विकासन्युज

स्वर्णिम वाग्ले जस्ता मान्छेलाई टिकट नदिएर देश बन्छ ? : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली काँग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् । शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै उनले नेपाली काँग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले नेपाली काँग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने नेपाली काँग्रेसले विद्वान व्यक्तित्वहरुलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताए । विज्ञहरुलाई देशभन्दा बाहिर पठाएर मुलुकभित्र गरिब,निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने भनाइ राखे । ‘नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले हुनुहुन्छ, वाग्ले जस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्र भन्ने पार्टीले चुनाव लड्ने टिकट पनि दिएन, अनि देश बन्छ,’ उनले भने ।

चार वस्तुको प्रतिबन्ध यथावत राख्ने निणर्य

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिइएको छ । उद्योग मन्त्रालयले चार वस्तुमाथि लगाइएको प्रतिबन्ध मंसिरसम्म यथावत राख्ने निर्णय गरेको हो । यसअघि सरकारले ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यान, मदिराको आयात प्रतिबन्ध गरेको थियो । अब सो प्रतिबन्ध मंसिरसम्मका लागि यथावत राख्ने निर्णय गरेको हो ।

कमजोर बन्दै नेपाली रुपैयाँ, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडाैं । अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो । यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपैयाँ ४६ पैँसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपैयाँ छ पैसा तय गरिएको छ । त्यस्तै युरोको खरिद मूल्य एक सय २७ रुपैयाँ ७७ पैसा र बिक्री मूल्य एक सय २८ रुपैयाँ ३५ पैसा रहेको छ । पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने देखिएको छ । विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने डरल बलियो बन्दा अर्थतन्त्रमा सकारात्मक असर रहन्छ । तर, नेपालको वैदेशिक व्यापारमा निर्यातका तुलनामा आयात उच्च हुँदा त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । जसले शोधनान्तरस्थिति र विदेशि मुद्रा सञ्चितिमासमेत नकारात्मक असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयात हुने विदेशी सामानको मूल्य बढ्ने, इन्धनको मूल्य बढ्न सक्ने, नेपालले विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको भाउ बढेसँगै बढ्ने हुन्छ ।

मेरा लागि तरलताको समस्या केही होइन : राजन सिंह भण्डारी

काठमाडाैं ।सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले आफ्नो लागि तरलता अभाव केही पनि नभएको बताएका छन् । शुक्रबार द एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दीगो आर्थिक विकास विषयक कार्यक्रममा उनले तरलताको समस्या आफ्नो लागि केही पनि नभएका बताएका हुन् । ‘यो लिक्वीडिटीको समस्या मेरा लागि केही पनि होइन, देशमा राजनीति नसुध्रिएर केही पनि हुँदैन, यो मुलुकमा १८ घण्टा लोडसेटिङ हुन्थ्यो, यो हटाएको क्रेडिट कुलमान घिसिङलाई जान्छ तर उनको कार्यकाल समाप्त हुँदा थप गरिएन,’ उनले भने, ‘विद्युत क्षेत्रमा कुलमान घिसिङ जस्तै आर्थिक क्षेत्र, स्वास्थ्य क्षेत्र, सामाजिक क्षेत्रमा पनि कुलमान जस्तै ब्यक्ति छन् तर ति कुलमान चिन्न सरकारले सकेको छैन, जुन दिन चिन्छ त्यो दिन सकिन्छ ।’ उनले आफू प्रयासमा विश्वास नगरेर रिजल्टमा विश्वास गर्ने बताए । आफू बैंकर नि भएकाले नतिजामा विश्वास गर्ने संस्कारबाट आएको उनको भनाइ छ । बैंकिङ्ग क्षेत्रमा अनुशासनले महत्वपूर्ण अर्थ राख्ने गरेको उनले बताए । उनले बैंकरहरुले कऋण नलिने गरेको बताए । तर बैंकरहरुले अरुलाई ऋण दिँदा घुस लिने समस्याले बैंकिङ प्रणालीमा विकृति भित्रिएको उनको धारणा छ । देशमा बिकास गर्ने हो भने सीईओ (प्रधानमन्त्री) को क्षमता बलियो हुनु पर्ने उनले बताए । राजनीतिक पार्टीले देशको सीईओमा अब्बल ब्यक्ति दिनुपर्ने हुन्छ । तर राजनीतिमा नितिगत स्पष्टता नहुँदा बिकाश नभएको उनले बताए । मुलुकको विकास गर्न संरचना नै परिवर्तन हुनु पर्ने उनले बताए ।  

आईएमई दशैं अफरकाे पाँचौं र छैठौं हप्ताको विजेता घोषणा

काठमाडौं । चाडपर्वकाे अवसरमा आईएमईले संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफर अन्तर्गत पाँचौं र छैठौं हप्ताका विजेता सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंकाे पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राही सान्त्वना धोधरी र जीतमान गोम्बो तमाङ्ग पाँचौं हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । यस्तै, पदम कुमारी विक र किशोर तमाङ्ग छैठौँ हप्ताको लागि साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरूले ओमान र मलेशियाबाट आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए । चारै जना साप्ताहिक विजेताले २५ हजार प्राप्त गर्नेछन् । त्यस्तै, अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बाँस्कोटा, सबिन थोप्रा, संजीवकुमार शाह, आशिष सोनाम, नइन्द्र गुरुङ र रबी बडुवाल पाँचौं हप्ताको र मदनलाल कालुराम, देवबहादुर बकावल, वीरेन्द्रकुमार तुम्बापो, देवलाल मेल्हे, लोक रसाइली, इर्साद अलि खान र खेमबहादुर लिम्बु छैठौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरुले एक-एक सेट सामसुङ फाेन प्राप्त गर्नेछन् ।

थापाथली वरिपरिका अनधिकृत संरचना हटाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित वाग्मती किनारका अनाधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरुपमा संरचना बनाएर वाग्मती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले धेरै वर्षअघिदेखि यी संरचना हटाउन खोजेको थियो । यी संरचना हटाउन उक्त समितिले गत माघ महिनामा पनि सूचना प्रकाशित गरी काम अघि बढाएको थियो । त्यसबेला विभिन्न समूहको दबाबमा काम रोकिएकामा अहिले काठमाडौँ महानगरपालिकाको सहयोगमा ती अनधिकृत संरचना भत्काउन थालिएको समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिए । त्यस क्षेत्रमा निर्माण भएको रुद्रेश्वर महादेव मन्दिरको पुजारी भवन, क्रियापुत्री भवन, ओम शान्ति भवनलगायत संरचना भत्काइएको छ । थापाथली क्षेत्रमा सुकुम्वासीका नाममा नदी किनारको सार्वजनिक जग्गा कब्जा गरेर बस्नेलाई भने राजनीतिक संरक्षणका आधारमा केही नगरिएको भन्दै त्यस क्षेत्रमा विरोध पनि भइरहेको छ । सुकुम्वासीका नाममा नदी किनारको जग्गा कब्जा गर्नेलाई पनि त्यहाँबाट हटाउन नदी सफाइ अभियानकर्मीले माग गरेका छन् । राजधानीमा सुकुम्वासीका नाममा नदी किनारका सार्वजनिक जग्गा कब्जा गर्नेले सबैभन्दा बढी नदी प्रदूषित बनाउँछन् । सुकुम्वासीलाई इचङ्गुनारायणमा आवासीय भवन निर्माण गरेको वर्षौँ बिते पनि सर्न मानेका छैनन् । राजधानीको मुटुमा रहेको नदी किनारमै बस्न पाउनुपर्ने माग सुकुम्वासीका नाममा हुँदै आएको छ ।    

बैंकहरुले लिने अतिरिक्त सुविधाले समस्या आयो : गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने एक्स्ट्रा सुविधाले समस्या आएको बताएका छन् । शुक्रबार एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान)ले  दीगो आर्थिक विकास विषयमा गरेको कार्यक्रममा उनले अर्थतन्त्र संकटमा पर्दा अतिरिक्त सुविधा(प्रिमियम) लिएर समस्या परेकाे बताए । संकटलाई बैंकले अवसरको रुपमा लिएको उनले बताए । उनले मौद्रिक नितिले अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको भएको आरोप लगाएका छन् । ‘मौद्रिक नितिले अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको छ, ब्याजदर बढ्दा समस्या उत्पन्न भएको छ, उधोग क्षेत्रमा अहिले ४०(५० प्रतिशतको ह्रास आएको छ,’ उनले भने । यस्तै, गोल्छाले पछिल्लो तथ्यांक हेर्दा एफडिआई बढेको देखिएकाले केही समयमा नै अर्थतन्त्रमा देखिएको संकट समाधान हुने अपेक्षा गरिएको बताए । उनले लामो समय रेमिटेन्समा निर्भर भए झनै समस्या आउने बताएका छन् ।

ऋणीलाई प्रिमियम फिर्ता नगरेसम्म बैंकहरुको ब्यालेन्ससिट स्वीकृत नहुने, १५ अर्बको प्रोभिजन गराइँदै

काठमाडौं । बैंकहरुप्रति राष्ट्र बैंक आक्रामक बनेको छ । विभिन्न बैंकहरुले राष्ट्र बैंकको नीति नियम कार्यान्वयन नगरेपछि बैंकहरुप्रति राष्ट्र बैंक आक्रामक बनेको हो । नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई विभिन्न समयमा राष्ट्र बैंकमै बोलाएर नीति निर्देशन दिइरहे पनि बैंकहरुले  तीन नीति नियम पालना नगरेपछि बैंकका वित्तीय विवरण स्वीकृतिमा राष्ट्र बैंक कडा रुपमा प्रस्तुत भएको हो । नेपाल राष्ट्र बैंकले अहिले विभिन्न बैंकहरुका सीईओहरुलाई राष्ट्र बैंकमै बोलाएर कर्जा नोक्सानी (प्रोभिजन) गर्नेदेखि ऋणीबाट असुलेको अतिरिक्त प्रिमियम फिर्ता गराउन निर्देशन दिइरहेको छ । राष्ट्र बैंक स्रोतका अनुसार बैंकहरुले ऋणीबाट नियम विपरित असूल गरेको प्रिमियम फिर्ता नगरेसम्म गत आर्थिक वर्षको वित्तीय विवरण नै स्वीकृत नगर्ने अडान राष्ट्र बैंकले लिएको छ । स्रोतका अनुसार अहिलेसम्म १६ वटा वटा वाणिज्य बैंक वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक पुगेका छन् । तर, दुई वटा वाणिज्य बैंक र नेपाल पूर्वाधार विकास बैंकको मात्रै वित्तीय विवरण स्वीकृत भएको छ । यी तीन बैंकहरुले लाभांश पनि प्रस्ताव गरिसकेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निदेशक तथा बैंक सुपरभिजन विभागका प्रमुख देवकुमार ढकालले दुई/तीन दिनभित्र बैंकहरुको वित्तीय विवरण स्वीकृत हुने अवस्था नरहेको बताए । ‘हामीले सुक्ष्म ढंगले अध्ययन गर्छौं, कतिपय कम्प्लायन्स मिट गरेको देखिँदैन, त्यसलाई सच्याउनका लागि हामी सम्बन्धित बैंकलाई आग्रह गर्छौं, तीन वटा बैंकले स्वीकृति पाइसेकको छन्, अन्यको पनि अध्ययन गर्दैछौं,’ उनले भने । बैंकहरुले गत आर्थिक वर्षको दोस्रो र तेस्रो त्रैमासमा मनलाग्दी किसिमले ऋणको प्रिमियम असुलेका थिए । केही बैंकहरुका सीईओहरुलाई बोलाएर राष्ट्र बैंकले त्यतिखेर नै सचेत गराएको थियो । तर, बारम्बार सचेत गराउँदा पनि नमानेपछि अहिले राष्ट्र बैंक आक्रामक बनेको हो । राष्ट्र बैंकले प्रत्येक बैंकलाई न्यूनतम ५० करोड रुपैयाँदेखि अधिकतम साढे एक अर्ब रुपैयाँसम्म प्रोभिजनका लागि निर्देशन दिएको छ । बैंकहरुले तत्काल प्रोभिजन गर्न सक्ने अवस्था नभएको र अहिले वित्तीय विवरण स्वीकृत गराएर विस्तारै प्रोभिजन गर्दै जाने धारणा राखेको बुझिएको छ । यस आधारमा वाणिज्य बैंकहरुले १५ अर्ब बढी रुपैयाँ प्रोभिजन गर्नु पर्ने देखिएको बैंकरहरु बताउँछन् । यस्तै, राष्ट्र बैंकले जति सक्दो छिटो ऋणीबाट असुलेको प्रिमियम फिर्ता गर्न भनेको छ । बैंकहरु यसमा पनि सहमत भएको एक बैंकका सीईओले विकासन्युजसँग बताए । ‘राष्ट्र बैंकले प्रत्येक बैंकहरुलाई न्यूनतम ५० करोड रुपैयाँदेखि साढे एक अर्ब रुपैयाँसम्म प्रोभिजन गर्न भनेको छ, त्यसमा पुनः ग्राहकबाट लिएको अतिरिक्त प्रिमिया पनि फिर्ता गर्न निर्देशन दिएको छ, कतिपय बैंकहरु डरले पनि वित्तीय विवरण पेश गरेका छैनन्,’ ती सीईओले भने । ठूलो मात्रामा प्रोभिजन र अतिरिक्त रुपमा लिएको प्रिमियम फिर्ता गर्न निर्देशन दिएपछि बैंकहरु ठूलो समस्यामा पर्ने बैंकरहरु बताउँछन् । अहिले बिजनेस नै नभएको समयमा ठूलो मात्रामा प्रोभिजन गर्दा बैंकहरु आर्थिक रुपमा समस्यामा पर्न सक्ने ती बैंकरको भनाइ छ । ऋणीले समयमा नै कर्जाको सावा र ब्याज भुक्तानी नगर्दा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा नोक्सानी (प्रोभिजन) बापत राख्नुपर्ने व्यवस्था छ ।