अबका दिनमा मौसम सफा रहने
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेकाले अबका दिनमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रातिको समयमा देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । भोलि आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राजधानी काठमाडौँमा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । झण्डै दुई साता लगातारको वर्षाले काठमाडौँसहित देशका कतिपय स्थानमा चिसो बढेको थियो । पछिल्ला दिनमा घाम लागिरहेकाले तापक्रम पनि स्थिर रहेको छ । आज काठमाडौँको न्यूनतम १५ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ ।
कन्सुलरमा नवीनतम अभ्यास, पाँच मिनेटमै सेवा प्रवाह
काठमाडौं । कन्सुलर सेवा विभागले सेवाग्राहीका सबै काजगात चुस्त अवस्थामा रहे कन्सुलरसम्बन्धी कतिपय सेवा पाँच मिनेटभित्रै उपलब्ध गराउने नवीनतम् प्रणाली अभ्यासमा ल्याएको छ । ‘सहज तथा सुलभ कन्सुलर सेवा’ नाम दिइएको उक्त कार्यक्रमले विभागको सेवा प्रवाह छिटो–छरितो मात्र नभई राजश्व सङ्कलन वृद्धि तथा अन्तर्राष्ट्रिय समुदायमा नेपालका कागजपत्र प्रमाणित कार्यको विश्वसनीयता बढाएको छ । विभागका महानिर्देशक धनबहादुर ओलीले नयाँ सूचना प्रविधि प्रणाली प्रयोगमा ल्याइएपछि दरूदराजबाट काठमाडौँ आएर कागजपत्र नमिलेर फर्कनुपर्ने समस्या हट्नुका साथै जनतालाई स्थानीय तहबाटै कन्सुलरसम्बन्धी सेवा प्रभावकारीरूपमा प्रदान गर्ने कार्यमा सफलता मिलेको जानकारी दिए। विभागले नयाँ अभ्यासमा ल्याएको सूचना प्रविधिको प्रयोग मुलुकका सबै जिल्ला प्रशासन कार्यालय, स्थानीय तह अर्थात् पालिका कार्यालयमा जोडिएपछि कन्सुलर सेवा सेवाग्राहीमैत्री बन्न पुगेको हो । उनी भन्छन, ‘आधुनिक कन्सुलर अफिस ड्रिमसहितको स्थानीय तहसँगको सहकार्य कार्यक्रम यस आवमा उदयपुर, खोटाङ र ओखलढुङ्गाका १० पालिकामा सुरु गरिएको छ भने यस आवमा थप २० जिल्लामा विस्तार गर्ने कार्ययोजना छ ।’ गत वर्ष २५ जिल्लामा सहकार्यको सुरुआत गरिएको थियो । यसले गर्दा कम साधनस्रोतमा धेरै सेवाग्राहीलाई सेवा प्रदान गर्न सहज भएको छ । साथै विभागमा सेवाग्राहीको चाप निकै कम भएको छ । दिनभर लाग्ने कतिपय काम केही मिनेटमा समेत हुने गरेको विभागको दाबी छ । विभागले आफ्नै जनशक्ति र स्रोतसाधनको प्रयोग गरी निकै कम खर्चमा तयार गरेको उच्च प्रविधिको उक्त सेवा सञ्चालनमा आएपछि जनताले कन्सुलरसम्बन्धी आफ्नो काम कहाँ कुन चरणमा पुगेको छ भनेर घरबाटै जानकारी लिन र प्रतिक्रिया दिन सक्नेछन् । विभागको आफ्नै कार्ययोजना र सिर्जनामा निर्माण गरिएको अनलाइन कन्सुलर सेवा प्रणालीको स्रोत पूर्णरूपमा विभागसँगै रहेकाले पूर्णरूपमा सुरक्षित मात्र नभई आवश्यकतानुसार परिमार्जन गर्न अरु कुनै कम्पनीमा निर्भर हुनुपर्ने छैन । विभागको सेवा लिने क्रममा कुनै समस्या र अल्झन खेप्न नपरोस् भनी निःशुल्करूपमा टोल फ्रि नम्बर ११५२ सञ्चालनमा ल्याएर केन्द्रसँग जोड्ने काम भएको छ । महानिर्देशक ओली भन्छन्, ‘मुलुकभर कन्सुलर सेवालाई जनताप्रति उत्तरदायी बनाउँदै कम समयमा नै सहज र गुणस्तरीय सेवा दिने प्रयास गरिएको छ । त्यसका लागि तत्तत् कार्यालयमा इन्टरनेट र विषयविज्ञ जनशक्ति भने आवश्यक छ ।’ विभागको उक्त कार्यले सेवाग्राहीले काठमाडौँ आउनुपर्ने स्थितिमा कमी भएको छ । विभागले आर्थिक वर्ष २०७८/७९ मा तीन लाख ७८ हजार व्यक्तिलाई कन्सुलर सेवा प्रदान गरी कागज प्रमाणित गरेवापत मात्रै २२ करोड राजस्व सङ्कलन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा भने एक लाख ३४ हजारले मात्रले त्यो सेवा प्राप्त गरेका थिए । जहाँसुकैबाट पनि कन्सुलरको आफ्नो कामबारे हेर्न र बुझ्न सकिने व्यवस्था गरिएको छ । विभाग नयाँ प्रविधिको प्रयोगमा प्रवेश गरेसँगै कन्सुलर सेवा विभागसँग प्रणाली आबद्धता भएका कार्यालयबाट जारी राहदानी, नागरिकता, प्रहरी रिपोर्टलगायत कागजात विभागबाट तत्काल नै प्रमाणीकरण हुने व्यवस्था गरिएको छ । स्थानीय तहबाट जारी कागजात राष्ट्रिय परिचयपत्र र पञ्जीकरण विभागसँग प्रणालीमा आबद्धता गरी तत्काल नै प्रमाणीकरण हुनेसमेत व्यवस्था गरिएको छ । नेपालका अन्य विभाग तथा निकायलाई समेत कन्सुलर प्रणालीमा आबद्धता गर्ने कार्य भइरहेको जानकारी दिइएको छ । कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भएका सम्पूर्ण काजगातको कन्सुलर सेवा विभागको प्रणालीमा विश्वभरबाट नै अनलाइन रुजु गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त कार्यबाट नेपालका कागजात मित्थ्या हुँदैनन् भन्ने मान्यता स्थापित गर्न विभाग सफल भएको छ । विभागद्वारा प्रदान गरिएका सबै सेवा अनलाइन अभिलेखमा दर्ता छन् । विगतमा पाँच–सात घण्टा लाग्ने केही काम अहिले प्राविधिक हिसाबमा २१ सेकेन्डमा हुन्छ भने समग्रतामा पाँच मिनेटभित्र सम्पन्न हुने विभागले स्पष्ट गरेको छ । नेपाली कार्यालय भए पनि अङ्ग्रेजी अनौठो नाम र सेवाग्राहीलाई नै कार्यक्षेत्र थाहा नभएको अड्डाकारूपमा रहेको कन्सुलर विभागको मुख्य काम भनेको सरकारी कागजातको अध्यागमनजस्तै हो । जहाँबाट कागजातहरूको आधिकारिक प्रस्थान र प्रवेश हुन्छ त्यो काम कन्सुलरले गर्छ । विदेशमा रहँदा नेपालीलाई आइपर्ने समस्या समाधान र हकहितको सुरक्षा गर्ने कार्य पनि कन्सुलरकै दायराभित्र पर्छ । आफ्ना देशका नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक अधिकारको सुरक्षा र संरक्षण गर्नु कन्सुलरको प्राथमिक दायित्व हो । हरेक कुटनीतिक नियोगको काममध्ये कन्सुलर सेवा प्रमुख कामका रूपमा रहँदै आएको छ ।
तिहारअघि नै झिलिमिली काठमाडौं फोटोफिचर
काठमाडौं । तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ । तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनीहरु लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन् । धनमाथि धन कमियोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैली खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ । जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु रंगीन छन् । बजारमा सामान किन्ने र बेच्नेको भीड देख्दा तिहार आइसकेको भान हुन्छ । तिहारका लागि आवश्यक पर्ने विभिन्न सामग्री खरिद गर्ने उपभोक्ताको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ ।
लागुऔषधसहित भरतपुरबाट चारजना पक्राउ
काठमाडौं । विभिन्न लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका–१९ का ३५ वर्षीया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई शुक्रबार भरतपुर बसपार्क चोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको साथबाट एक हजार एम्पुल डाइजेपाम, एक हजार एम्पुल व्युप्रिनर्फिन, फेनारगन एक हजार एम्पुल र एक सय ४० मिलीग्राम खैरो हेरोइन फेला परेको उनले जानकारी दिए। मोबाइल चार थान, डिएल सात सिएम १५७६ नंको भारतीय कारसमेत बरामद गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तिहार गीत ‘झिलीमिली तिहार’ बजारमा
काठमाडौं । ‘आयो हजुर देउसी र भैलो’ ‘यही घरमा गर्नलाई रमाइलो’ ‘यही घरमा आएऔँ ज्यान फालेर’ ‘अँध्यारोमा लालटिन बालेर’ नेपालीहरूको दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा लोकदोहोरी गायक–गायिका पुरुषोत्तम पौडेल, सुनिता बुढामगर, प्रिन्स मल्ल ठकुरी र पूजा देवकोटाले गाएको ‘झिलीमिली तिहार’ देउसी–भैलो गीत बजारमा आएको छ । गायक पौडेलको लय र शब्द सङ्कलन रहेको सो गीतलाई रमेश सेन्टीको म्युजिक एरेन्जर रहेको छ । सो गीतलाई गायक पौडेलले आफ्नै युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरेका हुन्। गीतलाई कपिल लामाले निर्देशन गरेका छन् । गीतमा आउँदै गरेको नेपालीको दोस्रो महान चाडका समयमा देउसीभैलो खेल्दै देउसो भट्याउँदै घरबेटीलाई आशिष पनि दिइएको छ । भैलोसँगै भैलोको बीच–बीचमा लोकगीतका टुक्का प्रस्तुत गरिएको गायक पौडेलले जानकारी दिए।
आर्थिक योजना धरासायी बनाएको भन्दै बेलायतका प्रधानमन्त्रीले बर्खास्त गरिन् अर्थमन्त्री
लण्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार आफ्ना अर्थमन्त्रीलाई दक्षिणपन्थी आर्थिक फोरमका कारण उत्पन्न उथलपुथलका लागि आरोप लगाउँदै बर्खास्त गरेकी छिन् । वासिङ्टनमा अन्तर्राष्ट्रिय बैठकबाट फर्केपछि तत्कालै ट्रसले आफ्ना वित्तमन्त्रीलाई व्यक्तिगत रूपमा बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । यसै वर्ष बेलायतको चौथो अर्थमन्त्री बन्ने उनको उत्तराधिकारीको तत्काल कुनै घोषणा भएको छैन । बैंक अफ इङ्ल्यान्डले ऋणपत्र बजारमा हस्तक्षेप गरेपछि नयाँ सरकारले सेप्टेम्बर २३ मा कर कटौती गर्ने योजना बनाएको र त्यसपछि उत्पन्न वित्तीय उथलपुथल केही हदसम्म कम भएको छ । तर केन्द्रीय बैंकले शुक्रबार आफ्नो ऋणपत्र खरिदको क्रम अन्त्य गर्ने अडान लिएको थियो र बजार विश्लेषकहरूले गत महिना क्वार्टेङको विनाशकारी बजेट घोषणापछि ट्रसको ठूलो गिरावटले मात्र नयाँ आतङ्कलाई रोक्न सक्ने बताएका छन् । ट्रसको पत्रकार सम्मेलनका लागि कुनै समय दिइएको थिएन, तर यो घोषणाले खतराको भावनालाई जोड दिएको छ किनकि केही कन्जरभेटिभ सांसदहरूले बोरिस जोनसनको उत्तराधिकारी भएको पाँच हप्तापछि मात्र नयाँ नेतालाई अपदस्थ गर्ने वातावरण बनाउन सांसदहरूलाई परिचालन गरेका थिए । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले ‘सुसङगत’ नीतिको खाँचोबारे चेतावनी दिएपछि क्वार्तेङले यसै साता वासिङ्टनमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठक समापन गर्ने कार्यक्रम तय भएको थियो । ट्रेजरीका एक प्रवक्ताले क्वार्टेङले अक्टोबर ३१ मा हुने ‘आफ्नो मध्यम अवधिको वित्तीय योजनामा काम जारी राख्न’ यात्रा कटौती गरेको पुष्टि गरे, ट्रसले बिहीबार आफ्नै वित्तीय सल्लाहकारहरूसँग उनको अनुपस्थितिमा हतारमा बैठकहरू गरेका थिए । बेलायती प्रसारणकर्ताहरूले क्वार्टेङको ब्रिटिस एयरवेजको विमान हिथ्रो विमानस्थलमा अवतरण गरेको प्रत्यक्ष फुटेज देखाएसँगै सरकारी ऋणपत्रको प्रतिफल कम भएको छ । रासस/एएफपी
सिद्धार्थ बैंकले कोशी अस्पताललाई हस्तान्तरण गर्यो तीन थान हेमोडायलाइसीस मेसिन
काठमाडौं । सिद्धार्थ बैंकले विराटनगर स्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ । बैंकका संचालक समितिका सदस्य नरेन्द्र कुमार अग्रवालले सो मेसिन कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मी नारायण यादवलाई हस्तान्तरण गरेका हुन् । उक्त हेमोडायलाइसीस मेसिन कोशी अस्पतालले अस्पतालमा आउने विरामीहरुको उपचारका लागि प्रयोग गर्नेछ । बैंकले पुर्याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा बोल्दै कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मी नारायण यादवले हेमो डायलाइसीस मेसीनको उपयोगिता, प्रयोग र आवश्यकता वारेमा चर्चा गरेका थिए र बैंकद्धारा हस्तान्तरण गरीएका डायलाइसीस मेसीनहरुको अधिक्तम उपयोग गरिने सम्बन्धमा प्रतिवद्धता समेत व्यक्त गरे । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको बारेमा बैंक संचालक नरेन्द्र कुमार अग्रवालले जानकारी गराएका थिए । साथै, आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको समेत जानकारी गराए । कोशी अस्पतालमा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा भिम घिमिरे, सुरेश शर्मा, जगदिशप्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतान लगायतका वरिष्ठ उद्योगपति एवं समाजसेवीहरु र बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, प्रदेश प्रमुख कमल बस्नेत लगायत अन्य प्रतिनिधिहरु तथा अस्पतालका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
चुनाव सम्बन्धी जिज्ञासा मेटाउन आयोगले सञ्चालन गर्यो कल सेन्टर
काठमाडौं । निर्वाचन आयोगले कल सेन्टर संचालनमा ल्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्बन्धि जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि सो कल सेन्टरको शुभारम्भ गरिएको हो । कल सेन्टरबाट सेवा लिनका लागि निःशुल्क ११०२ टोल फ्रि नम्बरको पनि व्यवस्था गरिएको छ । शुक्रबार आयोगको कार्यालय कान्तिपथमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई-बुलेटिन सेवाको उद्घाटन गर्दै त्यसबाट भरपुर लाभ लिनका लागि सबैलाई आग्रह गरे । त्यस अवसरमा उनले आयोग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा केन्द्रित रहेको जानकारी समेत दिए । ‘यसबाट भरपुर सेवा लिनका निमित्त सबैप्रति म हार्दिक आग्रह गर्दछु, मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने काममा आयोग केन्द्रित रहेको जानकारी पनि गराउन चाहन्छु,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । कल सेन्टरमा निर्वाचनसम्बन्धि सबै जिज्ञासाहरु सम्बोधन हुने गरी आवश्यक जनशक्तिको पनि व्यवस्थापन गरिएको निर्वाचन आयोगले जनाएको छ ।