बोनसको लागि रु रु जलविद्युतको सेयर मूल्य समायोजन
काठमाडौं । बिहीबार रु रु जलविद्युत परियोजनाको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५१.८२ रुपैयाँ कायम भएको छ । बुधबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ८२७ रुपैयाँमा भएको थियो । यससँगै बिहीबारको बजारमा कम्पनीको पहिलो कारोबार समायोजित मूल्य अर्थात ७५१.८२ रुपैयाँलाई आधार मानेर हुने छ ।
घरमै सामाजिक सुरक्षा भत्ता पाएकी सुकमाया भन्छिन् : बुढेसकालमा खुशी भनेको यही रहेछ
नवलपरासी । नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका-३ केलादीकी सुकमाया थापा (८९ वर्षीया) सामाजिक सुरक्षाभत्ता घरमै पाउँदा निकै खुशी छन् । वडाध्यक्षले भत्ता लिएर घरमा पुग्दा पिँढीमा बसेकी सुकमायाले पहिले बैंकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गरे । उनी भन्छन्, ‘बिरामी हुँदा छोरीहरुले बोकेर लैजान्थे, कहिलेकाहीँ कागजपत्र मिलेन भनेर दिनभर लाइन बसेर फकिनुपर्थ्यो, साह्रै गाह्रो हुन्थ्यो ।’ उनी मुटुको बिरामी हुन् । हातगोडा दुख्ने र हिँड्न निकै समस्या हुने गर्छ । साँझ बिहान आँगनमा हिँडडुल गरे पनि लामो दूरीको बाटोमा यात्रा गर्न निकै कठिन हुने गरेको उनले बताए । सामाजिक सुरक्षा भत्ता पाउनेमा खुसीभन्दा पनि बैंकमा लाइन बस्नुपर्ने, घन्टौं लगाएर जानुपर्ने बाटोको समस्याले सताएका दिन स्मरण गर्दै सुकमायाले भने, ‘२०७४ को निर्वाचनपछि जनप्रतिनिधिले घरमै भत्ता ल्याइदिएका छन्, धैरै सहज भएको छ ।’ जन्मजात नै आँखा नदेख्ने ७० वर्षीया भीममाया भुजेललाई बैंकसम्म आउन दुई घण्टाभन्दा बढी समय लाग्ने गर्छ । पैदल हिँडेर जानुपर्ने बाध्यता अर्कोतर्फ शारीरिक अशक्तताका कारण झन बढी जोखिम भएको भन्दै भीममाया भन्छन्, ‘समयको बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा सुरक्षित महसुस भएको छ, मलाइ निकै खुसी लागेको छ ।’ ७९ वर्षीया सनिसरा थापाको पनि सामाजिक सुरक्षा भत्ता लिन जाँदाको अनुभव पनि भीममायाको जस्तै छ । वर्षामा रुझ्दै होस् वा घण्टौं पैदल हिँडेर बैंक पुग्दा काम नबनेर फर्किनुपरेको दिन सम्झन्छन् । उनी भन्छन्, ‘समयसँगै पैसा पनि बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउनु नै बुढेसकालमा खुसी भनेको यही रैछ ।’ वडा नम्बर ३ को वडा कार्यालय राजमार्गदेखि करिब नौ किलोमिटर उत्तरमा पर्दछ । तनहुँ देवघाटको किनारदेखि बुलिङटार गाउँपालिकासम्म सिमाना फैलिएको यस वडामा टाटरीबास, ढोडेनी, गडम्दी, भोकेरफाट हर्दि, केलादी, र मार्के बस्ती रहेको छ । वडावासीलाई आफ्नै वडा कार्यालय पुग्न पनि तनहुँ हुँदै गैँडाकोट आउनुपर्ने बाध्यतामा छ । यस्तो अवस्थामा घरदैलोमै जनप्रतिनिधि आएर भत्ता वितरण गर्दा वडावासी भने निकै खुसी छन् । सडक र यातायातको समस्याका कारण सामाजिक सुरक्षा भत्ता लिनका लागि मात्रै होइन अतिआवश्यक कामका लागि पनि बजारसम्म आउनको लागि वडावासीलाई निकै कठिन छ । त्यसमध्ये ज्येष्ठ नागरिक वा सामाजिक सुरक्षा भत्ता लिने नागरिक भत्ताकै लागि भनेर जोखिमको यात्रा गर्नुपर्ने बाध्यतालाई भने वडाध्यक्षले समाधान गरिदिएकोमा खुसी लागेको ज्येष्ठ नागरिक बताउँछन् । भौगोलिक विकटताका कारण बैंकसम्म आउनका लागि घण्टौंको यात्रा गर्नुपर्ने र बैकमा पनि लामो समय लाइन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता प्रत्येक ज्येष्ठ नागरिकको घरमा नै पुगेर वितरण गर्दै आएको वडाध्यक्ष शिवकान्त तिवारीले बताए । वडामा सामाजिक सुरक्षा भत्ता लिने दुई सय ३२ नागरिक छन् । एक गाउँबाट अर्को गाउँमा पुग्न घण्टौंसमय लाग्ने मात्रै होइन बैंकसम्म आएर घर फर्किदा एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म खर्च हुने अवस्था रहेको भन्दै अध्यक्ष तिवारीले भने, ‘वडावासीलाई सहजता होस् भनेर नै २०७४ सालमा निर्वाचित हुँदादेखि सुरु गरेको अभियानलाई अहिले पनि निर्वाचित भएपछि निरन्तरता दिएको छु ।’
समीट र नेशनल माइक्रोफाइनान्स मर्ज हुने, सेयर कारोबार रोक्का
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । सो प्रयोजनको लागि दुबै लघुवित्तले एक आपसमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त समझदारी पत्रमा असोज २६ गते बुधबार हस्ताक्षर भएको हो । र, मर्जर प्रयोजनको लागि दुबै लघुवित्तको असोज २७ गतेदेखि सेयर कारोबार रोक्का हुने भएको छ । यससँगै अब मर्जर प्रक्रिया सम्पन्न भई एकीकृत कारोबार नभएसम्म दोश्रो बजारमा यी कम्पनीको सेयर कारोबार बन्द हुने छ । समझदारी अनुसार समीट लघुवित्त वित्तीय संस्थाको मर्जर स्वाप रेसियो अनुपात ८२ रुपैयाँ (अर्थात समीट लघुवित्त वित्तीय संस्थाको १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८२ कित्ता) कायम हुनेछ । मर्जर पश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहनेछन् । संयुक्त मर्जर समितिका संयोजकका रूपमा क्षितिज खड्कालाई मनोनित गरिएको छ । मर्जर पश्चात संस्थाको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था हुने भएकाे छ । त्यसैगरी संस्थाको चुक्तापूँजी १ अर्बभन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम १७ अर्बभन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भइ कुल शाखा संख्या २०४ पुग्ने छ ।
सन्दीप लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगिँदै
फाइल फोटो काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो । गत सोमबार मात्रै २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन म्याद थपिएको थियो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो । २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए ।
द्विपक्षीय सहयोगका लागि नेपाल र अमेरिकाले आधारशीला तय गर्ने
वाशिङ्गटन डिसी । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी) का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ । युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगबारे प्रशंसा गरेका थिए । साथै, अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालको आर्थिक विकासका लागि प्रभावकारी सहयोग गर्न अनुरोध गरे । अर्थमन्त्री शर्माले सूचना प्रविधि, जलावयु परिवर्तनको चुनौती सामना गर्न र नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न आग्रह गरेको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्री शर्माले प्रमुख प्रशासक समान्ता पावरलाई उपयुक्त समयमा नेपाल भ्रमणको हार्दिक निमन्त्रणासमेत गरे । यसैगरी पावरले नेपालका अर्थमन्त्रीसँगको भेटघाट फलदायी रहेको, नेपाल अमेरिका साझेदारी र नेपालको प्रजातान्त्रिक अभ्यासको प्रगतिका लागि सहयोग रहने बताएका छन् । सामाजिक सञ्जालमार्फत पावरले लेखेका छन्, ‘तत्कालका चुनौतीको सामना गर्न दुवै देश मिलेर काम गर्न तयार भएका छौं ।’ यस्ता चुनौती जलवायु परिवर्तन र खाद्य सुरक्षा गरेको युएसएआइडीका प्रमुख प्रशासक समान्ता पावरले उल्लेख गरेकी छिन् । उक्त भेटघाट कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा भ्रमणदलमा सहभागी अन्यको समेत उपस्थिति थियो । नेपालको आर्थिक सामाजिक विकासमा युएसएआइडीको महत्वपूर्ण सहयोग रहेको छ । गत मे महिनामा मात्र उक्त नियोगले आगामी पाँच वर्षका लागि नेपाललाई ६५ करोड ९० लाख डलरको सहयोगको घोषणा गरेको थियो । उक्त सहयोग नेपालले आफूलाई अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्न उपयोग गर्नेछ । रासस
सिटिजन्स बैंकको ९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
last day sign flat concept काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको लाभांश सुरक्षित गर्ने आज असोज २७ गते, बिहीबार अन्तिम दिन हो । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज २८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन र बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले लाभांश वितरण गर्ने प्रस्ताव सहित कार्तिक ४ गते अमृतभोग, कालिकास्थानमा विहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा बैंकले अन्य बैंकसँग मर्जरमा जान वा बैदेशिक साझेदारीमा जामनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । यस्तै, सभामा गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात र नाफानोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण माथि छलफल हुनेछ ।
बाराही हाइड्रोपावरले कात्तिक ४ गतेदेखि आईपीओ निष्काशन गर्दै, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले कात्तिक ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओमा बाग्लुङ्ग जिल्लाका जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा कात्तिक १८ गते र ढिलोमा मंसिर ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कात्तिकमा कर्जाको ब्याजदर बढ्ने, बेसरेट ११ प्रतिशतसम्म पुग्ने
काठमाडौं । कात्तिकमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाउने भएका छन् । बैंकहरुले आधार दर बढाएर कर्जाको पनि ब्याजदर बढाउने तयारी गरेका हुन् । नेपाल बैंकर्स संघ स्रोतका अनुसार आधार दर ०.५ प्रतिशतले बढाएर कर्जाको ब्याजदर पनि बढाउन लागिएको हो । तर, बैंकर्स संघको आधिकारिक निर्णय भने भएको छैन । आज बस्ने संघको बैठकले सो निर्णय गर्ने स्रोतको भनाइ छ । कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको ब्याजदर यथावत राखेर कर्जाको ब्याजदर बढाउने तयारी रहेको एक बैंकर्सले बताए । ‘अहिले बैंकहरुको औसत आधार दर ९.५६ प्रतिशत छ, कात्तिकमा ०.५ प्रतिशत बढाउने तयारी छ, त्यसपछि कर्जाको ब्याजदर बढ्छ, निक्षेपको यथावत रहन्छ,’ स्रोतले विकासन्युजसँग भन्यो । बैंकहरुले तीन महिनामा आधार दर परिवर्तन गर्न पाउने राष्ट्र बैंकको नीतिगत व्यवस्था छ । सोही व्यवस्था अनुरुप बैंकहरुले आधार दर बढाउन लागेका हुन् । बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्ने गर्छन् । बैंकहरुको बेसरेट बढेपछि कर्जाको ब्याजदर पनि स्वतः बढ्छ । बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर पनि घट्छ । विगत ७ महिनादेखि निक्षेपको ब्याजदर र राखेका बैंकहरुले गत असोजमा बढाएर १२.१३ प्रतिशत माथि पुर्याएका थिए । अहिले बैंकहरुले रेमिट्यान्स खातामा १५ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । असोज महिनामा बैंकहरुले १० प्रतिशत थप गरेर व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ करिव १०.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् । अहिले पनि अधिकांश वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा छ । दोहोरो अंकमा आधार दर भएका बैंकबाट ऋण लिँदा लागत बढी लाग्ने गर्छ । अब बैंकहरुको आधार दर ११ प्रतिशतसम्म पुग्ने निश्चित छ । हाल बैंकहरुमध्ये सिटिजन्स बैंकको आधारदर सबैभन्दा बढी रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको आधादर सबैभन्दा कम रहेको छ । सिटिजन्स बैंकबाट ऋणीले कर्जा लिँदा सबैभन्दा महँगो लागत लाग्ने गरेको देखिन्छ भने राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिँदा सस्तो पर्ने देखिन्छ ।सिटिजन्स बैंकको आधारदर १०.५५ प्रतिशत रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको अधार दर ७.८६ प्रतिशत छ । अहिले पनि उद्योगी व्यवसायीहरु कर्जाको बयाजदर बढी भएको भन्दै बैंकहरुप्रति असन्तुष्ट बनेका छन् । बैंकहरुको गुनासोकै कारण अर्थमन्त्रालयले ब्याजदर सम्बन्धि अध्ययन गर्नका लागि एक समिति गठन गरेको थियो । तर, सो समितिले पनि प्रतिस्पर्धाका आधारमा ब्याजदर निर्धारण गर्नु पर्ने सुझाव दिइसकेको छ । कति पुग्ला आधार दर ? वाणिज्य बैंकहरुको आधार दर ०.५ प्रतिशत बढाउँदा औसत १०.०६ प्रतिशत हुने देखिन्छ । केही बैंकहरुको आधारदर ११ प्रतिशतको हाराहारी हुने देखिन्छ भने अधिकांश बैंकहरुको आधारदर डबल डिजिटमा हुने देखिन्छ । सबैभन्दा बढी आधार दर सिटिजन्स बैंकको हुने देखिएको छ भने सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको हुनेछ । यही आधारमा वाणिज्य बैंकको ऋणको ब्याजदर पनि बढ्ने छ ।