विकासन्युज

बागमती प्रदेशमा २७ हजार बढी डेङ्गु सङ्क्रमित

काठमाडौं । बागमती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणबाट काठमाडौं सबै भन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको सो निर्देशनालयले जनाएको छ । काठमाडौंमा ११ हजार चार सय ६७ र रसुवामा सात जना सो रोगबाट सङ्क्रमित भएको जनाइएको छ । निर्र्देशनालयका अनुसार ललितपुरमा आठ हजार १५, मकवानपुरमा तीन हजार ६ सय चार, भक्तपुरमा दुई हजार एक सय आठ, चितवनमा एक हजार एक सय ६९, धादिङमा ६ सय ३८, काभे्रमा दुई सय १५, नुवाकोटमा एक सय ३१, सिन्धुलीमा एक सय १३, रामेछापमा एक सय २५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा डेङ्गु रोगको सङ्क्रमण पृष्टि भएको बताइएको छ । त्यस्तै प्रदेशमा हालसम्म सो रोगको सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको सो निर्देशनालयका विवरणमा रहेको छ । काठमाडौंमा सात, सिन्धुली र रामेछाप तीन /तीन, ललितपुर, मकवानपुर र चितवनमा दुई /दुई, भक्तपुर र धादिङ्मा एक/एकजनाको मृत्यु भएको छ । रासस

हातखुट्टाको जोर्नी दुखाइबाट बच्न के नखाने ?

एजेन्सी । खराब जीवनशैलीका कारण मानिसमा बढेको स्वास्थ्य समस्यामध्ये गठिया बाथ पनि एक हो । बाथ घुँडा वा जोर्नीहरूमा सुन्निने र दुख्ने समस्या हुन्छ, जसका कारण सामान्य रूपमा हिड्न गाह्रो हुन्छ। त्यहाँ धेरै प्रकारका बाथका समस्याहरू छन्, जसमा सबैभन्दा सामान्य ओस्टियोआर्थराइटिस हो। तथ्याङ्क अनुसार ४० प्रतिशत पुरुष र ४७ प्रतिशत महिलामा यो समस्या हुन सक्छ । त्यस्तै, आर्थराइटिस (आरए) र सोरियाटिक अर्थराइटिसको समस्यालाई अटोइम्यून रोग मानिन्छ। गठियाको समस्याबाट बच्न जीवनशैलीसँगै खानपानमा पनि विशेष ध्यान दिनु आवश्यक रहेको अनुसन्धानले देखाएको छ । केही खानेकुरा र पेय पदार्थहरूले गठियाको सूजन र दुखाइ बढाउन सक्छ। यदि यी कुरामा ख्याल गरिएन र यसको सेवन जारी राखियो भने यसले गठिया बाथ भएका व्यक्तिहरूमा लक्षणहरूको गम्भीरताको जोखिम बढाउँछ। सबै मानिसले जीवनशैली र खानपानमा विशेष सावधानी अपनाउनुपर्छ, जसले गर्दा यो गम्भीर स्वास्थ्य समस्याबाट बच्न सकिन्छ। आउनुहोस् जानौं बाथ रोगबाट बच्न के–के कुरा कम गर्नुपर्छ ? प्रशोधित खाद्य वस्तुहरू त्याग्नुहोस् प्रशोधित खानेकुरा स्वास्थ्यका लागि धेरै किसिमले हानिकारक हुने अध्ययनले देखाएको छ । यसले मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम मात्रै बढाउँदैन, गठिया बाथको समस्यामा पनि यो निकै हानिकारक मानिन्छ । यसबाहेक स्वास्थ्य विशेषज्ञहरूले बाथ रोगका बिरामीहरूलाई रातो रक्सीको सेवन कम गर्न सल्लाह दिन्छन्। यी खानेकुराहरूले इन्टरल्युकिन ६ आइएल ६, सी(रिएक्टिव प्रोटीन (सीआरपी) र होमोसिस्टीन ( ५ विश्वसनीय स्रोत, ६) जसले मार्करहरुलाई थप वृद्धि गर्न सक्छ । धेरै सोडियम हानिकारक हुन्छ गठिया बाथ र यसको समस्यालाई रोक्न, सबैले आफ्नो खानामा नुनलाई नियन्त्रण गर्न चिकित्सकहरुले सल्लाह दिएका छन् । मुसामा गरिएको अनुसन्धानमा वैज्ञानिकहरूले धेरै नुनयुक्त खानेकुरा खाने मुसालाई जोर्नीरोगको समस्या हुने सम्भावना बढी रहेको पत्ता लगाएका छन् । शोधकर्ताहरू भन्छन् कि उच्च सोडियमयुक्त आहारको उपभोगले सुन्निने गठिया बाथरोग र अटोइम्यून रोगहरूको जोखिम बढाउन सक्छ। १८,५५५ जना व्यक्तिहरूमा गरिएको एक अध्ययनले धेरै नुन सेवन गर्ने मानिसहरूलाई रुमेटोइड अर्थराइटिसको उच्च जोखिम रहेको पत्ता लगाएको छ । रक्सीबाट टाढा रहनुहोस् यदि तपाईले मदिरा सेवन गर्नुहुन्छ भने यो बानीले गठिया बाथको समस्या पनि बढाउन सक्छ। पहिले नै आर्थराइटिसको समस्या भएका व्यक्तिहरूको लागि, रक्सीले तिनीहरूका लक्षणहरूलाई अझ खराब बनाउन सक्छ। अध्ययनहरूले पत्ता लगाएको छ कि रक्सी सेवन गर्ने मानिसहरूमा गाउट आक्रमणको आवृत्ति र गम्भीरता उच्च हुन सक्छ। यसलाई ओस्टियोआर्थराइटिसको कारक एजेन्टको रूपमा पनि चिनिन्छ। धेरै चिनीको सेवनले समस्या बढाउँछ चिनीको अत्याधिक उपभोग, विशेष गरी थपिएको चिनी, मधुमेहको लागि जोखिम मात्र होइन, यो गठिया बाथराेगीहरूको लागि पनि समस्या हुन सक्छ। क्यान्डी, सोडा, आइसक्रिम र अन्य धेरै खानेकुरामा चिनी थपिएको खानेकुरा स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । रुमेटोइड आर्थराइटिस भएका २१७ जना व्यक्तिहरूको अध्ययनले धेरै चिनी-सोडा र मिठाईहरू सेवन गर्नेहरूलाई यो रोगको उच्च जोखिम रहेको पत्ता लगाएको छ ।

हातमा बोकेको सामानबाट दैनिक खर्चको जोहो गर्दै

डुम्रे । राजमार्गमा गुड्ने बसका यात्रुलाई केरा बेचेरै सुकुमाया कुमालको घरखर्च चलेको छ । पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रे बजारमा गुड्ने बसका यात्रुलाई दिनहुँ केरा बिक्री गरेर गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५९ वर्षीया कुमालको जीविकोपार्जन चलेको छ । उनी सडकमा गुडिरहेका बसको अघिपछि हातमा केरा बोकेर दौडन थालेको पनि झन्डै ४० वर्ष बित्यो । १९ वर्षको उमेरमा विवाह भएपछि उनले केरा बोकेर बसको पछि दौडिदै सामान बेच्न सुरु गरेकी हुन् । हरेक साँझ उनी दिनभरिको बिक्रीबाट भएको आम्दानीको हिसाब राख्छिन् । भोलिपल्ट सबेरै बेच्नका लागि डुम्रे बजारमा पुग्न हतार हुन्छ । ‘सबेरै उठेर डुम्रे बजार पुग्न सके बढी बिक्री गर्न सकिने आश हुन्छ । बढी व्यापार गर्न सके दैनिक खर्च बढी जुटाउन सक्छु भन्ने आशले डुम्रे बजार आउन हतार हुन्छ’, सुकुमायाले भनिन् । पालुङटारमा उत्पादन भएको केरा डुम्रे बजारमा ल्याएर बिक्री गर्ने गरेको उनको भनाइ छ । केरा बेचेरै उनले छोराछोरी हुर्काइन् । छोराछोरी हुर्किसके पनि यसरी सामान बेच्न भने उनले छोड्नु भएको छैन । ‘अरू गरी खाने स्रोत केही छैन । यो उमेरमा पनि केरा बोकेर नै गुजारा टार्न खर्च जोहो गर्छु । हातखुट्टा चल्दा र सक्दासम्म यसरी नै खर्च जुटाएर गर्जो टार्छु,’ सुकुमायाले भनिन्, ‘माग्नु भएन चोर्नु भएन गरेर खान कसैले पनि रोक्दैन ।’ उनले भनिन्, ‘बाहिरको होइन । यही उत्पादन भएको प्राङ्गारिक केराको हाता ल्याएर बसका यात्रुलाई बिक्री गर्छौं ।’ सोही ठाउँकी ५० वर्षीया देवीमाया कुमाल, ४५ वर्षीया निर्मला कुमाल पनि डुम्रे बजारमा केराको हाता बोकेर वर्षौंदेखि बसको अघिपछि दौडिदै दैनिक खर्च जोहो गर्छन् । दैनिक खर्चको जोहोका निम्ति सोही ठाउँकी २० वर्षीया आरती कुमाल पनि यसै पेसालाई अङ्गाल्दै आएकी छिन् । दुई वर्षीय छोरालाई घरमा छोडेर खर्चको जोहोका लागि यस पेसामा आबद्ध भएको उनी बताउँछिन् । सासूलगायत गाउँका आफन्ती पनि यसै पेसा गरी घर खर्च चलाउँदै आएकाले आफू यस पेसामा जोडिएको उनी सुनाउँछिन् । पाँच सयदेखि सात सय रुपैयाँ सम्म दैनिक केरा बिक्री गर्ने गरेको उनीहरुको भनाइ छ । एक हाता केरा ५० रुपैयाँका दरले बिक्री गर्ने गरेको आरती बताउँछिन् । ‘ग्राहकले ३० रुपैयाँमा माग्छन् । कम मूल्यमै बेचिन्छ कहिलेकहीँ । त्यतिबेला हामीलाई घाटा लाग्छ’, उनले भनिन्, ‘दैनिक एक सय रुपैयाँदेखि दुई सयसम्म बचाउन सकिन्छ ।’ घरबाट डुम्रे बजारसम्म दैनिक आउनेजाने भाडा दुई सय ८० रुपैयाँ र पिउने पानी, खाजा गरी दुई सय रुपैयाँ खर्च हुने गरेको उनीहरुको भनाइ छ । उनीहरुले व्यापार गरेबापत दैनिक ३० रुपैयाँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाइलाई सरसफाइ खर्च भनेर दस्तुर तिर्नुपर्छ । यस पेसामा अधिकांश भूमिहीन सुकुम्वासी संलग्न रहेको छ । व्यवसाय बन्द गर्ने त्रास उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाइले हातमा बोकेर गरिने व्यापार बन्द गर्न परिपत्र गरेपछि उनीहरु हातमुख जोर्न समस्यामा परेका छन् । ठेलामा व्यापार गर्न दिने परिपत्र प्राप्त भएको उनीहरुको भनाइ छ । सबै हाते व्यापारीले ठेला लिन सक्ने अवस्थामा छैन । ‘हामीले यो काम गर्न नपाए हाम्रो चुल्होमा आगो बल्दैन । ठेला किन्न सक्ने अवस्थामा हामी छैनौँ । हामीलाई यसरी नभए पनि व्यापार गर्न दिनुपर्छ भन्ने हाम्रो माग हो,’ पुरानो बिक्रेता देवीमाया कुमाल भन्छन् । डुम्रे बजारमा केरा, पानीलगायत अन्य सामग्री हातमा बोकेर सामग्री बिक्रेता करिब ६० जना छन् । रासस

नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको छ । बुधबार मात्रै कोषको ३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । यससँगै संस्थाको ९८ लाख १० हजार कित्ता बोनस सेयर थपिएको छ । यसअघि संस्थाको ४ करोड ५२ लाख १० हजार ४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, कोषको चुक्ता पुँजी ४ अर्ब २५ करोड रुपैयाँ छ ।

दुई महिनामा १९ करोडको प्याज आयात

काठमाडाैं । गएकाे दुई महिनामा नेपालमा १९ कराेड बराबरकाे प्याज आयत भएकाे छ । भन्सार विभागकाे अनुसार साउन र भदाैमा नेपालले साे रकम बराबरकाे प्याज आयता भएकाे हाे । विभागकाे अनुसार नेपालले सबैभन्दा बढी भारतबाट प्याज आयत गरेकाे छ । नेपालले भारतबाट १ करोड ६६ लाख रुपैयाँ बराबरको ४९ लाख २८ हजार किलोग्राम प्याआयत गरेकाे देखिएकाे छ । यस्तै, नेपालले भारतपछि सबैभन्दा धेरै चीनबाट ७५ लाख रुपैयाँ बराबरको २१ हजार १०० किलोग्राम प्याज आयत गरेकाे विभागले जनाएकाे छ ।  

पहिरो पीडित भन्छन्, ‘रातभर निद्रा लाग्दैन, पहिरोको आवाजले झस्काइरहन्छ’

रामपुर । गत असोजको २२ गते रातको करिब ३ बजेको थियो । ठूलो वेगले एक्कासि ड्याङडुङ्ग आवाज सुनेपछि बेगबहादुर पल्ली एक्कासि निद्राबाट ब्यँुझाए । अँधेरी रात निद्राबाट ब्यँुझिएर आँखा मिच्दै दैलो उघार्दै बाहिर निस्कँदा एक्कासि घर अगाडि ठूलो पहिरो खसेको देख्दा उनलाई कताकता सपनामा रहेजस्तो अनुभूति भयो । निस्दी गाउँपालिका–३ क्याङ्रुङस्थित डाँडाथर बस्ने बेगबहादुर लगातार ड्याङडुङ्ग आवाजले घर नै हल्लाउने गरी घर अगाडिका बारी सखापै पारेर पहिरोसँगै खसेको देखेपछि मस्त निद्रामा रहेका आफ्नो श्रीमती र छोरा लिएर गुहार माग्दै गाउँ पसे । मीठो निद्रामा रहेको बेगबहादुरको परिवारलाई यस पटकको वर्षाले जीवनभर नमेटिने सङ्कटको अवस्था सिर्जना गरिदियो । अर्कासँग ऋण काँढेर दुःखले बनाएको घर सदाका लागि छाड्नुपर्ने अवस्थाले आफूलाई जीवनभर पीडा थपिदिएको गुनासो पोखे । ‘गाउँ नै सखापै पार्ने गरी ठूलो आवाजमा पहिरो खसेको छ, घर अगाडिका बारीमा लगाइएका कोदो, गेडागुडीसहितको सबै जमिन एकैछिन माटोमा विलीन हुन पुग्यो, घरभित्र पस्न सक्ने अवस्था छैन, अब कहाँ गएर बस्ने हो ?’, उनले भने, ‘कमाउने आधार केही छैन, बल्लतल्ल दुःखले बनाएको घरको ऋण तिर्न अझसम्म सकेको छैन, त्यही घर पनि पहिरोले गर्दा बस्नै नहुने भयो ।’ पहिराले बेगबहादुरको तीनजनाको परिवार बिचल्लीमा परेको छ । चार वर्षअघि ऋण खोजेर बनाएको पक्की घर पहिराको चपेटामा परेपछि उनको परिवारमा गाँस–बासको समस्या निम्तिएको छ । पालिकाबाट एकवटा सानो त्रिपालबाहेक अन्य राहत अहिलेसम्म केही नपाएको उनी बताउँछन् । आफूसँग भएको त्यही एउटा घर पनि पहिराको जोखिममा परेपछि उनलाई न दिनमा भोक न रातमा निद्रा जस्तै भएको छ । दिनभर पहिरो गएको ठाउँमा आफूले दुःख गरेर बनाएको घर र पहिराले लगेको बारी हेरेर साँझपख छिमेकीको घरमा बास बस्दै आएका छन् । सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गरेर बास बस्ने व्यवस्था मिलाइदिन सम्बन्धित निकायसँग उनको अनुरोध छ । करिब तीन घण्टा लगातार पहिरो खस्दा धेरै परसम्मका जमिन ठाउँठाउँमा धाँजा फाटेका छन् भने घरका जग तथा भित्ताहरु चर्किएका छन् । युबहादुर पल्लीको घर पहिराको थरथरावटले चर्किएपछि घरबारी नै पूरै जोखिममा छ । भर्खरै नयाँ बनाएको घरसहित बारी पहिराको जोखिममा परेपछि परिवारको जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताएको उनी गुनासो गर्छन्। ढुङ्गा माटोबाट निर्मित सो घरमा १२ जनाको परिवार बसोबास गर्दै आएकामा अहिले घर नै छाडेर अन्यत्र बास लिनुपर्दा अप्ठ्यारो परेको छ । छिमेकीको घरमा पनि पर्याप्त बस्ने ठाउँ नहुँदा पीडितलाई थप समस्या निम्तिएको छ । युबहादुरको घरसहित करिब १० रोपनी खेतीयोग्य बारी चर्किएर हिँड्नै नहुने गरी जोखिम बढेको छ । ‘गाउँमा सोच्दै नसोचेको विपद् आइपरेको छ, रातभर निद्रा लाग्दैन, जतिबेला पनि पहिरो खसेको त्यस दिनको आवाज मात्रै कानमा गुञ्जिरहन्छ, हाललाई ज्यान बचाउन छिमेकीको घरमा बसोबास गरिरहेका छौँ, कतिन्जेलसम्म यसरी बस्ने हो जीवनको कुनै ठेगान छैन’, उनले भने । दैनिकजसो पहिरो खस्ने गर्दा आसपासका बस्तीमा पहिरो फैलने जोखिम बढेको देखिन्छ । गाउँमा पहिरो गएपछि दुई दिनसम्म लक्ष्मी माविको भवनमा आश्रय लिएर बसेको निरा सोती बताउँछिन् । विद्यालय सञ्चालन भएपछि अहिले छिमेकीको घरमा परिवारसहित आश्रय लिइराखेकी छिन् । जोखिमका बाबजुद पनि आफ्नै घरमा साँझबिहान खाना खाएर छिमेकीको घरमा राति सुत्न जाने गरेको उनी बताउँछिन् । बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्ने व्यवस्था मिलाउन स्थानीय सरकारसँग पीडितको माग छ । यही असोज २२ गते बिहान करिब ३ बजेको समयमा अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका–३ स्थित क्याङ्रुङमा रहेको डाँडाथरका बस्ती तलको भागबाट पहिरो खस्दा सिङ्गो गाउँ नै पहिराको जोखिममा परेको छ । तत्कालका लागि यहाँका २८ घरपरिवारलाई बसोबासका लागि वैकल्पिक व्यवस्था मिलाउनुपर्ने देखिएको छ भने गाउँका अन्य आसपासका घरहरुमा पनि जोखिम उत्तिकै छ । यहाँका दुर्गाबहादुर पल्ली, नन्दबहादुर पल्ली, बेगबहादुर पल्ली, यमबहादुर पल्ली, रनबहादुर सोती, ठगबहादुर सोती, धनबहादुर सोती, प्रतापसिं सोती, बोमबहादुर सोती, खेमबहादुर सोती, मोतिराम बयम्बु, धनबहादुर बयम्बु, बलबहादुर सोती, रक्तबहादुर सोती, दलबहादुर विक, गिरप्रसाद बयम्बु, जसदेव विक, ठगबहादुर सुनार, नरबहादुर सोती, शेरबहादुर सोती, धनबहादुर सोतीको परिवार पूरै विस्थापित भएको छ । यी परिवारका सदस्य आफन्त, छिमेकी तथा विद्यालयका भवनमा बसोबास गरिरहेका छन् । यस्तै रिक विक, लिबहादुर सोती, लोकबहादुर सोती, पदमबहादुर सोती, ठनबहादुर सोती, रेवती सोती र तुल्सीप्रसाद सोतीको घर जोखिममा परेको छ । पहिराबाट करिब तीन सयभन्दा बढी गाउँका स्थानीय प्रत्यक्ष मारमा परेका छन् । पहिरो गएपछि पाँच घरपरिवारलाई दुई दिनसम्म लक्ष्मी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेर राखिएको थियो भने विद्यालय खुलेपछि असोज २४ गते तीन घरपरिवार छिमेकी तथा आफन्तको घरमा आश्रय लिन पुगेका छन् । बाँकी दुई घरपरिवार अझै पनि विद्यालयको भवनमा नै बसोबास गरिरहेका छन् । यहाँ रहेको एक स्थानीय क्लब भवनको आडैबाट पहिरो खस्दा जोखिममा परेको छ । ङनबहादुर सोतीको वर्षौंदेखि भोग चलन गर्दै आएको करिब चार रोपनी जग्गाबाटै ठूलो पहिरो गएपछि उनी चिन्तित छन् । बाउबाजेको पालादेखि नै उपयोग गर्दै आएको जग्गामा विभिन्न कृषि बाली राम्रै उब्जनी हुन्थ्यो । यसैबाट उनको परिवारको गुजारा दुःखसुखले चलेकै थियो । अहिले नाम निशाना नै पहिल्याउन नसक्ने गरी पहिराले क्षति पु¥याएको सोतीको भनाइ छ । गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले अकस्मात गएको पहिराले गाउँका धेरै घर परिवारहरु विस्थापित हुन पुगेकाले पीडितको अवस्था हेरेर तत्काल समाधान गर्नुपर्ने समस्यालाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने बताउँछन् । पीडितलाई खानबस्नका लागि समस्या परेमा आवश्यक सहयोग गर्ने र वैकल्पिक बसोबासका लागि पालिकाको खर्चले धान्न नसक्ने अवस्था सिर्जना भएमा प्रदेश र सङ्घ सरकारमार्फत सहयोग माग गर्ने अध्यक्ष सारुको भनाइ छ । साथै यही असोज २५ गते पहिरो प्रभावित क्षेत्रको निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठ, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्याल, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक मोहन खत्री क्षेत्री, श्री दी फेमस महिन्द्र दल गणबाट जमदार बुद्धिबहादुर थापा मगर, पत्रकारसहितको टोलीले स्थलगत अवलोकन, निरीक्षण एवम् पहिरो पीडितसँग भेटघाट गरी उनीहरुको अवस्थाबारे जानकारी लिइएको छ । पहिरो गएको आसपासको क्षेत्रमा बसोबास गर्न नमिल्ने गरी जोखिम बढेकाले यहाँबाट बस्ती स्थानान्तरण गरेर सुरक्षित स्थानमा पीडितलाई राखिएको अनुगमन समितिका संयोजक तथा पालिका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठ बताउँछिन् । उनका अनुसार पालिकाले पीडितलाई घरमा भएका सामान सुरक्षित साथ राख्न त्रिपालको व्यवस्था गरेको छ । पहिरो पीडितको उचित व्यवस्थापनका लागि तत्काल पालिकाले नै सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउनुपर्ने र आवश्यक सहयोगका लागि प्रशासन कार्यालयले माथिल्लो निकायमा जानकारी गराउने इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले बताए । ‘स्थलगत रुपमा अनुगमन गर्दा पहिरो आसपासका घरहरु बढी जोखिममा परेकाले ती बस्तीलाई तत्काल अन्यत्र स्थानान्तरणको व्यवस्था गर्नुपर्ने देखिएको छ’, उनले भने, ‘जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयबाट पनि आवश्यक सहयोग हुनेछ ।’ पहिराको अवस्था हेर्दा डरलाग्दो र गाउँ नै पूरै जोखिममा रहेकाले प्रभावित क्षेत्रका सबै बस्ती नै अन्यत्र स्थानान्तरण गर्नुपर्ने बताउँछिन्, लक्ष्मी माविका शिक्षक होम राना । गाउँमा रहेका करिब ४६ घरधुरीमध्ये हाललाई २२ घर नै अन्यत्र स्थानान्तरण गर्नुपर्ने उनले बताए । उत्तरतर्फ पहिरो गएको तलको भाग पर्ने पोखरीथरमा ७५ घर, माथि रहेको खलबारी टोलका ४० घरधुरीमा पहिराको असर पर्ने भएकाले विस्तारै चरणबद्ध रुपमा अन्यत्र सार्नुपर्ने अवस्था रहेको शिक्षक रानाले बताएका छन् । यहाँ पाँच सय मिटर चौडाइ र एक हजार पाँच सय मिटर लम्बाइ पहिरो गएको स्थानीयवासीको अनुमान छ । पहिरो गएको स्थानदेखि सिधै तल बस्ती नरहेकाले मानवीय क्षति भने हुन पाएन । पहिरो प्रभावित क्षेत्रमा यहाँका स्थानीयले परापूर्वकालदेखि नै मकै, कोदो, गेडागुडी जस्ता कृषि बाली लगाउँदै आएका थिए । यसैगरी गाउँ नजिकै रहेको लक्ष्मी माविको भवन जोखिममा परेको छ । विद्यालयका छवटा कोठा जोखिममा परेकाले पठनपाठनमा त्रास बढेको प्रधानाध्यापक पदमबहादुर थापाले बताए । उनका अनुसार पुस्तकालय, बालविकास कक्षा र कक्षा १ देखि ४ सम्म अध्ययन हुने कोठा जोखिममा छन् । विद्यालयको दक्षिणतर्फको भागमा पहिरो गएकाले जोखिम मोलेर शिक्षण गर्नु परेको शिक्षकको गुनासो छ । रासस

ग्लोबल आइएमई बैंकले त्रिवि आयुर्वेद क्याम्पसमा गर्यो वृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंकले त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ । वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख प्रा. डा. शिव मंगल प्रसाद तथा ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा विरुवा रोपेर गरेका थिए । विश्वविद्यालय आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्र्तगत क्याम्पस परिसर तथा शिक्षण अस्पताल भवनदेखि मूल सडकसम्म चाँप, राजवृक्ष, पारिजात, शिरीस, अमलालगायत विभिन्न प्रजातीका विरुवा रोपण गरी विरुवाको सुरक्षाको लागि “ट्रि गार्ड” समेत लगाइएको छ । कार्यक्रममा विश्वविद्यालयको आयुर्वेद क्याम्पस प्रमुख प्रा. डा. शिव मंगल प्रसाद, त्रिभुवन विश्वविद्यालयका कानुनी सल्लाहकार नारायण खनाल, आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. विनोद कुमार सिंह, प्रशासकीय प्रमुख कुमार के.सी., प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो । बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

सिटिजन्स बैंक : राष्ट्र बैंकको नजरमा अनुशासित, सेयरधनीको हात कहिल्यै खाली नराख्ने

काठमाडौं । ‘युओर पाटर्नर फर प्रोग्रेस’ अर्थात् प्रगतिको लागि तपाईंको साथी । यो नारा हो सिटिजन्स बैंकको । नेपाली बैंकिङ क्षेत्रमा विभिन्न बैंकहरुका आ–आफ्नै व्यवसायिक रणनीति र योजनाहरु छन् । तर, सबैको लक्ष्य, उद्देश्य र प्राथमिकता गुणस्तरीय छिटो तथा छरितो सेवा र सेयरधनीलाई राम्रो र नियमित प्रतिफल हो । अहिले सबै बैंकहरुको प्रतिस्पर्धा यसैमा नै हो । वित्तीय सूचकहरुलाई मजबुद बनाएर बैंकिङ इण्ड्रस्टीमा ‘राज’ गर्ने चाहना सबै कम्पनीको हुन्छ । तर, कतिले योजना र रणनीति अनुसार काम गर्छन् भने कतिपयले बिचैमा बाटो बिराउँछन् । सिटिजन्स बैंकको पनि महत्वपूर्ण प्राथमिकता हो नियमित प्रतिफल र सेवाग्राहीलाई सरल, सहज र गुणस्तरीय सेवा । यसको अतिरिक्त बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकका नीति नियमहरु अनुसरण तथा अवलम्बन अग्रणी रुपमा गर्ने । सिटिजन्स बैंक गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बन्यो । विगतका वर्षहरुमा पनि अन्य वाणिज्य बैंकहरुमध्ये सिटिजन्स बैंक दशैं अगावै लाभांश घोषणा गर्ने बैंकमा पर्छ । सेयरधनीहरुको चाहना पनि आफूले लगानी गरेको कम्पनीले दशैं अगावै लाभांश दिए हुन्थ्यो भन्ने हुन्छ । तर, केही बैंकहरुले मात्रै दशैं अगावै लाभांश वितरण गर्दै आएका छन् । जसमध्ये सिटिजन्स बैंकले प्रत्येक वर्ष दशैंमा सेयरधनीहरुलाई दशैं खर्च रुपमा लाभांश वितरण गर्ने गरेको छ । यसपटक पनि यस बैंकले दशैं र तिहारको बिचमा सेयरधनीलाई लाभांश वितरण गदैछ । सिटिजन्स बैंकका सेयरधनीले दिपावलीमा प्रतिफल पाउँदैछन् । यसपटक दशैं छिटो परेको र राष्ट्र बैंकले पनि एजीएम क्लियरेन्स ढिला गरेर स्वीकृति दिएका कारण लाभांश वितरणमा केही समय ढिला भएको सिटिजन्स बैंकका प्रवक्ता नारायण अधिकारी बताउँछन् । दशैंमा सेयरधनीलाई खुसी पार्न नसकिएपनि तिहारलाई समेटर लाभांश वितरण गर्ने तयारी रहेको उनी बताउँछन् । ‘लाभांश घोषणा गर्ने पहिलो बैंक सिटिजन्स नै हो, दशैं अगावै लाभांश वितरण गर्ने हाम्रो परम्परा हो, दशैं अगाडि नै सेयरधनीहरुलाई लाभांश वितरण गर्नु पर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘यसपटक पनि हामीले दशैं अघि नै तयारी गरेका थियौं तर, दशैं चाँडै परेको र राष्ट्र बैंकबाट स्वीकृत आउन ढिलाइ भएको हो, दशैंमा नभएपनि तिहार अघि नै वितरण गर्न पाउने गरी स्वीकृति आएको छ, दुई वटा ठूला चाडमध्ये तिहार चाडलाई समेट्ने गरी स्वीकृत पाएका छौं ।’ बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बिहीबार बसेकोसञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सिटिजन्स बैंकका सीईओ पोखरेलसहितको उच्च व्यवस्थापन । बैंकको हालको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकले सेयरधनीहरुलाई चुक्ता पूँजीको १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै बैंकले लाभांश वितरण गर्ने प्रस्ताव सहित आगामी कात्र्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभा बिहान ११ बजे काठमाडौंमा हुनेछ । सर्वाेत्कृष्ट सेवाका लागि परिचित अग्रपंक्तिको बैंकका रुपमा स्थापित हुने लक्ष्य रहेको बैंकको उद्देश्य भने उत्कृष्ट सेवासुविधाहरु परिकल्पना र प्रदान गरी व्यक्ति तथा संस्थाहरुका लागि प्रगतिपथमा भरपर्दाे साझेदार बन्ने रहेको बैंकले जनाएको छ । गत बैशाखमा १५ वर्षको यात्रा पुरा गरी बैंक १६औं वर्षमा प्रवेश गरेको छ । १५ बर्षको अवधिमा बैंकले झण्डै १४ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । स्थापनाकालमा ४४ जना कर्मचारी रहेकोमा हाल १ हजार ६ सय जना कर्मचारीले रोजगारी पाएको बैंकले जनाएको छ । मर्जरमा छैन दबाब २०औँ वाणिज्य बैंकका रुपमा सञ्चालनमा आएको सिटिजन्स बैंक वि.सं.२०६४ बैशाख ७गते स्थापना भएको थियो । यस बैंकले हालसम्म विभिन्न बैंक तथा वित्तीय संस्था गरी कूल ६ वटालाई प्राप्ति गरेको छ । बैंकले १५ बर्षको अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सृजना फाइनान्स प्राप्ति गरेको छ । बैंकले पिपुल्स फाइनान्स र नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्सलाई २०७२ बैशाख २५ गते, प्रिमियर फाइनान्सलाई २०७३ साउन २ गते, सहयोगी विकास बैंकलाई २०७७ असार २० गते, तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई २०७७ चैत १४ गते र श्रृजना फाइनान्सलाई २०७८ असार २६ गते एकीकृत कारोबार गरेको थियो । बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाण्डौंमा छ । बैंकको हाल १८० वटा शाखाहरु तथा १३२ वटा एटीएमहरुबाट ग्राहकलाई सेवा दिइरहेको छ । प्रवक्ता अधिकारीका अनुसार बैंकलाई मर्जरको दबाब छैन । बैंकको रणनीति साना कम्पनीलाई प्राप्ति गर्ने रहेको उनको भनाइ छ । बेलाबेला केही बैंकहरुसँग मर्जरको कुरा चलेको भएपनि अहिले नै मर्जरमा गैहाल्नु पर्ने दबाब भने बैंकलाई नभएको उनले बताए । ‘बैंकलाई मर्जरको दबाब छैन, बैंकले स–साना कम्पनीलाई लिएर अघि बढिरहेको छ, बैंकको प्राथमिकतामा मर्जरमा जाने भन्ने छैन, साना कम्पनीलाई अक्वायर गरे अघि बढ्ने हो, अहिले पनि अघि बढिरहेका छौं,’ उनले भने, ‘बीचमा केही बैंकसँग मर्जरमा जाने चर्चा चलेको हो, कुराकानी हुन्छ नै तर प्राथमिकतामा मर्जर छैन ।’ बैंकमा सामान्य व्यक्तिदेखि व्यापारिक, औद्योगिक घरानालगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ । बैंकलाई उच्च व्यवसायिक तथा अनुभवी समूहले सञ्चालन गरिरहेको छ । हाल बैंकलाई राजन सिंह भण्डारीले अध्यक्षको रुपमा र गणेशराज पोखरेलले प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिरहेका छन् । सेयरधनीको हात रित्तो नराख्ने उद्देश्य बैंकले १५ बर्षको इतिहासमा १४ बर्ष सेयरधनीलाई लाभांश वितरण गरेको छ । बैंकले प्रत्येक बर्ष निरन्तर रुपमा सेयरधनीलाई लाभांश वितरण गर्दै आईरहेको छ । बैंकले धेरै लाभांश वितरण नगरेपनि सेयरधनीको हात भने कुनै वर्ष रित्तो गरेको छैन । सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीसहितको सञ्चालक समिति । बैंकले हालसम्म १८६ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा ५९ प्रतिशत नगद लाभांश वितरण गरेको छ भने १२० प्रतिशत बोनस सेयर वितरण गरेको बैंकले जनाएको छ । बैंकले प्रत्येक वर्ष बोनस सेयरलाई प्राथमिकतामा राखेको भएपनि यसपटक भने नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कोरोनाको समयमा बोनस सेयरलाई बढी जोड दिइएको भएपनि यसपटक नगद लाभांशमा जोड दिएको प्रवक्ता अधिकारीले बताए । यसअघि नगद लाभांश नपाएका सेयरधनीलाई हाल नगद वितरण गर्दा उत्साहित हुनु पर्ने उनको बुझाइ छ । ‘यसअघि सेयरधनीले नगद नपाउँदा उत्साहित थिएनन्, यसपटक खुसी हुनुहुन्छ होला,लाभांशमा प्रतिशत कम भएपनि ठूला लगानीकर्तालाई नगद राम्रो हो, बोनस वितरण गर्दा पूँजी मात्रै बढ्दै गयो,कतिपय बैंकको कोर क्यापिटल नै नपुगेका कारण लाभांश वितरण गर्न नसक्ने स्थितिमा छन्, प्राथमिक क्यापिटल नपुगेका बैंकलाई लाभांश वितरणमा रोक नै लगाएको छ,’उनले भने । मध्यम लेभलका बैंकले बोनस सेयर वितरण गर्दा पूँजी बढ्ने भएकाले सोही अनुसार प्रतिफल दिन गाह्रो पर्ने उनले बताए । बैंकले धेरै वर्षपछि एकल अंकमा लाभांश वितरण गरेको उनको भनाइ छ । १६ वर्षमा १४ वर्ष लाभांश वितरण गरेको हुँदा प्रत्येक वर्ष सेयरधनीलाई लाभांश वितरण गर्ने गरेको उनको भनाइ छ । राष्ट्र बैंकको नजरमा अनुशासित बैंक सिटिजन्स बैंकले नेपाल राष्ट्र बैंकका विभिन्न नीति नियमहरु सहज रुपमा कार्यान्वयन गरेकै कारण विभिन्न समयमा राष्ट्र बैंकबाट हुने काम सहज सजिलै र छिट्टै पाउँछ । अन्य बैंकहरुलाई वित्तीय विवरण स्वीकृति गराउनै सकस भइरहेको बेला सिटजन्स बैंकले भने सहजै स्वीकृति पाउँछ । यस वर्ष मात्रै होइन विगतका वर्षहरुमा पनि सिटिजन्सले सबैभन्दा अगाडि नै एजीएम क्लिरियन्सको स्वीकृति पाउँदै आएको थियो । यस बैंकले गरेका विभिन्न नीतिगत व्यवस्था कार्यान्वयनमा सिटिजन्स नम्बर वान बैंक भएको पनि राष्ट्र बैंककै अधिकारीहरु स्वीकार्छन् । नेपाल राष्ट्र बैंकले ९० प्रतिशतको कर्जा–निक्षेप (सीडी रेसियो) अनुपात कायम गरेको छ । धेरै बैंकहरुलाई यो सीमा कायम गर्न एकदमै सकस छ । तर, गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार सिटिजन्स बैंकले असार मसान्तसम्म ८५.२० प्रतिशतमा सीडी रेसियो कायम गरेको छ । यस्तै, बैंकको खराब कर्जा १.८७ प्रतिशत मात्रै छ । यसले पनि बैंकले प्रवाह गरेको कर्जा सुरक्षित छ भन्ने पुष्टि गर्छ । अहिले अधिकांश बैंकले प्राथमिक पुँजी कोष, पुँजी कोष तथा पुँजी प्रयाप्तता अनुपात कायम नगरेकै कारण गत वर्षको नाफाबाट लाभांश वितरण गर्न नसक्ने अवस्था छ । तर, यस बैंकले भने ती सबै सूचकहरु सहजै अवलम्बन गरेर सबैभन्दा अगाडि लाभांश प्रस्ताव गरेको छ । बैंकको पुँजी प्रयाप्तता अनुपात पनि १२.९३ प्रतिशत छ । राष्ट्र बैंकले प्राथमिकताका साथ हेर्ने अर्को महत्वपूर्ण सूचक भनेको प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह भएको ऋण हो । नेपाल राष्ट्र बैंकले विभिन्न क्षेत्रहरु तोकेर ती क्षेत्रमा निश्चित कर्जा लगानी गर्नु पर्ने सीमा नै तोकेको छ । तर, अधिकांश बैंकहरुले ती क्षेत्रमा कर्जा लगानी गर्न कन्जुस्याईं गरेको देखिन्छ । नाफाकै मोहमा जाँदा अधिकाशं बैंकको प्राथमिकतामा व्यवसायिक घराना तथा बढी नाफा हुने क्षेत्र परेका छन् तर सिटिजन्स बैंकले भने ती सबै क्षेत्रमा राष्ट्र बैंकको तोकेको भन्दा बढी कर्जा लगानी गरेको देखिन्छ । राष्ट्र बैंकले कृषिमा १२ प्रतिशत कर्जा लगानी गर्नु पर्ने व्यवस्था गरेकोमा यस बैंकले १२.१६ प्रतिशत, जलविद्युतमा ६ प्रतिशत लगानी गर्नु पर्ने भएकोमा यस बैंकले ६.१३ प्रतिशतर पर्यटन क्षेत्रमा ११ प्रतिशत लगानी गर्नु पर्नेमा यस बैंकले ११.१३ प्रतिशत लगानी गरेको छ । राष्ट्र बैंकका यी विभिन्न महत्वपूर्ण कम्प्लायन्सहरु सहज रुपमा कार्यान्वयन गरेकै कारण राष्ट्र बैंकको नजरमा सिटिजन्स बैंक अनुशासित बैंकका रुपमा चिनिएको छ । राष्ट्र बैंकका अधिकारीहरु पनि सिटिजन्स बैंक विभिन्न नीति नियम कार्यान्वयन गर्ने एक अग्रणी बैंक भएको बताउँछन् । बैंकका आगामी योजना पछिल्लो समय प्रविधिले ठूलो फड्को मारिसकेको छ । बैंकहरुले आफ्नो भौतिक सेवालाई डिजिटलमा परिणत गरिरहेका छन् । सोही अनुसार बैंकले पनि डिजिटल बैंकलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाएको उनले बताए । बैंकलाई आधुनिकीकरण गरेर लैजाने बैंकको आगामी योजना रहेको उनको भनाइ छ ।