लाभाशं पारित गर्ने पहिलो बैंक बन्यो सिटिजन्स
काठमाडाैं । सिटिजन्स बैंककाे ९ प्रतिशत लाभांश पारित भएकाे छ । बैंककाे १५ औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेकाे हाे । सभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० कराेड ९७ हजार ४ हजार ६ रुपैयाँकाे ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ कराेड ८० लाख ८७ हजार ६६१ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हाे । यससँगै सिटिजन्स बैंक आ.व. २०७८/७९ को लाभाशं पारित गर्ने पहिलो बैंक बनेको छ । यस्तै, सभाले बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेकाे छ । साथै, सभाले साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साविक पूँजी संरचना ५१:४९ परवर्तन भई कायम भएको पूँजी संरचना ५१.०७:४८.९३ (संथापक सेयरधनिहरुले धारण गरेको जम्मा सेयर साधारण सेयरधनीहरुले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।
तनहुँका किसानलाई गाईभैँसी हुर्काउन दश हजार
तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले बाच्छी हुर्काउन दश हजार रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ । जिल्लामा यस वर्ष एक सय साठी पाडी तथा बाच्छी हुर्काउन प्रोत्साहन अनुदानका लागि बजेट आएको छ । कृत्रिम गर्भाधानबाट उच्च नश्ल जातका पाडी तथा बाच्छी एक वर्ष पूरा भएकालाई अनुदान दिइने कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । प्रोत्साहन अनुदान कार्यक्रम सुरु भएपछि पाडी तथा बाच्छी हुर्काउन कृषक उत्साहित भएर लागेका छन् । गण्डकी प्रदेश सरकारले सोह्र लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उनले भने, ‘कार्यालयले सूचना प्रकाशित गरी कृषकसँग आवेदन माग गरिरहेको छ ।’ कार्यालयले गत आर्थिक वर्षमा एक सय पचास पाडी तथा बाच्छी हुर्काउन पन्ध्र लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जिल्लाको व्यास नगरपालिका र बन्दीपुर पकेट क्षेत्रका रुपमा रहेका छन् । अधिकांश आवेदन पनि सोही पालिकाबाट दिएको उनले बताए । पाडी बाच्छी हुर्काउँदा खर्च बढी लाग्ने र किसानले पाडी बाच्छी हुर्काउन नचाहने भएकाले अनुदान प्रदान गरी हुर्काउन प्रोत्साहन गरिएको उनले बताए । ‘यहाँ गाईभैँसी उत्पादनको स्रोत केन्द्र छैन, उच्च नस्लका गाईभैँसी अन्य जिल्ला तथा राष्ट्रबाट ल्याउनुपर्ने बाध्यता छ’, त्यसैले यही उत्पादनका लागि तयारी स्वरूप यो कार्यक्रम ल्याइएको उनले बताए । प्रतिपाडी तथा बाच्छी हुर्काउन दश हजार रुपैयाँका दरले प्रोत्साहन अनुदान प्रदान गरिने उनले बताए । ‘कृत्रिम गर्भाधानबाट जन्मिएका पाडी तथा बाच्छी हुर्काउनका लागि मात्रै अनुदानको प्रदान गरिएको छ’, उनले भने, ‘एउटा किसानले पाँचसम्म पाडी बाच्छीलाई अनुदान लिनसक्ने व्यवस्था छ ।’ कृत्रिम गर्भाधान गरिएको कार्ड विज्ञ केन्द्रले नै उपलब्ध गराएको हुन्छ । सोहीअनुरूप कृषकलाई अनुदान उपलब्ध गराउने गरिएको छ । पाडी बाच्छी उत्पादनलाई प्रोत्साहन गर्दा जिल्लामा नै स्रोत केन्द्र स्थापना गर्नसक्ने भएकाले अनुदान कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । यस वर्ष व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे नपा र भानु नगरपालिकामा उच्च नस्लका पाडी तथा बाच्छी उत्पादनका लागि कृत्रिम गर्भाधान गराइएको डा श्रेष्ठले बताए । अन्यत्रबाट उच्च नस्लका माउ गाईभैँसी ल्याउँदा महँगो पर्ने र ढुवानी खर्चसमेत बढी पर्ने हुँदा यही उत्पादन गर्नसकेमा उच्च नस्लका दुधालु गाईभैँसी आयात गर्नुभन्दा निर्यात गर्न सकिने उनी बताउँछन् । रासस
सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड पुग्याे
काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना अवधिमा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो । गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा चालु खाता घाटा एक खर्ब छ अर्ब आठ करोड बराबर रहेको थियो । त्यस्तै भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो । चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चितिमा दुई दशमलव दुई प्रतिशतले कमी आई भदौ मसान्तमा ११ खर्ब ८९ अर्ब १६ करोड कायम भएको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग १० खर्ब ५१ अर्ब ५३ करोड र बैंक तथा वित्तीय संस्थासँग एक खर्ब ३७ अर्ब ६३ करोड रहेको छ । भदौ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले नौ महिनाको वस्तु आयात र सात दशमलव सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ । यही अवधिमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः २४ दशमलव पाँच प्रतिशत, ६४ दशमलव छ प्रतिशत र २१ दशमलव आठ प्रतिशत रहेको छ ।
मेलम्चीको पानी यही महिना काठमाडौं ल्याउने तयारी
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । स्थायी समाधान नहुँदासम्म वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेरै ल्याउनुपर्ने अवस्था छ । गत वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा असारदेखि रोकिएको थियो । उनले भने, ‘यो वर्ष आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिनेछ ।’ वर्षा सकिएकाले अस्थायीरुपमा पानी चलाउन सडक र पुल मर्मत भइरहेको छ । यस वर्ष हेडवर्कको डाइभर्सन सुरुङ, अम्बाथान अडिट सुरुङमा नदीजन्य कुरा जान नदिन पहिले नै फलामको ढोका लगाएर बन्द गरियो । यो वर्ष सुरुङमा समस्या नभएको अनुमान छ । उनले भने, ‘सुरुङ सफा गर्न पर्दैन र हेडवर्कसम्म सडक पुगेमा चाँडै पानी ल्याउन सकिन्छ भन्ने लागेको छ ।’ गत वर्ष वर्षाले आयोजना, आयोजनासम्म पुग्ने सडक र पुलमा ठूलो क्षति पुर्यायो । तुलनात्मकरुपमा यो वर्ष संरचनामा कम क्षति पुगेको अनुमान छ । गेट नम्बर १ सफा गरेर चाँडै पानी पथान्तरण गर्न सकिने उनले बताए । त्यहाँका संरचना सफा गर्नु पर्दैन भन्ने अनुमान गरेपनि त्यहाँ पुगेपछि संरचनाको अवस्था थाहा हुने प्रवक्ता पन्तले बताए । गत वर्ष नदीको तिरैतिर डोजरले सम्याएर सडक बनाइएपनि बाढीले त्यसलाई बगाएको छ । अब त्यसरी नै नदी नजिकैबाटै अस्थायीरुपमा भएपनि पहुँच सडक बनाइने छ । कार्ययोजनामा सुरुङ चलाएपछि हरेक वर्ष साधारण निरीक्षण गर्ने र पाँचपाँच वर्षमा मर्मत गर्नुपर्ने हुनसक्छ भन्ने उल्लेख छ । सोहीअनुसार नै अहिले निरीक्षण गरिएको र त्यसमा सामान्य सुधार आवश्यक रहेको पाइएकाले त्यसलाई सुरु गरिएको छ । आयोजनाको दीर्घकालीनरुपमा मर्मत गर्न एशियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरुपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ । अन्तिम प्रतिवेदनका आधारमा कसरी गर्ने भनेर योजना बनाइनेछ । उनले भने, ‘पुल, सडक र संरचना बनाउँदा कसकसले कसरी बनाउने भनी निर्णय हुनेछ र त्यसअनुसार काम अघि बढाइनेछ ।’ दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट विसं २०७७ फागुनमा पहिलोपटक पानी काठमाडौं ल्याइएको थियो । पानी पथान्तरण गरेको केही महिनामा नै अर्थात् विसं २०७८ असार १ गते आएको वर्षाले आयोजनामा ठूलो क्षति पुर्याएको थियो । आयोजना निरीक्षणका क्रममा आयोजनाका दुई कर्मचारीको मृत्यु भएको थियो । सोही वर्ष कात्तिकमा आएको वर्षाले आयोजनामा थप क्षति पुर्यायो । सरकारले अस्थायीरुपमा पहुँचमार्ग निर्माण गरेर गत वैशाखमा पुनःपानी पथान्तरण गरेको थियो । झण्डै दुई महिना पानी उपत्यकामा ल्याइएको भएपनि वर्षाले थप क्षति हुन नदिन त्यसभन्दा पहिले नै पानी ल्याउन रोकेको थियो । काठमाडौं उपत्यकावासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी ल्याएर वितरण सुरु भए पनि अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था छैन । विसं २०७७ असारमा आयोजनाको माथिल्लो भागमा बाढी र पहिरो आउँदा त्यस क्षेत्रमा नै ठूलो असर पुगेको छ । त्यहाँको भौगर्भिक अध्ययन सकिएपछि मात्रै त्यहाँको स्थायी समाधानमा लाग्न सकिने अवस्था छ । आयोजनाका जम्माजम्मी कामलाई हेडवर्क, सुरुङमार्ग र प्रशोधन केन्द्र गरी तीन भागमा विभाजन गरिएको छ । यसमध्ये हेडवर्क र सुरुङमार्गको निर्माण एउटै कम्पनी र प्रशोधन केन्द्र निर्माण दुई कम्पनीले गरेका हुन् । सुरुङमार्ग र पानी प्रशोधन केन्द्र सम्पन्न भइसकेको छ । ‘हेडवर्क’ सम्पन्न नहुँदै बाढीले क्षति पुर्याएको थियो । सरकारले विसं २०५६ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो । आयोजना निर्माणका लागि एडिबीले सन् २००१ मा सम्झौता गरेको थियो । इटालियाली कम्पनी सिएमसी फिर्ता भएको झण्डै पाँच महिनापछि चिनियाँ कम्पनी सिनो हाइड्रोले बाँकी निर्माणका काम सुरु गर्यो । दुई वर्ष कोभिडले निर्माणमा अवरोध पुग्यो भने वर्षाले बनिसकेका संरचनामा क्षति पुर्यायो । रासस
विज्ञापन ऐजेन्सीहरुले बनाए नयाँ विज्ञापन संघ ‘नान’
काठमाडौं । विज्ञापन ऐजेन्सी सञ्चालकहरुले नयाँ छाता संगठनको निर्माण गरेका छन् । अहिलेसम्म विज्ञापन ऐजेन्सीहरुको एउटै मात्र छाता संगठन ‘नेपाल विज्ञापन संघ’ रहेकोमा एजेन्सी सञ्चालकहरुले त्यसको प्रतिस्पर्धीको रुपमा नयाँ ‘राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) को स्थापना गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरेर सञ्चालन गरिएको नयाँ संघ धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय रहेको छ । जसको प्रथम उपाध्यक्षमा प्रदिपप्रसाद कोइराला, द्वितीय उपाध्यक्षमा अमृत कुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा बिमल खड्का र कोषाध्यक्षमा बसन्त योगी रहेका छन् । त्यस्तै सदस्यहरुमा रबि अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य र गञ्जनमणि भट्टराई रहेका छन् ।
राष्ट्र बैंकको कारण ५ अर्बले घट्यो घरजग्गाको राजस्व
काठमाडौंं । विसं २०७८ असोजमा देशभरका मालपोत कार्यालयले सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ बराबरको राजस्व सङ्कलन गरेको थियो । घरजग्गाको कारोबार अपेक्षितरुपमा राम्रो थियो । सरकारले प्राप्त गर्ने राजस्वसमेत उल्लेख्य नै थियो । गत असोजमा भने दुई अर्ब ५६ करोड ९३ लाख ४८ हजार तीन सय ९३ बराबरको मात्रै राजस्व सङ्कलन भएको छ । एक वर्षको अवधिमा नै झण्डै ७० प्रतिशतको दरले राजस्व सङ्कलनमा गिरावट भएको छ । यसबाट घर जग्गाको कारोबारमा उल्लेख्यरुपमा गिरावट भएको देखिन्छ । देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७७ असोजमा पाँच अर्ब २७ करोड २० लाख ५३ हजार आठ सय तीन बराबरको राजस्व सङ्कलन भएको थियो । पछिल्ला तीन वर्षको विवरण हेर्दा यस वर्षको असोजमा राजस्व सङ्कलन मात्रै होइन कित्ताकाट र लिखत पारितसमेत उल्लेख्य रुपमा घटेको देखिन्छ । त्यसको पछाडि नेपाल राष्ट्र बैंकले घरजग्गामा जाने ऋणमाथि गरेको कडाई नै प्रमुख कारण रहेको यस क्षेत्रका जानकारको भनाइ छ । घर जग्गामा हुने ऋण लगानीलाई केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रका रुपमा घोषणा गरेको छ । काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत बराबर मात्रै ऋण उपलब्ध गराउने भन्ने व्यवस्था चालू आवको मौद्रिक नीतिमा गरिएको छ । विभागका अनुसार चालू आवको पहिलो महिना अर्थात् गत साउनमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७३ करोड ७२ लाख ४१ हजार बराबर राजस्व सङ्कलन भएको थियो । त्यस्तै, गत भदौमा तीन अर्ब ५६ करोड २९ लाख तीन हजार नौ सय बराबरको राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत असोजमा मात्रै २७ हजार आठ सय ५० वटा घर जग्गाको कारोबार भएको छ । त्यस्तै भदौमा एक लाख आठ हजार आठ सय ८१ वटा कारोबार भएको थियो । साउनमा भने कूल ९८ हजार ६४ वटा कारोबार भएका थिए । कारोबारको मात्रामा समेत गिरावट आएको विभागको विवरणमा देखिन्छ । भूउपयोग नीतिअनुसार स्थानीय तहले जग्गाको वर्गीकरण गर्न समय लागेकाले पनि नापी तथा मालपोत कार्यालयमा अपेक्षा गरेअनुसारको घरजग्गाको कारोबार हुन नसकेको बताइन्छ । रासस
सोमालियाको अबस्था नाजुक बन्दै, एक अर्ब डलरको खाँचो
मोगादिसु । सोमालियाका कम्तीमा पनि एक ७६ लाख नागरिकको तत्कालै उद्धारका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलरको सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सोमालियामा अहिले करिब ७६ लाख नागरिकलाई मानवीय सहायताको आवश्यकता परेकाले त्यसको सहयोगका लागि उक्त रकम चाहिएको बताइएको हो । संयुक्त राष्ट्रसङ्घीय सहायता निकायहरुले सो कुराको जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सी तथा संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका सोमालियाली उपमहासचिव आदम अब्देलमुल्लाहले सो कुराको जानकारी दिएको हो । उपमहासचिव आदम र ती निकायहरुले शुक्रबार सो कुराको जानकारी दिए । उनले भने – सोमालियामा दिनप्रतिदिन मानवीय सहायताको खाँचो परिरहेको र यसका लागि विश्वका सहयाता एजेन्सीहरुले सहयोगको मात्रालाई थप बढाउनुपर्ने आवश्यकता छ । अन्यथा केही महिनामा नै यहाँको अवस्था निकै नै नाजुक हुनेछ । उनले यहाँ खाद्यान्नको अभाव भएको, जसका कारण बालबालिकामा कुपोषणको समस्या देखिएको, कतिपय स्थानमा त औषधिको आपूर्ति पनि आवश्यक मात्रामा गर्न नसकिएको पाइएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् । रासस
दियालोले विकास गर्यो पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि
काठमाडौंं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिजले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ । यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्ने छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको हो । हालसम्म करिब ७ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित यो प्रणालीको विकास गरेको हो । उक्त स्मार्ट वाटर प्रविधिको सुरुवात टोखा नगरपालीकाको टोखा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट सुरू गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उक्त प्रविधीकाे सुरुवात गरे । कार्यक्रममा बोल्दै मेयर अधिकारीले यो अत्याधुनिक प्रविधि भएकोले सबै खाानेपानी समितिहरुमा यसको प्रयोग हुनुपर्ने भन्दै आग्रह गरेका छन् । ‘अहिलेको प्रविधिको युगमा यो सफ्टवेयरको प्रयोगले खानेपानी क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याउँछ, समिति देखि उपभोक्ताको सहजताका लाागि माात्र नभएर राज्यका लागि समेत यो महत्वपूर्ण हुने हुनाले यो प्रयोग गर्न म सबैमा अपिल समेत गर्दछु,’ उनले भने । करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलार्य आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ ।