काठमाडौं । चालु आर्थिक वर्षको दुइ महिनाको अवधिमा कुल विदेशी विनिमय सञ्चितिमा गिरावट आएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार २ महिनाको अवधिमा विदेशी सञ्चिति २.२ प्रतिशतले घटेर ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ मात्रै रहेको छ ।
यसअघि गत असार मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । २ महिनाको अवधिमा १६ अर्ब ६४ करोड विदेशी विनिमय सञ्चिति घटेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तसम्म ९ अर्ब ५४ करोड रहेकोमा भदौ मसान्तसम्म २.० प्रतिशत गिराव आएर ९ अर्ब ३५ करोडमा सिमति भएको हो ।
राष्ट्र बैंकमा असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म ०.५ प्रतिशत घटेर १० खर्ब ५१ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तसम्म १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म १३.७ प्रतिशत घटेर १ खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ कायम भएको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।
शुक्रबार अमेरिकी डलरकाे मूल्य १३२.१२ रुपैयाँ रहेकाे छ ।