‘क्वाटर इन्ड’मै फुर्सदिला बने बैंकर्स

<p>काठमाडौं । बैंकिङ पेशा धेरैले ‘प्रेसर’को रुपमा चित्रण गर्छन् । सधैं जसो व्यस्त रहने बैंकरहरु त्रैमासको अन्तिम समय भने झन् सकसपूर्ण बन्छ । तीन महिना अर्थात एक त्रैमासकै वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने समय भएकोले पनि बैंकका उनीहरु धेरै नै व्यस्त हुन्छन् । तर, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने बैंकरहरु फुर्सदिला बनेका छन् । [&hellip;]</p>

काठमाडौं । बैंकिङ पेशा धेरैले ‘प्रेसर’को रुपमा चित्रण गर्छन् । सधैं जसो व्यस्त रहने बैंकरहरु त्रैमासको अन्तिम समय भने झन् सकसपूर्ण बन्छ । तीन महिना अर्थात एक त्रैमासकै वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने समय भएकोले पनि बैंकका उनीहरु धेरै नै व्यस्त हुन्छन् । तर, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने बैंकरहरु फुर्सदिला बनेका छन् ।

बैंकरहरुका अनुसार त्रैमासको अन्तिम समय धेरै तल्लो तहदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्म धेरै व्यस्त हुन्छन् । त्रैमासको अन्तिममा धेरै वित्तीय हिसाबकिताब मिलाउनु पर्ने र वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने भएकोले पनि उनीहरुलाई कामको चाप धेरै हुन्छ । तर, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने अवस्था त्यस्तो छैन ।

पछिल्लो समय अर्थतन्त्र सहज अवस्थामा छैन । अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक अवस्थामा छन् । बैंकिङ्ग क्षेत्रमा तरलताको सकस छ । बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सकेका छैनन् भने निक्षेप पनि ल्याउन सकिरहेका छैनन् । यसको समग्र प्रभाव बैंकको बिजनेसमा परेको बैंकर्स बताउँछन् । बैंकहरुको मुख्य आम्दानीको स्रोत भनेको निक्षेप संकलन गरेर कर्जा प्रवाह गर्नु हो । तर, अहिले सोही कर्जा प्रवाह गर्ने रकम अभाव भएका कारण कर्मचारी पनि फुर्सदिला बनेका हुन् ।

बैंकहरुले यसपटक लामो समयसम्म तरलता अभाव खेप्नु परेको छ । लगानीयोग्य रकम अभावका कारण कर्जा विभागमा काम गर्ने कर्मचारीलाई चाप कम रहेको बैंकर्सहरुको भनाइ छ । यसअघि बैंकहरुले नयाँ कर्जाका लागि समेत मार्केटिङ गर्नुपर्ने, पुरानो हिसाब किताब राफसाफ गर्नु पर्ने र निक्षेप पनि बढाउनु पर्ने दबाब हुन्थ्यो तर यसपटक भने त्यस्तो कुनै काम नभएको उनीहरु बताउँछन् ।

माछापुच्छ्रे बैंकका डेपुटी सीईओ सर्जु कुमार थापा यस पटकको ‘क्वाटर इन्ड’मा बैंकर्सहरुलाई कामको चाप कम रहेको बताउँछन् । बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव हुँदा खासै काम नभएको उनको भनाइ छ । उनका अनुसार विगतका वर्ष र त्रैमासमा बैंकहरु वित्तीय विवरण बनाउन र अन्य काममा व्यस्त हुन्थे । तर, यस पटक भने सबै बैंकको अवस्था एउटै छ । तरलता सहजका लागि सरकारी निकायबाट समेत कुनै पहल नभएको उनको गुनासो छ । तरलता अभावलाई सरकारले पनि सहज वातावरण कायम गर्नुपर्ने उनको भनाइ छ ।

ग्लोबल आइएमई बैंकका सिनियर डेपुटी सीईओ महेश शर्मा ढकाल कर्जा विभागमा काम गर्ने कर्मचारीलाई अहिले कामको चाप कम रहेको बताउँछन् । यसअघि बैंकमा कर्जा प्रवाहका लागि मार्केटिङ गर्नुपर्ने अवस्था भएपनि हाल त्यस्तो अवस्था नरहेको उनको भनाइ छ । उनले कर्जा विभागमा कर्मचारीको कामको प्रेसर कम भएकाले ती कर्मचारीलाई निक्षेप संकलनमा पठाएको उनले जानकारी दिए ।

‘कर्मचारीहरु पहिलाभन्दा थोरै फुर्सदिला छन्, कर्जा प्रवाहमा लाग्ने समय थोरै बचेको हो, अहिलेकर्जा प्रवाहका लागि मार्केटिङ गर्नुपर्ने अवस्था पनि छैन, कर्जाको मार्केटिङमा जति समय लाग्थ्यो त्यो बराबरको समय घटेको हो तर रेगुलर काम भने भइरहेको छ,’ उनले भने, ‘कर्जा विभागका कर्मचारीलाई पहिलाभन्दा कम चाप परेको छ, कर्जा प्रवाहका लागि मार्केटिङ गर्न जुन इफोर्ट लगाउनु पर्ने हो त्यो इफोर्ट अहिले लगाउनु परेको छैन, अहिले कर्जा विभागका कर्मचारीलाई अन्य कामको जिम्मेवारी दिइएको छ, हामीले कर्जामा काम गर्ने कर्मचारीलाई निक्षेप संकलनमा पठाएका छौं, कर्जाबाट झिकेर निक्षेपको मार्केटिङमा लगाएका हौं ।’

उनले बैंकमा कारोबार ठूलो हुने भएकाले धेरै फुर्सदिला भने नभएको धारणा राखे । बैंकमा कर्जाको मात्रै काम नुहने भएकाले अन्य काममा खटाइने गरेको उनको भनाइ छ । ग्राहकले पैसा राख्ने, निकाल्ने, रेमिट्यान्स, ट्रान्सफर गर्ने लगायतका काम भइरहेको उनको भनाइ छ ।

‘बैंकहरुमा ठूलो कारोबार हुन्छ, ग्राहकको कारोबार भइरहेको हुन्छ, बैंकमा कर्जाको मात्रै काम हुँदैन, ग्राहकले पैसा राख्ने÷निकाल्ने, रेमिट्यान्स, ट्रान्सफर गर्ने काम भइरहेका छन्, खाता खोल्नेदेखि लगायत अन्य थुप्रै काम भइरहन्छन्, दैनिक गर्नुपर्ने काम निरन्तर छ, शाखा कार्यालयमा पनि निरन्तर काम भइरहेको छ,’ डीसीईओ ढकालले भने, ‘कर्जामा पुरानो फाइल नवीकरण गर्नुपर्ने काम भइरहेको छ, बैंकहरुको झण्डै ५० प्रतिशत लोन बजारमा छ, त्यो हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ ।’

यस्तै, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी यसअघि बैंकर्सहरुलाई कामको चाप धेरै हुने गरेको भएपनि हाल काममा धेरै चाप नभएको बताउँछन् । अहिले कर्जा प्रवाहको काम नहुँदा कर्मचारी थोरै फुर्सदिला भएपनि अन्य काम भने भइरहेको उनले बताए । बैंकमा काम धेरै हुने भएकाले कर्मचारीलाई कहिल्यै पनि फुर्सद नमिल्ने उनको तर्क छ ।

‘बैंकले कर्जा लगानी रोकेको छ, कर्जा लगानी नगर्दा कर्जाका कर्मचारी फुर्सदिला भएका हुन्, अहिले कर्जा विस्तार हुन नसकेपनि कर्जाको गुणस्तरियता कायम गर्नका लागि त्यतिकै मिहेनत गर्नुपर्ने हुन्छ, अहिले कर्जा विभागका कर्मचारी गुणस्तरियतामा काम गरिरहेका छन्, कर्जा दिँदा बढी चाप पर्ने भएकाले गुणस्तरियता कायम गर्न पाउँदैनन्,’ उनले भने, ‘कर्मचारीलाई खाली बस्न दिइन्न, बैंकमा काम कहिलै पनि खाली हुँदैन, काम चलिरहेको हुन्छ, नयाँ कर्जा नभएपनि पुरानो नवीकरण गर्नुपर्ने, कर्जाको गुणस्तरियता कामय गर्ने लगायतका काम भइरहेका छन् ।’

Share News