विकासन्युज

‘सरकारले विदेशी लगानी भित्र्याउन सहयोग गरेन’

काठमाडौं । द एसोसिएसन अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल(एक्यान)का अध्यक्ष दिपक पाण्डेले सरकारले विदेशी लगानी भित्र्याउन सहयोग नगरेको बताएका छन्  । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपालमा विदेशी लगानी भित्र्याउन सहज वातवरण नभएको बताए । उनले दिगो विकासलाई जोड दिनुपर्नेमा ढुङ्गा हान्नेलाई नेपालमा सपोर्ट गर्ने गरेका आरोप लगाए । यस्तै, पाण्डेले नेपाल जस्तै अर्थतन्त्र रहेका देशहरूले ठूलो फड्को मार्दा नेपालको स्थिति उस्तै रहेको बताए । ‘नेपालको अर्थतन्त्र आयातमा मात्रै निर्भर रह्यो, अबको बिकास मेगा यातायात, मेगा लगानीमा जोड दिनुपर्नेछ,’ उनले भने । भ्रष्टाचारले लागत बढाएको र काम गर्ने मान्छेलाई नेपालमा काम गर्ने वातवरण नभएको उनी बताउँछन् ।

खुल्यो इष्टर्न हाइड्रोपावरको आईपीओ

काठमाडौं । आजबाट इष्टर्न हाइड्रोपावरकाे आईपीओ खुलेकाे छ । कम्पनीले शुक्रबारबाट सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेकाे छ । कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले आगामी कात्तिक १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका गर्न आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका साथै ‘मेरो शेयर’को वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएनपी–बी प्लस आइएस’ रेटिङ्ग प्रदान गरेको छ । (रासस)

विराटनगरको फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति

वाशिङ्गटन । विराटनगरको एक फर्निचर उद्योगमा गए राति आगलागी भएको छ । मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो । आगलागीबाट ४५ लाखको क्षति भएको छ । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हो । वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । आगो निभाउन तीन घण्टाभन्दा बढी समय लागेको थियो । उद्योगका सञ्चालक श्याम साहले आगलागीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको बताए । विराटनगरस्थित वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले विराटनगर महानगरपालिकाका तीन, दुहबी नगरपालिकाको एउटा, रङ्गेली नगरपालिकाको एउटा र नेपाल आयल निगमको एउटा दमकल प्रयोग गरी आगो निभाइएको बताए । रासस

सोल्टी होटलको सेयर २०० रुपैयाँमा किन्न पाइने, यस्तो छ ४ होटलको सेयरमूल्य र लाभांश

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ वटा होटलहरु सूचीकृत रहेका छन् । जसमा एउटा होटलको सेयर कारोबार रोक्का रहेको छ भने बाँकी ४ वटा होटलहरुको भने सेयर कारोबार भइरहेको छ । नेप्सेमा सोल्टी होटल, ओरियन्टल होटल, तारागाउँ रिजेन्सी होटल, चन्द्रागिरी होटलको सेयर कारोबार भइरहेको छ भने याक एण्ड यति होटल भने कारोबार रोक्का रहेको छ । २०६४ साउन ९ गते नेप्सेमा सूचीकृत भएको सोल्टी होटलको चुक्ता पूँजी ८४ करोड ४२ लाख रुपैयाँ रहेको छ । नेपालको होटल क्षेत्रलाई व्यवसयको रुपमा सुरु गर्ने यस कम्पनीको दोस्रो बजारमा बुधबारको अन्तिम मूल्य २ सय रुपैयाँ रहेको छ । कम्पनीले १० रुपैयाँबाट सेयर कारेबारा सुरु गरेकाे हाे । कम्पनीको सेयर मूल्य एक वर्षको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता २५२.९ रुपैयाँ र न्युनतम १८६.७ रुपैयाँ रहेको थियो । कम्पनीको ८ करोड ४२ लाख कित्ता सेयर सूचीकृत छन् । कम्पनीमा संस्थापक समूहको ८५ प्रतिशत सेयर र सर्वसाधारण लगानीकर्ताको १५ प्रतिशत सेयर स्वामित्व रहेको छ । पछिल्लो सेयर मूल्य अुनसार कम्पनीको बजार पूँजीकरण १६ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०६७/२०६८ मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०६८/२०६९ मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०६९/२०७० मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०७०/२०७१ मा ५७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७१/२०७२ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०७२/२०७३ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७३/२०७४ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा २६.३२ प्रतिशत र आर्थिक वर्ष २०७५/२०७६ मा २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले २ वर्षयता भने लाभांश वितरण गरेको छैन । कम्पनीलाई कार्यकारी अध्यक्ष दिनेश बहादुर बिष्टले नेतृत्व गरिरहेका छन् । ओरियन्टल होटल पनि २०६५ साउन ४ गते नेप्सेमा सूचीकृत भएको हो । बुधबारको दोस्रो बजारमा कम्पनीको सेयर मूल्य ४५५ रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य १ वर्षकाे अवधिमा अधिकतम प्रतिकित्ता ५६६ रुपैयाँ र न्युनतम प्रतिकित्ता ४१३.१८ रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने १ करोड १२ लाख कित्ता सेयर सूचीकृत छन् । पछिल्लो सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण ५ अर्ब १३ करोड २८ लाख रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७०/२०७१ मा १० प्रतिशत, आर्थिक वर्ष २०७१/२०७२ मा २० प्रतिशत, आर्थिक वर्ष २०७२/२०७३ मा २६.३२ प्रतिशत, आर्थिक वर्ष २०७३/२०७४ मा २४.२१ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा २६.३२ प्रतिशत र आर्थिक वर्ष २०७५/२०७६ मा १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले पछिल्लो २ वर्षयता लाभांश वितरण गरेको छैन । तारागाउँ रिजेन्सी होटल वि.स.२०६४ साउन ९ गते नेप्सेमा सूचीकृत भएको थियो । बुधरबाको सेयर मूल्य अनुसार दोस्रो बजारमा कम्पनीको प्रतिकित्ता ३३० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ४०९.५ रुपैयाँ र न्युनतम प्रतिकित्ता ३०२.१ रुपैयाँ रहेको थियो । कम्पनीमा संस्थापक समूहको ५७ प्रतिशत र सर्वसाधारण समूहको ४३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/२०७४ मा ७.३६ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा १२.६३१ प्रतिशत, आर्थिक वर्ष २०७५/२०७६ मा १२ प्रतिशत र आर्थिक वर्ष २०७६/२०७७ मा १० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले गत वर्ष लाभांश वितरण गरेको छैन । चन्द्रागिरी हिल्स वि.स. २०७७ माघ १७ गते नेप्सेमा सूचीकृत भएको कम्पनी हो । नेप्सेमा सूचीकृत होटल समूहको कान्छो कम्पनी हो । कम्पनीको बुधबार दोस्रो बजारमा सेयर मूल्य ९७४ रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य एक वर्षको अवधिमा अधिकतम प्रतिकित्ता १ हजार ७३७ रुपैयाँ र न्यूनतम प्रतिकित्ता ९ सय रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण १४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । कम्पनीको १ करोड ५३ लाख कित्ता सेयर सूचीकृत छन् भने १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीमा संस्थापक समूहको ८८ प्रतिशत सेयर र सर्वसाधारण समूहको सेयर स्वामित्व  १२ प्रतिशत रहेको छ । कम्पनीलाई अध्यक्ष चन्द्र ढकाल र जनरल म्यानेजर सन्जीव थापाले नेतृत्व गरिरहेका छन् । कम्पनीले सेयरधनीहरुलाई यो अवधिमा लाभांश वितरण गरेको छैन ।

अब ठूलो पानी नपर्ने

काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिब दुई साता देशैभर वर्षा भयो । दशैं सुरु भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति पु¥यायो । बाढीपहिरोजन्य घटना पनि बढे । यतिखेर दशैं सकिएर तिहारको सङ्घारमा केही दिनयता मौसम सुधारिएको छ । क्रमिकरूपमा मौसममा सुधार आई भारी वर्षा (ठूलो पानी) पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मञ्जु बासीले अहिले मनसुनी गतिविधि नरहेकाले देशैभरको मौसम सुधार हुँदै गएको बताए । उनका अनुसार देशका कतिपय स्थानमा क्षणिक बदली र हल्का वर्षा हुने संभावना रहे पनि भारी वर्षा हुने देखिँदैन । उनले भने, ‘मौसम सुधारिँदै गएको छ । अब, मौसम सुक्खा हुँदै जाने भएकाले वर्षाको सम्भावना रहँदैन । केही दिनभित्र देशको पश्चिमी भूभाग भएर मनसुन पनि बाहिरिनेछ ।’ राजधानी काठमाडौंलगायतको आकाशमा क्षणिक बादल देखिए पनि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भेगमा बदली तथा प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

पैसा नभएको बैंकको चेक काट्ने दुई जना पक्राउ, २७ लाख जरिवाना तिर्नुपर्ने

काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २५ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले बैकिङ कसुर मुद्दामा फरार भारत हरियाना घर भई काठमाडौं महानगरपालिका वडा नं १२ बस्ने ४४ वर्षीय शशी शर्मालाई बिहीबार दिउँसो पक्राउ गरेको हो । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २५ लाख जरिवाना ठहर भएपछि फरार शर्मालाई आज चन्द्रागिरि नगरपालिका वडा नं १५ सतुङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ । यसैगरी बैंकिङ कसुर मुद्दामा दुई लाख आठ हजार जरिवाना र एक दिन कैद सजाया भएका कास्कीका मादी गाउँपालिका– ७ घर भई काठमाडौँको थानकोट बस्दै आएका ५८ वर्षीय नारायण भण्डारीलाई समेत बिहीबार नै पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार २१ गतेको फैसलापछि फरार भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले आज बालाजु चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएको छ । रासस

मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन भएको छ । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो । पहिरो पन्छाएपछि पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने सडकमा यातायातका साधन सञ्चालन भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ । बेनी–जोमसोम कोरला सडक आयोजनाको ठेकेदार कम्पनी खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वरका दुईवटा डोजर परिचालन गरेर पहिरो पन्छाइएको थियो । तत्कालका लागि यातायात सञ्चालन भए पनि थप पहिराको जोखिम भएकाले आवतजावतका क्रममा सतर्कता अपनाउन र रातको समयमा ध्यान दिन मिलनचोक प्रहरी चौकीका प्रमुख मुक्त खड्काले बताए । स्तरोन्नतिको क्रममा रहेको मालढुङ्गा–बेनी सडकको केराबारी खण्डमा सडकमाथिको पाखो चिरा–चिरा परेको छ । सो ठाउँमा सडक विस्तारका लागि ठेकेदारले डोजर प्रयोग गरेर पहाड फुटाएको र जथाभावी ढुङ्गा निकालेकाले पहिरो गएको स्थानीयवासीले बताएका छन् । मालढुङ्गा–बेनी सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङ आउने जाने सवारीसाधनले मालढुङ्गा–बागलुङ–बेनी सडक प्रयोग गरेका थिए । मालढुङ्गा–बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ को रुइनेडाँडामा पहिराले सडक भासिएपछि सवारी सञ्चालनमा समस्या हुने गरेको छ । रासस

चितवनकाे युनाइटेड बेभरेज प्रालिमा आगलागी

चितवन । पूर्वी चितवनस्थित युनाइटेड बेभरेज प्रालिमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० को कैलाश टोलमा रहेको सो उद्योगमा आज बिहान आगलागी भएको हो । प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको सो उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । उद्योग मर्मतका क्रममा रहेकाले उत्पादित वस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन । आगो निभाउने काम जारी रहेको उनले बताए । आगो निभिसकेपछि मात्र क्षतिको विवरण थाहा हुने कार्यालयले जनाएको छ । आगो निभाउनका लागि स्थानीय, नेपाल प्रहरी, तीन दमकललगायत प्रयोग गरिएको छ ।