विकासन्युज

आईएमई लाइफ छिट्टै आइपीओ जारी गर्दै

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले पूँजी बढाएर सर्वसाधरणको लागि सेयर जारी गर्ने भएको छ । कम्पनीको बुधबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको सेयर पूँजी थप गर्ने निर्णय गरेको हो । सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान/आर्थिक सहायताको अनुमोदन समेत गरेको छ । कम्पनीले सातै प्रदेशमा शाखा संन्जाल विस्तार गरी हाल १४० शाखा तथा उपशाखाहरु मार्फत सेवा उपलब्ध गरिरहेको छ ।

यी ५ बैंकको लाभांश रोक्दै राष्ट्र बैंक, डबल डिजिटमा लाभांश नदिन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेढ दर्जन बैंकका वित्तीय विवरण अड्काएर राखेको लामो समय भयो । यसअघि वित्तीय विवरण पेश भएको एक/दुई सातामै स्वीकृति पाउने भएपनि यसपटक भने राष्ट्र बैंक कडा बन्दा बैंकहरुले एजीएम क्लियरेनस पाउन सकेका छैनन् । डेढ दर्जन बैंकहरु वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक पुगेका छन् । तर, सिटिजन्स, कुमारी र नेपाल पूर्वाधार बैंकले मात्रै स्वीकृति पाएका छन् । राष्ट्र बैंकले बैंकहरुलाई प्रोभिजनमा बाध्यकारी गराउँदा र ग्राहकबाट लिएको अतिरिक्त प्रिमियम फिर्ता गर्नु पर्ने भन्दै वित्तीय विवरणहरु स्वीकृत नगरेर बसेको छ । तर, बैंकहरुले भने ग्राहकको सहमतिमै प्रिमियम बढाएको र अहिले नै प्रोभिजन गर्न समस्या भएको भन्दै राष्ट्र  बैंकको कुरा टार्दै आएका छन् । यस्तै, केही बैंकहरुले राष्ट्र बैंकको नीतिभन्दा बाहिर रहेर बिजनेस गरेको भन्दै लाभांश नै रोक्न लागेको हो । बैंकहरुले राष्ट्र बैंकको नीति अनुरुप प्राथमिक पुँजी कोष (कोर क्यापिटल) र पुँजी कोष नपुर्याएको भन्दै पाँच वटा वाणिज्य बैंकको लाभांश रोक्ने तयारी राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंक स्रोतका अनुसार एनआइसी एसिया, माछापुच्छ्रे, प्रभु, सिद्धार्थ र लक्ष्मी बैंकले प्राथमिक पुँजी कोष मेन्टेन नगरेको भन्दै लाभांश नै रोक्न लागेको हो । ‘हामीले गत वर्ष पनि एनआइसी एसिया बैंकको लाभांश रोकेका थियौं, बैंकहरुले त्यहीबाट पनि पाठ सिक्ने सक्थे तर राष्ट्र बैंकको नीति नै अवलम्बन नगरी मनोमानी ढंगले बिजनेस गरे, अहिले हामी पाँच बैंकको लाभांश रोक्दैछौं, अघिल्लो वर्ष पनि एनआइसी एसियाको प्राथमिक पुँजी कोष कम थियो तर हामीले त्यतिदेर लाभांश घोषणाका लागि स्वीकृति दियौं, बैंकहरुले त्यतिखेर किन स्वीकृति दिएको भनेर भनिरहेका छौं तर त्यतिखरे र अहिले अवस्था फरक छ, पाँच बैंकको लाभांश रोकिन्छ,’ राष्ट्र बैंक स्रोतले विकासन्युजसँग भन्यो । यस्तै, राष्ट्र बैंकहरुले बैंकहरुलाई डबल डिजिटमा लाभांश नदिन पनि निर्देशन दिएको बुझिएको छ । राष्ट्र बैंकले अहिले लाभांशभन्दा पनि प्रोभिजनमा केन्द्रित हुन बैंकहरुलाई निर्देशन दिएको हो । ‘अहिले पनि बैंकहरु बिजनेस गर्न सक्ने अवस्थामा छैनन्, बैंकहरुसँग पुँजी नै छैन, बढी लाभांश दिँदा झन सकस्या हुन्छ, अधिकांश बैंकहरुलाई डबल डिजिटमा लाभांश नदिन राष्ट्र बैंकले निर्देशन दिएको छ, मर्जरमा गएका केही बैंकहरुलाई भने केही खुकुलो नीति बनाएको छ, अन्यलाई राष्ट्र बैंक कडा रुपमा उत्रिएको छ,’ एक वाणिज्य बैंकका अधिकारीले विकासन्युजसँग भने । अहिले अधिकांश वाणिज्य बैंकहरुले प्रोभिजनमा नै बढी खर्च गर्नु पर्ने भएको कारणले लाभांश कम दिनु पर्ने अवस्था रहेको ती बैंकरको भनाइ छ ।

सिद्धार्थ बैंकले नारायणी अस्पताललाई भवनलाई मर्मत गर्न ५५ लाख दिने

काठमाडौं । सिद्धार्थ बैंकले वीरगंज स्थित नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले अस्पतालको भवनलाई मर्मत तथा सम्भार गर्नको लागि उक्त रकम सहयोग गर्ने भएको हो । उक्त कार्यको समन्वय तथा सहजीकरण गैर नाफामुलक संस्था राउण्ड टेबल नेपालले गर्नेछ । अस्पताललाई सहयोग रकम उपलब्ध गराउन बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विरेन्द्र बहादुर प्रधान र राउण्ड टेबल नेपालका तर्फबाट उक्त संस्थाका नेशनल प्रेशिडेन्ट राहुल अग्रवालले सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन् । बैंकबाट प्राप्त उक्त सहयोग रकम नारायणी अस्पतालको विरामीहरुका लागि निमार्णधीन भवनको सिभिल, फिनिसिङ्ग तथा थप संरचना बनाउने कार्यका लागि उपयोग गरिनेछ ।

बैंकहरुमा तरलताको समस्या झन् चुलिँदै, ८ अर्बले निक्षेप घट्दा सीडी रेसियो ८७ प्रतिशत बढी

काठमाडौं । वाणिज्य बैंकहरुमा तरलताको समस्या झनै चुलिँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा पनि निक्षेप संकलन भने घट्दो रहेको छ । एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ८ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एसोसियसनका अनुसार बैंकहरुको निक्षेप संकलन एक सातामा ८ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ११ अर्ब रुपैयाँ मात्रै संकलन गरेका छन् । असोज १४ गते ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले असोज २१ गतेसम्म ८ अर्ब रुपैयाँ घटेको हो । तर, असोज महिनामा भने २५ अर्ब रुपैयाँ निक्षेप भित्रिएको एसोसियसनले बताएको छ । यसअघि भदौ मसान्तसम्म बैंकहरुको निक्षेप संकलन ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो । यस्तै, बैंकहरुको कर्जा प्रवाह पनि एक साताको अवधिमा ५ अर्ब रुपैयाँले घटेको छ । असोज १४ गतेसम्म ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुको ५ अर्ब घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । तर, असोज महिनामा भने बैंकहरुको कर्जा प्रवाह २ अर्ब रुपैयाँ बढेको छ । यसअघि भदौ मसान्तसम्ममा बैंकहरुले ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । एसोसियसनका अनुसार बैंकहरुको सीडी रेसियो भने ८७.२५ प्रतिशत रहेको छ ।

पीआर कन्स्ट्रक्सनको बिजनेस ६९.४६ प्रतिशतले बढ्यो, एक वर्षमा कमायो साढे ५० करोड

काठमाडौं । निर्माण कम्पनी पीआर कन्स्ट्रक्सनले एक वर्षमा साढे ५० करोड रुपैयाँ आम्दानी गरेको हो । यस कम्पनीले सन् २०२२ मा ५० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको हो । सन् २०२१ को तुलनामा कम्पनीले ६९.४६ प्रतिशतले आम्दानी बढाएको हो । सन् २०२१ मा यस कम्पनीले २९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०२० मा १२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । विश्व महामारीका रुपमा फैलिएको समयमा निर्माण क्षेत्र समस्यामा थियो । तर, विस्तारै निर्माण क्षेत्रले गति लिन थालेको छ । ललितपुरमा रहेको यस कम्पनीले सडक, पुल, हाउजिङ तथा अन्य ठूला परियोजना निर्माण गर्दै आएका छ । कम्पनीले ऋण सुविधाका लागि रेटिङ एजेन्सी केयर नेपालबाट रेटिङ गराएको छ । यस कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ ऋण सुविधा लागि रेटिङ गराएको हो । कम्पनीले डबल बीको रेटिङ पाएको छ ।

कालीगण्डकीमा ९६ मेगावाट विद्युत् उत्पादन

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । दशैं तिहारको चाडवाडका समयमा उद्योग धन्दा तथा कलकारखाना पूरै नचल्ने र उत्पादित विद्युत् खपत नहुने भएकाले यही समयमा मर्मतकार्य गरिएको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए । ‘समय–समयमा मेसिन मर्मत गर्नुपर्ने/फेर्नुपर्ने हुन्छ’ उनले भने, ‘अन्य बेलामा मर्मत गर्दा विद्युत् अभाव समस्या हुने भएकाले अहिले खपत नहुने समयमा मर्मत गर्दा उपभोक्ता तथा उद्योग, कलकारखानालाई सहज हुने गरि चाडवाडको मौकामा मर्मत गरेका हौंँ’ । दशैं बिदामा पाँच दिनसम्म उत्पादन पूरै बन्द गरेर मर्मत गरिएको उनले जानकारी दिए । दुईवटा टर्वाइनको मर्मत सकिएको र बाँकी रहेको एउटा टर्वाइनसहित अन्य मर्मत कार्य तिहारपछिसम्म चल्ने उनले बताए । कालीगण्डकी नदीमा पानीको सतह बढेकाले अहिले बाँधमा रहेका सबै ढोका खुल्ला गरिएको छ । ‘दुई वटा टर्वाइन चलाउन ९४ मिटर क्यूब प्रतिसेकेण्ड पानी आवश्यक पर्छ’ उनले भने, ‘अहिले नदीमा पानीको बहाव एक हजार दुई सय मिटर क्यूब प्रतिसेकेण्ड रहेको छ ।’ नदीको पानीको बहाव बढी रहेकाले कात्तिकको अन्तिम सातातिर मात्र ढोका बन्द गरिने उनले बताए । बाँध थुनेसँगै नदीमा सात किलोमिटर लामो जलाशय बन्ने र सोही जलाशयमा स्टिमर सेवा सञ्चालन हुँदै आएको छ । वर्षाका कारण अहिले रोकिएको जलयातायात सेवा नदीमा पानीको सतह घट्नासाथै पुनः सुरु हुन्छ । स्याङ्जाको मिर्मी आँधीमुहान देखि स्याङ्जा, पर्वत र गुल्मीको सङ्गलमस्थलमा स्थित धार्मिक एवं पर्यटकीयस्थल सेतीवेणी शीलासम्म जलयातायात सञ्चालन हुँदै आएको छ । आँधीमुहानदेखि सेतीवेणी शीलासम्म जलयातायात मार्फत पुग्न झण्डै ३० मिनेट लाग्दछ । रासस

अर्को हप्तासम्म मौसमी वर्षात कायमै रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षात् रहिरहने पूर्वानूमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले सो बताएका हुन् । उनले त्यसका लागि विभागले मौसमी सिष्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताए । रेग्मीले मौसमी वर्षात् सकिएपनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने बताएका छन् । वर्षात् सकिएपनि त्यसको जोखिम भने कायमै रहन सक्ने उनको भनाई छ । विभागले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ ? भन्ने बारे हिउँदा याम सुरु हुनु अघि नै जानकारी दिने पनि उनले बताए । वरिष्ठ मौसमविद् रेग्मीले डिसेम्बर, जनवरी र फेब्रुअरी महिना हिउँद याम हुने भन्दै त्यसको जानकारी समय आउनु अगावै दिने बताए । विभागले मौसमी अवस्था बारे २४ घण्टानै सेवा दिईरहने गर्दछ ।

बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं । नेपाल सरकारले यही कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ। ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। करिब २५ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको पोषण शाखाले जनाएको छ। आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।