बिजनेश ग्रोथमा एग्रेशिभ देखियो राष्ट्रिय बीमा कम्पनी, नेकोलाई उछिन्दै अघि बढ्यो सिद्धार्थ
काठमाडौं । १९ निर्जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीले सर्वाधिक बीमाशुल्क संकलन गरेको छ । बीमा समितिले तयार पारेको भदौ अन्तिमसम्मको तथ्यांक अनुसार बढी प्रिमियम उठाउनेमा राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा देखिएको हो । कम्पनीले चालु आवको दुई महिनामा १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यससँगै अर्ब क्लबमा प्रवेश गर्नेमा पनि राष्ट्रिय बीमा कम्पनी एकल कम्पनी हो । अघिल्लो वर्षको भदौसम्ममा कम्पनीले ४० करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै, बढी प्रिमियम संकलन गर्नेको दोश्रोमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा ६७ करोड २४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । आधा अर्बभन्दा बढी प्रिमियम उठाउनेको सूचीमा अन्य चार कम्पनी रहेका छन् । जसमा सगरमाथा, हिमालयन एभरेष्ट, सिद्धार्थ इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन् । सगरमाथाले ५८ करोड, हिमालयन एभरेष्टले ५६ करोड, सिद्धार्थले ५४ करोड र नेकोले ५३ करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गरेका छन् । सबैभन्दा कम बीमशुल्क संकलन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीले भदौसम्ममा १३ हजार ८६७ वटा बीमाशुल्क जारी गरी कूल १८ करोड ६० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जबकी कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । चालु आवको दुई महिनामा १९ कम्पनीले ७ अर्ब ८७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । सञ्चालित १९ कम्पनीले कूल ४ लाख ४५ हजार ३६९ वटा बीमालेख जारी गरी सो मात्राको प्रिमियम संकलन गरेका समितिले जानकारी गराएको छ । गत वर्षको भदौसम्ममा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स बाहेक अन्य कम्पनीले ५ अर्ब ८२ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका थिए । कुन कम्पनीको बिजनेश कस्तो ?
पालिकाको साझेदारीमा तनहुँको अवरुद्व सडक खुलाउने प्रयास
तनहुँ । तनहुँको दक्षिण क्षेत्रमा पर्ने श्रृङ मोटरमार्गअन्तर्गत देउराली–सुनाकोट सडकखण्ड पहिरोका कारण अवरुद्व बनेपछि यहाँका तीन पालिका मिलेर खोल्ने प्रयासमा लागेका छन् । जिल्लाको घिरिङ गाउँपालिका, भीमाद नगरपालिका र ऋषिङ गाउँपालिकाको साझेदारी लागतमा हिजोदेखि सडक खुल्ने कार्य अघि बढाइएको हो । गत मङ्गलबार परेको अविरल वर्षाका कारण सडक भासिएपछि अवरुद्ध सडकका कारण ठूला यातायातका सवारीसाधान ठप्प हँुदै आएको घिरिङ गाउँपालिकाले जनाएको छ । अविरल वर्षाले जिल्लाको घिरिङ गाउँपालिका–५ देउराली नजिकैको सडक पहिरिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गरी चार जिल्ला गुड्ने सवारीसाधन ठप्प हँुदै आएका छन् । सडक मर्मत गर्नुपरेकाले आजदेखि उक्त सडक खण्डमा यातायात र सर्वसाधरणका लागि आवतजावत बन्द गरिएको छ । जिल्लाको भीमाद हँुदै गुड्ने श्रृगपथ सडक खण्डमा सडक भासिएपछि गत मङ्गलबारदेखि तनहुँसहित चार जिल्लाका सर्वसाधारणको आवागमन ठप्प हँुदै आएको छ । चाडपर्वको समयमा यात्रुको समस्यालाई मध्यनजर गरी तत्कालको लागि दूर्बतर्फ सवारी साधन सञ्चालनको ब्यवस्था मिलाएर यात्रुलाई गन्तव्यसम्म पु¥याइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिए । रासस
दशैंपछिको दशा : कर्णालीमा अर्बौंको क्षति
कर्णाली । मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दसैँ कार्णालीवासीले राम्रोसँग मनाउन पाएनन् । सर्वसाधारणले बल्लतल्ल दसैँको टीका लगाउन त भ्याए तर वर्षा, चिसो र हिलोका कारण देशविदेशबाट दसैँ मनाउन घर आएकाहरुले परिवारमा बसेर एकापसमा खुसी नै साट्ने अवस्था भएन । दशैंको टीकाकै दिन बिहानैदेखि अत्यधिक चिसोसँगै बर्सात सुरु भयो । हिमाली जिल्लावासीको दसैँ वर्षा र चिसोले अझ बढी कष्टकर बन्यो । पूर्णिमाको दिनसम्म उज्यालो होला र आफन्तजनसँग टीका जमरा लगाउँला भन्ने आशामा बसेका यहाँका सर्वसाधारण निराश मात्र भएनन्, उनीहरुले विपद्को सामना गर्नुप¥यो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार विपद्कै कारण असोज २२ गते अपराह्न ४ बजे कनकासुन्दरी गाउँपालिका–५ जुम्ला बारकोटे गाउँका एकाघरका पाँचसहित सातजनाले ज्यान गुमाए । सोही दिन हिमा गाउँपालिका–३ जोगीवाडामा बाढीमा परी एकै घरका दुईजनाको ज्यान गयो । डोल्पादेखि जुम्ला आउँदै गरेकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत एकजना छात्राको गुठीचौर गाउँपालिका–१ मणिसँघु जुम्लामा राति घर भत्केर ज्यान गयो । असोज १९ गतेदेखि टेलिफोन टावर, इन्टरनेट, विद्युत् अवरुद्ध हुँदा कहाँ कति धनजनको क्षति भयो भन्ने यकिन अझै भइनसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । विपद्ले जुम्ला मात्र नभई कर्णालीका दशवटै जिल्लामा वितण्डा मच्चाएको छ । कतै पहिरो, कतै बाढी त कतै चट्याङले अरबौं जनधनको क्षति गरेको छ । सञ्चारमाध्यम अवरुद्ध हुँदा सबै जिल्लाको क्षति सङ्कलनमा जिल्लाका विपद् व्यवस्थापन समितिहरुलाई समस्या भएको छ । पहिराले कर्णाली राजमार्गलगायत अन्य सहायक मार्ग बन्द हुँदा उद्धार तथा राहतका कार्य गर्न पनि त्यत्तिकै कठिन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताए । १३ मलामी पहिरामा बेपत्ता भएपछि गाउँ शोकमग्न कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा असोज २३ गते दिउँसो २ बजे मलामी गएका १३ जना पहिरामा परी बेपत्ता भएपछि राँचुली गाउँ शोकमा डुबेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार राँचुली गाउँभन्दा तल तिला नदी किनारस्थित भाडी खोलाको घाटमा दाहसंस्कार गर्दै गरेको अवस्थामा उक्त खोलामा पहिरो आई १३ जनालाई बेपत्ता बनाएको हो । त्यस्तै, कालीकोटको मान्म खाँडाचक्र नगरपालिका–८ सेरावाडा प्रहरी चौकीमा कार्यरत जुम्ला तातोपानी गाउँपालिका निवासी एकजना प्रहरी जवानको सोमबार खोला तर्ने क्रममा मृत्यु भएको छ । असोज २३ गते तिलागुफा नगरपालिका–७ कालीकोट बालीस्थित पहिराले घर भत्किँदा पाँचजना बेपत्ता भएका छन् । चङ्खेली गाउँपालिका–५ हुम्ला मेल्छाममा असोज २३ गते आएको पहिराले घर भत्किँदा चारजनाको ज्यान गएको छ । सोमबार आएको पहिराले घर पुरिँदा मुगु रारा छायाँनाथ नगरपालिका–११ सालिम बस्तीमा आठजनाको मृत्यु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । एकजना डोल्पासहित जुम्लामा १० जनाको यो विपद्बाट ज्यान गएको छ । डुङ्गेश्वर गाउँपालिका– ५ दैलेखका एक व्यक्ति बेपत्ता भई २३ गते खोला किनारमा मृतावस्थामा भेटिएका थिए । दैलेखसहित साबिक कर्णालीका पाँचै जिल्ला गरेर अहिलेसम्म ४२ जनाको मृत्यु तथा बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विपद्कै कारण कर्णालीमा अर्बौंको क्षति भएको जनाइएको छ । मुखको गाँस खोसियो गत वर्ष असोज ३० देखि कात्तिक १ गते तीन दिनसम्म परेको अविरल वर्षाले पु¥याएको क्षतिको घाउ नपुरिँदै तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँवासीलाई फेरि पनि यस वर्ष विपद्ले ठूलो चोट पु¥याएको छ । असोज १९ गते दसैँको टीकाको दिनदेखि २३ गतेसम्म परेको अविरल वर्षाले शुक्रबार साँपुल्ली गाउँले करोडौँको क्षति व्यहोर्नुपरेको छ । गत वर्ष भेरी खोलामा आएको भिषण बाढीले त्यस आसपासका सयौँ हेक्टर खेतहरु बगरमा परिणत ग¥यो । त्यो पीडा सकिन नपाउँदै यस वर्ष तिला पिल्ढुस्की, झुलाकोट र दप्क्या खोलाबाट आएको भीषण बाढीले खोला किनार तथा आसपासका खेतमा लगाएको धान, कोदो, मकै, सिमी, भट्टलगायत बाली पूर्णरुपमा नष्ट पारेको छ । दशैं मनाएर बाली भित्र्याउने योजना बनाएका यहाँका किसानहरुको मुखको गाँस प्राकृतिक विपद्ले नराम्ररी खोसेको छ । असोज २१ गते आएको बाढीले तिला गाउँपालिका–४ साँपुल्ली गाउँस्थित शेरबहादुर शाही, राइबहादुर शाही, दत्तबहादुर शाही, लङ्कबहादुर शाही, मीमबहादुर शाही, रतनबहादुर शाही र लालबहादुर सुनारका घरमा क्षति पु¥याएको छ । बाढी आएको सूचना गाउँले दिएपछि उनीहरुले घरबाट भागेर ज्यान जोगाउन सफल भएका थिए । विस्थापित भएका उनीहरुले अहिले छिमेकमा साहारा लिनुपरेको छ । बाढीले विभिन्न परिवारका गरेर करिब एक दर्जनभन्दा बढी बाख्रा, कुखुरा र खरायो बगाएको पीडित दत्तबहादुर शाहीले बताए । “पानी रोकिएको छैन । फेरि पनि बाढी आएर लैजाने हो कि भन्ने त्रास बढिरहेको छ । बाढीको मुखमा परेर होला, छोरी राति सुतेको अवस्थामा तर्सिने”, उनले भने । त्यस्तै, फुटाखोला, खानताडो, पानी प्याउन खोलामा आएको बाढीले दुनी, मेहलचुन, धिमधाराका खोला किनारका खेतमा लगाएको सिमी, मकै, कोदो, चिनो, कागुनो बाली नष्ट गरेको छ भने सोही बाढीले झारखेत, मुसिखेत, लिडाला, भूँडाधारा, खोलीखेत, थाम्खोला, मुँडेनी खोला, भूँर र कुनाखेतमा लगाएको सयौं खेतको अन्नबाली पूर्णरुपले नष्ट गरेको स्थानीय पृथ्वीबहादुर शाहीले जानकारी दिए । ‘बाढीले घर भित्र्याउने बेलाको बाली नष्ट मात्र गरेन, यसले हाम्रो खेतबारी नै बगर बनाएको छ,’ शाहीले भने, ‘गत वर्षको बाढीले रित्याएको हाम्रो घर यसपटक झनै ध्वस्त पारेको छ । मुखको गास खोस्ने गरी आएको विपत्तिले हाम्रो उठिबास भएको छ ।’ विपद्ले जुम्लाका सात गाउँपालिकामा बढी क्षति भएको जनाइएको छ । धनजनको क्षति कनकासुन्दरी, हिमा र तिला गाउँपालिकाले व्यहोर्नु परेको छ भने तातोपानी गाउँपालिकाको लाक्षु, राँका, बाइराँका ज्यूलो बाढीले ढाकेको छ । तिला गाउँपालिकाको घोडासिन बस्ती बढी जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । कर्णाली राजमार्ग पुनः सञ्चालन हुन दुई साता लाग्ने यही असोज १९ देखि २३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीपहिराले कर्णाली राजमार्गको आवागमन ठप्प भएको छ । पहिरो र बाढीले क्षतविक्षत राजमार्ग सञ्चालन गर्न दुई साता लाग्ने जनाइएको छ । कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडक खण्डका विभिन्न स्थानमा गएको पहिरो तथा बाढीले लामो तथा छोटो दूरीमा चल्ने यातायातका साधनको आवतजावत ठप्प भएको हो । सडक बन्द हुँदा बाढीपहिरोमा परेका मानिसको उद्धार हुनसकेको छैन भने आफन्त गुमाएका तथा विस्थापित परिवारले अहिलेसम्म राहत पाउन सकेका छैनन् । एकातिर अविरल वर्षाका कारण आएको बाढीपहिराले भित्र्याउनै लागेको किसानको अन्नबाली पूर्णरुपले नष्ट गरी खेतबारीसमेत बगर बनाएको छ, भने अर्कोतिर राजमार्ग सञ्चालन हुन नसक्दा खाद्य तथा दैनिक उपभोग्य समानको अभाव भएको छ । चामल, तेल चिनी र सवारी साधनको इन्धन अभावका कारण मूल्य दोब्बरले बढ्न थालेपछि यहाँका सर्वसाधारण मर्कामा परेका छन् । राजमार्ग सञ्चालन गर्न तथा विपद्बाट क्षति भोगेका परिवारका लागि तत्काल राहतको व्यवस्थागर्न जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको बैठकले कर्णाली राजमार्गअन्तर्गत जुम्ला र नाग्म–गमगढी सडक खण्डको क्षतिग्रस्त सडक पुनःसञ्चालनमा ल्याउन डोजरको प्रबन्ध गर्ने निर्णय गरेको छ । त्यसका लागि सडक डिभिजन कार्यालय जुम्ला र विभिन्न निर्माण कम्पनीका डोजर प्रयोग गरी आवश्यक इन्धन समितिले व्यवस्था गर्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिए । ‘हामीले क्षतिग्रस्त सडक खुलाउन सडक विभागसँग अनुरोध गर्ने निर्णय गरेका छौँं’, प्रजिअ केशरीले भने । विपद्बाट पूर्ण वा आंशिक क्षति भई विस्थापित वा आश्रय लिएर बसेका परिवारलाई तत्काल राहतको व्यवस्था गर्न चन्दननाथ नगरपालिकाले चार लाख रुपैयाँ र अन्य सात स्थानीय तहले दुई/दुई लाख रुपैयाँका दरले विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको समेत उनले जानकारी दिए । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सडक सञ्चालन गरेर आफन्त गुमाएका, विस्थापित वा आश्रय लिएर बसेका नागरिकलाई तत्काल राहत वितरणका लागि सम्बन्ध निकायसँग आवश्यक समन्वय भइरहेको बताए । प्रमुख आचार्यका अनुसार बाढीपहिरामा परेका नागरिकको तत्काल उद्धार तथा राहतका लागि भने जुम्लामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । बाढीपहिराका कारण क्षतिग्रस्त कर्णाली राजमार्ग खुल्न भने करिब १५ दिन लाग्नसक्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी केशरीले बताए । विपद्कै कारण टेलिफोन तथा विद्युत् अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । राजमार्गको तत्काल खुल्ने अवस्था नभएपछि एकमात्र विकल्प हवाई सेवाको भाडा पनि आकासिँदो तरिकाले महङ्गिएको छ । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले छ हजार रुपैयाँ हवाई भाडा बढेर १३ हजार पाँच सय रुपैयाँ पुगेको बताए । उनका अनुसार त्यही महँगो टिकटसमेत नागरिकले पाउन सकेका छैनन् । नागरिकका दुःखमा मलम लगाउनुको साटो झनै पीडा थप्ने गरी भएको यस कार्यको तत्काल अनुगमन गरी व्यवस्थापन गर्न उनले जिल्ला प्रशासन र नागरिक उड्डयन कार्यालय जुम्लाको ध्यानाकर्षण गराएका छन् । रासस
बुधबार सेयर बजारको दुई बाहेक सबै समुहमा छायो हरियाली
काठमाडौं । बुधबार सेयर बजारमा दुई समूह बोहक सबैमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आजको सेयर बजारमा ट्रेडिङ र म्युचल फण्ड बाहेक सबैमा हरियाली छाएको छ । बुधबार नेप्से सूचक ११।३६ अंकले बढ्दा १८६६।५२ अंकमा उक्लिएको छ । आज कुल ६९ करोड १७ लाख ३७ हजार रुपैयाँको २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १६ अंकले घटेको बजारमा ५५ करोडको कारोबार भएको थियो ।
कर्णालीकाे वैकल्पिक मार्गकाे ५० भन्दा बढी स्थानमा पहिरो
दैलेख । दशैं सकेर फर्कनेका लागि विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि पहिराको उच्च जोखिम मोल्दै गन्तव्यमा पुग्नुपर्ने अवस्था अहिले पनि कायमै छ । कर्णाली राजमार्गअन्तर्गत दरबारे भिरमा सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध छ । अहिले दैलेख सदरमुकाम बजार हुँदै मध्यपहाडी सडकमार्फत कर्णाली प्रदेशको राजधानी सुर्खेत झर्नुपर्ने बाध्यता छ । एउटा मात्र वैकल्पिक रूपमा रहेको दैलेख–सुर्खेत सडक खण्डमा पनि ५० भन्दा बढी स्थानमा पहिरो झरेको छ । दशैं सकिएसँगै कर्मथलो फर्कने कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, कालीकोट र दैलेखका यात्रुहरूलाई सहजै गन्तव्यमा पु¥याउनका लागि दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुखसहितको टोली सडकको अवरोध हटाउन पहिरो खसेकै स्थानमा पुगेर सडक खुलाउने काममा निरन्तर व्यस्त छन् । दैलेख सुर्खेत खण्डको डुङ्गेश्वर बजार नजिक ठूलो पहिरो गएर सडक भासिएपछि पहिरो पन्छाएर सडक सञ्चालन गर्न सुरक्षा निकायको टोली, सडक विभाग र स्थानीय पालिकाको डोजर प्रयोग गरियो । २० स्थानमा झरेको पहिरो हटाउन चार दिनदेखि अवरुद्ध सडक आजदेखि मात्र सञ्चालनमा आएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए । सडक खुलाउन नारायण नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, गुराँस गाउँपालिकाको डोजर प्रयोग गरिएको छ । पहिराको जोखिम मोल्दै यात्रुहरूले कष्टकर पैदल यात्रा गर्नुपरेको छ । दैलेख खण्डको चुप्रा बजार, माथिल्लो डुङ्गेश्वर खण्ड, जिरो पोइन्ट, घोडा वास खण्डलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको छ । अहिले पहिरो पन्छाउने र सडक सञ्चालन गर्ने काम तीव्र पारिएको छ । सडक भासिएका स्थानमा नालीमा ढुङ्गा बिच्छ्याउँदै वैकल्पिक मार्ग निर्माण गरिएको भए पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कायमै छ । प्रजिअ हमाल, दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाह, सशस्त्र प्रहरी दैलेखका प्रमुख देवराज बिष्टलगायतको सुरक्षा टोली पहिरो खसेको स्थानमा पुग्दा डोजर सञ्चालकले पहिरो पन्छाउन नसकिने जनाउँदै डोजर फर्किसकेको थियो । सयौं यात्रुहरु धेरै दिनसम्म अलपत्र हुने अवस्था देखेपछि सडक भित्तामा रहेको नालीमा ढुङ्गा हालेर वैकल्पिक सडक निर्माण गर्नुपर्ने अवस्था आयो । जिल्लाबाट गएका सबै प्रमुखहरु, सुरक्षा बल र अलपत्र यात्रुहरुले ढुङ्गा बोकेर सडक भित्ताबाट डोजर जाने बाटो निर्माण गरेपछि मात्र बाटो बन्यो । डोजरले निकै ठूला दुईवटा ढुङ्गा पन्छाउन र पहिरो सफा गर्न निरन्तर डोजर चलाएपछि मात्र सडक खुल्यो र सयौँ यात्रुहरु ओहोरदोहोर गर्ने अवस्था सृजना भएको थियो । आजदेखि सडक खुलेको दैलेखका प्रहरी प्रमुख शाहले जानकारी दिए । कर्णाली राजमार्ग र दैलेख–सुर्खेत सडक खण्डका कतिपय स्थानमा सडक भासिएका छन् भने कतिपय स्थानहरूमा पहिरो झरेका छन् । रासस
नेपालगञ्ज विमानस्थल : एक्स–रे मेसिन बिग्रिएपछि सुरक्षाकर्मीले हातले छामेर पठाउँछन् सामान
खजुरा । नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६० उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा करिब २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर, यति व्यस्त रहने विमानस्थलमा आएको एक्स–रे मेसिन अझै सञ्चालनमा आएको छैन । सामान चेकजाँच गर्न एक्स–रे मेसिन स्थापना तथा जडान गर्न छुट्टै सेड बनाएर राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म व्यवस्थापन हुन नसकेको विमानस्थलका प्रमुख सुरेश खनालले बताए । उनले मेसिन खरिद गरेर आइसकेको छ, प्रयोगमा ल्याउन नसक्नुमा विभिन्न प्राविधिक कारणहरू रहेको भने । उनले भने, ‘मेसिन आए पनि प्राविधिक इन्जिनियर आइसकेका छन्, अब मेसिनका लागि आवश्यक सेड बनाउनुपर्ने छ । उक्त सेड निर्माण गरेपछि मेसिन जडान गरेर सुचारु गर्छौं ।’ उनका अनुसार अझै तिहारभन्दा अघि मेसिन सञ्चालनमा आउने सम्भावना छैन । मेसिन आएको तीन महिना बितिसक्दा पनि प्रयोगमा नआएपछि प्रहरीलाई सुरक्षा जाँचमा समस्या भएको छ । यात्रुहरूका सानातिना सामान चेकजाँच गर्न अहिले विमानस्थलको टर्मिनलमा मात्रै एकवटा एक्स–रे मेसिन छ । कार्गो पठाउने ठाउँमा भने प्रहरीले हातले छामेर र आँखाको भरमा सामान चेकजाँच गरिरहेको छ । विमानस्थलमा खटिएका प्रहरीका अनुसार आफूहरुले सकेसम्म कडाइपूर्वक सामान जाँच गर्दै आए पनि मेसिन अत्यावश्यक रहेको छ । कर्णाली र सुदूरपश्चिमका पाँच जिल्लामा उडान हुने नेपालगञ्ज विमानस्थलबाट सामानको ढुवानी अत्यधिक हुने गरेको छ । सागपातदेखि मासुसम्म, चिनीदेखि चामलसम्म फलामका छडदेखि सिमेन्ट र पाइपसम्म हवाईजहाजले बोकेर लैजान्छन् । तर यति महत्वपूर्ण विमानस्थलमा कार्गोलाई जाँच गर्ने मेसिनको सट्टा सुरक्षाकर्मीले हातले छामेर र आँखाले हेरेर सामान पठाउने गरिएको छ । ल्याइएको मेसिन अहिले खुला आकासमा राखिएको जनाइएको छ । रासस
बागमती प्रदेशमा २७ हजार बढी डेङ्गु सङ्क्रमित
काठमाडौं । बागमती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणबाट काठमाडौं सबै भन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको सो निर्देशनालयले जनाएको छ । काठमाडौंमा ११ हजार चार सय ६७ र रसुवामा सात जना सो रोगबाट सङ्क्रमित भएको जनाइएको छ । निर्र्देशनालयका अनुसार ललितपुरमा आठ हजार १५, मकवानपुरमा तीन हजार ६ सय चार, भक्तपुरमा दुई हजार एक सय आठ, चितवनमा एक हजार एक सय ६९, धादिङमा ६ सय ३८, काभे्रमा दुई सय १५, नुवाकोटमा एक सय ३१, सिन्धुलीमा एक सय १३, रामेछापमा एक सय २५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा डेङ्गु रोगको सङ्क्रमण पृष्टि भएको बताइएको छ । त्यस्तै प्रदेशमा हालसम्म सो रोगको सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको सो निर्देशनालयका विवरणमा रहेको छ । काठमाडौंमा सात, सिन्धुली र रामेछाप तीन /तीन, ललितपुर, मकवानपुर र चितवनमा दुई /दुई, भक्तपुर र धादिङ्मा एक/एकजनाको मृत्यु भएको छ । रासस
हातखुट्टाको जोर्नी दुखाइबाट बच्न के नखाने ?
एजेन्सी । खराब जीवनशैलीका कारण मानिसमा बढेको स्वास्थ्य समस्यामध्ये गठिया बाथ पनि एक हो । बाथ घुँडा वा जोर्नीहरूमा सुन्निने र दुख्ने समस्या हुन्छ, जसका कारण सामान्य रूपमा हिड्न गाह्रो हुन्छ। त्यहाँ धेरै प्रकारका बाथका समस्याहरू छन्, जसमा सबैभन्दा सामान्य ओस्टियोआर्थराइटिस हो। तथ्याङ्क अनुसार ४० प्रतिशत पुरुष र ४७ प्रतिशत महिलामा यो समस्या हुन सक्छ । त्यस्तै, आर्थराइटिस (आरए) र सोरियाटिक अर्थराइटिसको समस्यालाई अटोइम्यून रोग मानिन्छ। गठियाको समस्याबाट बच्न जीवनशैलीसँगै खानपानमा पनि विशेष ध्यान दिनु आवश्यक रहेको अनुसन्धानले देखाएको छ । केही खानेकुरा र पेय पदार्थहरूले गठियाको सूजन र दुखाइ बढाउन सक्छ। यदि यी कुरामा ख्याल गरिएन र यसको सेवन जारी राखियो भने यसले गठिया बाथ भएका व्यक्तिहरूमा लक्षणहरूको गम्भीरताको जोखिम बढाउँछ। सबै मानिसले जीवनशैली र खानपानमा विशेष सावधानी अपनाउनुपर्छ, जसले गर्दा यो गम्भीर स्वास्थ्य समस्याबाट बच्न सकिन्छ। आउनुहोस् जानौं बाथ रोगबाट बच्न के–के कुरा कम गर्नुपर्छ ? प्रशोधित खाद्य वस्तुहरू त्याग्नुहोस् प्रशोधित खानेकुरा स्वास्थ्यका लागि धेरै किसिमले हानिकारक हुने अध्ययनले देखाएको छ । यसले मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम मात्रै बढाउँदैन, गठिया बाथको समस्यामा पनि यो निकै हानिकारक मानिन्छ । यसबाहेक स्वास्थ्य विशेषज्ञहरूले बाथ रोगका बिरामीहरूलाई रातो रक्सीको सेवन कम गर्न सल्लाह दिन्छन्। यी खानेकुराहरूले इन्टरल्युकिन ६ आइएल ६, सी(रिएक्टिव प्रोटीन (सीआरपी) र होमोसिस्टीन ( ५ विश्वसनीय स्रोत, ६) जसले मार्करहरुलाई थप वृद्धि गर्न सक्छ । धेरै सोडियम हानिकारक हुन्छ गठिया बाथ र यसको समस्यालाई रोक्न, सबैले आफ्नो खानामा नुनलाई नियन्त्रण गर्न चिकित्सकहरुले सल्लाह दिएका छन् । मुसामा गरिएको अनुसन्धानमा वैज्ञानिकहरूले धेरै नुनयुक्त खानेकुरा खाने मुसालाई जोर्नीरोगको समस्या हुने सम्भावना बढी रहेको पत्ता लगाएका छन् । शोधकर्ताहरू भन्छन् कि उच्च सोडियमयुक्त आहारको उपभोगले सुन्निने गठिया बाथरोग र अटोइम्यून रोगहरूको जोखिम बढाउन सक्छ। १८,५५५ जना व्यक्तिहरूमा गरिएको एक अध्ययनले धेरै नुन सेवन गर्ने मानिसहरूलाई रुमेटोइड अर्थराइटिसको उच्च जोखिम रहेको पत्ता लगाएको छ । रक्सीबाट टाढा रहनुहोस् यदि तपाईले मदिरा सेवन गर्नुहुन्छ भने यो बानीले गठिया बाथको समस्या पनि बढाउन सक्छ। पहिले नै आर्थराइटिसको समस्या भएका व्यक्तिहरूको लागि, रक्सीले तिनीहरूका लक्षणहरूलाई अझ खराब बनाउन सक्छ। अध्ययनहरूले पत्ता लगाएको छ कि रक्सी सेवन गर्ने मानिसहरूमा गाउट आक्रमणको आवृत्ति र गम्भीरता उच्च हुन सक्छ। यसलाई ओस्टियोआर्थराइटिसको कारक एजेन्टको रूपमा पनि चिनिन्छ। धेरै चिनीको सेवनले समस्या बढाउँछ चिनीको अत्याधिक उपभोग, विशेष गरी थपिएको चिनी, मधुमेहको लागि जोखिम मात्र होइन, यो गठिया बाथराेगीहरूको लागि पनि समस्या हुन सक्छ। क्यान्डी, सोडा, आइसक्रिम र अन्य धेरै खानेकुरामा चिनी थपिएको खानेकुरा स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । रुमेटोइड आर्थराइटिस भएका २१७ जना व्यक्तिहरूको अध्ययनले धेरै चिनी-सोडा र मिठाईहरू सेवन गर्नेहरूलाई यो रोगको उच्च जोखिम रहेको पत्ता लगाएको छ ।