काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेशको कालिकोट जिल्लामा प्राकृतिक विपत्तीबाट प्रभावित तथा विस्तापित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।
असोज १८ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण शुभ कालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका विभिन्न वडामा ठूलो क्षति पुगेको थियो । साथै केही स्थानमा आगलागीबाट समेत घरपरिवार प्रभावित भएका थिए ।
कुल ५७ घरपरिवार पूर्ण रूपमा क्षति भई विस्थापित भएको अवस्थामा ती परिवारहरूको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले १ लाख रुपैयाँ बराबरका ३२ थान सिरक खरिद गरी राहतस्वरूप उपलब्ध गराएको हो ।
कम्पनीको केन्द्रिय कार्यालय, पानीपोखरी काठमाडौंमा आयोजित कार्यक्रममा उक्त राहत सामग्री कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई हस्तान्तरण गरिएको हो । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सहयोग हस्तान्तरण गरे ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्य निरन्तर गर्दै जाने प्रतिबद्धता जनाए । उनले राहत तथा पुनःस्थापनाका लागि सहकार्य गर्ने कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई धन्यवाद पनि दिए ।
त्यस्तै, कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीले विपत्तिपीडितका लागि गरिएको यस सहयोगको प्रशंसा गर्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स परिवारप्रति आभार व्यक्त गरे ।