प्रिमियम फिर्ता गर्ने प्रतिवद्धतापछि लाभांशको स्वीकृति, यी हुन् लाभांश घोषणा गर्ने तयारीमा रहेका बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई धमाधम वार्षिक साधारणसभा एजीएम क्लियरेन्सको अनुमति दिन थालेको छ । बैंकहरुले ग्राहकबाट असुलेको अतिरिक्त प्रिमियम फिर्ता गर्ने प्रतिवद्धता गरेपछि राष्ट्र बैंकले एजीएम क्लियरेन्सको अनुमति दिन थालेको हो । यसअघि नेपाल राष्ट्र बैंकले बैंकहरुले ऋणीबाट लिएको गैरकानुनी प्रिमियम फिर्ता गर्नु पर्ने भन्दै वित्तीय विवरण स्वीकृति दिएको थिएन । तर, बैंकहरुले अब प्रिमियम फिर्ता गर्ने प्रतिवद्धता गरेपछि वित्तीय विवरणको स्वीकृति दिन थालेको राष्ट्र बैंक स्रोतको भनाइ छ । राष्ट्र बैंकले करिब आधा दर्जन बैंकको वित्तीय विवरण स्वीकृत गरिसकेको छ । हालसम्म सिटिजन्स बैंक, कुमारी, नेपाल पूर्वाधार बैंक, एनसीसी र बैंक अफ काठमाण्डूले एजीएम क्लियरेन्सको स्वीकृति पाएका छन् । अन्य केही बैंक पनि आजभोलि नै पाउने तयारीमा रहेको राष्ट्र बैंक स्रोतको भनाइ छ । ‘गत आर्थिक वर्ष अधिकांश बैंकहरुले ऋणीबाट असाध्यै बढी प्रिमियम लिएको हामीले भेटायौं, बैंकहरुले मनलाग्दी किसिमले ऋणीबाट प्रिमियम लिन पाउँदैनन् तर उनीहरुले ग्राहकको सम्झौतामै ऋणीको प्रिमियम बढाएको भनिरहेका थिए, सम्झौतामै भएपनि फिर्ता गर्नु पर्छ भन्ने राष्ट्र बैंकको अडानपछि बैंकहरु प्रिमियम फिर्ता गर्न सहमत भए,दोस्रो त्रैमाससम्म ऋणीको प्रिमियम फिर्ता गर्ने प्रतिबद्धता बैंकहरुले गरेका छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो । राष्ट्र बैंक स्रोतका अनुसार हालसम्म १६ वटा बैंकले राष्ट्र बैंकमा वित्तीय विवरण पेश गरेका छन् । तर, ५ वटा बैंकको मात्रै वित्तीय विवरण स्वीकृत भएर ती बैंकहरुले लाभांश पनि प्रस्ताव गरिसकेका छन् । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत, कुमारीले १२.५० प्रतिशत र निफ्राले ४.२१०४ प्रतिशत, एनसीसीले १०.९९ प्रतिशत र बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यी बाहेक एनआइसी एसिया, सनराइज, ग्लोबल आइएमई, सिद्धार्थ, सिटिजन्स, मेगा, एभरेष्ट, नबिल बैंकको वित्तीय विवरण स्वीकृतिको चरणमा रहेको बताइएको छ । केही बैंकको लाभांश वितरण भने रोक्ने राष्ट्र बैंकको तयारी छ । प्रिमियमसँगै राष्ट्र बैंकले सबै बैंकहरुलाई प्रोभिजनमा पनि कडाइ गरेको छ । राष्ट्र बैंकले सबै बैंकहरुलाई न्यूनतम ५० करोड रुपैयाँदेखि अधिकतम् एक अर्ब ५० करोड रुपैयाँसम्म प्रोभिजन गराएको छ ।
देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द
काठमाडाैं । सरकारले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । अर्को व्यवस्था नभएसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको जनाएकाे हाे । आइतबार नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ दुर्घटनामा एक खेलाडीको मृत्यु भएपछि प्राधिकरणले यस्ताे निर्णय गरेकाे हाे ।
आइतबार नेप्सेमा दुई समूह बाहेक सबै राताम्मे
काठमाडाैं । आइतबार सेयर बजारमा दुई समूह बोहक सबै रातम्मे भएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आजको सेयर बजारमा बैंकिङ र म्यानुफ्याकचर एण्ड प्रडक्सन बाहेक सबै समूहमा राताम्मे भएकाे हाे । नेप्से परिसूचक नौ दशमलब ६९ अङ्कले ओरालो लागेर एक हजार आठ सय ६० दशमलब ९४ मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक उक दशमलब ७२ अङ्कले ओरालो लागेर तीन सय ६५ दशमलब ४२ मा सिमित भएको छ । कूल दुई सय २१ कम्पनीको २५ लाख ७४ हजार सात सय ८५ कित्ता शेयर रु ८० करोड ३५ लाख २५ हजार पाँच सय ३३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण २६ खर्ब ७६ अर्ब ३५ करोड ३४ लाख ४७ हजार सात सय ७८ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु आठ करोड ४७ लाख ५९ हजार सात सय ३९ बराबरको कारोबार भयो । गरिमा विकास बैंक रु चार करोड ८८ लाख छ हजार, हिमालयन डिस्टिलरी तीन करोड ३२ लाख ४३ हजार तीन सय ५७, शिवम् सिमेन्ट रु दुई करोड ९९ लाख ८९ हजार एक सय दुई र रिडी पावर कम्पनी दुई करोड ७८ लाख १४ हजार एक सय ७१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र रहेका छन् । नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लाग्यो । स्ट्याण्र्डड चार्टड बैंक सात दशमलब २५, एभरेष्ट बैंक पाँच दशमलब १५, नेपाल एसबीआई बैंक तीन दशमलब ७७ र रिलायन्स फाइनान्सका लगानीकर्ताले तीन दशमलब २६ प्रतिशतले कमाएका छन् । त्यस्तै, पिपल्स पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएपछि नकारात्मक सर्किट लागेको छ । सिटिजन बैंक सात दशमलब शून्य तीन, आशा लघुवित्त पाँच दशमलब ८६, मैलुङ खोला जलविद्युत् पाँच दशमलब ७७ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ३५ प्रतिशतले गुमाएका छन् ।
अख्तियार नेपालगञ्जमा वर्षमा चार सय ७५ उजुरी
खजुरा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा एक वर्षमा चार सय ७५ उजुरी दर्ता भएका छन् । गत आव २०७८/७९ मा सो कार्यालयमा त्यसअघिको आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरेर आएका दुई सय ७३ उजुरी फछ्र्योट हुन सकेका थिए । जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी गत आवको अन्त्यसम्म सात सय ४८ उजुरी फछ्र्योटको जिम्मेवारी रहेको आयोगले ७०।५ प्रतिशत उजुरी फछ्र्योट गर्न सफल भएको कार्यालयका सूचना अधिकारी श्रीधर टण्डनले बताए । आयोगको वार्षिक प्रतिवेदनअनुसार गत आव २०७८/७९ को अन्त्यसम्म जिम्मेवारी सरेर आएका एक सय ५६ र गत आवमा परेकामध्ये तीन सय ६८ गरी पाँच सय २४ उजुरी फछ्र्योट भएका छन् । आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा आव २०७८/७९ को अन्त्यसम्मका सात सय ४८ मध्ये विस्तृत अनुसन्धानका लागि ३५ उजुरी गएका छन् भने एक सय ७७ सिधै तामेली तथा सुझावसहितको तामेली भएको उजुरीको सङ्ख्या ३६ रहेको सूचना अधिकारी टण्डनको भनाइ छ । टण्डनका अनुसार दुई सय ७६ उजुरीमा अन्य कारवाही भएका छन् । सम्पर्क कार्यालयमा विभिन्न माध्यममार्फत परेका उजुरीमध्ये दुई सय २४ वटा चालू आर्थिक वर्ष २०७९/८० का लागि सरेर आएका छन् । अख्तियार दुरूपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक वर्षमा देशभर परेका उजुरीमध्ये ७० दलमलव ६ प्रतिशत उजुरी फछ्र्योट भएको जनाएको छ । चार जिल्ला कार्यक्षेत्र रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलअन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जमा चालू आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्म एक सय १६ उजुरी दर्ता भइसकेका छन् । विभिन्न माध्यमबाट एक सय १६ उजुरी दर्ता भएका हुन् । चालू आवको साउनमा ५६, भदौमा ३९ र असोजमा २१ उजुरी दर्ता भएका छन् । सम्पर्क कार्यालयमा हुलाकमार्फत ४२, समाचारपत्रमार्फत चार, लिखित निवेदन ३१, टोलिफोनबाट नौ, इमेलमार्फत ३० उजुरी दर्ता भएका थिए । अहिले कार्यालयको फेसबुक पेज, हटलाइन नम्बर १०७, इमेललगायत माध्यमबाट उजुरी दिने व्यवस्था रहेको कार्यालयका सूचना अधिकारी टण्डनले बताए । उनका अनुसार अख्तियारमा सबैभन्दा बढी स्थानीय तहअन्तर्गत योजना विकास निर्माण, कर्मचारी नियुक्तिको प्रक्रिया, सरकारी जग्गा अतिक्रमण, सामुदायिक वनका विवाद, जस्ता उजुरी आउने गर्दछ । रासस
१ करोड २५ लाखमा तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङको बन्दै
काठमाडौं । तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालनमा आउने भएको छ । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काई रोप साइक्लिङ थप गरेको छ । केही दिनमा जिपलाइन तयार हुने र स्काई रोप साइक्लिङ पनि कार्तिक महिना भित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिए । ‘ मादी नदी वारपार गर्ने गरि ५ सय मिटरको जिपलाइन सञ्चालनमा ल्याएका हौँ । जुन परेवाडाँडाबाट चिन्तुडाँडासम्म पुग्ने व्यवस्था गरिएको छ,’ उनी भन्छन्,‘९० फिट हाइटमा एक सय मिटरको स्काई रोप साइक्लिङको परीक्षण कार्य भइरहेको छ ।’ यस्तै, जिपलाइनका लागि एक हजार ५ सय र स्काई रोप साइक्लिङ (दुई तर्फी) का लागि एक हजार शुल्क तोकिएको उनी बताउँछन् । रिसोर्टले जिपलाइन र स्काई रोप साइक्लिङका लागि मात्र १ करोड २५ लाख बजेट छुट्याएको सापकोटाले जानकारी दिए । रिसोर्ट दमौलीबाट ५ किमि उत्तर परेवाडाँडामा अवस्थित छ । १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टको हाल ४ रोपनीमा संरचनाहरू बनेका छन् । यस्तै, आगामी २ वर्षमा लक्जरी रुम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्क लगायतका संरचनाहरू समेत थप्ने योजना रहेको उनले जानकारी दिए । यसबाहेक रिसोर्टमा जाइन्ट स्विङ समेत सञ्चालनमा रहेको छ । उक्त स्विङ २ वर्ष अगाडिदेखि नै सञ्चालनमा रहेको सापकोटाले बताए । उनका अनुसार ९० केजीसम्मका व्यक्तिले स्विङ खेल्न सक्नेछन् ।
भोटसँगै नोट पनि माग्दै उम्मेदवार, बैंक खाता र क्यूआर कोड सार्वजनिक
काठमाडौं । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । निर्वाचनका लागि विभिन्न राजनीति दल र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा छन् । उम्मेदवारहरु घरदैलो कार्यक्रममा भोटसँगै सर्वसाधारणबाट आर्थिक सहयोग पनि माग्न थालेका छन् । भोटसँगै नोट माग्नेमा स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् । अहिले अधिकांश उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत् भोटसँगै आर्थिक सहयोगको अपील गरिरहेका हुन् । सत्ता गठबन्धनको साथ पाएकी माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमी भट्टराईलगायत दर्जनौं उम्मेदवारहरुले अहिले सर्वसाधारणसँग आर्थिक सहयोग माग गरिरहेका छन् । पूर्व अर्थमन्त्री र प्रधानमन्त्री भइसकेका बाबुराम भट्टराईकी छोरी समेत रहेकी मानुषीले गत विहीबार आर्थिक सहयोगको अपिल सहित एउटा सन्देश पोष्ट गरिन् । उनले आफूलाई आर्थिक सहयोग गर्न आग्रह गर्दै बैंक खाता र क्यूआर कोड विवरण सार्वजनिक गरेकी थिइन् । ‘लोकतन्त्र र विधिको शासनलाई ठीक तरिकाबाट कार्यान्वयन गर्नु, तीव्र गतिमा अर्थतन्त्रको विकास र न्यायोचित वितरण साथै विकास र समृद्धिको यात्रालाई फराकिलो बनाएर आम नागरिकलाई प्रत्यक्ष लाभ दिलाउनु नै मेरो उद्देश्य हो, संविधानले प्रदत्त गरेको ‘शिक्षा, स्वास्थ्य र रोजगार मौलिक अधिकार’ लाई नै हामीले कार्यान्वयनमा लैजान सकेका छैनौं, यस्ता यावत् विषयका लागि थुप्रै कानुनहरु निर्माण गर्नु र निरन्तर पहलकदमी गर्नुपर्नेछ, मेरो ऊर्जावान समय देश र समाजका लागि केही सकारात्मक भूमिकामा प्रयोग गर्नका लागि त्यस स्थानसम्म पुर्याउन यहाँहरूको सबै प्रकारको सहयोगको जरुरत छ,’ उनले सामाजिक सञ्जालमार्फत् आर्थिक सहयोगको अपील गर्दै लेखेकी छन् । उनले थपेकी छन्, ‘हाम्रो विद्यमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो छ, सदनमा हामी यसको विषय उठान गर्ने नै छौं, निर्वाचनमा लाग्ने आधारभूत खर्चका लागि आर्थिक सहयोगको अपेक्षा सहित हाम्रो अभियानमा यहाँको पनि प्रत्यक्ष सहभागिताको लागि अनुरोध गर्दछु ।’ उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेकी छिन् । यस्तै, आर्थिक साहयता माग्ने उनी मात्रै होइनन् दर्जनौं उम्मेदवारले आर्थिक साहयता माग गरेका छन् । काठमाडौं क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन्द्र मिश्रले पनि सबैबाट नैतिक र आर्थिक सहयोग अपील गरे । उनले आफुलाई सहयोग गर्न चाहनले सचिवालमा सम्पर्क गरेर सहयोग गर्न सक्ने बताएका छन् । यस्तै, प्रधानमन्त्री शेर बहादुर देउवासँग स्वतन्त्रबाट चुनाव लड्न लागेका सागर ढकालले पनि सर्वसाधारणसँग आर्थिक सहयोग मागेका छन् । उनले गुपचुप पैसा लिनुभन्दा खुला रूपमा जनतामा जाने निर्णय गरेको भन्दै सामाजिक सञ्जालमार्फत् आर्थिक सहयोग माग गरेका हुन् । उनले चुनावी प्रचारप्रसारको लागि आर्थिक सहयोगको आवश्यक रहेको हुनाले इसेवा, खल्ती वा बैंक खातामा पैसा जम्मा गर्नका लागि ढकालले सार्वजनिक अपील गरेका हुन् । ‘देश र विदेशमा रहनुभएका आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, यहाँहरूलाई अवगत नै छ कि म आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा डडेलधुराबाट उम्मेदवारी दिँदै छु, यसरी म चुनावी मैदानमा होमिँदा धेरै जना मलाई आर्थिक सहयोग गर्नका लागि इच्छुक हुनुहुन्छ, हामीलाई चुनावी प्रचार प्रसारको लागि आर्थिक सहयोगको आवश्यक रहेको हुनाले इच्छुक महानुभावहरूले निम्न बमोजिमका सर्तहरू सहित आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन् । चुनावी खर्चलाई सकेसम्म कम गर्ने र यातायातका लागि मोटरसाइकलको मात्र प्रयोग गर्ने उनले उल्लेख गरेका छन् । साधारण शाकाहारी खाना खाने, भड्किलो प्रचार प्रसार नगर्ने पनि उनले उल्लेख गरेका छन् । यस्तै, विवेकशील साझा पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ९ मा उम्मेद्वार बनेका मिलन पाण्डेले पनि आर्थिक सहयोगको माग गरेका छन् । उनले सामाजिक सञ्जालबाट आर्थिक सहयोगको अपीले गर्दै लेखेका छन्,‘ काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ मा एउटा प्रतिनिधिसभाको उम्मेदवारले २७ लाख खर्च गर्न पाउँछ, तर अनौपचारिक रूपमा हाम्रा नेताहरूले भने अनुसार उहाँहरू कम्तीमा पनि ३÷४ करोड खर्च गरेर चुनाव जित्नुहुन्छ, त्यो पैसा कहाँबाट आयो ?, यही प्रश्न मलाई सोध्दा–मेरो आयस्रोत दुई वटा छ। पहिलो, म पार्ट टाइम पढाउँछु, दोस्रो, म स्तम्भकार हुँ, त्यहाँबाट पनि अलिकति आम्दानी हुन्छ, जसो–तसो परिवारको सहयोगमा घर चलेको छ ।’ उनले थपेका छन्,‘मैले अघिल्लो निर्वाचनमा पनि साथी–भाई शुभेच्छुकको सहयोगमा निर्वाचन लडेको हो, यसपालि पनि साथीभाइ र तपाईहरुकै सहयोग लिन्छु, कुनै माफियाबाट चन्दा लिएर चुनाव लड्दिन,। अघिल्लो चोटिझैँ, निर्वाचन सकिने बित्तिकै निर्वाचन आयोगमा सम्पूर्ण खर्च बुझाउने छु र म त्यो विवरण सामाजिक सञ्जालमा पनि राख्नेछु, मलाई सक्दो आर्थिक सहयोग गरिदिनुस् न है, ताकी मैले निर्वाचन जित्दै गर्दै ’कालो मन र कालो धन’ पनि हारोस् ।’ यस्ता दर्जनौं उम्मेदवारले आर्थिक सहयोग मागेका छन् । काठमाण्डौं–५ की स्वतन्त्र उम्मेद्वार रञ्जु दर्शनाले पनि आर्थिक सहयोग माग गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–८ का उम्मेद्वार विराजभक्त श्रेष्ठले पनि आर्थिक सहयोग मागेका छन् । विवेकशील साझाबाट काठमाडौं–२ का उम्मेदवार धनेज थापाले पनि सहयोगको अपिल गरेका छन् । काठमाडौं ५(क) बाट प्रदेशसभाका स्वतन्त्र उम्मेदवार सस्मित पोख्रेलले आर्थिक सहायताको अपिल गरेका छन् । निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले उद्योगी, व्यवसायी तथा विभिन्न संघ संस्थाबाट चन्दा उठाउने गरेको पनि सुनिन्छ । राजनीतिक दलका उम्मेदवारले चुनावमा करोडौं खर्च गर्ने विषय पनि विभिन्न समयमा बाहिरिने गरेको छ ।
बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश दिने
काठमाडौं । बैंक अफ काठमाण्डूले सेयरधनीलाई २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई करसहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।
महाकाली सिँचाइको मूलनहर निर्माणको काम सकिँदै
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रदेखि शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली क्षेत्रसम्म महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २८ किलोमिटर मूलनहर निर्माणको काम सकिँदैछ । कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्गको उत्तर र चुरे क्षेत्रको दक्षिण क्षेत्रबाट निर्माण भइरहेको राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहलमा पानी बग्ने एकिन छैन् । गत असारमा महाकाली नदीबाट भारतीय पक्षले पानीको परीक्षणका साथै कञ्चनपुरलाई धान दिवस मनाउन पानी उपलब्ध गराए पनि त्यसयता भारतले नियमित पानी छाड्न मानेको छैन् । महाकाली सिँचाइ आयोजना मूलनहर निर्माणसँगै शाखा नहर निर्माणको प्रक्रिया अघि बढाइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले भने सिँचाइ आयोजनाले शाखा नहर बनाउने क्षेत्र र वरपर गरी कराडौँका ट्युबेल सिँचाइका लागि भनेर स्थानीयलाई बितरण गरेको छ । ब्रह्मदेवदेखि चुरे फेद र सिँचाइको मूल नहर दक्षिण लगायतका क्षेत्रमा बितेको चार वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा तीन सय ५० ठाउँमा सिँचाइ सुविधाका लागि ट्युवेल जडान गरिएको छ । उक्त क्षेत्रमा चालू आर्थिक वर्षमा १४ करोड रुपैयाँ ट्युवेल जडानका लागि बजेट विनियोजन भएको छ । महाकाली सिँचाइको मूल नहरको उत्तरतर्फ करिब ८० प्रतिशत ट्युबवेल जडानको काम सकिएको छ । राजमार्गबाट उत्तर भीमदत्त नगरपालिकाका– ८ वटा र बेदकोट नगरपालिका–८ मा गरी साढे तीन सय ट्युबवेल जडान गरिएको हो । त्यसैगरी प्रदेश सभाको उक्त क्षेत्रमा पर्ने भीमदत्त नगरपालिका– २, १७ र १९ मा २ सय ट्युबवेल जडान गरिएका छन् । राजमार्गबाट माथिल्लो क्षेत्रमा जडान गरिएका ट्युबवेलमा जडानमा प्रति ट्युबवेल दुईदेखि सात लाख रुपैयाँसम्म खर्च भएको र साथै ६० बिघा क्षेत्रलाई सिँचाइ पुग्ने ठूला ट्युबवेल तीन वटा समेत जडान भएका छन् । सोही स्तरका चार वटा ट्युबवेल बोर गराउन बजेट आइसकेको छ । ठूला ट्युबवेल बोर जडान गर्न प्रति ट्युबवेल ७० लाख रुपैयाँदेखि एक करोडसम्म लागन लाग्ने गरेको छ । महाकाली सिँचाइ आयोजानाअन्तर्गत दोस्रो चरणमा सम्पन्न भएका नहरबाट यहाँ सिँचाइ सुविधा किसानले उपभोग गर्न पाएको भए पनि तेस्रो चरणको गति भने सुस्त छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजन इञ्जिनीयर शम्भु पण्डितले शाखा नहर निर्माणको तयारी भइरहेको बताए । ‘यो वर्ष तीन किलोमिटर जति शाखा नहर बनाउनुपर्ने कार्यक्रम छ’, उनले भने, ‘शाखा नहर निर्माण क्षेत्रका नागरिकबाट पनि ट्युबवेल जडान भएकाले नहर आवश्यक छैन भन्ने आवाज पनि आइरहन्छन् ।’ उनले प्रदेश सरकारले मूल नहरभन्दा उत्तरको क्षेत्रमा सिँचाइका लागि जडान गरेको ट्युवेलले किसान लाभान्वित हुने बताए । ‘हाम्रो मूल नहरभन्दा माथिको भेगमा सिँचाइ सुविधा पुग्दैन्’, उनले भने,’हाम्रो लक्षित क्षेत्रमा पनि धेरै ट्युबवेलबाट सिँचाइ पुगेको भन्ने छ ।’ त्यसैगरी शुक्लाफाँटा नगरपालिकासम्म मूल नहर निर्माणको अन्तिम तयारी रहेको बताउँदै उनले २८ देखि ४८ किलोमिटरसम्म मूल नहर निर्माणका लागि सिँचाइ विभागमा लागत अनुमान पेस गर्ने तयारी रहेको जानकारी दिए । रासस