले तीन छोरीको भविष्य बनायो । 'जेठी छोरीलाई काठमाडौँमा नर्सिङ पढाएर अमेरिका पठाएँ, माइली अस्ट्रेलियामा छिन्, कान्छी काठमाडौँमै चार्टर एकाउन्टेन्ड र बिएबीएस पढ्दैछिन् । मलाई सन्तोष छ ।' छोरीहरूको पढाइका लागि उनले बिर्तामोडमा बनाएको घर बिक्री गरेको बताए । समयसँगै व्यापारको स्वरूप फेरियो । पहिले फिक्कलस्थित पशुपतिनगर स्टेनमा रहेको त्यही पसल फिक्कल बजारको इलाम स्टेन मुनितिर सरेको २० वर्ष भयो । खाजाको मूल्य रु पाँचबाट बढेर रु १५० पुगेको छ । समोसा, सेलरोटी, पुरीदेखि लड्डु, खुर्मा, रसबरी, जेरी र भुजियासम्मका परिकार पाइने पसलमा अहिले दुई जना कर्मचारी छन् । उनी भन्छन्, 'प्रतिस्पर्धा बढ्यो, ग्राहकको बानी फेरियो । अहिले जाँडरक्सी बेच्ने धेरै छन्, तर मैले कहिल्यै मदिरा, सुर्ती, चुरोट बेचिनँ ।' विसं २०४२ तिर उहाँ झापाको काँकडभिट्टामा रिक्सा चलाइरहेन्थ्ये । छ सय मजदुरको विश्वास जित्दै रिक्सा सङ्घको कोषाध्यक्ष बनेका थिए । पछि केही समय होटलमा पनि काम गरेर मिठाई पसल सुरु गरेको उनी बताउँछन् । आज पनि उनी पसलमै व्यस्त छन् । उमेर ढल्किँदै गए पनि कामप्रतिको लगाव उस्तै छ । 'काम नगरी हुँदैन, तर अहिलेका केटाकेटीले यस्तो दुःख गर्न चाहँदैनन्,' उनी भन्छन् ।  ऐतिहासिक गोर्खे बजार त्यो बेलाको व्यापारिक केन्द्र थियो । त्यहाँबाट सामान खरिद बिक्री गर्न भारी बोकेर आउजाउ गर्नुपथ्र्यो । 'बिहानै भारी बोकेर फिक्कल हिँडिन्थ्यो । हरिको मिठाई पसलमा पुगेर खाजा खाने भन्दै जान्थ्यौँ । यी मान्छे पुराना हुन् । अहिले पनि उसैगरी व्यापार गर्छन् ।' गोर्खेका ७६ वर्षीय वीरबहादुर राईले सुनाए, 'अहिले पनि फिक्कल जाँदा हरिको पसलमा समोसा नखाई फर्किन्न ।' रासस

रत्ननगर नगरपालिकाका नगर प्रमुखको तलब–भत्ताबाट विपन्नको स्वास्थ्य बिमा

चितवन । रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले आफ्नो सेवा सुविधाबाट प्राप्त गर्ने रकमबाट  ३७ परिवारको स्वास्थ्य बिमा गरिदिएका छन् ।  उनले हालै वडा कार्यालयहरूको सिफारिसका आधारमा छनोट भएका ती अतिविपन्न तथा गरिब परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएका हुन् । ती परिवारहरूको बिमा शुल्क नगर प्रमुख सापकोटाले आफ्नो पछिल्लो तीन महिनाको तलब–भत्ताबाट व्यहोरेका हुन् । प्रमुख सापकोटाले यसअघि पनि तलब–भत्ता र ‘मायाको चिनो’बापतको रकमबाट २०० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिसकेका छन् । उनका अनुसार वार्षिक रूपमा करिब तीन हजार ५०० परिवारलाई स्वास्थ्य बिमामा समेट्न कार्यक्रम सञ्चालन गरिएको थियो । तर, उक्त कार्यक्रम ‘जेनजी आन्दोलन’पछि रोकिएको छ । नगरपालिकाले फजुल खर्च कटौती गर्ने उद्देश्यले औपचारिक कार्यक्रममा खादा तथा ‘मायाको चिनो’ नलिने नीतिगत निर्णय गरेको छ । सोही निर्णयअनुसार विभिन्न सङ्घ–संस्थाले प्रदान गर्न चाहेको मायाको चिनो बराबरको रकम स्वास्थ्य शाखाको कोषमा जम्मा गरिँदै आएको छ । उक्त रकमसमेत निःशुल्क स्वास्थ्य बिमा तथा अन्य सामाजिक काममा परिचालन गरिने गरिएको छ । यसअघि प्रमुख सापकोटाले आफ्नो तीन महिनाको तलबबाट रत्ननगर–१२ स्थित एक आधारभूत विद्यालयका विद्यार्थीलाई कापी–कलम तथा ट्र्याकसुट वितरण गरेका थिए । प्रमुख सापकोटाले भने, 'निःशुल्क स्वास्थ्य र शिक्षा जनताको नैसर्गिक अधिकार हो । राज्यले सबैलाई यो सेवा निःशुल्क उपलब्ध गराउनुपर्छ । आगामी आर्थिक वर्षको बजेटमा विपन्न वर्गका लागि थप प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रम समेट्ने हाम्रो लक्ष्य छ ।' उनले १०० भन्दा बढी विद्यार्थीलाई व्यक्तिगत रूपमा छात्रवृत्ति पनि प्रदान गर्दै आएका छन् । नगर प्रमुख सापकोटाका अनुसार विपन्न नागरिकले रत्ननगर बकुलहर अस्पतालबाट स्वास्थ्य बिमाको लाभ लिन सक्नेछन् । उपचारमा समस्या हुने नागरिकका लागि रु ३० लाख ‘स्वास्थ्य उपचार अक्षयकोष’ स्थापना गरिएको छ ।  साथै भरतपुर अस्पतालमा विपन्न उपचार कोष, क्यान्सर अस्पताल चितवनमा थप रु २५ हजार उपचार सहयोग तथा रत्ननगर–२ मा निःशुल्क ब्लड बैंक सेवा सञ्चालनमा रहेको पालिकाले जनाएको छ । रासस  

काउली किलोको ३० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २६ र आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (तराई) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ४०, सेता मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, राजमा प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु १८०, तीते करेला प्रतिकिलो रु ९०, लौका प्रतिकिलो रु ३०, परवर प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ८०, चिचिन्डो प्रतिकिलो रु ५०, घिरौँला प्रतिकिलो रु ३०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ६०, सखरखण्ड प्रतिकिलो रु ७५, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकन्दर प्रतिकिलो रु ५०, कोइराला प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु १९०, सेलरी प्रतिकिलो रु १८०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २५० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३९०, केरा दर्जन रु २५०, अनार प्रतिकिलो रु ४००, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ४०, रुखकटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४५० र एभोकोडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, माछे खुर्सानी प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु ५००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

भृकुटीमण्डपका १०३ सटर भाडामा दिँदै,  मासिक भाडा ५ लाख रुपैयाँ

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भृकुटीमण्डपमा रहेका सटरहरू भाडामा दिने भएको छ । कम्पनीले काठमाडौं महानगरपालिका-२८ स्थित भृकुटीमण्डपमा रहेका सटरहरू भाडामा दिने भएको हो ।  कम्पनीले भृकुटीमण्डप क्षेत्रका ‘ब्लक बी’ र ‘ब्लक सी’ मा रहेका सटरहरू भाडामा दिने निर्णय गरेको जनाएको छ । ब्लक ‘बी’ मा ५२ वटा र ब्लक ‘सी’ मा ५१ वटा गरी १०३ वटा सटर रहेका छन् । कम्पनीका अनुसार ब्लक ‘बी’ का सटरहरूको न्यूनतम् मासिक भाडा (बहाल करसहित) ६ लाख ४७ हजार ५२० रुपैयाँ तोकिएको छ भने ब्लक ‘सी’ का सटरहरूको न्यूनतम् मासिक भाडा ५ लाख रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूले ७ दिनभित्र १ हजार रुपैयाँ (फिर्ता नहुने) तिरी दरभाउपत्र खरिद गर्नुपर्नेछ । खरिद गरिएका दरभाउपत्रहरू आठौं दिन अपराह्न १२ बजेसम्म पेश गर्नुपर्नेछ । प्राप्त दरभाउपत्रहरू सोही दिन दिउँसो २ बजे खोलिने कम्पनीले जनाएको छ । 

सेती नदीमा १८ मेगावाटको हाइड्रो बन्ने, २०८७ मा सम्पन्न गर्ने

काठमाडौं । केसीज होटल्स एण्ड मल्टिपल इन्डष्ट्रिजले १८ मेगावाट क्षमताको ‘सुप्रिम मध्य सेती जलविद्युत आयोजना’ निर्माण गर्ने भएको छ । पोखरा महानगरपालिका-१४, २७, २९ र ३३ नम्बरमा अवस्थित विजयपुर खोला र सेती नदीको पानी उपयोग गरी नदी बहावमा आधारित प्रविधिमा आयोजना निर्माण गरिने भएको हो । केसीज होटल्सले विद्युत ऐन, २०४९ को दफा ४ तथा विद्युत नियमावली, २०५० को नियम १२ बमोजिम आवेदन दिएको र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र सन् २०२३ मा अद्यावधिक गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा आयोजना प्रक्रिया अगाडि बढाइएको हो ।  आयोजनाको जडित क्षमता १८ मेगावाट रहनेछ । डिजाइन बहाव ४४.१४ घनमिटर प्रतिसेकेन्ड र समग्र हेड ५० मिटर रहनेछ । यस आयोजनाबाट वार्षिक औसत १०९.३३ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ । साथै, विजयपुर–२ जलविद्युत आयोजनाको टेलरेसबाट निस्कने पानीसमेत उपयोग गरिने जनाइएको छ । आयोजनाका संरचनात्मक पक्षमा सेती नदीमा करिब ९० मिटर लामो र ४ मिटर उचाइको बाँध निर्माण गरिनेछ । बाँधको बायाँ किनारबाट पाँच वटा साइड इन्टेकमार्फत पानी ग्राभेल ट्र्यापमा लगिनेछ । त्यहाँबाट पानी ७५० मिटर लामो नहर हुँदै दुई च्याम्बरयुक्त डिस्यान्डिङ बेसिनमा पुर्‍याइनेछ । त्यसपछि पानी विभिन्न क्यानालमार्फत कलेक्सन पोखरीमा संकलन गरिनेछ र २ हजार ७७ मिटर लामो हेडरेस क्यानाल हुँदै फोरबेमा पुर्‍याइनेछ । त्यहाँबाट १ हजार ५७ मिटर लामो पाइपमार्फत सर्ज स्याफ्ट हुँदै १८० मिटर पेनस्टकमार्फत विद्युतगृहमा पानी पुर्‍याइनेछ । विद्युतगृहमा तीनवटा भर्टिकल स्याफ्ट फ्रान्सिस टर्बाइन र तीनवटा तीन-फेज जेनेरेटर जडान गरी १८ मेगावाट विद्युत उत्पादन गरिनेछ । उत्पादन भएको विद्युत ४.५ किलोमिटर लामो प्रसारण लाइनमार्फत लेखनाथ सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । विद्युत उत्पादनपछि पानी ३२० मिटर लामो टेलरेस क्यानालमार्फत पुनः सेती नदीमा प्रवाह गरिने व्यवस्था मिलाइने जनाएको छ । साथै विद्युतगृह नजिकै आउटडोर स्विचयार्ड पनि निर्माण गरिनेछ । पर्यावरणीय पक्षलाई ध्यानमा राख्दै आयोजना क्षेत्रभित्रका जलचर, वनस्पति तथा अन्य जीवजन्तुको संरक्षणका लागि न्यूनतम आवश्यक पानी निरन्तर रूपमा तल्लो तटीय क्षेत्रमा छाडिने प्रस्ताव कम्पनीले गरेको छ । यो आयोजना वि.सं. २०८७ असार (सन् २०३०) भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

सम्बन्धन प्राप्त क्याम्पस र कलेजमा स्थलगत अध्ययन गर्दै त्रिवि, ७० हजार रुपैयाँ शुल्क

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकाय, डीनको कार्यालय कीर्तिपुरले सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूको स्थलगत सम्भाव्यता अध्ययन गर्ने भएको छ ।  व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन भइरहेका नियमित शैक्षिक कार्यक्रमहरू ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस) र मास्टर अफ बिजनेस स्टडीज (एमबीएस) र विशेष शैक्षिक कार्यक्रम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी म्यानेजमेन्ट (बीआईटी), ब्याचलर अफ पब्लिक एडमिनिस्ट्रेशन (बीपीए), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), ब्याचलर अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट (बीटीटीएम), मास्टर अफ हस्पिटालिटी म्यानेजमेन्ट (एमएमएचएमएम), मास्टर अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट (एमटीटीएम), मास्टर अफ इन्फर्मेशन टेक्नोलोजी म्यानेजमेन्ट (एमआईटीएम) मा नयाँ कार्यक्रम वा सेक्सन थप गर्न आवेदन दिएका क्याम्पस तथा कलेजहरूको स्थलगत अध्ययन गरिनेछ । त्रिवि कार्यकारी परिषदको २०८२ भदौ १४ गतेको बैठकको निर्णय अनुसार १०० पूर्णाङ्कको मूल्यांकनमा न्यूनतम् ६० अंक प्राप्त गर्न सक्ने क्याम्पस/कलेजहरू मात्र अध्ययन प्रक्रियामा समावेश हुन सक्नेछन् । उपत्यकाभित्रका क्याम्पस/कलेजहरूले प्रति शैक्षिक कार्यक्रम ५५ हजार रुपैयाँ र उपत्यका बाहिरका क्याम्पस/कलेजहरूले ७० हजार रुपैयाँका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । उक्त रकम व्यवस्थापन संकाय, डीनको कार्यालयको खातामा सूचना प्रकाशित मितिले १५ दिनभित्र जम्मा गर्नुपर्नेछ । साथै, तोकिएको समयसीमा भित्र शुल्क नबुझाउने क्याम्पस÷कलेजहरूलाई स्थलगत सम्भाव्यता अध्ययनका लागि योग्य नमानिने पनि त्रिविले जनाएको छ ।

अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा

ईन्द्रा कुमारी केसी काठमाडौं । जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ । कैलालीको बर्दगोरिया गाउँपालिका-३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुन् । जन्मजात दृष्टिविहीन उनले अँध्यारोसँग हार मान्नु भएन, बरु त्यही अँध्यारो भित्रबाट उज्यालो खोज्दै आफू मात्र होइन, हजारौं विद्यार्थीको भविष्य उज्यालो बनाउने यात्रामा लागे । विसं २०६५ देखि जगदम्बिके भगवती माध्यमिक विद्यालयमा शिक्षण पेसामा संलग्न चौधरीले १५ वर्ष बढी समय कक्षाकोठामा बिताइ सकेका छन् । उनका लागि विद्यालय केवल जागिर खाने थलो मात्र होइन, जीवनको उद्देश्य हो । उनी कक्षामा उभिँदा आँखाले नदेखे पनि विद्यार्थीको क्षमता, सम्भावना र भविष्य देख्ने आत्मदृष्टिले उभिन्छन् । उनले पढाएका विद्यार्थीहरू आज विभिन्न क्षेत्रमा स्थापित छन् । गाउँबाट पढेका ती विद्यार्थीहरू सफल भएको देख्दा उनलाई आफ्नो सङ्घर्ष सार्थक भएको अनुभूति हुन्छ । उनी भन्छन्, ‘मैले दिएको सानो ज्ञानले पनि कसैको जीवन बदलिन्छ त्योभन्दा ठुलो खुसी अरू केही हुँदैन ।’ तर, उनको जीवन यात्रा सहज भने थिएन । सानै उमेरमा बुबा–आमा गुमाउनु पर्‍यो । पारिवारिक सहारा कमजोर बन्दै गयो । दृष्टि कमजोर हुँदा दैनिक जीवन झन् कठिन बन्दै गयो । दाजु पनि दृष्टिविहीन हुँदा दिदी, भिनाजु र बहिनीको सहारामा बाँच्नु परेको उनी बताउँछन् । बाल्यकालमा भोगेका अपमान र पीडा आज पनि उनका स्मृतिमा ताजा छन् । गाउँमा कतिपयले उनलाई ‘अन्धो’ भनेर बोलाउँथे, सँगै हिँड्न हिचकिचाउँथे । हिँडडुल गर्न, विद्यालय जान दैनिक जीवनयापन निर्वाह गर्नलगायत सबै कुरा चुनौतीपूर्ण थियो । यी कठिनाइले उनलाई कमजोर बनाउनुको साटो अझ बलियो बनायो । सुरुमा आफूले पढ्न सक्दिनँ भन्ने लागे पनि एक जना शिक्षकको साथ र प्रेरणाले उनको सोच बदलियो । शिक्षकले घरमै आएर पढाइमा सहयोग गरेपछि उनको आत्मविश्वास बढ्दै गयो । उनले बुझ्दै गए की शारीरिक क्षमतामा सीमितता भए पनि सिक्ने चाहना र मेहनत भए सम्भावना असीमित हुन्छ । एसएलसी उत्तीर्ण गरेपछि उनले शिक्षण पेसामा पाइला टेके । त्यो समय उनका लागि केवल जागिर सुरु गर्ने क्षण थिएन, जीवनलाई नयाँ अर्थ दिने मोड थियो । दृष्टिविहीन भएर पनि कक्षामा उभिएर पढाउनु सजिलो थिएन । तर उनले कहिल्यै आफूलाई कमजोर ठान्नुभएन बरु कमजोरीलाई नै शक्ति बनाउँदै अघि बढे । अध्यापनसँगै उनले उच्च माध्यमिक तह उत्तीर्ण पनि गरे । कक्षामा उनी केवल पाठ्यपुस्तकका कुरा मात्र गर्नुहुन्न जीवनका अनुभव पनि साट्छन् । उनको पारिवारिक जीवन पनि सङ्घर्षपूर्ण छ । उनकी श्रीमती पनि दृष्टिविहीन छन् । १३ वर्षीय छोरी र दुई वर्षीय सानो छोराको जिम्मेवारी उनीहरूले मिलेर सम्हालिरहेका छन् । छोरीले सानो उमेरमै ठुलो जिम्मेवारी बोकेकी छन् । घरको कामकाजदेखि बाबुआमाको हेरचाहसम्ममा उनी सक्रिय छिन् । चौधरीको जीवनमा सङ्गीत र साहित्यले पनि विशेष स्थान ओगटेको छ । उनी कहिलेकाहीँ गीत गाउँछन् भने कविता पनि लेख्छन् । सानै कक्षामा पढ्दा लेखेको एउटा कविताले आज पनि उनको सोच झल्काउँछ, ‘आँखा बन्द भए पनि दिमाग बन्द हुँदैन’ यही विश्वासले उनलाई निरन्तर अघि बढ्न ऊर्जा दिएको छ । समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति दृष्टिकोण बिस्तारै बदलिँदै गएको छ । ‘पहिले हेप्नेहरू आज सम्मानका साथ बोलाउँछन्, सल्लाह माग्छन्,’ उनी भन्छन् । गाउँमा कुनै कार्यक्रम हुँदा उनलाई विशेष रूपमा बोलाइन्छ । उनी अब केवल एउटा व्यक्ति मात्र होइन, अनुभव र प्रेरणाको स्रोत बनेका छन् । उनका विचारमा अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अवसर चाहिन्छ । ‘हामीलाई कमजोर ठानेर पछाडि राख्नु हुँदैन, अवसर दिइयो भने हामी पनि काम गर्न सक्छौँ,’ उनी भन्छन् । रासस