सरकारी कारोबारलाई डिजिटलाइज गर्न नेपाल एसबिआई र कञ्चनपुर भन्सार कार्यालयबीच सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक र नेपाल सरकार भन्सार विभागबीच सम्झौता भएको छ । बैंक र विभागबीच सरकारी कारोबारलाई डिजिटल बनाउन कञ्चनपुर भन्सार कार्यालय गड्ढाचौकीको परिसरमा बैंक एक्स्टेन्सन काउन्टर खोल्ने सम्झौता भएको हो । यसै सम्बन्धमा भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमले दुवै संस्थाका वरिष्ठ अधिकारीहरुको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १० शाखा रहित बैंकिङ तथा १ कर्पोरेट अफिसका साथै १३० एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
चुनाव प्रचारप्रसारमा संलग्न स्थानीय तहका पदाधिकारीलाई कारवाही गर्दै आयोग
काठमाडौं । चुनाव प्रचारप्रसारमा संलग्न स्थानीय तहका पदाधिकारीलाई निर्वाचन आयोगले कारवाही गर्ने भएको छ । निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा स्थानीय तहका पदाधिकारीले प्रचारप्रसार गरेको पाएपछि निर्वाचन आयोगले कारवाही गर्ने भएको हो । निर्वाचन आचारसंहिता, २०७९ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्वद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैह्रसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचारणहरुबारे स्पष्ट व्यवस्था गरिएको छ । आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ ।
सेलपेमार्फत विधुत प्राधिकरणको अनलाइन बिल भुक्तानी नहुने
काठमाडौं । सेलपे मार्फत भइरहेको नेपाल विधुत प्राधिकरणको अनलाइन बिल भुतानी सेवा स्थगित भएको छ । बुधबार सेलपेले सूचना जराी गर्दै प्राधिकरणको अनलाइन बिल भुतानी सेवा स्थगित गरेको जनाएको छ । ‘नेपाल विद्युत प्राधिकरणको अनलाइन बिल भुक्तानी सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द हुने जानकारी गराउँदछौं, यसबाट पुग्ने असुविधा प्रति क्षमाप्रार्थी छौ,’ सूचनामा उल्लेख छ ।
कर्मचारीको क्षमता विकास गर्न बीफिन र सीपीएससी बीच सम्झौता
काठमाडौं । नेपाल बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट (बीफिन) र फिलिपिन्सको मनिलास्थित कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) बीच सम्झौता भएको छ । मंगलबार मनिलामा सीपीएसीले आयोजना गरेको एक समारोहबीच दुई पक्ष रणनीतिक सम्झौतामा प्रवेश गरेका हुन् । सम्झौतमा बीफिनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र सीपीएससीका महानिर्देशक प्राध्यापक जी.एल.डी. विक्रमासिंघेले हस्ताक्षर गरेका थिए । यस रणनीतिक सम्झौताको उद्देश्य दुवै संस्थाको कार्यक्षेत्रभित्र पर्ने विविध संस्थाका कर्मचारीको क्षमता विकासको क्षेत्रमा मिलेर काम गर्नु रहेको छ । यस सहकार्यले कयौं सदस्य देशमा मानव संसाधन विकासमा मद्दत मिल्ने डा. आत्रेयले बताए ।
आईएमई लाइफ छिट्टै आइपीओ जारी गर्दै
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले पूँजी बढाएर सर्वसाधरणको लागि सेयर जारी गर्ने भएको छ । कम्पनीको बुधबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको सेयर पूँजी थप गर्ने निर्णय गरेको हो । सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान/आर्थिक सहायताको अनुमोदन समेत गरेको छ । कम्पनीले सातै प्रदेशमा शाखा संन्जाल विस्तार गरी हाल १४० शाखा तथा उपशाखाहरु मार्फत सेवा उपलब्ध गरिरहेको छ ।
यी ५ बैंकको लाभांश रोक्दै राष्ट्र बैंक, डबल डिजिटमा लाभांश नदिन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले डेढ दर्जन बैंकका वित्तीय विवरण अड्काएर राखेको लामो समय भयो । यसअघि वित्तीय विवरण पेश भएको एक/दुई सातामै स्वीकृति पाउने भएपनि यसपटक भने राष्ट्र बैंक कडा बन्दा बैंकहरुले एजीएम क्लियरेनस पाउन सकेका छैनन् । डेढ दर्जन बैंकहरु वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक पुगेका छन् । तर, सिटिजन्स, कुमारी र नेपाल पूर्वाधार बैंकले मात्रै स्वीकृति पाएका छन् । राष्ट्र बैंकले बैंकहरुलाई प्रोभिजनमा बाध्यकारी गराउँदा र ग्राहकबाट लिएको अतिरिक्त प्रिमियम फिर्ता गर्नु पर्ने भन्दै वित्तीय विवरणहरु स्वीकृत नगरेर बसेको छ । तर, बैंकहरुले भने ग्राहकको सहमतिमै प्रिमियम बढाएको र अहिले नै प्रोभिजन गर्न समस्या भएको भन्दै राष्ट्र बैंकको कुरा टार्दै आएका छन् । यस्तै, केही बैंकहरुले राष्ट्र बैंकको नीतिभन्दा बाहिर रहेर बिजनेस गरेको भन्दै लाभांश नै रोक्न लागेको हो । बैंकहरुले राष्ट्र बैंकको नीति अनुरुप प्राथमिक पुँजी कोष (कोर क्यापिटल) र पुँजी कोष नपुर्याएको भन्दै पाँच वटा वाणिज्य बैंकको लाभांश रोक्ने तयारी राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंक स्रोतका अनुसार एनआइसी एसिया, माछापुच्छ्रे, प्रभु, सिद्धार्थ र लक्ष्मी बैंकले प्राथमिक पुँजी कोष मेन्टेन नगरेको भन्दै लाभांश नै रोक्न लागेको हो । ‘हामीले गत वर्ष पनि एनआइसी एसिया बैंकको लाभांश रोकेका थियौं, बैंकहरुले त्यहीबाट पनि पाठ सिक्ने सक्थे तर राष्ट्र बैंकको नीति नै अवलम्बन नगरी मनोमानी ढंगले बिजनेस गरे, अहिले हामी पाँच बैंकको लाभांश रोक्दैछौं, अघिल्लो वर्ष पनि एनआइसी एसियाको प्राथमिक पुँजी कोष कम थियो तर हामीले त्यतिदेर लाभांश घोषणाका लागि स्वीकृति दियौं, बैंकहरुले त्यतिखेर किन स्वीकृति दिएको भनेर भनिरहेका छौं तर त्यतिखरे र अहिले अवस्था फरक छ, पाँच बैंकको लाभांश रोकिन्छ,’ राष्ट्र बैंक स्रोतले विकासन्युजसँग भन्यो । यस्तै, राष्ट्र बैंकहरुले बैंकहरुलाई डबल डिजिटमा लाभांश नदिन पनि निर्देशन दिएको बुझिएको छ । राष्ट्र बैंकले अहिले लाभांशभन्दा पनि प्रोभिजनमा केन्द्रित हुन बैंकहरुलाई निर्देशन दिएको हो । ‘अहिले पनि बैंकहरु बिजनेस गर्न सक्ने अवस्थामा छैनन्, बैंकहरुसँग पुँजी नै छैन, बढी लाभांश दिँदा झन सकस्या हुन्छ, अधिकांश बैंकहरुलाई डबल डिजिटमा लाभांश नदिन राष्ट्र बैंकले निर्देशन दिएको छ, मर्जरमा गएका केही बैंकहरुलाई भने केही खुकुलो नीति बनाएको छ, अन्यलाई राष्ट्र बैंक कडा रुपमा उत्रिएको छ,’ एक वाणिज्य बैंकका अधिकारीले विकासन्युजसँग भने । अहिले अधिकांश वाणिज्य बैंकहरुले प्रोभिजनमा नै बढी खर्च गर्नु पर्ने भएको कारणले लाभांश कम दिनु पर्ने अवस्था रहेको ती बैंकरको भनाइ छ ।
सिद्धार्थ बैंकले नारायणी अस्पताललाई भवनलाई मर्मत गर्न ५५ लाख दिने
काठमाडौं । सिद्धार्थ बैंकले वीरगंज स्थित नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले अस्पतालको भवनलाई मर्मत तथा सम्भार गर्नको लागि उक्त रकम सहयोग गर्ने भएको हो । उक्त कार्यको समन्वय तथा सहजीकरण गैर नाफामुलक संस्था राउण्ड टेबल नेपालले गर्नेछ । अस्पताललाई सहयोग रकम उपलब्ध गराउन बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विरेन्द्र बहादुर प्रधान र राउण्ड टेबल नेपालका तर्फबाट उक्त संस्थाका नेशनल प्रेशिडेन्ट राहुल अग्रवालले सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन् । बैंकबाट प्राप्त उक्त सहयोग रकम नारायणी अस्पतालको विरामीहरुका लागि निमार्णधीन भवनको सिभिल, फिनिसिङ्ग तथा थप संरचना बनाउने कार्यका लागि उपयोग गरिनेछ ।
बैंकहरुमा तरलताको समस्या झन् चुलिँदै, ८ अर्बले निक्षेप घट्दा सीडी रेसियो ८७ प्रतिशत बढी
काठमाडौं । वाणिज्य बैंकहरुमा तरलताको समस्या झनै चुलिँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा पनि निक्षेप संकलन भने घट्दो रहेको छ । एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ८ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एसोसियसनका अनुसार बैंकहरुको निक्षेप संकलन एक सातामा ८ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ११ अर्ब रुपैयाँ मात्रै संकलन गरेका छन् । असोज १४ गते ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले असोज २१ गतेसम्म ८ अर्ब रुपैयाँ घटेको हो । तर, असोज महिनामा भने २५ अर्ब रुपैयाँ निक्षेप भित्रिएको एसोसियसनले बताएको छ । यसअघि भदौ मसान्तसम्म बैंकहरुको निक्षेप संकलन ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो । यस्तै, बैंकहरुको कर्जा प्रवाह पनि एक साताको अवधिमा ५ अर्ब रुपैयाँले घटेको छ । असोज १४ गतेसम्म ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुको ५ अर्ब घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । तर, असोज महिनामा भने बैंकहरुको कर्जा प्रवाह २ अर्ब रुपैयाँ बढेको छ । यसअघि भदौ मसान्तसम्ममा बैंकहरुले ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । एसोसियसनका अनुसार बैंकहरुको सीडी रेसियो भने ८७.२५ प्रतिशत रहेको छ ।