बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश दिने
काठमाडौं । बैंक अफ काठमाण्डूले सेयरधनीलाई २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई करसहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।
महाकाली सिँचाइको मूलनहर निर्माणको काम सकिँदै
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रदेखि शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली क्षेत्रसम्म महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २८ किलोमिटर मूलनहर निर्माणको काम सकिँदैछ । कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्गको उत्तर र चुरे क्षेत्रको दक्षिण क्षेत्रबाट निर्माण भइरहेको राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहलमा पानी बग्ने एकिन छैन् । गत असारमा महाकाली नदीबाट भारतीय पक्षले पानीको परीक्षणका साथै कञ्चनपुरलाई धान दिवस मनाउन पानी उपलब्ध गराए पनि त्यसयता भारतले नियमित पानी छाड्न मानेको छैन् । महाकाली सिँचाइ आयोजना मूलनहर निर्माणसँगै शाखा नहर निर्माणको प्रक्रिया अघि बढाइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले भने सिँचाइ आयोजनाले शाखा नहर बनाउने क्षेत्र र वरपर गरी कराडौँका ट्युबेल सिँचाइका लागि भनेर स्थानीयलाई बितरण गरेको छ । ब्रह्मदेवदेखि चुरे फेद र सिँचाइको मूल नहर दक्षिण लगायतका क्षेत्रमा बितेको चार वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा तीन सय ५० ठाउँमा सिँचाइ सुविधाका लागि ट्युवेल जडान गरिएको छ । उक्त क्षेत्रमा चालू आर्थिक वर्षमा १४ करोड रुपैयाँ ट्युवेल जडानका लागि बजेट विनियोजन भएको छ । महाकाली सिँचाइको मूल नहरको उत्तरतर्फ करिब ८० प्रतिशत ट्युबवेल जडानको काम सकिएको छ । राजमार्गबाट उत्तर भीमदत्त नगरपालिकाका– ८ वटा र बेदकोट नगरपालिका–८ मा गरी साढे तीन सय ट्युबवेल जडान गरिएको हो । त्यसैगरी प्रदेश सभाको उक्त क्षेत्रमा पर्ने भीमदत्त नगरपालिका– २, १७ र १९ मा २ सय ट्युबवेल जडान गरिएका छन् । राजमार्गबाट माथिल्लो क्षेत्रमा जडान गरिएका ट्युबवेलमा जडानमा प्रति ट्युबवेल दुईदेखि सात लाख रुपैयाँसम्म खर्च भएको र साथै ६० बिघा क्षेत्रलाई सिँचाइ पुग्ने ठूला ट्युबवेल तीन वटा समेत जडान भएका छन् । सोही स्तरका चार वटा ट्युबवेल बोर गराउन बजेट आइसकेको छ । ठूला ट्युबवेल बोर जडान गर्न प्रति ट्युबवेल ७० लाख रुपैयाँदेखि एक करोडसम्म लागन लाग्ने गरेको छ । महाकाली सिँचाइ आयोजानाअन्तर्गत दोस्रो चरणमा सम्पन्न भएका नहरबाट यहाँ सिँचाइ सुविधा किसानले उपभोग गर्न पाएको भए पनि तेस्रो चरणको गति भने सुस्त छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजन इञ्जिनीयर शम्भु पण्डितले शाखा नहर निर्माणको तयारी भइरहेको बताए । ‘यो वर्ष तीन किलोमिटर जति शाखा नहर बनाउनुपर्ने कार्यक्रम छ’, उनले भने, ‘शाखा नहर निर्माण क्षेत्रका नागरिकबाट पनि ट्युबवेल जडान भएकाले नहर आवश्यक छैन भन्ने आवाज पनि आइरहन्छन् ।’ उनले प्रदेश सरकारले मूल नहरभन्दा उत्तरको क्षेत्रमा सिँचाइका लागि जडान गरेको ट्युवेलले किसान लाभान्वित हुने बताए । ‘हाम्रो मूल नहरभन्दा माथिको भेगमा सिँचाइ सुविधा पुग्दैन्’, उनले भने,’हाम्रो लक्षित क्षेत्रमा पनि धेरै ट्युबवेलबाट सिँचाइ पुगेको भन्ने छ ।’ त्यसैगरी शुक्लाफाँटा नगरपालिकासम्म मूल नहर निर्माणको अन्तिम तयारी रहेको बताउँदै उनले २८ देखि ४८ किलोमिटरसम्म मूल नहर निर्माणका लागि सिँचाइ विभागमा लागत अनुमान पेस गर्ने तयारी रहेको जानकारी दिए । रासस
नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ दुर्घटनामा खेलाडीको मृत्यु
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ दुर्घटनामा एक खेलाडीको मृत्यु भएको छ । प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
तनहुँमा खानेपानी आयोजनाको पाइप बिच्छ्याउन सुरु
तनहुँ । व्यास नगरपालिका–१ भादगाउँस्थित मादीनदी लिफ्ट खानेपानी आयोजनाको खानेपानी पाइप बिच्छ्याउने कार्य सुरु गरेको छ । वडामा कूल ५२ किलोमिटर दूरीमध्ये हाल सात किलोमिटर दूरीमा पाइप बिच्छ्याउने कार्य सम्पन्न भएको छ । करिब तीन फिट गहिरो खाडल खनेर पाइप पुर्ने कार्यका लागि जनशक्ति परिचालन गरिएको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए । व्यास नगरपालिका–४ को मादी नदी किनारबाट करिब पाँच किलोमिटर दूरीबाट पानी ल्याएर वडावासीलाई पानी वितरण गर्ने योजना रहेको छ । व्यास नगरपालिका–१ को अमिली भञ्याङमा चार लाख लिटर मुख्य ट्याङ्की र सोही वडाको भदु्रडाँडामा पचास हजार लिटर क्षमताको गरी दुई वटा रिर्जभ ट्याङ्की निर्माणकार्य भइरहेको छ । समितिले ट्याङ्की निर्माणको लागि करिब पाँच रोपनी जग्गा प्रयोगमा ल्याएर काम थालेको छ । रिजर्भ ट्याङ्कीको भूइँ ढलान गर्ने कार्य दशैंअघि सम्पन्न गरी अहिले आरसीसी पर्खाल लगाउन थालिएको छ । मादी नदीबाट प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमता रहने प्राविधिकले बताएका छन् । पानी धान्न सक्ने किसिमको फिल्टर प्लान्ट निर्माण गरिनेछ । व्यवस्थापक श्रेष्ठले भने,’मुख्य प्लान्टको कार्य सकिएपछि तिहारपछि मादीनदी किनारमा लिफ्ट क्षेत्रको काम गरिने छ ।’ खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भई बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल खानेपानी आपूर्तितर्फ १५ करोड २४ लाख ३६ हजार रुपैयाँमा सम्झौता भएको हो । उपभोक्ताबाट सङ्कलित पाँच प्रतिशत अर्थात् एक करोड ३१ लाख रुपैयाँमा खातामा जम्मा गरिसकेपछि मात्रै आयोजनाको सम्झौता भएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए । नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । विसं २०८० भदौभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म दुई हजार ६०० बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । रासस
खाना प्लेटको २५०० रुपैयाँ, सस्तो कि महँगो भयो सरकार ?
सहरीको विकाससँगै पार्टी प्यालेसहरुको बजार पनि विकास भैरहेको छ । ४ आनादेखि ५ रोपनीसम्मको जग्गामा पार्टी प्यालेस खुलेका छन् । ४ आनामा खुलेको पार्टी प्यालेसमा मोटरसाईकल पार्किङ स्थल पनि छैन भने ठूला पार्टी प्यालेसहरुले पार्किङ, वगैचा, केटाकटीलाई खेल्ने स्थानको समेत प्रवन्ध गरेको पाइन्छ । विवाह, वर्तबन्ध, जन्मदिन, बैवाहिक वार्षिकोत्सव जस्ता परम्परागत भोजदेखि कम्पनीको वार्षिकोत्सव, वार्षिक साधारणसभा, एजेन्ट भेला लगायत व्यवसायिक भोजहरु, अहिले राजनीतिक दल तथा विभिन्न संघसंस्थाका कार्यक्रमहरु, म्यूजिक भिडियो सुडिङ् पनि पार्टी प्यालेसमा हुन थालेका छन् । खाली जग्गा नभएकाले, घना बस्ती भएकाले र घर सानो भएकाले मानिसहरु पछिल्लो समय जुनैसुकै कार्यक्रम गर्नुपरेमा पनि पार्टी प्यालेन्समै गर्ने गर्छन् । पार्टी प्यालेसरुमा भोज गर्दा सहभागीले खाना खादाको प्लेटका हिसावले पैसा लिन्छन् । खानाको रेट प्रतिप्लेट १३ सयदेखि २५ सयसम्म हुनेगर्दछ । रेट तोक्ने मामिलामा पार्टी प्यालेसहरु स्वतन्त्र छन् । सरकारले त्यसमा ध्यान दिएको छैन । खाताको प्रतिप्लेट २५ सय रुपैयाँ लिनु सस्तो हो कि महँगो ? न उपभोक्ताको लागि ज्ञान छ न सरकारले भन्न सक्छ । यस विषयमा वस्तुपरक अध्ययन हुन जरुरी छ । खर्सीको मासु भनेर बाख्राको मासु खुवाउने, लोकल कुखुराको मासु भनेर मरेको कुखुरा वा बोइलर कुखुराको मासु खुवाउने, सडेको , बिग्रेको माछा र तरकारीहरु ल्याएर पकाएर खान दिने, दुध, दही वा मिठाइहरु पनि बासी खुवाउने, मदिराहरु पनि नक्कली खुवाउने गरेको गुनासो बढ्दै गएको छ । पार्टी प्यालेन्समा खाएका खानेकुराबाट मानिसहरुलाई पेट दुख्ने र झाडापखाला लाग्ने समस्या बढ्दो रहेको छ । पार्टी प्यालेन्समा खानेपानी, शैचालय जस्ता आधारभूत व्यवस्थापनमा पार्टी प्यालेसहरुले व्यवस्थापन राम्रो गर्न सकेका छैनन् । गुणस्तर कायम गर्नको लागि सरकारी तवरबाट गुणस्तरको नापचाँच गर्ने, अनुगमन गर्ने अभ्यास शुन्य छ । मानिसहरुले पछिल्लो समय अरुलाई देखाउनका लागि भएपनि घरजग्गा बेचेर पार्टी प्यालेन्समा भोजभतेर लगाउने गर्छन् र पछि वित्तीय संस्थाको ऋण तिर्न नसकेर डुब्छन् । तर पार्टी प्यालेसहरुले एकै दिन लाखौको कारोबार गर्छन । वर्षमा दशौं करोड रुपैयाँको कारोबार गर्ने पार्टी प्यालेसहरु थुप्रै छन् । तर भ्याट विल जारी गर्दैनन् । उनीहरुको आर्थिक कारोबार पुरै अपारदर्शी छ । पार्टी प्यालेन्सहरु एक दिन पनि खाली हुदैनन् । दैनिक दशैं लाख रुपैयाँ कमाउने पार्टी प्यालेसहरु सफल भएका हुन्छन् । तर उनीहरुले सरकारलाई कर पनि छलिरहेका छन् । यसतर्फ पनि कर प्रसाशनले ध्यान दिन सकेको छैन । पार्टी प्यालेन्समा धेरै फाइदा हुने भएकाले पछिल्लो समय सबै राजनीतिक दलहरुको लगानी रहेको पाइन्छ । ठूला नेताको संरक्षण भएकाले पनि पार्टी प्यालेसमा अनियमितता हुँदा हुँदै पनि कर प्रशासन, गुणस्तर नियन्त्रण प्रशासन मौन बसेको हुनसक्छ । आफ्नै पार्टी नेताको लगानी भएको पार्टी प्यालेसमा सोही पार्टीले गरेका कार्यक्रममा खाईपीई गरेको रकम पुरै छुट गर्ने गर्नेका समेत पाइन्छ । ५ वर्षको बच्चाले आमासँगै खाना खान मानेन र अर्को प्लेटमा खाना दियो भने त्यसको पनि २५ सय नै लिने गर्दछन् । थोरै खाना खाने, माछामासु नखाने, दाल र रोटी मात्र खाने, बुढाबुढी, दीर्घरोगी, विरामी सबैसँग पार्टी प्यालेसहरुले २५ सयको दरले रकम असुल गर्दछन् । सरकारको मापदण्ड अनुसार नै जन्मिएको मितिले १६ वर्ष नपुग्नुन्जेल नाबालक हो । जन्मिएको मितिले ६८ वर्ष पुगेपछि जेष्ठ नागरिक हुन्छ । औषत उमेरका मानिसले जति खान्छन्, नावालक र जेष्ठ नागरिकले त्यति खादैनन, पिउँदैनन् । तर उनीहरुले तिर्ने मूल्य समान हुन्छ । नाबलक र जेष्ठ नागरिकको लागि सरकारले विभिन्न किसिमको छुट दिने गरेको छ । बैंकले पनि यी समूहको निक्षेपकर्तालाई बढी व्याज दिने गरेको छ । सार्वजनिक यातायातमा भाडामा छुट छ । तर पार्टी प्यालेसमा त्यस्तो कुनै छुट हुँदैन । पार्टीप्यालेन्स जति बढ्यो त्यति नै विकृति फैलियो । पहिला विवाह गर्दा थोरै मात्र खर्च भए पुग्थ्यो भने अहिले त विवाह गर्दा जीवन भरको कमाइ नै सिद्धिने गर्दछ । पहिलापहिला विवाह गरिँदा बेहुलाको घरबाट विवाह अपनाएर बेहुला लिएर बेहुलीको घरमा जाने गरिन्थ्यो र बेहुलीलाई बेहुलाको घरमा लगिन्थ्यो । तर अहिले त विवाह गर्दा बेहुला र बेहुलीलाई नै पार्टीप्यालेन्समा लगिन्छ र विवाह गरिन्छ । यसले गर्दा हाम्रो पुरानो सस्ंकृति नै मासिदैँ गइरहेको छ । पार्टी प्यालेन्समा काम गर्ने मानिसहरुलाई बिहानदेखि बेलुकासम्म काम लगाउने तर तलब भने मासिक ७ देखि १० हजारसम्म दिने गरिन्छ । यिनीहरुले मजदुरहरुलाई खाना खान दिएको आधारमा सस्तोमा काम लगाईका छन् । सरकारले काम गर्ने मजदुरलाई बैंकमार्फत १५ हजार तलब अनिवार्य रुपमा दिनुपर्छ भनेर भनेको छ तर पार्टीप्यालेन्स व्यवसायीहरुले मजदुरहरुलाई बैंकमार्फत भुक्तानी गरेका छैनन ।
अमेरिकी डलरको मूल्य अकासियो
काठमाडौं । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४७ पैँसा रहेको छ भने बिक्रीदर १३२ रुपैयाँ ७ पैसा तय गरिएको छ । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने अनुमान गरिएको छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । कोरोनाका कारण पर्यटकको आवागमनसमेत उल्लेख्य मात्रामा वृद्धि हुन नसक्दा डलरको मूल्यवृद्धिले थप सङ्कट पैदा गर्नेछ । नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ ।
पहिलो दिनमै १० प्रतिशतले घट्यो पिपुल्स पावरको सेयर भाउ
काठमाडौं । पिपुल्स पावरको सेयर भाउ पहिलो दिनमै १० प्रतिशतले घटेको छ । असोज ३० गतेदेखि दोश्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता २५५.७० रुपैयाँमा झरेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८.४० रुपैयाँले घटेर प्रतिकित्ता २५५.७० रुपैयाँमा झरेको छ । कम्पनीको सेयर किन्नेभन्दा बेच्नेको बढी चाप भएकाले मूल्य घटेको हो । हालसम्म कम्पनीको १७ हजार ४१ कित्ता बेच्न र ६७ कित्ता किन्नको लागि लगानीकर्ता इच्छुक देखिएका छन् । असोज २७ गते बिहीबार मात्रै कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको थियो । आईपीओ निष्काशन तथा बाँडफाँड पश्चात कम्पनीको ६३ लाख २६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयरको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम ९४.९६ र अधिकत २८४.८८ रुपैयाँ तोकेको थियो । सो अनुसार कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २८४.१० रुपैयाँमा शुरु भएको थियो । करिब अधिकतम मूल्यमा कारोबार भएको कम्पनीको सेयर मूल्य यो समाचार तयार पर्दासम्म प्रतिकित्ता २८.४ रुपैयाँले घटेको छ ।
नेपाल ल्यूब आयलले ३० प्रतिशत लाभांश दिने, सेयरधनी मालामाल
काठमाडौं । नेपाल ल्यूब आयलले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश दिनै भएको छ । कम्पनीको ३१ औं वार्षिक साधारणसभाले सेयरधनीलाई २५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य सेयरधनीहरुको उपस्थिति रहेको थियो । कम्पनीका अध्यक्ष अरुण कुमार चौधरीले नेपाल ल्युब आयलले अघिल्लो वर्ष जस्तै यस कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको बताए । ‘व्यवस्थापन र अन्य टोली सदस्यहरू यस कम्पनीको विकासको लागि राम्रोसँग प्रतिबद्ध छन्, शेयरधनीहरूले देखाएको विश्वासलाई हामी कहिल्यै निराश गर्नेछैनौं,’ उनले भने । नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीरवितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सूपर किङ्ग रहेका छन् ।