काठमाडौं । बैंकहरुले ब्याजदर बढाएपछि असोज महिनामा निक्षेप संकलन ह्वात्तै बढेको छ । बैंकहरुले ब्याजदर बढाएसँगै निक्षेप संकलन पनि बढेको हो । बैंकहरुमा निक्षेप संकलन बढेसँगै विस्तारै तरलता सहज अवस्थामा आउने अपेक्षा बैंकर्सहरुले गरेका छन् ।
असोज महिनामा वाणिज्य बैंकहरुले ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका छन् । भदौ मसान्तसम्म बैंकहरुको निक्षेप संकलन ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा ६२ अर्ब बढेर असोज मसान्तसम्मा ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुर्याएका छन् ।
यस्तै, ४ दिनको अवधिमा बैंकहरुले २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसअघि असोज २८ गते बैंकहरुको निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो ।
यस्तै, बैंकहरुले असोज महिनामा ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । भदौ मसान्तसम्ममा बैंकहरुको कर्जा ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेकोमा ३० अर्ब बढेर असोज मसान्तसम्मा ४२ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुले ४ दिनको अवधिमा कर्जा लगानी ह्वात्तै बढाएका हुन् । कर्जा ठप्प पारेर निक्षेप बढाएका बैंकहरुले असोज महिनाको अन्तिम ४ दिनमा मात्रै २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोज २८ गते बैंकहरुको कर्जा ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थिया् भने ४ दिनमा २७ अर्ब बढेर ४२ खर्ब २० अर्ब पुर्याएका हुन् ।
कर्जा लगानी बढेसँगै सीडी रेसियो पनि बढेको छ । नेपाल बैंकर्स संघका अुनसार सीडी रेसियो ८७.२० प्रतिशत रहेको छ । यसअघि बैंकहरुको सीडी रेसियो ८६.९६ प्रतिशत रहेको थियो ।