नेपाल लाइफले सार्वजनिक गर्यो मोबाइल एप, ग्राहक र अभिकर्ता दुबैलाई फाइदा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन (आईओएस) का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले मोबाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गरेको हो । परिस्कृत र नयाँ सुविधाहरू सहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिने छ । ग्राहक र अभिकर्ता दुबैले एउटै एप्लिकेसन मार्फत लाभ लिन सक्नेछन् । सर्वप्रथम एपलाई एप स्टोर वा प्ले स्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरको माध्यमबाट आफुलाई रजिस्टर गरि लग इन गर्न सकिने छ । आफू अभिकर्ता वा बीमित छनौट गरि आफ्नो प्रोफाइल एड गर्न सकिने छ । एप्लिकेसनमा एकै जनाको एक भन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिने छ । आफ्नो बीमालेख प्रोफाइलमा एड गरे पश्चात आफ्नो बीमासँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाँउमा सजिलै पाइने इन्स्योरेन्सले जनाएको छ । साथै, एपमा अन्य सुविधाहरुको रुपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरुको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारी मुलक, तथा मनोरन्जनात्मक श्रब्य दृश्य सामग्रीहरु पढ्न तथा हेर्न सकिने छ । हाल इन्स्योरेन्सले ल्याएको एपलाई समयानुकूल स्तर वृद्धि गर्दै ग्राहकलाई जीवन बीमा सम्बन्धी सम्पूर्ण सुविधाहरु चुस्त दुरुस्त तरिकाले एकद्वार नीतिको अबलम्बन गर्दै सेवा प्रवाह गर्ने इन्स्योरेन्सका सीईओ पराजुलीले बताए । सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रम सँगसँगै नेपाल लाइफका विभिन्न सेवा तथा सुबिधाहरुलाई ग्राहक तथा अभिकर्ता समक्ष सहज, सुरक्षित एवं प्रभावकारीरुपमा उपलव्ध गराई कम्पनीको डिजिटल रुपान्तरणको लक्ष्य हासिल गर्न यो कदम फलदायी हुने इन्स्योरेन्सका प्रमुख सुचना प्रविधि अधिकृत शरदचन्द्र प्याकुरेलले जनाए । यो एपलाई ग्राहक तथा अभिकर्ताहरुको आवश्यकता अनुरुप क्रमश थप परिस्कृत तथा विकसित गर्दै लैजाने विषयमा नेपाल लाइफ प्रतिबद्ध रहेको छ ।
५ वटा बैंकको लाभांश घोषणा, कुन बैंकको कति ?
काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरलाई विभिन्न ५ वटा बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । गत वर्षको भन्दा केही ढिला लाभांश वितरण गर्ने प्रस्ताव गरेपनि हालसम्म ५ वटा बैंकले मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । कुमारी बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । कुमारी बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले बोनस सेयर वितरण नगर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँ छ । यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हालको चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकले लाभांश वितरण गर्ने प्रस्ताव सहित आगामी कात्र्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाल बिहान ११ बजे काठमाडौंमा हुनेछ । यस्तै, निफ्रा बैंकले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/२०७९को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले कर समेत गरी सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । यी तीन वटै बैंकले नेपाल राष्ट्र बैंकबाट लाभांश वितरणका लागि स्वीकृति पनि पाइसकेका छन् । यस्तै, एनसीसी बैंक र बैंक अफ काठमाण्डूले पनि लाभांश वितरण गर्ने प्रस्ताव सहित नेपाल राष्ट्र बैंकमा आवेदन दिएका छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । बैंक अफ काठमाण्डूले सेयरधनीलाई २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट सेयरधनीलाई करसहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, एनसीसी बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ३.३६ प्रतिशत बोनस ७.६३ प्रतिशत नगद गरी कुल १०.९९ प्रतिशत लाभाश दिने प्रस्ताव गरेको छ ।
प्रभु क्यापिटलले रोटर्याक्ट क्लब अफ पाटनका सदस्यलाई दियो सेयर बजारबारे तालिम
काठमाडौं । प्रभु क्यापिटलले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुलाई तालिम दिएकाे छ । क्यापिटलले सेयर बजार सम्बन्धी बेसिक, फण्डामेन्टल एण्ड टेक्निकल एन्यालाइसिस अफ सेक्युरिटी मार्केट विषयमा १ दिने तालिम दिएकाे हाे । विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले उक्त तालिम दिएकाे जनाएकाे छ । रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रशिक्षण क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले दिएका थिए । प्रशिक्षणमा शेयर बजार तथा प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरु, शेयर बजारमा दिर्घकालिन लगानी गर्दा पाईने प्रतिफल, आधारभूत तथा प्राविधिक विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटिएको थियो । प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागिे समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
लाभांशको लागि कुमारी बैंकले तोक्यो बुक क्लोज
काठमाडौं । कुमारी बैंकले आगामी कार्त्तिक १४ गते बुक क्लोज गर्ने भएको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो । हाल कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकबीच मर्जर प्रकृया अघि बढेकोले असोज ११ गतेदेखि नै संस्थाको सेयर कारोबार बन्द रहेको छ । यससँगै नेप्सेमा असोज ११ गतेभन्दा अघिसम्म सेयर कारोबार भएकाले कार्त्तिक १४ गतेभित्र सेयरधनी दर्ता कितावमा दाखिल खारेज नामसारी भई सेयर कायम रहेका सेयरधनीहरु प्रस्तावित लाभांश पाउन योग्य हुने बैंकले जानकारी गराएको छ । बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ । उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।
‘क्वाटर इन्ड’मै फुर्सदिला बने बैंकर्स
काठमाडौं । बैंकिङ पेशा धेरैले ‘प्रेसर’को रुपमा चित्रण गर्छन् । सधैं जसो व्यस्त रहने बैंकरहरु त्रैमासको अन्तिम समय भने झन् सकसपूर्ण बन्छ । तीन महिना अर्थात एक त्रैमासकै वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने समय भएकोले पनि बैंकका उनीहरु धेरै नै व्यस्त हुन्छन् । तर, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने बैंकरहरु फुर्सदिला बनेका छन् । बैंकरहरुका अनुसार त्रैमासको अन्तिम समय धेरै तल्लो तहदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्म धेरै व्यस्त हुन्छन् । त्रैमासको अन्तिममा धेरै वित्तीय हिसाबकिताब मिलाउनु पर्ने र वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने भएकोले पनि उनीहरुलाई कामको चाप धेरै हुन्छ । तर, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने अवस्था त्यस्तो छैन । पछिल्लो समय अर्थतन्त्र सहज अवस्थामा छैन । अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक अवस्थामा छन् । बैंकिङ्ग क्षेत्रमा तरलताको सकस छ । बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सकेका छैनन् भने निक्षेप पनि ल्याउन सकिरहेका छैनन् । यसको समग्र प्रभाव बैंकको बिजनेसमा परेको बैंकर्स बताउँछन् । बैंकहरुको मुख्य आम्दानीको स्रोत भनेको निक्षेप संकलन गरेर कर्जा प्रवाह गर्नु हो । तर, अहिले सोही कर्जा प्रवाह गर्ने रकम अभाव भएका कारण कर्मचारी पनि फुर्सदिला बनेका हुन् । बैंकहरुले यसपटक लामो समयसम्म तरलता अभाव खेप्नु परेको छ । लगानीयोग्य रकम अभावका कारण कर्जा विभागमा काम गर्ने कर्मचारीलाई चाप कम रहेको बैंकर्सहरुको भनाइ छ । यसअघि बैंकहरुले नयाँ कर्जाका लागि समेत मार्केटिङ गर्नुपर्ने, पुरानो हिसाब किताब राफसाफ गर्नु पर्ने र निक्षेप पनि बढाउनु पर्ने दबाब हुन्थ्यो तर यसपटक भने त्यस्तो कुनै काम नभएको उनीहरु बताउँछन् । माछापुच्छ्रे बैंकका डेपुटी सीईओ सर्जु कुमार थापा यस पटकको ‘क्वाटर इन्ड’मा बैंकर्सहरुलाई कामको चाप कम रहेको बताउँछन् । बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव हुँदा खासै काम नभएको उनको भनाइ छ । उनका अनुसार विगतका वर्ष र त्रैमासमा बैंकहरु वित्तीय विवरण बनाउन र अन्य काममा व्यस्त हुन्थे । तर, यस पटक भने सबै बैंकको अवस्था एउटै छ । तरलता सहजका लागि सरकारी निकायबाट समेत कुनै पहल नभएको उनको गुनासो छ । तरलता अभावलाई सरकारले पनि सहज वातावरण कायम गर्नुपर्ने उनको भनाइ छ । ग्लोबल आइएमई बैंकका सिनियर डेपुटी सीईओ महेश शर्मा ढकाल कर्जा विभागमा काम गर्ने कर्मचारीलाई अहिले कामको चाप कम रहेको बताउँछन् । यसअघि बैंकमा कर्जा प्रवाहका लागि मार्केटिङ गर्नुपर्ने अवस्था भएपनि हाल त्यस्तो अवस्था नरहेको उनको भनाइ छ । उनले कर्जा विभागमा कर्मचारीको कामको प्रेसर कम भएकाले ती कर्मचारीलाई निक्षेप संकलनमा पठाएको उनले जानकारी दिए । ‘कर्मचारीहरु पहिलाभन्दा थोरै फुर्सदिला छन्, कर्जा प्रवाहमा लाग्ने समय थोरै बचेको हो, अहिलेकर्जा प्रवाहका लागि मार्केटिङ गर्नुपर्ने अवस्था पनि छैन, कर्जाको मार्केटिङमा जति समय लाग्थ्यो त्यो बराबरको समय घटेको हो तर रेगुलर काम भने भइरहेको छ,’ उनले भने, ‘कर्जा विभागका कर्मचारीलाई पहिलाभन्दा कम चाप परेको छ, कर्जा प्रवाहका लागि मार्केटिङ गर्न जुन इफोर्ट लगाउनु पर्ने हो त्यो इफोर्ट अहिले लगाउनु परेको छैन, अहिले कर्जा विभागका कर्मचारीलाई अन्य कामको जिम्मेवारी दिइएको छ, हामीले कर्जामा काम गर्ने कर्मचारीलाई निक्षेप संकलनमा पठाएका छौं, कर्जाबाट झिकेर निक्षेपको मार्केटिङमा लगाएका हौं ।’ उनले बैंकमा कारोबार ठूलो हुने भएकाले धेरै फुर्सदिला भने नभएको धारणा राखे । बैंकमा कर्जाको मात्रै काम नुहने भएकाले अन्य काममा खटाइने गरेको उनको भनाइ छ । ग्राहकले पैसा राख्ने, निकाल्ने, रेमिट्यान्स, ट्रान्सफर गर्ने लगायतका काम भइरहेको उनको भनाइ छ । ‘बैंकहरुमा ठूलो कारोबार हुन्छ, ग्राहकको कारोबार भइरहेको हुन्छ, बैंकमा कर्जाको मात्रै काम हुँदैन, ग्राहकले पैसा राख्ने÷निकाल्ने, रेमिट्यान्स, ट्रान्सफर गर्ने काम भइरहेका छन्, खाता खोल्नेदेखि लगायत अन्य थुप्रै काम भइरहन्छन्, दैनिक गर्नुपर्ने काम निरन्तर छ, शाखा कार्यालयमा पनि निरन्तर काम भइरहेको छ,’ डीसीईओ ढकालले भने, ‘कर्जामा पुरानो फाइल नवीकरण गर्नुपर्ने काम भइरहेको छ, बैंकहरुको झण्डै ५० प्रतिशत लोन बजारमा छ, त्यो हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ ।’ यस्तै, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी यसअघि बैंकर्सहरुलाई कामको चाप धेरै हुने गरेको भएपनि हाल काममा धेरै चाप नभएको बताउँछन् । अहिले कर्जा प्रवाहको काम नहुँदा कर्मचारी थोरै फुर्सदिला भएपनि अन्य काम भने भइरहेको उनले बताए । बैंकमा काम धेरै हुने भएकाले कर्मचारीलाई कहिल्यै पनि फुर्सद नमिल्ने उनको तर्क छ । ‘बैंकले कर्जा लगानी रोकेको छ, कर्जा लगानी नगर्दा कर्जाका कर्मचारी फुर्सदिला भएका हुन्, अहिले कर्जा विस्तार हुन नसकेपनि कर्जाको गुणस्तरियता कायम गर्नका लागि त्यतिकै मिहेनत गर्नुपर्ने हुन्छ, अहिले कर्जा विभागका कर्मचारी गुणस्तरियतामा काम गरिरहेका छन्, कर्जा दिँदा बढी चाप पर्ने भएकाले गुणस्तरियता कायम गर्न पाउँदैनन्,’ उनले भने, ‘कर्मचारीलाई खाली बस्न दिइन्न, बैंकमा काम कहिलै पनि खाली हुँदैन, काम चलिरहेको हुन्छ, नयाँ कर्जा नभएपनि पुरानो नवीकरण गर्नुपर्ने, कर्जाको गुणस्तरियता कामय गर्ने लगायतका काम भइरहेका छन् ।’
मन्त्री मेटमणि चौधरीलाई आयोगले माग्यो स्पस्टीकरण
काठमाडौं । निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई पत्र काटी स्पस्टीकरण मागेको छ । आयोगले मन्त्री चौधरीलाई चामल वितरण गरेको विषयमा २४ घण्टाभित्र स्पस्टीकरण दिन भनेकाे छ । चौधरीले शनिबार देउखुरीका चार वटा स्थानीय तहलाई ५० क्विन्टल दरले दुई सय क्विन्टल चामल वितरण गरेका थिए । चौधरीलाई भोट प्रभावित गर्ने उद्देश्यले बाढी पीडितको नाममा चामल बाँडिएको आरोप विपक्षीले लगाएका छन् । निर्वाचन आयोगको अनुसार निर्वाचनको समयमा मन्त्रीहरू अघि सरेर गर्ने जुनसुकै काम पनि निर्वाचन आचार संहिता विपरीत हुन्छ ।
मतदाता रिझाउने नयाँ शैली : किसानको खेतमा धान काटेर सहयोग गर्दै प्रत्यासी
सुदूरपश्चिम । तराइका जिल्लामा किसानहरु लाई अहिले खेतमा पाकेर लहलह झुलेको धान काटन भ्याइनभ्याइ छ । उनिहरुलाई मङ्सिर ४ गते तोकिएको संसदिय निर्वाचनका बारेमा सोच्ने र बुझ्ने पनि त्यति फुर्सद छैन । तर, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मनोनयन दर्तासँगै कैलाली जिल्लामा उम्मेदवारका समर्थकले किसानका खेतमा पाकेको धान काट्न सहयोग गरेर मतदाता रिझाउने नयाँ शैली अपनाएका छन् । निर्वाचन क्षेत्र नं ५ को उर्मा क्षेत्रमा दुई दिनअघि मात्रै उम्मेदवारका समर्थकले किसानको खेतमा धान काट्ने काममा सहयोग गरेर मतदाता रिझाउने प्रयास गरेका हुन् । ‘धान भित्र्याउन किसानलाई समस्या पर्दा कार्यकर्ताबाट स्वःस्फूर्तरुपमा सहयोग भएको हो’, प्रदेशसभाका प्रत्यासी रमेश धामीले भने, ‘किसानलाई समस्या पर्दा आफूहरु जहिले पनि सहयोगी बन्ने गरेका छौँ ।’ चुनावी प्रसारप्रचारका लागि समर्थकसहित प्रत्यासी गाउँबस्तीमा पुग्न थालेपछि चुनावी रौनक बढ्न थालेको छ । सबै दलका र स्वतन्त्र उम्मेदवारले वडा टोलमा प्रचारप्रसारका लागि सम्पर्क कार्यालय खोलेर आआफ्नो चुनावी अभियान सुरु गरिसकेका छन् । सत्ता गठबन्धनका अमृत बिसीले भने, ‘पहिलो चरणमा पार्टी पंक्तिलाई चुनावी प्रचारप्रसारका लागि क्रियाशील बनाइरहेका छौँ, विस्तारै घरदैलोमा जान लागेका छौँ ।’ सत्ता गठबन्धनमा आबद्ध दलले हालैको स्थानीय तहको निर्वाचनमा भएको कमीकमजोरीलाई ध्यान दिएर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने रणनीति बनाइरहँदा छुट्टाछुट्टै प्रत्यासी उठाएका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, राप्रपालगायतका प्रत्यासी पनि आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । ‘स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्दा भएको कमीकमजोरीले सोचेजति सफलता पाउन सकिएन’, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनगढी उपमहानगरपालिकाका निवर्तमान प्रमुख नृपबहादुर ओडले भने, ‘आउने निर्वाचनमा गठबन्धनका प्रत्यासीलाई विजयी बनाउन कुनै कमी कमजोरी हुन नदिने गरी तयारी भइरहेको छ ।’ नेकपा एमालेका युवा नेता चूडामणि भट्टले आफ्नो दलका प्रत्यासीलाई विजयी बनाउने गरी पार्टीको पूरै पङ्क्तिलाई क्रियाशील गरिएको बताए । उनले भने, ‘सबै निर्वाचन क्षेत्रमा चुनावका लागि आवश्यक सबै तयारी गरेका छौँ ।’ नेकपा माओवादी केन्द्रका नेता एवं प्रदेशसभाका प्रयासी रमेश धामीले सत्ता गठबन्धनका प्रत्यासीलाई विजयी बनाउने गरी प्रचारप्रसारको अभियान थालिएको जानकारी दिए । निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र) सुदूरपश्चिम प्रदेशको राजधानी, एकमात्र उपमहानगरपालिका र प्रमुख व्यापारिक केन्द्र भएकाले यो क्षेत्रको निर्वाचनलाई आम मतदाताले बढी चासोका साथ हेर्न थालेका छन् । नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री पुस्करनाथ ओझाले प्रतिनिधिसभामा र कांग्रेसकै अर्का युवा नेता क्षितिज भण्डारीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएपछि पनि यो क्षेत्रको निर्वाचनमा बढी चासो देखिएको छ । प्रदेशसभामा कांग्रेस नेत्री डा आराजु राणा देउवाका सहयोगी एवं युवा नेता प्रकाशबहादुर देउवाले पार्टीकोतर्फबाट टिकट पाएका छन् । यसै क्षेत्रमा एमालेका तर्फबाट दुर्गाप्रसाद जोशी, राप्रपाका शिवराज भण्डारी, नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरी, नेकाँ बिपीबाट दीपकराज खैर, नेमकिपाका रामबहादुर दर्लामीमगर पनि प्रत्यासी हुन् । प्रतिनिधिसभाका लागि एमालेका नेता एवं पूर्वमन्त्री नारदमुनी राना र नेपाली कांग्रेसका प्रभावशाली नेता डिल्लीराज पन्तले टिकट पाएका छन् । यस्तै लोसपाका दानबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्ट, नेमकिपाका नन्दाकुमारी दर्लामीमगर, स्वतन्त्र गगनबहादुर धामी, जगदीश चौधरी, रामबहादुर सिंह र सत्यराज उपाध्यायसमेत प्रतिस्पर्धामा हुन् । मुख्यगरी सत्ता गठबन्धन र एमालेका प्रत्यासीबीच कडा प्रतिस्पर्धा हुने अड्कलबाजी स्थानीय मतदाताको छ । स्वतन्त्र उम्मेदवारी दिएका पुस्करनाथ ओझालाई पनि बलियो प्रतिस्पर्धीका रुपमा हेरिएको छ । कांग्रेस, एमाले, माओवादीलगायतका पार्टीमा टिकट वितरणमा देखिएको आन्तरिक किचलोले बढेको असन्तुष्टि र स्वतन्त्र उम्मेदवार पार्टीका प्रत्यासीका लागि चुनौतीका रुपमा देखिएको कार्यकर्ताको बुझाइ छ । हालैको सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरको प्रमुखमा विजयी गोपाल हमालले पाएको मत जसले आफूतिर तान्न सक्यो उसैको पल्ला भारी हुने अर्कोथरी मतदाताको विश्लेषण छ । एक लाख पाँच हजार सात सय ९३ मतादाता रहेको निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र)मा बाहुन, क्षेत्री, ठकुरी, दलित, डगौरा थारु र रानाथारुको बाहुल्यता छ । पाँच वर्षअघिको निर्वाचनमा यो क्षेत्रमा तत्कालीन वाम गठबन्धनका तर्फबाट प्रत्यासी बन्नुभएका एमालेका नारदमुनी रानासँग कांग्रेस नेत्री डा आरजु राणा देउवा पराजित भएका थिए । यस्तै प्रदेशसभा ‘क’ मा एमाले र ‘ख’ मा कांग्रेस विजयी भएको थियो । निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लेखराज भट्ट र कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरको कडा टक्कर हुन लागेको मतदाताको विश्लेषण छ । एमाले सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका भट्टलाई आफ्ना पूर्वसहकर्मी कार्यकर्ता र एमालेभित्रैको असन्तुष्ट समूह चुनौती बन्नसक्ने कार्यकर्ताको भनाइ छ । कांग्रेस नेता बलायर पार्टीमा साङ्गठनिक क्षमता भएको नेताका रुपमा चिनिनुहुन्छ । टिकट वितरण गर्दा पार्टीभित्र देखिएको असन्तुष्टि बलायरका लागि चुनौती बन्नसक्ने विष्लेषण हुन थालेको छ । विगतमा डोटीबाट निर्वाचनमा प्रत्यासी बन्दै आउनुभएका बलायरलाई कैलालीबाट टिकट दिइएपछि टिकटका आकाङ्क्षी स्थानीय नेतामा असन्तुष्टि छ । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीका कइँया चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्दप्रसाद भट्ट, मौलिक जरोकिलो पार्टीका चेतराज साउद, राप्रपाका जयबहादुर धामी, नेपाल सङ्घीय समाजवादीका भीमबहादुर थापामगर, जनता प्रगतिशील पार्टी नेपालका मोहनदेव मिश्र, नेमकिपाका सीतारम पण्डित र स्वतन्त्र मेखराज जोशी पनि प्रतिस्पर्धी हुन् । यो क्षेत्रमा पर्ने गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका तराईका र चुरे गाउँपालिका पहाडी क्षेत्रका हुन् । बाहुन, क्षेत्री, ठकुरी, दलित, मगर, डगौरा चौधरी र रानाथारुको बसोबास रहेको यो क्षेत्रमा एक लाख १० हजार चार सय ५३ मतदाता छन् । गएको पालिका तहको चुनावमा यो क्षेत्रमा कांग्रेससहितको गठबन्धनले ल्याएको मत अन्य दलको तुलनामा धेरै छ । पाँच वर्षअघिको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा माओवादीका पूर्वनेता लेखराज भट्टले कांग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गरेका थिए । रासस