विकासन्युज

बैंक अफ काठमाण्डूको ब्याजदर सार्वजनिक, बेसरेट १०.२८ प्रतिशत

काठमाडौं । बैंक अफ काठमाण्डूले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा असोज महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा ९.१३३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ १०.१३३ प्रतिशत र ब्यक्तिगततर्फ १२.१३३ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा ८ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकको भदौ महिनासम्म बेसरेट १०.२८ प्रतिशत रहेको छ भने एभरेज बेसर रेट गत असार मसान्तसम्ममा ९.२६ प्रतिशत रहेको छ । बैंकको इन्ट्रेस्ट स्प्रेड भदौसम्म ४.३१ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको बेसरेट पनि बढेको छ । यसअघि बैंकको बेसरेट १०.०४ प्रतिशत रहेको थियो भने बैंकको इन्ट्रेस्ट स्प्रेड रेट साउनसम्म ३.८५ प्रतिशत थियो ।

कात्तिकमा बढेन बैंकहरुको निक्षेपको ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहले निक्षेपको ब्याजदरलाई यथावत राख्दै असोज महिनाको ब्याजदर नै लागू गर्ने भएका छन् । सोमबार कात्तिक महिनाका लागि सार्वजनिक गरेको सूचना अनुसार कात्तिक महिनामा पनि असोज महिनाको ब्याजदरलाई निरन्तरता दिने भएका हुन् । बैंकहरुले सार्वजनिक गरेको सूचनामा ब्याजदर बढाएका छैनन् । बैंकहरुले असोज महिनामा विगत ६/७ महिनादेखि स्थिर रहेको ब्याजदर बढाएका थिए । बैंकहरुले ब्याजदर बढाएको भन्दै चौतर्फी विरोध भएको थियो । तरलता स्थिति असहज नै रहेकाले केही बैंकहरुले कात्तिक महिनाका लागि पनि ब्याजदर बढाउनु पर्ने भन्दै नेपाल बैंकर्स संघलाई दबाव दिएका थिए । अहिले बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ करिव ९.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५ प्रतिशतसम्म ब्याजदर तोेकेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याजदर तोकेका छन् । अहिले ब्याजदर उच्च रहेकाले कर्जाको लागत पनि बढेको छ । हाल बैंकहरुले कर्जामा १८ प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् । ब्याजदर उच्च भएपछि बेस रेट बढेपछि कर्जाको लागत बढेको हो । बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर कात्तिक १ गतेदेखि लागू हुने छ ।

बिष्णु पौडेलका प्रतिस्पर्धी गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालिन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलका प्रतिस्पर्धी राजु गुरुङ उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले रुपन्देही(२ मा नेपाली काँग्रेससहितको गठबन्धनका तर्फबाट उठेका एकीकृत समाजवादीका उम्मेदवार गुरुङको उम्मेदवारी खारेज नगर्न उक्त आदेश दिएको हो । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । साथै, सर्वोच्चले दुबै पक्षलाई कात्तिक २ गते अदालत बोलाएको छ । अदालतले अन्तरिम आदेश निरन्तर हुने वा नहुने भन्ने विषयमा छलफल गर्न सो दिन दुबै पक्षलाई बोलाएको हो ।

‘बुबाको इच्छा केही नगर्नु भन्ने थियो तर अन्य संस्कार गर्छौं’

काठमाडौं । जिउँदो इतिहासका साक्षीका रूपमा १०३ वर्षको उमेरमा असोज ३० गते महाप्रस्थान गरेका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने भएको छ । पारिवारिक सहमतिअनुसार स्व जोशीको शवलाई दाहसंस्कार नगरी चिकित्साशास्त्र सम्बन्धी अध्ययनका लागि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा राखिने भएको हो । अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जोशीको पार्थिव शरीरलाई मेडिकल चिकित्सा प्रणालीअनुसार अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने बताए । उनले भने, ‘अहिले जोशीको पार्थिव शरीरलाई नबिग्रिने हिसाबले केमिकल र औषधि प्रयोग गरेर सुरक्षितरूपमा ‘प्रिजर्भ’ गरिएको छ । ‘प्रोफेसर’ को भनाइअनुसार उनको शरीरलाई चिरकालसम्म कुनै पनि तत्वले बिगार्न सक्दैन । उनको शरीरबाट चिकित्सा प्रणाली अनुरूप कसरी ज्ञान र सीप लिन सकिन्छ, त्यो आर्जन गर्नेछौं ।’ जोशीको पार्थिब शरीरलाई परिवारले किष्ट शिक्षण अस्पताललाई पूर्णरूपमा हस्तान्तरण गरेको छ । ‘चिकित्सा प्रणाली अनुरुप के-के गर्नुपर्ने हो, शरीरको कुन भागको अध्ययन अन्वेषण गर्ने र उहाँको शरीरलाई चिकित्सकीय प्रणालीमा के-कसरी प्रयोग गर्ने भन्ने विज्ञहरुको रायअनुरुप अघि बढ्छौं । ‘प्रिजर्भ कन्डिसन’ कति समय रहन्छ भन्ने अहिले भन्न सकिन्न,’ उनले भने । अस्पतालले जनाएअनुसार स्व जोशीको शरीरको हरेक भागलाई अध्ययन अनुसन्धान गरिनेछ । स्व जोशीको चाहनाअनुरुप चिकित्सा प्रणालीमा अनुसन्धान हुनेछ । ‘मेरो शरीरको चिकित्सा प्रणाली अनुरुप अध्ययन होस्’ भन्ने उहाँको चाहना थियो सोही अनुरुप सम्पूर्ण अङग प्रत्यङ्गको सूक्ष्मरूपमा अध्ययन अन्वेषण गरिन्छ’ स्व जोशीको भनाई उधृत गर्दै अस्पतालका निर्देशक बज्राचार्यले भने । उनले जोशीबारे चिकित्सा शिक्षा मात्र नभई हरेक क्षेत्रमा अध्ययन गर्न चाहनेलाई अनुसन्धान गर्ने अवसर दिइने बताए । स्व जोशीको शरीरको विस्तारै अध्ययनको प्रक्रिया शुरु गरिने र विशेषज्ञ चिकित्सकहरुबाट शरीरको हरेक भागको अध्ययन हुनेछ । कहाँ राखिन्छ पार्थिव शरीर ? किष्ट शिक्षण अस्पतालले जोशीको पार्थिव शरीरलाई अस्पताल परिसरकै आधारभूत साइन्स भवनको हलमा राख्ने निर्णय गरेको छ । अस्पतालका निर्देशक बज्राचार्यले जोशीको शरीर अध्ययनका लागि अस्पतालको बेसिक साइन्स ल्याब रहेको भवनमा राखिने बताए । अस्पतालमा जोशीको शरीर रहे पनि सर्वसाधरणले भने हेर्न पाउने छैनन् । मेडिकल क्षेत्रका अनुसन्धानकर्ताले अनुमति लिएर मात्रै हेर्न र अध्ययन गर्न पाउने निर्देशक बज्राचार्यले बताए । उनले भने, ‘परिवारले नै हामीलाई गोपनीयता र सम्मानस्वरूप राखिदिनुस् भन्नुभएको छ र मेडिकल ‘इथिक्स’को पनि कुरा हुन्छ ।’ आज बिहान सात बजेर नौ मिनेटजाँदा दुःखद निधन भएका जोशीको चिकित्सा प्रणाली पूरा गरेर मध्याह्न अस्पतालमा आधा घण्टा श्रद्धाञ्जलिका लागि राखिएको थियो । त्यसपछि ललितपुर महानगरपालिका प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलिका लागि साँझसम्म राखियो । त्यहाँ प्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका शीर्ष नेता, साहित्यकार एवं शुभेच्छुक सर्वसाधारणको उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो । स्व जोशीलाई राष्ट्रिय सलामी अर्पण गरी अन्तिम बिदाइ गरिएको थियो । श्रद्धाञ्जलीपछि परिवारले जोशीको पार्थिव शरीर किष्ट अस्पताललाई पूर्णरूपमा हस्तान्तरण गरेको छ । अन्त्येष्टि नगरिए पनि त्यसबाहेकका अन्य संस्कार विधिपूर्वक पूरा गरिने उनका जेठा छोरा अणुराज जोशीले बताए । आफूहरुको इच्छाअनुरुप बुबाको शरीर अस्पतालाई दिइएको उनले उल्लेख गरे । ‘मरणोपरान्त अस्पतालमा अध्ययन गर्नका लागि शरीर दान गर्ने बुबा (स्व जोशी) को इच्छा अनुरुप लेखेरै दिनुभएको थियो, मैले पनि हस्ताक्षर गरेको हुँ, सोही अनुरुप शवअस्पताललाई हस्तान्तरण गरिएको छ,’ उनले भने, ‘बुबाको इच्छा त केही नगर्नु भन्ने थियो, ९९ वर्षीया आमाको पनि सोही इच्छा छ तर, अन्तिम दाहसंस्कार बाहेक भोलिदेखि अन्य संस्कार गर्छौं होला । पुरोहितसँग सल्लाह गरेर बाँकी काम सक्छौं,’ उनले भने । रासस

भड्किलो निर्वाचन गर्नेलाई तत्काल कारबाही गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा वित्तीय सुशासन कायम र आचारसंहिताको अनुगमनमा कडाइ गर्न जिल्ला आचारसंहिता अनुगमन अधिकृत एवं कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोग र महालेखा नियन्त्रणको कार्यालयले असोज ३० गते भर्चुअलरूपमा आयोजना गरेको निर्वाचन व्यवस्थापनमा आर्थिक प्रशासनसम्बन्धी अन्तर्क्रियामा प्रमुख आयुक्त थपलियाले निर्वाचनमा वित्तीय सुशासन कायम गराएर निर्वाचनको विश्वसनीयता बढाउन आग्रह गरेका हुन् । ‘आचारसंहिताको पूर्ण परिपालनामा तपाईंहरूको सक्रिय भूमिका रहोस् र यस निर्वाचनलाई शून्य बेरुजू भएको निर्वाचनका रुपमा मानक स्थापित गर्न सकियोस् भन्ने हाम्रो विश्वास रहेको छ ।’ प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचन भड्किलो नहोस् भन्ने हाम्रो लक्ष्य हो । यस लक्ष्य प्राप्तिका सारथी तपाईंहरू हुनुहुन्छ, राजनीतिक दल र उम्मेदवारले खर्च गर्न पाउने निर्धारण गरिएको निर्वाचन खर्चको हदको उलङ्घन र आचारसंहिताको पालना नभएको सम्बन्धमा तत्काल कारबाही प्रक्रिया अघि बढाउन आयोगबाट विश्वासको साँचो सुम्पिएको छ, त्यसको पूर्ण उपयोग हुने विश्वास हामीले लिएका छौं ।’ आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोकिसकेको छ । ती अधिकृतले जिल्ला आचारसंसहिता आयोग र सम्बन्धित जिल्ला आचारसंहिता अनुगमन समितिप्रति उत्तरदारदायी भई आफ्नो निर्वाह गर्न अधिकार दिइएको छ । कार्यक्रममा निर्वाचन आयुक्त डा जानककुमारी तुलाधरले आर्थिक व्यवस्थापन, सुशासन र वित्तीय उत्तरदायित्वसम्बन्धी विषयमा कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारीहरू जिम्मेवार रहने बताए । उनले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित, पारदर्शी र मितव्ययी बनाउन आयोग कटिबद्ध रहेकाले निर्वाचनल सफल बनाउन आयोगको मात्रै नभई सम्बन्धित सबै पक्षको भूमिका आवश्यक भएको बताए । महालेखा नियन्त्रक हरिप्रसाद मैनालीले निर्वाचन व्यवस्थापन, अनुगमन र आर्थिक सुशासनका लागि सम्बन्धित अधिकृतहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आग्रह गरे । आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू सहभागी कार्यक्रममा अनलाइन माध्यमबाट कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख र अधिकृतहरू सहभागी भएका थिए । रासस

टिभिएसको एक्सचेन्ज मेला : २५ प्रतिशत डाउनपेमेन्ट, १० लाखसम्म छुट

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले टीभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गरेको छ । असोज ३१ बाट शुरु हुने यो मेला कार्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ । मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरु पाउने छन् । यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कनभन्दा ७ हजार बढीको मूल्य पाउने छन्, साथै नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुटको पनि व्यवस्था छ । यो योजनामा आर्कष्क फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् । जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू-ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

बैंकको ब्याज तत्काल तिर्न सक्दैनौं, समय नबढाए बन्द गर्छौं : होटल संघ

काठमाडौं । होटलहरुको छाता संगठन होटल संघ नेपालले होटलहरुले तत्काल बैंकको ब्याज तिर्न नसक्ने बताएको छ । संघले एक विज्ञप्ति मार्फत अहिलेको परिस्थितिमा बैंकको ब्याज तत्काल तिर्न नसक्ने बताएका हुन् । ‘अहिलेको परिस्थितिमा हामीले लिएको सावाँको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई सावाँ ब्याज बुझाउन असक्षम छौं, सावाँ ब्याज बुझाउने समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधा समेत उपलब्ध गरिनुपर्ने हाम्रो जोडदार माग रहेको छ,’ उक्त विज्ञप्तिमा भनिएको छ । साथै, संघले कर्जा तिर्ने समय सीमा नबढाए होटल व्यवसाय बन्द गर्नेमा पुग्ने समेत बताएको छ । ‘सावाँ ब्याज बुझाउने समयसीमा बढाइ कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधा समेत उपलब्ध गर्नु आवश्यक छ, हालको बढ्दो ब्याजदरले होटल जस्तो अत्यन्त संवेदनशील उद्योग धान्नै नसकिने भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गर्नुपर्छ,’ संघले भनेको छ । विश्वव्यापी कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया-युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तीव्र रुपमा फैलिरहेको डेंगीको प्रकोपले पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्याएको संघको भनाई छ ।

मंगलम पाइपका प्राविधिकले पाए ल्यापटपदेखि एक तोला सुनसम्मको पुरस्कार

काठमाडौं । नेपालको सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रा.लि. ले सुनसरीको इटहरीमा प्राविधिक भेटघाट एवं पुरस्कार वितरण सम्पन्न गरेको छ । प्राविधिकहरुलाई अभिप्रेरित गराउने मंगलम पाइपले उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा गत वर्षको स्किममा प्राविधिकहरुले गरेको प्रदर्शन अनुसार पुरस्कारहरु वितरण गरिएको थियो भने स्किम अनुसारको अन्य विभिन्न उपहारहरु पनि वितरण गरिएको थियो । जस अन्तर्गत प्राविधिकहरुले २ वटा १२५ सीसीको पल्सर मोटरसाईकल, एउटा १५० सीसीको पल्सर जित्नुको साथै ६ जनाले ल्यापटप, १० जनाले १÷१ तोला सुन र ६ जनाले टेलिभिजन जित्न सफल भएको कम्पनीको असिस्टेन्ट भाईस प्रेसिडेन्ट सुमित शर्माले जानकारी दिए । टेक्निसियन प्रोत्साहन कार्यक्रम (कुपन वापत) अन्तर्गत उक्त कार्यक्रम गरिएको र यस्ता किसिमका अन्य कार्यक्रम भविष्यमा पनि सञ्चालनमा ल्याईने शर्माले बताए । कार्यक्रममा उक्त क्षेत्रमा क्रियाशिल लगभग ५० जना प्राविधिकहरुको उपस्थिति रहेको थियो । मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । मंगलमको हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् । र यसका सबै उत्पादनहरू आईएसओ ९००१ः२०१५ प्रमाणित छन् ।