विकासन्युज

मोदीशैलीमा चुनावमा उत्रदै विनोद चौधरी, मोदी कै चुनावी टोली हायर

काठमाडौं । खर्बपति विनोद चौधरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैलीमा निर्वाचनमा उत्रने भएका छन् । चौधरीले मोदीको चुनावी अभियान चलाएको भारतीय इमेन्ट  म्यानेजमेन्ट कम्पनीलाई नेपाल झिकाउने भएका छन् । यस विषयमा दुई पक्षबीच समझदारी भएको जनाइएको छ । भारतीय टोलीले उच्चस्तरको प्रविधिसहित सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा  प्रचार प्रसार गर्ने, जनपरिचाना गर्ने, चुनावी सभा सम्मेलन गर्ने, उम्मेदवार र मतदाताबीच प्रभावकारी सवाद गराउने जिम्मेवारी लिएको छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका चौधरी सत्तापक्षको गठबन्धनको तर्फबाट नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार छन् । उनीसँगको नेकपा एमालेको समर्थनमा निवर्तमान संसद हृदश त्रिपाठीले प्रतिस्पर्धा गरिरहेका छन् । चौधरी यसअघि काँग्रेसबाटै समानुपतिक सांसद थिए ।

सिद्धार्थ बैंकको कार्डबाट भुक्तानी गर्दा ४०० रुपैयाँ क्यासब्याक पाइने

काठमाडौं । सिद्धार्थ बैंकले तिहारको अवसरमा ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ४०० रुपैयाँ क्यासब्याक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक ५०० वा सोभन्दा बढि रकमको पिओएस अथवा अनलाइन कारोबार गर्दा ४०० रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिँदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने जनाएकाे छ । बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १७ सयभन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्युआर मर्चेन्ट मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।  

४ दिनमा बैंकहरुले २७ अर्ब कर्जा दिएपछि सीडी रेसियो बढ्यो, असोजमा ६२ अर्ब निक्षेप संकलन

काठमाडौं । बैंकहरुले ब्याजदर बढाएपछि असोज महिनामा निक्षेप संकलन ह्वात्तै बढेको छ । बैंकहरुले ब्याजदर बढाएसँगै निक्षेप संकलन पनि बढेको हो । बैंकहरुमा निक्षेप संकलन बढेसँगै विस्तारै तरलता सहज अवस्थामा आउने अपेक्षा बैंकर्सहरुले गरेका छन् । असोज महिनामा वाणिज्य बैंकहरुले ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका छन् । भदौ मसान्तसम्म बैंकहरुको निक्षेप संकलन ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा ६२ अर्ब बढेर असोज मसान्तसम्मा ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुर्याएका छन् । यस्तै, ४ दिनको अवधिमा बैंकहरुले २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसअघि असोज २८ गते बैंकहरुको निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो । यस्तै, बैंकहरुले असोज महिनामा ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । भदौ मसान्तसम्ममा बैंकहरुको कर्जा ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेकोमा ३० अर्ब बढेर असोज मसान्तसम्मा ४२ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुले ४ दिनको अवधिमा कर्जा लगानी ह्वात्तै बढाएका हुन् । कर्जा ठप्प पारेर निक्षेप बढाएका बैंकहरुले असोज महिनाको अन्तिम ४ दिनमा मात्रै २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोज २८ गते बैंकहरुको कर्जा ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थिया् भने ४ दिनमा २७ अर्ब बढेर ४२ खर्ब २० अर्ब पुर्याएका हुन् । कर्जा लगानी बढेसँगै सीडी रेसियो पनि बढेको छ । नेपाल बैंकर्स संघका अुनसार सीडी रेसियो ८७.२० प्रतिशत रहेको छ । यसअघि बैंकहरुको सीडी रेसियो ८६.९६ प्रतिशत रहेको थियो ।

पशुपति गौशाला धर्मशाखा क्षेत्रमा मापदण्डविपरीतका संरचना हटाउन निर्देशन

काठमाडौं । पशुपति गौशाला धर्मशाखा क्षेत्रमा सम्झौताविपरीत निर्माण गरिएका संरचना हटाउन पशुपति क्षेत्र विकास कोषले ३५ दिने सूचना जारी गरेको छ । मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशाला उद्देश्य मुताविक नचलाएकाले गत असोज २६ गते नै यस्ता संरचना हटाउन पत्र पठाएको आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । गौशाला धर्मशाला विशुद्धरुपमा गाईपालन, नन्दी सेवा तथा तीर्थयात्रीलाई धर्मशाला आवास सञ्चालन मात्र गरेको हुनुपर्नेमा समितिले सम्झौताविपरीतका सेवा पनि चलाएकाले सम्झौता र मापदण्डविपरीतका संरचना ३५ दिनभित्र हटाउन सूचित गरिएको छ । सम्झौता र मापदण्डविपरीतका संरचना ३५ दिनभित्र नहटाएमा नियमबमोजिम भई जाने कोषले जनाएको छ । पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल कबल एवं स्वास्थ्य सेवा पनि सञ्चालन भइरहेको देखिन्छ । कोषले यसअघि करिब एक वर्षअघि कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित गोठाटारमा रहेको करिब पाँच सय रोपनी जग्गाको वरिपरि मिचेर बनाइएका संरचना हटाउन पनि यस्तै सूचना जारी गरेको थियो । यसैगरी पशुपति क्षेत्रको तिलगङ्गाका बस्तीवासीलाई मुआब्जा दिएर पटकपटक हटाउन जारी गरेको सूचनाको पनि अहिलेसम्म कार्यान्वयन गरेको छैन । रासस

बजाजको पल्सर एन २५० र एन १६० सार्वजनिक, चार लाख ८९ हजार रुपैयाँसम्म पर्ने

काठमाडाैं । । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड को प्रालिले पल्सरको नयाँँ मोडलको बाइकहरु एन २५० र एन १६० सार्वजनिक गरेको छ । हरेक दिन चलाउन पनि हुने र पावर र पर्फर्मेन्स युक्त स्पोर्टि लुक भएको मोटरबाइक रुचाउने युवा पुस्ताको लागि यो बाइक डिजाइन गरिएको कम्पनीले जनाएको छ । गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छा नेपालमा लन्च भएदेखि नै पल्सर बाइकले बाइकिङ क्षेत्रको लागि नयाँँ मापदण्ड खडा गरेको बताउँछन् । ‘७० भन्दा बढी देशहरुमा गरेर पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको ब्रान्ड भएको छ, र फेरी पनि यही सिलसिलालाई कायम राख्दै पल्सरले २ वटा बाइकहरु लन्च गरेको छ जसले बाइकिङ क्षेत्रको लागि फेरी नयाँँ मापदण्ड खडा गर्नेछन्,’ उनले भने । पल्सर एन २५० मोडर्न एरो डाइनामिक डिजाइन र शार्प युनिबडी जेस्चर भएको पल्सर एन २५० हेर्दा अत्यन्तै आकर्षक देखिन्छ । यसको स्याटन ग्रे फिनिश एग्जस्ट र चौडा टायरहरुले यसलाई झनै स्पोर्टि र स्टाइलिश लुक दिएको छ । नयाँँ स्पोर्टस टेक थिममा डिजाइन गरिएको यो बाइकमा प्रयोग गरिएको नयाँँ प्रिमियम मेटालीक कलरले पनि बाइकको स्कल्प्चरल प्युरिटीलाई हाइलाइट गरेको छ । अगाडि देखि पछाडिसम्म विस्तारै हल्का कम हुँदै गएको टोनले गर्दा यसलाई जती हेरे पनि फ्रेश देखिन्छ । साइड कभर र ट्यान्क साइडको स्याटन ब्ल्याक फिनिशले ट्यान्कको मेटालिक ग्लसलाई मजासँग कम्प्लिमेन्ट गरेको छ । त्यस्तै एन्जिन कभरमा प्रयोग गरिएको डिप कपरले यसलाई झनै आकर्षक देखाएको छ । सबैभन्दा शक्तिशाली १५० सिसी देखि लिएर एन एस २०० को पावरसम्म आउँदा पल्सर सदैव सबैभन्दा फास्टेस्ट बाइक हो । यसको २५० सिसि को डिटिएस्आइ ओइल कुल्ड एनजिनले २४५ को पिएस् को स्मुथ पावर र २१५ एनएमको टर्क र साथ–साथै यसको सिग्नेचर १० सेकेन्ड अड्रेनलिन रश पनि दिन्छ । साथै यसको निम्बल फुटेड ह्यान्ड्लिङ र सुविधा जनक मिड रेन्जले हरेक दिनको बाइक राइड सजिलो बनाउने कम्पनीकाे भनाइ छ । पल्सर एन् १६० पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको यो पल्सर एन् १६० मा डुअल च्यानल एबिएस् सिस्टम प्रयोग गरिएको छ जुन यो भन्दा अगाडिको मोडलहरुमा प्रयोग गरिएको थिएन । साथै यसमा १६५ सिसि बिएससिक्स एन्जिन, एलइडि प्रोजेक्टर हेड्ल्याम्प रहेका छन् । यस अघि कहिल्यै नभएको पावर, प्रेसिजन र कन्ट्रोल प्रदान गर्ने हिसाबले यस बाइकको डिजाइन गरिएको कम्पनीले जनाएको छ । स्पोर्टि लुक भएको र हरेक दिन चलाउन मिल्ने बाइक खोजिरहेका युवा पुस्तालाई यो बाइक मन पर्ने कम्पनी बताउँछ । यसमा बिएस्भिआइ कम्प्लाएन्ट १६५ सिसिको एन्जिन प्रयोग गरिएको छ। यसले ८७५० आरपिएममा १६ पिएस को पावर र ६७५० को आरपिएम मा १४.६५ एनएमको टर्क निकाल्न सक्छ । सुधारिएको पिकअपको लागि ८५ प्रतिशत सम्म पिक टर्क उपलब्ध रहेको कम्पनीले दावी गरेको छ । यसले ४ भल्भ एन्जिन भएको पल्सर एनएस १६० सिसि भन्दा १.२ बिएचपि कम पावर निकाल्छ । यसमा ५ स्पिडको गियर बक्स छ । मोनो शक रियर सस्पेन्सन, एलइडि प्रोजेक्टर हेड ल्याम्प, अन्डर बेली एग्जस्ट सिस्टम युक्त यो बाइक ट्युबुलर फ्रेम च्यासिसमा बनाइएको छ । साथै यसमा पल्सर एन २५० कै जस्तै फुएल ट्यान्क एक्स्टेन्सन, स्प्लिट सिट, एलोइ व्हिल र टेल लाइट राखिएको छ । यसको डुअल च्यानल एबिएस भर्सन ब्रुक्लिन ब्ल्याक शेडमा उपलब्ध छ । यसमा ३०० एमएम फ्रन्ट डिस्क र २३० एमएमको रियर डिस्क रहेको छ । साथै, यसमा यु ईशा् बि चार्जिङ पोर्ट, १४ लिटरको फुएल ट्यान्क र गियर पोजिसन, समय, फुएल एकोनोमी र पेट्रोल खपत देखाउने डिजिटल एनालग इन्स्ट्रुमेन्ट पनि रहेको छ । नेपाली बजारमा यी बाइकहरुको मुल्य क्रमश ४ लाख ८९ हजार ९०० रुपैया र ३ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

दुई महिनामा १६ अर्ब ६४ करोड घट्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं । चालु आर्थिक वर्षको दुइ महिनाको अवधिमा कुल विदेशी विनिमय सञ्चितिमा गिरावट आएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार २ महिनाको अवधिमा विदेशी सञ्चिति २.२ प्रतिशतले घटेर ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ मात्रै रहेको छ । यसअघि गत असार मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । २ महिनाको अवधिमा १६ अर्ब ६४ करोड विदेशी विनिमय सञ्चिति घटेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तसम्म ९ अर्ब ५४ करोड रहेकोमा भदौ मसान्तसम्म २.० प्रतिशत गिराव आएर ९ अर्ब ३५ करोडमा सिमति भएको हो । राष्ट्र बैंकमा असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म ०.५ प्रतिशत घटेर १० खर्ब ५१ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तसम्म १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म १३.७ प्रतिशत घटेर १ खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ कायम भएको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । शुक्रबार अमेरिकी डलरकाे मूल्य १३२.१२ रुपैयाँ रहेकाे छ ।

डलरको मूल्य वृद्धिपछि १९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशत बढेको छ । डलरको मूल्य अत्यधिक बढेका कारण रेमिट्यान्स पनि बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशत बढेर १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशत घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशत वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशत बढेर १ लाख ३ हजार ८९८ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशत बढेर ३९ हजार १८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशत बढेको थियो । यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशत वृद्धि भई २०६ अर्ब ४६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । पछिल्लाे समय अमेरिकी डलरकाे भाउ बढ्दाे क्रममा छ । बिहीबार मात्रै डलरकाे मूल्य हालसम्मकै उच्च कायम भएकाे थियाे । शुक्रबार अमेरिकी डलरकाे मूल्य १३२.१२ रुपैयाँ रहेकाे छ ।

बाँकेमा उद्योगधन्दा फस्टाउँदै, रोजगारीमा वृद्धि

खजुरा । काठमाडौंंपछि सबैभन्दा बढी उडान भर्ने विमानस्थल नेपालगञ्ज हुनु, भारतसँग जोडिएको सिमाना हुनु, तीनवटा प्रदेशको केन्द्रबिन्दुमा पर्नुले यहाँ उद्योग स्थापनामा व्यवसायी आकर्षित हुन थालेका छन् । यहाँ २०३० मा भारतको सहयोगमा स्थापना भएको नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३६ वटा उद्योग सञ्चालनमा रहेका छन् । दुई सय ३३ रोपनीमा सञ्चालित नेपालगञ्ज औद्योगिक क्षेत्रमा भएका उद्योगले करिब एक हजार बढीलाई रोजगारी र वार्षिक २५ करोड रुपैयाँ राजस्वमा योगदान दिने गरेका छन् । त्यस्तै नौबस्ता औद्योगिक क्षेत्र सञ्चालनको तयारीमा रहेको छ । उद्योग सञ्चालनमा आएपछि करिब २० हजार जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । साविकको मध्य तथा सुदूरपश्चिम क्षेत्रको प्रवेशद्वारको रुपमा रहेका कारण बाँके जिल्लामा सरकारले व्यवसायीलाई विभिन्न सुविधा दिएर औद्योगिक क्षेत्र स्थापना गरे पनि धेरै व्यवसायीले आफ्नै जमिन खरिद गरेर उद्योग स्थापना गरिरहेका छन् । राजनीतिक स्थिरतासँगै देशभर लगानीको वातावरण बन्दै जाँदा त्यसको लाभ बाँकेले लिन थालेको छ । पछिल्लो समय यहाँ एकपछि अर्को नयाँ उद्योगधन्दा, होटल व्यवसाय खुल्नेक्रम बढेको छ । वर्षौंअघि नेपालगञ्जले आर्थिक विकासमा जुन पहिचान बनाएको थियो त्यो पहिचान विस्तारै फराकिलो हुन थालेको छ । देश सङ्घीय शासन प्रणालीमा गएपश्चात् यतिबेला देशमा समृद्धिको चर्चा चलिरहेको छ । समृद्धिको मूल आधार भनेकै तीव्ररुपमा आर्थिक विकास हुनु भएकाले नेपालगञ्जको पर्यटन र औद्योगिक क्षेत्रको विकासमा जोड दिइएको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ बताउँछन् । यहाँ भारतबाट कच्चापदार्थ आयात गर्न सहज हुनुका साथै पश्चिमका विभिन्न जिल्लामा सामग्री निर्यात गर्न पायक पर्ने भएपछि व्यवसायीको आकर्षण बढेको नेपालगन्जका उद्योगी चम्पालाल बोथ्रा बताउँछन् । उनले भने, ‘सबै कुरा सहज भएकाले बाँकेमा उद्योग क्षेत्रमा ठुलो सम्भावना छ ।’ सञ्चालनको तयारीमा नौबस्ता औद्योगिक क्षेत्र सरकारले २०७२ चैत १ गते घोषणा गरेको बाँकेको नौबस्ता औद्योगिक क्षेत्र सञ्चालनको तयारीमा रहेको छ । सरकारको प्रत्येक प्रदेशमा एक–एकवटा औद्योगिक क्षेत्र स्थापना गर्ने नीति अनुरुप बैजनाथ गाउँपालिका–३ नौबस्तामा औद्योगिक क्षेत्रको काम अघि बढेको र पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापन परियोजना कार्यालयका प्रमुख कृष्णबहादुर पुनले जानकारी दिए । ‘अबको केही साताभित्रै संरचना निर्माणको काम सुरु हुन्छ’, उनले भने, ‘त्यहाँ देखिएको विवाद समेत समाधान भइसकेकाले अहिले वातावरण सहज छ ।’ सरकारले करिब आठ अर्ब रुपैयाँको लागतमा निर्माण गर्न थालेको औद्योगिक क्षेत्रमा तीन सय ३८ बिघा क्षेत्रफल जग्गा छुट्याएको छ । जसमा एक सय ११ प्लटमा उद्योग निर्माण गरिनेछ । डिपिआर स्वीकृत भएसँगै परियोजनाले उद्योग सञ्चालनबारे उद्योगीसँग गतवर्ष पूर्वआशयपत्र माग गरेको थियो । त्यसका लागि इच्छुक देशका धेरै उद्योगीले विभिन्न उद्योग सञ्चालनका लागि आशयपत्र बुझाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड जनाएको छ । परियोजनाअन्तर्गत वातावरणीय प्रभाव, सरसफाइ, चार लेन सडक निर्माण, साइकल लेन, पैदल लेन, चौबिसै घण्टा पानीको आपूर्ति, फोहरपानी प्रसोधन, ४० मेघावाट जलविद्युत्को छुट्टै विद्युत् फिडर, दुई सय जना सशस्त्र प्रहरी बल बस्ने व्यवस्था, उद्योग सङ्घ, बैंक, टेलिकम्युनिकेसन टावर, एकीकृत भन्सार चेकपोष्टलगायत विभिन्न पूर्वाधार निर्माण हुने परियोजना कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताए । अन्तर्राष्ट्रिय मापदण्डसहितको औद्योगिक क्षेत्र भएकोले औद्योगिक क्षेत्र निर्माण हुन थालेपछि पछिल्लो समय स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरू उद्योग सञ्चालनका लागि इच्छुक रहेका छन । सम्पूर्ण पूर्वाधारसहितको औद्योगिक क्षेत्रभित्र प्लाष्टिक, रबर, पेन्ट, डेरी, खाद्यान्न, स्टिल, टेक्सटाइल, इलेक्ट्रिक मेकानिकल, छाला, खानेपानी, काष्ठ उद्योगलगायत विभिन्न उद्योग स्थापना हुने बताइएको छ । नौबस्ता औद्योगिक क्षेत्र सञ्चालनमा आए मुलुकको अर्थतन्त्रका साथै हजारौँले रोजगारी पाउने परियोजना प्रमुख पुन बताउनुहुन्छ । ‘बाँकेको समृद्धिको प्रमुख आधार यो आयोजना बन्न सक्छ’, उनले भने । स्वतःस्फूर्त उद्योग खुल्दै बाँकेको नेपालगञ्ज र नौबस्तामा सरकारी योजनाअनुसार औद्योगिक क्षेत्र स्थापना गरी उद्योग सञ्चालन भइरहेको छ । त्यहाँ उद्योग गर्न चाहने उद्योगीहरूले सहुलियत दरमा सरकारबाट जग्गा भाडामा लिएर उद्योग सञ्चालन गर्दछन् । औद्योगिक क्षेत्रमा विभिन्न संरचना सरकारले निर्माण गरिदिने भएका कारण व्यवसायीहरूलाई व्ययभार निकै कम पर्न जान्छ । जिल्लाको उत्तर पश्चिमी क्षेत्र नौबस्तामा उद्योग स्थापनाको प्रकृया सुरु भएको छ । पश्चिमका विभिन्न जिल्लाको केन्द्रविन्दुमा पर्ने भएपछि लगानीकर्ताहरू सरकारको मुख नताकेर यहाँ स्वतःस्फूर्त रूपमा उद्योगमा लगानी गर्न आकर्षित भएका छन् । जिल्लाको जानकी गाउँपालिका–६ स्थित गनापुरमा पर्दछ । यहाँ उद्योग स्थापना गर्ने सरकारको कुनै योजना र सहयोग नभएपनि आन्तरिक खपत र निर्यातमा महत्व राख्ने दोब्बर ठूला उद्योगहरू सञ्चालनमा छन् । जयमङ्गलम सिमेन्ट, जयबागेश्वरी सिमेन्ट उद्योग, जयअम्बे स्टिल प्रालि, बागेश्वरी स्टिल एण्ड आइरन उद्योग, सगरमाथा स्टिल उद्योग, बाहुबली हर्बल उद्योग, गङ्गा रोजिन एण्ड टर्पेन्टाइन, पानस फर्मास्युटिकल्स जस्ता करिब पाँच दर्जन बढी उद्योग यही वडामा रहेका छन । नेपालगञ्ज औद्योगिक क्षेत्रका प्रमुख पुनका अनुसार औद्योगिक क्षेत्रमा भन्दा छुट्टै उद्योग स्थापना गर्नेहरूले करिब ६० प्रतिशत बढी लगानी गर्नुपर्छ । यहाँ यतिधेरै सम्भावना भएका कारण व्यवसायी विभिन्न जोखिम मोलेर आफैँ उद्योगमा लगानी गरिरहेका छन् । रासस