
काठमाडौं । वाणिज्य बैंकहरुमा तरलताको समस्या झनै चुलिँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा पनि निक्षेप संकलन भने घट्दो रहेको छ ।
एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ८ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एसोसियसनका अनुसार बैंकहरुको निक्षेप संकलन एक सातामा ८ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ११ अर्ब रुपैयाँ मात्रै संकलन गरेका छन् । असोज १४ गते ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले असोज २१ गतेसम्म ८ अर्ब रुपैयाँ घटेको हो ।
तर, असोज महिनामा भने २५ अर्ब रुपैयाँ निक्षेप भित्रिएको एसोसियसनले बताएको छ । यसअघि भदौ मसान्तसम्म बैंकहरुको निक्षेप संकलन ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो ।
यस्तै, बैंकहरुको कर्जा प्रवाह पनि एक साताको अवधिमा ५ अर्ब रुपैयाँले घटेको छ । असोज १४ गतेसम्म ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुको ५ अर्ब घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । तर, असोज महिनामा भने बैंकहरुको कर्जा प्रवाह २ अर्ब रुपैयाँ बढेको छ । यसअघि भदौ मसान्तसम्ममा बैंकहरुले ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
एसोसियसनका अनुसार बैंकहरुको सीडी रेसियो भने ८७.२५ प्रतिशत रहेको छ ।