विकासन्युज

मुक्तिनाथ कृषि कम्पनीले ५५.५५% हकप्रद सेयर निष्कासन गर्ने, अर्को वर्षदेखि लाभाशं दिने तयारी

काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीले ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीकाे २८ गते बसेको साधारणसभाले ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हाे । साधारणसभाले विषेश प्रस्तावहरु मार्फत कम्पनीकाे चुक्ता पुँजी ५६ करोड तथा जारी पुँजी ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ। यस्तै, सभाले २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल तथा पारित ,सोहि आ .व. को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरण उपर छलफल तथा पारित र आगामी आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ । सभामा कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कम्पनीको प्रगति विवरण तथा भावी कार्ययोजनाहरु प्रस्तुत गर्दै कम्पनीले आगामी वर्षहरुमा आफ्ना सेयरधनीहरुलाई प्रतिफल दिनेगरी अगाडी बढिरहेको बताएका थिए ।  

तीन वर्ष बित्नै लाग्दा पनि बनेन कैलालीको झोलङ्गे पुल

सहजपुर । सम्झौताको तीन वर्ष बित्न लाग्दा पनि कैलालीको गोदावरी नगरपालिका– ९ सेहरीको झोलङ्गे पुल सम्पन्न हुन सकेको छैन । वडाको राजिफाँटा र बल्मीवासीलाई वडा कार्यालयसँग जोड्न निर्माण थालिएको उक्त पुलको हालसम्म पिल्लर निर्माण बाहेकका अरु काम हुनसकेको छैन । वडा कार्यालयमा सेवा लिन आउने वडावासीले– ८ भएर आउनुपर्ने बाध्यता अन्त्य गर्न निर्माण थालिएको उक्त पुलको दुवै तर्फका पिल्लर बनाउने काम मात्रै भएका छन् । पूर्ववडाध्यक्ष लहानु चौधरीले बल्मीवासीलाई वडा कार्यालयसँग जोड्न पुल निर्माण सुरु गरिएको बताए । उनले बल्मी र राजिफाँटावासीलाई वडा नं ८ स्याउलेबजार घुमेर वडा कार्यालय जानुपर्ने बाध्यता अन्त्य गर्न पुल निर्माणका लागि माग गरिएकामा सो अनुसार काम सुरु भएपनि ढिलाई भएको बताए । ‘सुरुवाती चरणमा तिब्र गतीमा काम भएको थियो तर पछि काम रोकियो, सामग्री अभाव भएको भन्ने बुझ्नमा आएको छ’, वडाध्यक्ष चौधरीले भने, ‘पुल निर्माण भए स्थानीयबासीहरुका लागी छोटो र सजिलोसँग यात्रा गर्न सहज हुन्थ्यो।’ स्थानीयवासी ठग्गुराम चौधरीले वडा कार्यालयमा सेवा लिनका लागि सहज होस् भनेर बनाइएको पुल छिटो निर्माण हुनुपर्नेमा ठेकेदारको लापर्बाहीका कारण ढिलाइ भइरहेको गुनासो गरे । ‘पारीपट्टि वडाकै दुई वटा टोल छन्, उनीहरुको आवतजावतमा सहजताका लागि पुल बनाइएको हो’, उनले भने, ‘त्यति मात्रै होइन, हामी थारु समुदायको भल्का पनि उस्तै छ, त्यहाँ पूजा गर्नलाई पनि हामीलाई पुल भए एकदमै सहज हुन्थ्यो । वडावासीको आवश्यकता महसुस गरेर करिब तीन वर्षदेखि सुरु गरिएको पुल हालसम्म पनि निर्माण सम्पन्न नहुनु दुःखद भएको छ ।’ सोही वडाकी कमल पुल रानाले पनि पुल बनेको भए खुटिया नदी पारीपट्टीका राजिफाँटा र बल्मीमा तरकारी बेचबिखन गर्न जान सहज हुने बताए । “खोलामा पानी कम हुँदा खोला तरेरै पनि तरकारी बेचबिखन गर्न जान्छौँ”, उनले भने “खोलामा बाढी आउँदा तरकारी बेच्न सकिँदैन, वर्षात्को समयमा बारीमा फलेको तरकारी कुहिने डरले सताउने गर्छ ।सेहरीबाट स्याउलेबजार आउने बाटो भए पनि साधन नहुँदा बजारसम्म तरकारी पु¥याउन समस्या हुन्छ । ” “पुल भए यताबाट हामीलाई वडा कार्यालय पुग्न एक किलोमिटर लाग्छ” राजिफाँटाका गोविन्द नेपालीले भने,“तर अहिले पुल नहुँदा छ किलोमिटर घुमेर हामीले स्याउले बजारबाट वडा कार्यालय जानुपर्ने बाध्यता छ ।” उनले वडा कार्यालयको कामका लागि मात्रै नभइ वर्षमा अन्नको जोहो गर्न पनि सेहरी धनचौरीतिर जानुपर्ने भएकाले छिटो पुल बने सहज हुने बताए । वडा नं ९ का अध्यक्ष रामलाल रानाले आफू निर्वाचित हुने वित्तिकै पुलको यथासक्य निर्माणका लागि ठेकेदारलाई निर्देशन दिएको बताए । उनले ठेकेदारले झोलुङ्गे पुलका लागि लठ्ठा अभाव भएकाले त्यसको जोहो गरेर निर्माण सुरु गर्ने जनाएको जानकारी दिए । वडाध्यक्ष रानाले भने, ‘ठेकेदारले छ महिना समय थप भएको र लठ्ठा अभाव भएकाले विराटनगरबाट लठ्ठा ल्याइरहेकाले मङ्सिरभित्र पुल निर्माण गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’ दुई सय ७९ मिटरको उक्त पुल निर्माणका लागि कैलालीस्थित पूर्वाधार विकास कार्यालयले २०७६ मङ्सिर ८ गते काठमाडाै‌को खम्पाचे थानी रुबिना जेभिसँग २०७८ जेठ ५ गतेभित्र सम्पन्न गरिसक्ने गरी दुई करोड ७० लाख सात हजार रुपैयाँको लागतमा ठेक्का सम्झौता गरिएको जनायो । कोभिडको महामारी र पुलका लागि आवश्यक सामग्रीको अभावका कारण पुल निर्माणमा ढिलाइ भएको उक्त कम्पनीका ठेकेदार अर्जुन तिमल्सीनाले बताए । ‘सुरुमा त कोभिडले समस्या ग¥यो । त्यसपछि काम सञ्चालन गर्न लाग्दा लठ्ठाको अभाव भयो । त्यसैले समयमै काम हुन सकेन’, उनले भने ‘अहिले म्याद थप भएकाले लठ्ठा बाध्ने तथा फलामको पिल्लर बनाउने काम मात्रै बाँकी रहेकाले अब मंसिरसम्म काम सकिन्छ ।’ काम पूरा नहुँदा पनि उक्त कार्यालयले २०७७ चैत ९ गते पहिलो किस्ताबापत ५४ लाख १४ हजार आठ सय ५५ रुपैयाँ र २०७८ असार २१ गते दोस्रो किस्ताबाफत एक करोड दुई लाख ५६ हजार नौ सय ५५ रुपैयाँ गरी जम्मा एक करोड ५६ लाख ७१ हजार आठ सय ५० कम्पनीलाई भुक्तानी दिइसकेको छ । सम्झौता अनुसारको समायावधि सकिएर कार्यालयले थप गरेको समयमा १६ महिना गइसके पनि निर्माण कम्पनीले लठ्ठा ल्याएर फाल्ने बाहेक अरु काम गर्न सकेको छैन । अन्ठाउन्न प्रतिशतभन्दा बढी रकम पाइसकेको निर्माण कम्पनीले थप भएको समयको हालसम्म काम सुरु नगर्दा पनि सम्बन्धित निकाय भने मौन छ । उक्त कार्यालयका सव इञ्जिनीयर विनोद खड्काले निश्चित समयावधिमै निर्माण सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदार कम्पनीले झोलुङ्गे पुलका लागि लठ्ठा अभाव भएको जनाएको बताए । उक्त झोलुङ्गे पुलजस्तै उक्त निर्माण कम्पनीले कैलालीकै कान्द्रा, खोनपुर र ट्याना नदीमाथि झोलुङ्गे पुल निर्माण गर्न सोही कम्पनीसँग सम्झौता गरेको कार्यालयका सव इन्जिनीयर खड्काले बताए । ती सबै झोलुङ्गे पुलको पनि निर्माण सम्पन्न भएको छैन । झोलुङ्गे पुलका लागि बनाइएको पिल्लर नजिकसम्म खुटिया खोलाले कटानी गरिसकेको छ । कटान गरिएको ठाउँमा तटबन्ध नगरिए पुल बन्नुभन्दा अगाडि नै खोलाले लैजान सक्ने सम्भावना उत्तिकै छ । पुलभन्दा अगाडि खोलाको क्षेत्रमा बलियो तटबन्ध गरेमात्रै पुललाई जोगाउन सकिने अवस्था रहेको छ । हिउँदको समयमा खोलामा खासै पानी नभए पनि वर्षायाममा आउने बाढीले पुललाई जोखिममा पार्न सक्ने स्थानीयवासीको गुनसो छ । रासस

प्रिमियम फिर्ता गर्ने प्रतिवद्धतापछि लाभांशको स्वीकृति, यी हुन् लाभांश घोषणा गर्ने तयारीमा रहेका बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई धमाधम वार्षिक साधारणसभा एजीएम क्लियरेन्सको अनुमति दिन थालेको छ । बैंकहरुले ग्राहकबाट असुलेको अतिरिक्त प्रिमियम फिर्ता गर्ने प्रतिवद्धता गरेपछि राष्ट्र बैंकले एजीएम क्लियरेन्सको अनुमति दिन थालेको हो । यसअघि नेपाल राष्ट्र बैंकले बैंकहरुले ऋणीबाट लिएको गैरकानुनी प्रिमियम फिर्ता गर्नु पर्ने भन्दै वित्तीय विवरण स्वीकृति दिएको थिएन । तर, बैंकहरुले अब प्रिमियम फिर्ता गर्ने प्रतिवद्धता गरेपछि वित्तीय विवरणको स्वीकृति दिन थालेको राष्ट्र बैंक स्रोतको भनाइ छ । राष्ट्र बैंकले करिब आधा दर्जन बैंकको वित्तीय विवरण स्वीकृत गरिसकेको छ । हालसम्म सिटिजन्स बैंक, कुमारी, नेपाल पूर्वाधार बैंक, एनसीसी र बैंक अफ काठमाण्डूले एजीएम क्लियरेन्सको स्वीकृति पाएका छन् । अन्य केही बैंक पनि आजभोलि नै पाउने तयारीमा रहेको राष्ट्र बैंक स्रोतको भनाइ छ । ‘गत आर्थिक वर्ष अधिकांश बैंकहरुले ऋणीबाट असाध्यै बढी प्रिमियम लिएको हामीले भेटायौं, बैंकहरुले मनलाग्दी किसिमले ऋणीबाट प्रिमियम लिन पाउँदैनन् तर उनीहरुले ग्राहकको सम्झौतामै ऋणीको प्रिमियम बढाएको भनिरहेका थिए, सम्झौतामै भएपनि फिर्ता गर्नु पर्छ भन्ने राष्ट्र बैंकको अडानपछि बैंकहरु प्रिमियम फिर्ता गर्न सहमत भए,दोस्रो त्रैमाससम्म ऋणीको प्रिमियम फिर्ता गर्ने प्रतिबद्धता बैंकहरुले गरेका छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो । राष्ट्र बैंक स्रोतका अनुसार हालसम्म १६ वटा बैंकले राष्ट्र बैंकमा वित्तीय विवरण पेश गरेका छन् । तर, ५ वटा बैंकको मात्रै वित्तीय विवरण स्वीकृत भएर ती बैंकहरुले लाभांश पनि प्रस्ताव गरिसकेका छन् । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत, कुमारीले १२.५० प्रतिशत र निफ्राले ४.२१०४ प्रतिशत, एनसीसीले १०.९९ प्रतिशत र बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यी बाहेक एनआइसी एसिया, सनराइज, ग्लोबल आइएमई, सिद्धार्थ, सिटिजन्स, मेगा, एभरेष्ट, नबिल बैंकको वित्तीय विवरण स्वीकृतिको चरणमा रहेको बताइएको छ । केही बैंकको लाभांश वितरण भने रोक्ने राष्ट्र बैंकको तयारी छ । प्रिमियमसँगै राष्ट्र बैंकले सबै बैंकहरुलाई प्रोभिजनमा पनि कडाइ गरेको छ । राष्ट्र बैंकले सबै बैंकहरुलाई न्यूनतम ५० करोड रुपैयाँदेखि अधिकतम् एक अर्ब ५० करोड रुपैयाँसम्म प्रोभिजन गराएको छ ।

देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

काठमाडाैं । सरकारले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । अर्को व्यवस्था नभएसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको जनाएकाे हाे । आइतबार नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ दुर्घटनामा एक खेलाडीको मृत्यु भएपछि प्राधिकरणले यस्ताे निर्णय गरेकाे हाे ।

आइतबार नेप्सेमा दुई समूह बाहेक सबै राताम्मे

काठमाडाैं । आइतबार सेयर बजारमा दुई समूह बोहक सबै रातम्मे भएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आजको सेयर बजारमा बैंकिङ र म्यानुफ्याकचर एण्ड प्रडक्सन बाहेक सबै समूहमा राताम्मे भएकाे हाे । नेप्से परिसूचक नौ दशमलब ६९ अङ्कले ओरालो लागेर एक हजार आठ सय ६० दशमलब ९४ मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक उक दशमलब ७२ अङ्कले ओरालो लागेर तीन सय ६५ दशमलब ४२ मा सिमित भएको छ । कूल दुई सय २१ कम्पनीको २५ लाख ७४ हजार सात सय ८५ कित्ता शेयर रु ८० करोड ३५ लाख २५ हजार पाँच सय ३३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण २६ खर्ब ७६ अर्ब ३५ करोड ३४ लाख ४७ हजार सात सय ७८ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु आठ करोड ४७ लाख ५९ हजार सात सय ३९ बराबरको कारोबार भयो । गरिमा विकास बैंक रु चार करोड ८८ लाख छ हजार, हिमालयन डिस्टिलरी तीन करोड ३२ लाख ४३ हजार तीन सय ५७, शिवम् सिमेन्ट रु दुई करोड ९९ लाख ८९ हजार एक सय दुई र रिडी पावर कम्पनी दुई करोड ७८ लाख १४ हजार एक सय ७१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र रहेका छन् । नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लाग्यो । स्ट्याण्र्डड चार्टड बैंक सात दशमलब २५, एभरेष्ट बैंक पाँच दशमलब १५, नेपाल एसबीआई बैंक तीन दशमलब ७७ र रिलायन्स फाइनान्सका लगानीकर्ताले तीन दशमलब २६ प्रतिशतले कमाएका छन् । त्यस्तै, पिपल्स पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएपछि नकारात्मक सर्किट लागेको छ । सिटिजन बैंक सात दशमलब शून्य तीन, आशा लघुवित्त पाँच दशमलब ८६, मैलुङ खोला जलविद्युत् पाँच दशमलब ७७ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ३५ प्रतिशतले गुमाएका छन् ।    

अख्तियार नेपालगञ्जमा वर्षमा चार सय ७५ उजुरी

खजुरा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा एक वर्षमा चार सय ७५ उजुरी दर्ता भएका छन् । गत आव २०७८/७९ मा सो कार्यालयमा त्यसअघिको आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरेर आएका दुई सय ७३ उजुरी फछ्र्योट हुन सकेका थिए । जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी गत आवको अन्त्यसम्म सात सय ४८ उजुरी फछ्र्योटको जिम्मेवारी रहेको आयोगले ७०।५ प्रतिशत उजुरी फछ्र्योट गर्न सफल भएको कार्यालयका सूचना अधिकारी श्रीधर टण्डनले बताए । आयोगको वार्षिक प्रतिवेदनअनुसार गत आव २०७८/७९ को अन्त्यसम्म जिम्मेवारी सरेर आएका एक सय ५६ र गत आवमा परेकामध्ये तीन सय ६८ गरी पाँच सय २४ उजुरी फछ्र्योट भएका छन् । आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा आव २०७८/७९ को अन्त्यसम्मका सात सय ४८ मध्ये विस्तृत अनुसन्धानका लागि ३५ उजुरी गएका छन् भने एक सय ७७ सिधै तामेली तथा सुझावसहितको तामेली भएको उजुरीको सङ्ख्या ३६ रहेको सूचना अधिकारी टण्डनको भनाइ छ । टण्डनका अनुसार दुई सय ७६ उजुरीमा अन्य कारवाही भएका छन् । सम्पर्क कार्यालयमा विभिन्न माध्यममार्फत परेका उजुरीमध्ये दुई सय २४ वटा चालू आर्थिक वर्ष २०७९/८० का लागि सरेर आएका छन् । अख्तियार दुरूपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक वर्षमा देशभर परेका उजुरीमध्ये ७० दलमलव ६ प्रतिशत उजुरी फछ्र्योट भएको जनाएको छ । चार जिल्ला कार्यक्षेत्र रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलअन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जमा चालू आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्म एक सय १६ उजुरी दर्ता भइसकेका छन् । विभिन्न माध्यमबाट एक सय १६ उजुरी दर्ता भएका हुन् । चालू आवको साउनमा ५६, भदौमा ३९ र असोजमा २१ उजुरी दर्ता भएका छन् । सम्पर्क कार्यालयमा हुलाकमार्फत ४२, समाचारपत्रमार्फत चार, लिखित निवेदन ३१, टोलिफोनबाट नौ, इमेलमार्फत ३० उजुरी दर्ता भएका थिए । अहिले कार्यालयको फेसबुक पेज, हटलाइन नम्बर १०७, इमेललगायत माध्यमबाट उजुरी दिने व्यवस्था रहेको कार्यालयका सूचना अधिकारी टण्डनले बताए । उनका अनुसार अख्तियारमा सबैभन्दा बढी स्थानीय तहअन्तर्गत योजना विकास निर्माण, कर्मचारी नियुक्तिको प्रक्रिया, सरकारी जग्गा अतिक्रमण, सामुदायिक वनका विवाद, जस्ता उजुरी आउने गर्दछ । रासस

१ करोड २५ लाखमा तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङको बन्दै

काठमाडौं । तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालनमा आउने भएको छ । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काई रोप साइक्लिङ थप गरेको छ । केही दिनमा जिपलाइन तयार हुने र स्काई रोप साइक्लिङ पनि कार्तिक महिना भित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिए । ‘ मादी नदी वारपार गर्ने गरि ५ सय मिटरको जिपलाइन सञ्चालनमा ल्याएका हौँ । जुन परेवाडाँडाबाट चिन्तुडाँडासम्म पुग्ने व्यवस्था गरिएको छ,’ उनी भन्छन्,‘९० फिट हाइटमा एक सय मिटरको स्काई रोप साइक्लिङको परीक्षण कार्य भइरहेको छ ।’ यस्तै, जिपलाइनका लागि एक हजार ५ सय र स्काई रोप साइक्लिङ (दुई तर्फी) का लागि एक हजार शुल्क तोकिएको उनी बताउँछन् । रिसोर्टले जिपलाइन र स्काई रोप साइक्लिङका लागि मात्र १ करोड २५ लाख बजेट छुट्याएको सापकोटाले जानकारी दिए । रिसोर्ट दमौलीबाट ५ किमि उत्तर परेवाडाँडामा अवस्थित छ । १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टको हाल ४ रोपनीमा संरचनाहरू बनेका छन् । यस्तै, आगामी २ वर्षमा लक्जरी रुम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्क लगायतका संरचनाहरू समेत थप्ने योजना रहेको उनले जानकारी दिए । यसबाहेक रिसोर्टमा जाइन्ट स्विङ समेत सञ्चालनमा रहेको छ । उक्त स्विङ २ वर्ष अगाडिदेखि नै सञ्चालनमा रहेको सापकोटाले बताए । उनका अनुसार ९० केजीसम्मका व्यक्तिले स्विङ खेल्न सक्नेछन् ।

भोटसँगै नोट पनि माग्दै उम्मेदवार, बैंक खाता र क्यूआर कोड सार्वजनिक

काठमाडौं । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । निर्वाचनका लागि विभिन्न राजनीति दल र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा छन् । उम्मेदवारहरु घरदैलो कार्यक्रममा भोटसँगै सर्वसाधारणबाट आर्थिक सहयोग पनि माग्न थालेका छन् । भोटसँगै नोट माग्नेमा स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् । अहिले अधिकांश उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत् भोटसँगै आर्थिक सहयोगको अपील गरिरहेका हुन् । सत्ता गठबन्धनको साथ पाएकी माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमी भट्टराईलगायत दर्जनौं उम्मेदवारहरुले अहिले सर्वसाधारणसँग आर्थिक सहयोग माग गरिरहेका छन् । पूर्व अर्थमन्त्री र  प्रधानमन्त्री भइसकेका बाबुराम भट्टराईकी छोरी समेत रहेकी मानुषीले गत विहीबार आर्थिक सहयोगको अपिल सहित एउटा सन्देश पोष्ट गरिन् । उनले आफूलाई आर्थिक सहयोग गर्न आग्रह गर्दै बैंक खाता र क्यूआर कोड विवरण सार्वजनिक गरेकी थिइन् । ‘लोकतन्त्र र विधिको शासनलाई ठीक तरिकाबाट कार्यान्वयन गर्नु, तीव्र गतिमा अर्थतन्त्रको विकास र न्यायोचित वितरण साथै विकास र समृद्धिको यात्रालाई फराकिलो बनाएर आम नागरिकलाई प्रत्यक्ष लाभ दिलाउनु नै मेरो उद्देश्य हो, संविधानले प्रदत्त गरेको ‘शिक्षा, स्वास्थ्य र रोजगार मौलिक अधिकार’ लाई नै हामीले कार्यान्वयनमा लैजान सकेका छैनौं, यस्ता यावत् विषयका लागि थुप्रै कानुनहरु निर्माण गर्नु र निरन्तर पहलकदमी गर्नुपर्नेछ, मेरो ऊर्जावान समय देश र समाजका लागि केही सकारात्मक भूमिकामा प्रयोग गर्नका लागि त्यस स्थानसम्म पुर्याउन यहाँहरूको सबै प्रकारको सहयोगको जरुरत छ,’ उनले सामाजिक सञ्जालमार्फत् आर्थिक सहयोगको अपील गर्दै लेखेकी छन् । उनले थपेकी छन्, ‘हाम्रो विद्यमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो छ, सदनमा हामी यसको विषय उठान गर्ने नै छौं, निर्वाचनमा लाग्ने आधारभूत खर्चका लागि आर्थिक सहयोगको अपेक्षा सहित हाम्रो अभियानमा यहाँको पनि प्रत्यक्ष सहभागिताको लागि अनुरोध गर्दछु ।’ उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेकी छिन् । यस्तै, आर्थिक साहयता माग्ने उनी मात्रै होइनन् दर्जनौं उम्मेदवारले आर्थिक साहयता माग गरेका छन् । काठमाडौं क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन्द्र मिश्रले पनि सबैबाट नैतिक र आर्थिक सहयोग अपील गरे । उनले आफुलाई सहयोग गर्न चाहनले सचिवालमा सम्पर्क गरेर सहयोग गर्न सक्ने बताएका छन् । यस्तै, प्रधानमन्त्री शेर बहादुर देउवासँग स्वतन्त्रबाट चुनाव लड्न लागेका सागर ढकालले पनि सर्वसाधारणसँग आर्थिक सहयोग मागेका छन् । उनले गुपचुप पैसा लिनुभन्दा खुला रूपमा जनतामा जाने निर्णय गरेको भन्दै सामाजिक सञ्जालमार्फत् आर्थिक सहयोग माग गरेका हुन् । उनले चुनावी प्रचारप्रसारको लागि आर्थिक सहयोगको आवश्यक रहेको हुनाले इसेवा, खल्ती वा बैंक खातामा पैसा जम्मा गर्नका लागि ढकालले सार्वजनिक अपील गरेका हुन् । ‘देश र विदेशमा रहनुभएका आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, यहाँहरूलाई अवगत नै छ कि म आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा डडेलधुराबाट उम्मेदवारी दिँदै छु, यसरी म चुनावी मैदानमा होमिँदा धेरै जना मलाई आर्थिक सहयोग गर्नका लागि इच्छुक हुनुहुन्छ, हामीलाई चुनावी प्रचार प्रसारको लागि आर्थिक सहयोगको आवश्यक रहेको हुनाले इच्छुक महानुभावहरूले निम्न बमोजिमका सर्तहरू सहित आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन् । चुनावी खर्चलाई सकेसम्म कम गर्ने र यातायातका लागि मोटरसाइकलको मात्र प्रयोग गर्ने उनले उल्लेख गरेका छन् । साधारण शाकाहारी खाना खाने, भड्किलो प्रचार प्रसार नगर्ने पनि उनले उल्लेख गरेका छन् । यस्तै,  विवेकशील साझा पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ९ मा उम्मेद्वार बनेका मिलन पाण्डेले पनि आर्थिक सहयोगको माग गरेका छन् । उनले सामाजिक सञ्जालबाट आर्थिक सहयोगको अपीले गर्दै लेखेका छन्,‘ काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ मा एउटा प्रतिनिधिसभाको उम्मेदवारले २७ लाख खर्च गर्न पाउँछ, तर अनौपचारिक रूपमा हाम्रा नेताहरूले भने अनुसार उहाँहरू कम्तीमा पनि ३÷४ करोड खर्च गरेर चुनाव जित्नुहुन्छ, त्यो पैसा कहाँबाट आयो ?, यही प्रश्न मलाई सोध्दा–मेरो आयस्रोत दुई वटा छ। पहिलो, म पार्ट टाइम पढाउँछु, दोस्रो, म स्तम्भकार हुँ, त्यहाँबाट पनि अलिकति आम्दानी हुन्छ, जसो–तसो परिवारको सहयोगमा घर चलेको छ ।’ उनले थपेका छन्,‘मैले अघिल्लो निर्वाचनमा पनि साथी–भाई शुभेच्छुकको सहयोगमा निर्वाचन लडेको हो, यसपालि पनि साथीभाइ र तपाईहरुकै सहयोग लिन्छु, कुनै माफियाबाट चन्दा लिएर चुनाव लड्दिन,। अघिल्लो चोटिझैँ, निर्वाचन सकिने बित्तिकै निर्वाचन आयोगमा सम्पूर्ण खर्च बुझाउने छु र म त्यो विवरण सामाजिक सञ्जालमा पनि राख्नेछु, मलाई सक्दो आर्थिक सहयोग गरिदिनुस् न है, ताकी मैले निर्वाचन जित्दै गर्दै ’कालो मन र कालो धन’ पनि हारोस् ।’ यस्ता दर्जनौं उम्मेदवारले आर्थिक सहयोग मागेका छन् । काठमाण्डौं–५ की स्वतन्त्र उम्मेद्वार रञ्जु दर्शनाले पनि आर्थिक सहयोग माग गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–८ का उम्मेद्वार विराजभक्त श्रेष्ठले पनि आर्थिक सहयोग मागेका छन् । विवेकशील साझाबाट काठमाडौं–२ का उम्मेदवार धनेज थापाले पनि सहयोगको अपिल गरेका छन् । काठमाडौं ५(क) बाट प्रदेशसभाका स्वतन्त्र उम्मेदवार  सस्मित पोख्रेलले आर्थिक सहायताको अपिल गरेका छन् । निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले उद्योगी, व्यवसायी तथा विभिन्न संघ संस्थाबाट चन्दा उठाउने गरेको पनि सुनिन्छ । राजनीतिक दलका उम्मेदवारले चुनावमा करोडौं खर्च गर्ने विषय पनि विभिन्न समयमा बाहिरिने गरेको छ ।